देवदह । देवदह नगरपालिकाले असार १० गते आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्यो । नगरपालिकाको १६औँ नगर सभाबाट १ अर्ब ६३ करोड ८८ लाख रुपैयाँको बजेट सार्वजनिक भएको ४५ दिन पूरा भइसकेको छ । यतिबेला नगर विकास योजना पुस्तक प्रकाशित भएर हाताहातमा पुगिसक्नु पर्ने हो । तर देवदहका केही वडाले योजना नपठाउँदा नगरपालिकाको बजेट नै वेवारिसे बनेको छ ।
सामान्यतया: नगर सभामै नगरभित्रका सबै योजना आउनुपर्ने र छलफल हुनुपर्ने हो तर देवदहको १६औँ नगर सभामा त्यस्तो अभ्यास गरिएन । कार्यपालिका बैठकले नगरका १२ वटै वडालाई एक-एक करोडको सिलिङ्ग दियो । यसरी कार्यपालिकाबाट सिलिङ्ग लिएका वडा अध्यक्षहरुले नगरसभामा योजना प्रस्तुत नगरेपछि विना कार्यक्रमको बजेट नगर सभाले पारित गर्यो ।
नगर सभाले पास गरेको बजेट अनुसार आजसम्म पनि केहि वडाले योजना नगरपालिका पठाएका छैनन् । यो समाचार तयार गर्दासम्म वडा नं ४ र १० का योजनाहरु नगरपालिकामा इन्ट्री भएका छैनन् । नगर प्रवक्ता गणेश डुम्रेले विभिन्न मितिमा अन्य वडाका आयोजना नगरपालिकामा आएको तर वडा नं ४ र १० का योजना प्राप्त नभएको बताए । 'वडा अध्यक्ष ज्यूहरुसंग कुरा भइरहेको छ, अझै योजना आएका छैनन् ।' प्रवक्ता डुम्रेले भने, 'सम्झौता गरेर अब योजना कार्यान्वयन गर्ने समयसम्म पनि बजेट अनुसारका कार्यक्रम तय नहुनु दु:खद विषय हो ।'
यता वडा अध्यक्षहरुको मत भने फरक छ । वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मीले नगर नेतृत्वसंग केही असन्तुष्टि भएको हुनाले योजना नपठाएको बताए । वडा अध्यक्ष रेग्मीले साउन १ गते नगरपालिकाको जनप्रतिनिधि भ्रमणको नाममा केही जनप्रतिनिधि र कर्मचारी भ्रमण गएकोमा आफु सन्तुष्ट नरहेको बताए । 'हिजो बजेट छैन भनेर योजना सम्झौता रोकियो, नागरिकका अत्यावश्यक कार्यक्रम बजेट अभावले कार्यान्वयन गरिएन ।' उनले भने, 'तर जनप्रतिनिधि अघिल्लो आर्थिक वर्षको बजेटले यो आर्थिक वर्षमा भ्रमण जाने ? त्यो पैसाले नगरवासीका अरु काम गर्न सकिने थिएन ? यसमा मलाई चित्त बुझेको छैन ।'
वडा अध्यक्ष रेग्मीले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित भ्रमण गएका सबैले त्यसको औचित्य पुष्टि गर्नुपर्ने बताए । त्यसो हुन नसके आफुले योजना नपठाउने अडान उनले दोहोर्याए ।
वडा नं १० का वडा अध्यक्ष यक बहादुर सुनारले आफुले योजना पठाउने तयारी गरिरहेको बताए । 'वडा र नगरपालिकाकै अन्य काममा व्यस्त भएर पठाउन नपाइएको हो । छिट्टै पठाउँछौं' उनले भने ।
नगर प्रमुख ध्रुवप्रसाद खरेलले सबै वडाले योजना नपठाएपनि बजेट प्रमाणित गर्ने बताए । 'सबै वडालाई एक-एक करोड दिएको हो । वडाले योजना अनुसार बजेट बाँडफाड गरेर पठाएन भने डल्लो बजेट प्रमाणित हुन्छ ।' सेतोमसीसंग कुरा गर्दै उनले भने, ' हिउँदे अधिवेशनबाट योजना बजेट टुक्र्याएर काम गर्नुपर्ने अवस्था आउँछ ।'
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले योजना पुस्तिका प्रकाशन गर्न ढिला भइसकेको बताए । 'नगर सभामै सबै योजना आउनुपर्ने हो, त्यसो हुन नसके कम्तिमा असार मसान्तसम्म आउनुपर्ने हो ।' उनले भने, 'योजना सम्झौता गरेर काम गर्ने समय सुरु हुँदा पनि केही वडाका योजना प्राप्त नभएपछि हामीले वडामा फलोअप गरिरहेका छौं ।'
१. शिक्षा:
सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा विनियोजन गरिएको छ। कुल रु. २६ करोड ९ लाखको बजेट शिक्षामा छुट्याइएको छ । यो रकम विद्यालयमा दरबन्दी पूर्ति, छात्रवृत्ति, परीक्षा प्रणाली सुधार, विद्यालय ग्रीन स्पेस, विज्ञान शिक्षाका लागि पूर्वाधार निर्माण, नि:शुल्क सेनेटरी प्याड, प्रतियोगितात्मक क्रियाकलापजस्ता कार्यक्रममा खर्च गरिनेछ ।
२. स्वास्थ्य:
रु. ४ करोड ५७ लाख बजेट छुट्याइएको स्वास्थ्य क्षेत्रमा आधारभूत र आकस्मिक सेवा, औषधोपचार सामग्री खरिद, स्वास्थ्य बीमा अभियान र नागरिकको सहज पहुँचमा केन्द्रित कार्यक्रम संचालन गरिने उल्लेख छ ।
३. पूर्वाधार:
पूर्वाधार निर्माण तथा मर्मतको लागि कुल रु. ६३ करोड ६० लाख विनियोजन गरिएको छ। यसमध्ये शहरी उत्थान कार्यक्रम अन्तर्गत ५२ करोड ३९ लाखको लगानी नगर–संघीय साझेदारीमा हुनेछ। अस्पताल, सडक, खानेपानी, विद्युत, विद्यालय संरचना र सिँचाइ पूर्वाधारमा समेत बजेट केन्द्रित गरिएको छ ।
४. भूमि व्यवस्थापन:
सुकुम्बासी, अव्यवस्थित बसोबासी र भूमिहीनलाई जग्गा प्रमाणपत्र दिने, व्यवस्थित बसोबास सुनिश्चित गर्ने कार्यमा रु. २ करोड छुट्याइएको छ ।
५. कृषि:
कृषि उत्पादन, बजार व्यवस्थापन, कृषि उपकरण, बिजुली सुविधा तथा कृषक सशक्तीकरणका लागि कुल रु. ४५ लाख ३५ हजार छुट्याइएको छ । पशुपालन क्षेत्रमा रोग नियन्त्रण, औषधोपचार, बाँझोपन न्यूनीकरण, वंगुर पकेट विकासलगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।
६. लक्षित समूह सशक्तीकरण:
महिला, दलित, आदिवासी, मधेसी, मुस्लिम, अपांग, द्वन्द्वपीडित तथा पिछडिएको वर्गको सशक्तीकरणका लागि उपप्रमुखसँग महिला कार्यक्रम लगायत रु. ५३ लाख बजेट विनियोजन गरिएको छ ।
७. वातावरण र विपद् व्यवस्थापन:
हरित नगर निर्माण, वृक्षरोपण, फोहोर व्यवस्थापन, जलवायु सजगता तथा प्राकृतिक विपद् व्यवस्थापनका लागि रु. ६२ लाख ५० हजार छुट्याइएको छ ।
८. सुशासन र संस्थागत विकास:
नगर प्रशासन, सेवा प्रवाह, उत्तरदायित्व विकास, सूचना व्यवस्थापन र आन्तरिक राजस्व प्रणाली सुधारका लागि रु. १७ करोड १६ लाख विनियोजन गरिएको छ ।
९. वडागत बजेट:
देवदह नगरका १२ वटै वडामा रु. १–१ करोडका दरले कुल रु. १२ करोड वडागत कार्यक्रमका लागि छुट्याइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology