देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले २३औं वार्षिकोत्सव मनाउने भएको छ । शुक्रवार विद्यालयमा पत्रकार भेटघाट गर्दै फाल्गुन ७ गते विविध कार्यक्रमसहित वार्षिकोत्सवको मूल समारोह आयोजना गरिने प्राचार्य कृष्णप्रसाद गैरेले जानकारी दिए ।
पत्रकारहरूसंग बोल्दै प्राचार्य गैरेले विद्यार्थी, अभिभावक र समुदाय केन्द्रित कार्यक्रमसहित वार्षिकोत्सव मनाउने तयारी गरिएको बताए ।
मन्टेश्वरीदेखि कक्षा १२ सम्म एक हजार सात सय ४७ जना विद्यार्थी अध्ययनरत बुद्ध पब्लिकले वार्षिकोत्सवको अवसरमा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता, भलिवलसहित खेलकुद प्रतियोगिताहरु, खाना महोत्सव, जनचेतनामूलक कार्यक्रम, अभिभावकको नि:शुल्क स्वास्थ्य परिक्षण लगायतका कार्यक्रम गर्दैछ ।
माघ २६ देखि ३० गतेसम्म खेल सप्ताह सम्पन्न गरिसकेको विद्यालयले फाल्गुन ३ गते अभिभावक खेलकुद, खाना महोत्सव र स्वास्थ्य शिविर र ४ गते जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता गर्नेछ ।
सबै विद्यार्थीको समान सहभागिता र प्रतिभा प्रदर्शनको लागि सहज बनाउन मूल समारोहको कार्यक्रमलाई दुई दिनसम्म संचालन गर्ने तयारी गरिएको विद्यालयका अध्यक्ष जयकिसन अधिकारीले जानकारी दिए । जस अनुसार फाल्गुन ६ गते कक्षा नर्सरीदेखि ६ सम्मका विद्यार्थीहरू मूल समारोहमा सहभागी हुनेछन् भने फाल्गुन ७ गते कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरू सहभागी हुनेछन् ।
वार्षिकोत्सवको मूल समारोहमा उत्कृष्ट विद्यार्थी तथा उत्कृष्ट शिक्षक-कर्मचारीलाई समेत सम्मान गरिने जनाइएको छ । वार्षिकोत्सवको मूल समारोह सम्पन्न गर्नको लागि जम्मा छ लाख रूपैयाँ खर्च लाग्ने विद्यालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology