देवदह । रुपन्देहीको देवदह नगरपालिका-११ स्थित कदमीपुरदेखि रेहरा-रामपुर चौराह जोड्ने सडक कालोपत्रे माग गर्दे रेहराबासीले देवदह नगरपालिकाको ध्यानआधर्षष गराएका छन् । करिब अढाई किलोमिटर मूल सडक कालोपत्रे गर्न माग गर्दै रेहरा सडक संघर्ष समितिले पाँचौपटक नगरपालिकाको ध्यानाकर्षण गराएको हो ।
समितिले नगर उप-प्रमुखसमक्ष बुझाएको निवेदनमा उक्त सडक कालोपत्रेका लागि यसअघि पटक–पटक मौखिक, प्रत्यक्ष तथा लिखित रूपमा बजेट माग गर्दै आएको भएपनि वास्ता नगरिएको उल्लेख छ । समितिका अध्यक्ष मोहन कुर्मीका अनुसार यसअघि नगर प्रमुखसँगको भेटमा सडकको समस्या तथा प्रमुख माग समेटिएको ज्ञापनपत्र तीनपटक बुझाइएको थियो ।
नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को बजेटमा सडकका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए पनि ०८२ ÷ ०८३ को बजेटमा समेत सडकलाई प्राथमिकता नदिइएको समितिको गुनासो छ ।
संघर्ष समितिले देवदह नगरपालिकाका नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई रेहराको स्थलगत अवलोकन गर्न आग्रह गरे पनि त्यसतर्फ कसैले ध्यान नदिएको जनाएको छ ।

वर्षाका कारण सडक हिलाम्मे बनेपछि रेहरा र कदमीपुरका स्थानीयवासीलाई दैनिक आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको अध्यक्ष कुर्मीको भनाइ छ । सडकको तत्काल कालोपत्रे सम्भव नभए कम्तीमा ग्राभेल गरेर भए पनि आवतजावत सहज बनाउन समितिले नगरपालिकासँग माग गरेको छ ।
रेहरा सडक संघर्ष समितिले स्थानीयको दैनिकीसँग प्रत्यक्ष जोडिएको उक्त सडकप्रति स्थानीय सरकार गम्भीर बन्नुपर्ने बताउँदै तत्काल आवश्यक बजेट व्यवस्थापन गरी सडक सुधारको काम अघि बढाउन आग्रह गर्दै आफुहरुको माग सम्बोधन नभए आगामी दिनमा थप दबाबमूलक कार्यक्रम अघि बढाउने जनाए छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology