Logo

२०८३, श्रावण २७गते


images
images

असल अभ्यास

सडकआश्रित मानव व्यवस्थापनमा देवदहको फड्को, ५२ जनाको उद्धार

सडकआश्रित मानव व्यवस्थापनमा देवदहको फड्को, ५२ जनाको उद्धार

images
  • सडकआश्रित मानव व्यवस्थापनमा देवदहको फड्को, ५२ जनाको उद्धार
    images
    images

    देवदह । खुला आकाशमुनि, सडकपेटी वा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताइरहेका व्यक्तिहरूलाई सुरक्षित आश्रयमा पुर्‍याउने काम आफैंमा चुनौतीपूर्ण हुन्छ । अझ मानसिक अवस्था कमजोर भएका, परिवारबाट टाढिएका वा सामाजिक रूपमा बेवास्तामा परेका व्यक्तिलाई पुनः सामान्य जीवनतर्फ फर्काउनु झन् कठिन काम हो । मानवताका दृष्टिले अत्यन्तै महत्वपूर्ण यी कार्यमा मानवसेवा आश्रम झन्डै एक दशकदेखि सक्रिय छ । जसमा देशका स्थानीय सरकारले समेत आश्रमसंग सहकार्य गर्दै आएका छन् । तिनै स्थानीय तह मध्ये एक हो - देवदह नगरपालिका ।

    images
    images
    images

    देवदह नगरपालिकालाई वि. सं. २०८२ पौष २४ गते औपचारिक रूपमा 'सडकआश्रित सहयोगापेक्षी बेसहारा मानवमुक्त नगरपालिका' घोषणा गरियो । रामजी अधिकारी नेतृत्वको मानवसेवा आश्रमसंग औपचारिक सम्झौतापछि सडकआश्रित सहयोगापेक्षी बेसहारा मानवमुक्त नगरपालिका घोषणा गरिएको नगर प्रवक्ता गणेश डुम्रे बताउँछन् । 

    images
    images
    images

    यसरी सडक मानव मुक्त स्थानीय तह घोषणा हुने देवदह रुपन्देही जिल्लाको तेस्रो स्थानीय सरकार हो ।  १६ वटा स्थानीय तह रहेको जिल्लामा बुटवल उपमहानगरपालिका र तिलोत्तमा नागरपालिकाले यसअघि नै यो काम गरिसकेका छन । बुटवल उपमहानगर २०७६ सालमा सडक मानवमुक्त भइसकेको र २०८२ सालमा तिलोत्तमा र देवदहले समेत मानवसेवा आश्रमसंग सम्झौता गरेको आश्रमकी जिल्ला संयोजक सरु अधिकारीले बताइन् ।

    images
    images
    images

    त्यसो त देवदह नगरपालिकाले औपचारिक सम्झौता नगर्दै वि. सं. २०७५ सालबाट नै मानवसेवा आश्रमसंग सहकार्य गरेको देखिन्छ । आश्रमकी जिल्ला संयोजक अधिकारीले धेरै पहिलेदेखि नै देवदह नगरपालिकासंग सहकार्य गरिएको बताइन् । '२०७५ बाटै हामीले देवदहसंग सहकार्य गरेका हौँ । त्यतिबेलादेखि नै त्यहाँबाट सहयोगापेक्षी व्यक्तिहरुलाई उद्धार गरिंदै आएको छ' उनले भनिन् ।

    उद्धारदेखि सम्मानपूर्वक दाहसंस्कारसम्म

    देवदह नगरपालिका र मानवसेवा आश्रम बीच भएको सम्झौताले सडकआश्रित सहयोगापेक्षी बेसहारा मानव व्यवस्थापनलाई केवल उद्धार अभियानमा सीमित नराखी जीवनको अन्तिम अवस्थासम्म जोडेको देखिन्छ ।

    'सडकआश्रित सहयोगापेक्षी बेसहारा मानवमुक्त नगरपालिका' घोषणासंगै गरिएको सम्झौतामा उद्धार, उपचार, पालनपोषण, पारिवारिक पुनर्मिलनदेखि सम्मानपूर्वक दाहसंस्कारसम्मका विषयलाई स्पष्ट जिम्मेवारीसहित समेटिएको छ ।

    सम्झौतामा देवदह क्षेत्रभित्र सडकपेटी तथा सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षीहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको छ । विभिन्न कारणले घरबारविहीन बनेर खुला आकाशमुनि कष्टकर जीवन बिताइरहेका व्यक्तिलाई सुरक्षित स्थानमा पुर्‍याउने जिम्मेवारी मानवसेवा आश्रम लाई दिइएको छ । यसले सडकमा रहेका व्यक्तिलाई केवल सामाजिक समस्या होइन, संरक्षण आवश्यक नागरिकका रूपमा हेर्ने नगरपालिका र आश्रमको स्पष्ट दृष्टिकोण रहेको पाइन्छ  ।

    _देवदह  (1).png

    सम्झौताले उद्धारपछि व्यक्तिको स्वास्थ्य अवस्था र दैनिक जीवन व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको छ । आश्रमले उद्धार गरिएका व्यक्तिको औषधोपचार, खानपान र नियमित हेरचाह गर्ने जिम्मेवारी लिएको छ ।

    सडकमा लामो समय बिताएका धेरै व्यक्तिमा मानसिक समस्या, कुपोषण, लतजन्य अवस्था वा शारीरिक कमजोरी देखिने भएकाले सम्झौताले उद्धारलाई मात्र पर्याप्त नठानी उपचार र पालनपोषणलाई पनि संस्थागत जिम्मेवारी बनाएको देखिन्छ ।

    सम्झौतामा परिवारको खोजी गरी पुनर्मिलन गराउने विषयलाई विशेष महत्व दिइएको छ ।

    सडकमा पुगेका धेरै व्यक्ति पारिवारिक विछोड, मानसिक अवस्था वा आर्थिक समस्याका कारण परिवारबाट टाढिएका हुन्छन् । उनीहरूलाई पुनः परिवारसँग जोड्नु सामाजिक पुनःस्थापनाको महत्वपूर्ण पक्ष मानिन्छ ।

    सम्झौताले सहयोगापेक्षीलाई आश्रयमा सीमित नराखी सम्भव भएसम्म परिवार र समाजमा पुनःस्थापित गर्ने उद्देश्य लिएको देखिन्छ ।

    सम्झौताको सबैभन्दा संवेदनशील र मानवीय पक्षमध्ये एक आश्रममै मृत्यु भएका व्यक्तिको सम्मानपूर्वक अन्तिम संस्कार गर्ने व्यवस्था हो ।

    परिवारविहीन वा बेवारिसे अवस्थामा रहेका व्यक्तिको मृत्यु भएपछि उनीहरूको दाहसंस्कार अन्योल र बेवास्तामा पर्ने समस्या धेरै ठाउँमा देखिन्छ । तर देवदह र मानवसेवा आश्रमबीचको सम्झौताले त्यस्ता व्यक्तिको पनि सम्मानजनक विदाइ सुनिश्चित गरेको छ ।

    नगरपालिकाले कानुनी प्रक्रिया, मुचुल्का तथा दाहसंस्कार व्यवस्थापनमा सहजीकरण गर्ने जिम्मेवारी लिएको छ भने आश्रमले स-सम्मान अन्तिम संस्कारको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

    यसले सडकआश्रित व्यक्तिलाई जीवनभर मात्र होइन, मृत्युपछि पनि सम्मान दिनुपर्ने मानवीय दृष्टिकोणलाई स्थापित गरेको देखिन्छ ।

    'रात्रीकालीन सडकसेवा, घोषणापछि पनि निरन्तर अनुगमन'

    सम्झौतामा प्रत्येक शनिबार राति ८ बजेदेखि १० बजेसम्म रात्रीकालीन सडकसेवा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

    नगरपालिका, नागरिक समाज र मानवसेवा आश्रमको सहभागितामा सञ्चालन हुने उक्त अभियानमार्फत नयाँ सहयोगापेक्षी व्यक्ति सडकमा पुगेका छन् वा छैनन् भन्ने अनुगमन गरिनेछ ।

    यसले 'घोषणा गरेर सकिने' शैलीभन्दा निरन्तर कार्यान्वयनलाई प्राथमिकता दिन खोजेको देखिन्छ ।  सम्झौता बमोजिम रात्रिकालिन अनुगमन सेवा भएनभएको बारे मानवसेवा आश्रमसंग बुझ्दा नियमित अनुगमन भएको जनाइएको छ  । 'अनुगमन भएको छ तर त्यो देवदहमा मात्र सिमिति हुँदैन ।' आश्रमकी जिल्ला संयोजक सरु अधिकारीले भनिन्, 'हामी जिल्लाका सबै पालिकामा नियमित अनुगमन सेवा दिइनै रहेका छौं  । त्यसमा देवदह नपर्ने त कुरै भएन  ।'

    तथ्यांकले के भन्छ?

    सेतोमसीलाई प्राप्त तथ्यांक अनुसार हालसम्म देवदह क्षेत्रबाट ५२ जना सहयोगापेक्षी व्यक्तिको उद्धार गरिएको छ । उल्लेखित तथ्यांकलाई केलाउँदा २०७५ देखि २०७७ सालसम्म हरेक वर्ष ४ जनालाई उद्धार गरिएको छ । २०७८ सालमा घटेर ३ मा पुगेको यो संख्या २०७९ देखि २०८१ सम्म वृद्धि भएको देखिन्छ । २०७९ मा ५ जना र २०८० मा ६ जना व्यक्ति उद्धार गरिएकोमा २०८१ मा आउँदा यो संख्या एक वर्षमै १४ पुगेको छ । २०८२ मा ११ जनालाई उद्धार गरिएको छ भने २०८३ मा हालसम्म १ जनालाई उद्धार गरिएको छ ।

    उल्लेखित तथ्यांक अनुसार २०८१ सालमा मात्रै १४ जनाको उद्धार हुनु अघिल्ला वर्षहरूको तुलनामा उल्लेखनीय वृद्धि हो । यसले सडकमा पुगेका व्यक्तिको संख्या बढेको संकेत गर्छ वा उद्धार संयन्त्र थप सक्रिय भएको देखाउँछ ।

    उल्लेखित तथ्यांक अनुसार २०८१ सालमा मात्रै १४ जनाको उद्धार हुनु अघिल्ला वर्षहरूको तुलनामा उल्लेखनीय वृद्धि हो । यसले सडकमा पुगेका व्यक्तिको संख्या बढेको संकेत गर्छ वा उद्धार संयन्त्र थप सक्रिय भएको देखाउँछ ।

    मानवसेवा आश्रमबाट उमेर समूहको आधारमा प्राप्त २०७९ सम्मको तथ्यांक लैंगिक रुपमा हेर्दा यसरी उद्धार गरिनेहरुमा महिला १९ जना रहेका छन् भने पुरुष ३३ जना छन् । त्यसैगरी उमेरगत रुपमा हेर्दा सबैभन्दा धेरै सक्रिय उमेर समूहका देखिन्छन् । जसमा १८ देखि ५९ वर्ष उमेर समूहका पुरुष १८ र महिला १२ गरी  ३० जना रहेका छन् । १८ वर्षमुनि उमेर समूहका १ बालक र १ बालिका रहेका छन् भने ६० वर्ष माथिका ४ जना पुरुष रहेका छन्, यो उमेर समूहमा महिलाको संख्या शुन्य रहेको छ ।

    तथ्यांकको पछिल्लो लैंगिक तथा उमेरगत विवरणको अपडेट देवदह नगरपालिका र मानवसेवा आश्रमसंग अद्यावधिक अवस्थामा उपलब्ध नरहेको देखियो  । यसले थप अभिलेखीकरण आवश्यक रहेको देखाउँछ ।

    यसरी तथ्यांकलाई वर्गीकृत गर्नु अत्यावश्यक छ  । सामाजिक सचेतनाका कार्यक्रम कुन उमेर समूह वा कुन समूदायमा बढी आवश्यक छ भन्ने आँकलन गर्न समेत यो तथ्यांक जरुरी छ  ।  यसतर्फ नगरपालिका र आश्रम सजग हूनुपर्ने देखिन्छ  ।

    पारदर्शिता र सामाजिक उत्तरदायित्व

    सम्झौतामा मानवसेवा आश्रमले प्रत्येक वर्ष अर्धवार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र सामाजिक लेखापरीक्षण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ । यसले मानवीय सेवामा पारदर्शिता र सार्वजनिक उत्तरदायित्व कायम गर्ने प्रयास भएको देखिन्छ ।

    एक जना व्यक्तिको उद्दारवापत यति रकम लिने/दिने भन्ने सम्झौतामा एकिन नगरिएको तर नगरपालिकाले वार्षिक बजेटमा आश्रमलाई सम्झिने बुझाइमा समझदारी भएको जनाइएको छ  । 

    'जसको कोही छैन, त्यसको साथमा सरकार'

    देवदह नगर प्रमुख ध्रुव प्रसाद खरेल जसको कोही हुँदैन, त्यसको साथमा सरकार हुनुपर्छ भन्ने मान्यता अनुसार आफुहरूले काम गरेको बताए  । 'यो धर्ती सबैको लागि हो र यहाँ सबैलाई सम्मानपूर्वक जिउने अधिकार छ ।' प्रमुख खरेल भन्छन्, 'यही मान्यता स्थापित गराउँन हामीले मानवसेवा आश्रमसंग सहकार्य गरेका हौं  ।'

    त्यसैगरी नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ  सडकमा भेटिएका प्रत्येक व्यक्तिको पछाडि एउटा पीडा, विछोड वा असहाय अवस्थाको कथा हुने बताउँछिन् । उनी भन्छिन् -  'कोही मानसिक समस्याका कारण घरबाट टाढिएका हुन्छन्, कोही आर्थिक अभावले सडकमा आइपुग्छन्, त कोही परिवारबाटै अस्वीकृत बनेका हुन्छन् । यस्ता व्यक्तिलाई फेरि सुरक्षित जीवनतर्फ फर्काउनु केवल सरकारी कार्यक्रम होइन, मानवीय उत्तरदायित्व पनि हो ।'                                                               

    सहरको सभ्यता कति फराकिला र चिल्ला सडक वा कति अग्ला र आधुनिक भवन बने भन्ने आधारमा मात्र मापन हुँदैन, सडकमा भेटिने सबैभन्दा असहाय नागरिकप्रति उसले कस्तो व्यवहार गर्छ भन्ने कुराले पनि निर्धारण गर्छ । देवदहमा हालसम्म उद्धार गरिएका ५२ सहयोगापेक्षी व्यक्तिको कथा केवल तथ्यांक होइन, कसैको जीवनमा फर्किएको सुरक्षा, सम्मान र आशाको कथा पनि हो । केही चुनौतीहरू अझै बाँकी छन्, तर ‘जसको कोही छैन, त्यसको साथमा सरकार’ भन्ने अवधारणालाई व्यवहारमा उतार्ने देवदह नगरपालिकाको प्रयास प्रशंसनीय छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।