काठमाडौं । बाढी, पहिरो तथा डुबानबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण तथा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले देशभर ६५० जोखिमयुक्त स्थानमा ११ हजार ७ सयभन्दा बढी जनशक्ति परिचालन गरेको छ ।
मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले थप जनशक्ति तथा उद्धार सामग्रीसहित पूर्वतयारी योजना कार्यान्वयनमा ल्याएको जनाएको छ । विपद् व्यवस्थापन तालिमप्राप्त २ हजार ६० जनासहित १३३ गोताखोर र २२४ जना डोरी उद्धार तथा उच्च भूभाग खोज तथा उद्धारमा तालिमप्राप्त जनशक्ति परिचालन गरिएको छ ।
डुबानमा परेकाको उद्धारका लागि १०३ वटा र्याफ्ट बोट र ५८ वटा मोटरबोट तयारी अवस्थामा राखिएको छ। खोज तथा उद्धारलाई प्रभावकारी बनाउन ३० वटा तालिमप्राप्त कुकुरसहितका टोली र पाँचवटा विशेष ड्रोनसमेत तयारी अवस्थामा राखिएको छ ।
सडक अवरोध हटाउन तथा ठूला उद्धारका लागि जोखिमयुक्त नदी करिडोर र प्रदेशस्थित बाहिनी मुख्यालयमा ह्विल लोडर, क्रेन र एक्साभेटरलगायत उपकरण तयारी अवस्थामा राखिएको छ । सुनकोशी, सप्तकोशी, भोटेकोशी, त्रिशूली, नारायणी, बागमती तथा विष्णुमती, बल्खु, मनोहरा, हनुमन्ते र नख्खुलगायत नदी तथा खोलामा आवश्यक उद्धार सामग्रीसहित जनशक्ति तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।
गण्डकी र लुम्बिनी प्रदेशमा थप १०/१० वटा र्याफ्ट बोट तयारी अवस्थामा राख्ने योजना पनि बनाइएको छ। मौसमको पूर्वानुमान र आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।
सशस्त्र प्रहरीले असोज ९ देखि ११ गतेसम्म जोखिमयुक्त नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन माइकिङ गर्ने जनाएको छ । अत्यावश्यक कामबाहेक सडकमार्गबाट यात्रा नगर्न र सम्भावित विपद्बाट जोगिन विशेष सतर्कता अपनाउन पनि सर्वसाधारणलाई आग्रह गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology