नविन लुइँटेल, देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं. ११ ले स्थानीय सुकुन्धरादेवी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय पोशाक (ड्रेस) वितरण गरेको छ । वडा अध्यक्ष दुधनाथ यादवले आफ्नो तलब भत्ताबाट प्राप्त रकमले ७१ जना विद्यार्थीहरुलाई ड्रेस वितरण गरेको बताए ।
बुधबार विद्यालयमै पुगेर पोशाक वितरण गरेका अध्यक्ष यादवले शिक्षा सामाजिक विकासको सबैभन्दा महत्वपुर्ण क्षेत्र रहेकोले पढाईमा विद्यार्थीलाई थप प्रोत्साहन मिलोस भनेर आअफ़ुले सक्ने सहयोग गरेको बताए । 'मेरो एक महिनाको मासिक तलब र भत्ताले किनेको कपडाबाट विद्यालयका विद्यार्थीलाई वर्षभरि लगाउन कपडा आउछ भने किन विद्यार्थीलाई सहयोग नगर्ने, आखिर मलाई भोट दिएर जिताउने यिनै विद्यार्थीका अभिभावक नै त हुन्' उनले भने, 'वडा कार्यालय पनि विद्यार्थीको अभिभावक हो र आवश्यक पर्दा सहयोग गर्छ भन्ने कुराको प्रत्याभूति गराउन पनि सहयोग गरेको हुँ।'
वडा अध्यक्ष यादवले विद्यार्थीलाई झोला पनि वितरण गर्ने जनाएका छन्। सेतोमसीसंग कुरा गर्दै उनले पोशाक जस्तै विद्यार्थीलाई झोला पनि आवश्यक पर्ने हुनाले आगामी तलब भत्ताबाट विद्यार्थीलाई झोला पनि उपलब्ध गराउने बताए ।
वडाभित्र तीन वटा आधारभुत विद्यालय रहेकोमा यस अघि नै उनले जनता आधारभूत विद्यालयमा अध्ययनरत दुई सय ९० जना विद्यार्थी र शंकर आधारभूत विद्यालयमा अध्ययनरत तीन सय सात जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिसकेको बताएका छन्।
शिक्षा क्षेत्रको विकास आफ्नो प्राथमिकतामा रहेको बताउने अध्यक्ष यादवले सुकुन्धरा देवी विद्यालयमा निजि श्रोतमा अध्ययापनरत शिक्षकको तलब समेत वृद्धि गराउन पहल गरिरहेको बताए ।
वडा अध्यक्षले पोशाक वितरण गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गुप्ताले स्थानिय सरकारका यस्ता कार्यक्रमले विद्यार्थीलाई पढ्न र अभिभावकलाई पनि बच्चा पढाउन प्रोत्साहन गर्ने बताए । यस प्रकारका कार्यक्रमहरू नगरपालिकाले पनि ल्याउनुपर्ने उनको भनाई छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology