Logo

२०८३, श्रावण २७गते


images
images

असल अभ्यास

विद्यालयमा उद्यम सिक्दै देवदहका विद्यार्थी

विद्यालयमा उद्यम सिक्दै देवदहका विद्यार्थी

images
  • विद्यालयमा उद्यम सिक्दै देवदहका विद्यार्थी
    images
    images

    देवदह । देवदहका विद्यालयमा पढाइसँगै उद्यम अभ्यास पनि सुरु भएको छ । कक्षाकोठामा किताबका पाना मात्र पल्टाइरहने विद्यार्थीहरू अहिले विद्यालय परिसरमै तरकारी रोपिरहेका छन्, फूल उत्पादन गरिरहेका छन्, च्याउ खेती गरिरहेका छन् र आफ्नै उत्पादन बिक्री गर्ने योजना बनाइरहेका छन् ।

    images
    images
    images

    यहाँ विद्यार्थीहरू केवल परीक्षा पास गर्नका लागि मात्र पढिरहेका छैनन् । उनीहरू काम गर्न, योजना बनाउन, समूहमा सहकार्य गर्न र आफ्नै खुट्टामा उभिन सक्ने सीप सिकिरहेका छन् ।

    images
    images
    images

    यस कार्यमा गैरसरकारी संस्था समृद्ध समूदाय विकास केन्द्र नेपालले विद्यार्थीहरूलाई प्रेरित गरिरहेको छ ।

    images
    images
    images

    देवदहका ९ वटा विद्यालयमा सञ्चालन भइरहेको हरित उद्यमशीलता कार्यक्रममार्फत करिब २०० जना विद्यार्थी प्रत्यक्ष रूपमा उद्यममा जोडिएको संस्थाकी कार्यक्रम प्रमुख आस्था विश्वकर्मा बताउँछिन् ।

    उनी भन्छिन्, 'विद्यार्थीहरूले समूह बनाएर व्यवसाय योजना तयार गरेका छन् र विद्यालयमै विभिन्न उद्यम सञ्चालन गरिरहेका छन् । उत्पादनसँगै उनीहरूले लागत, आम्दानी, बजार व्यवस्थापन र नाफा-नोक्सानको हिसाबसमेत राख्ने गरेका छन् ।'

    विद्यालयमै व्यवसाय

    देवदह माध्यमिक विद्यालयमा विद्यार्थीहरूले विगत ६ महिनादेखि मिनी प्रोजेक्ट सञ्चालन गरिरहेका छन् । १४ जना विद्यार्थीको समूहले तरकारी खेतीसँगै थुङ्गे फूल उत्पादन सुरु गरेको थियो । सात हजार रुपैयाँबाट सुरु गरिएको परियोजनाले करिब नौ हजार रुपैयाँ बराबरको आम्दानी दिएको विद्यालयकी शिक्षक इन्दिरा अर्यालको भनाई छ  ।

    फूलको सिजन सकिएपछि पनि उनीहरूको गतिविधि रोकिएको छैन । आफुहरूले स्थानीय हाटबजारमा फुल्की, चटपट र मोमो बिक्री गरेर उद्यमलाई निरन्तरता दिएको विद्यालयकी छात्रा शुभास्ना तामाङ बताउँछिन् । विद्यालयमै बसेर आफुहरूले बजार, ग्राहक र आम्दानीको वास्तविक अनुभव बटुलिरहेको उनको भनाई छ ।

    महामाया भवानी माध्यमिक विद्यालयमा पनि विद्यार्थीहरूले व्यवहारिक रूपमा उद्यम सिकिरहेका छन् । तीन हजार रुपैयाँबाट फूल उत्पादन सुरु गरेर पाँच हजार दुई सय रुपैयाँ आम्दानी गरेको विद्यालयकी छात्रा सुरक्षा न्यौपाने बताउँछिन् ।

    फूलको सिजन सकिएपछि अहिले उनीहरूले बुँके निर्माण गरेर स्थानीय मेला तथा महोत्सवमा बिक्री गरिरहेका छन् । १२ जना विद्यार्थी सहभागी यस कार्यक्रमले विद्यार्थीलाई व्यवसाय योजना, बजार अध्ययन र उत्पादन व्यवस्थापनबारे व्यवहारिक ज्ञान दिएको विद्यालयका प्रधानाध्यापक ऋषिश्वर अर्यालको भनाई छ ।

    नाफाभन्दा सिकाइ ठूलो

    भविष्य निर्माण माध्यमिक विद्यालयका विद्यार्थीहरूले केही समयअघि विद्यालयमै च्याउ उत्पादन सुरु गरे । २१ जना विद्यार्थीहरूले बिहान-बेलुका मेहनत पनि गरेपनि उत्पादन राम्रो नहुँदा घाटा भएको विद्यार्थी यूनिसा नेपाली बताउँछिन्  ।

    सेतोमसीसंग कुरा गर्दै विद्यार्थीहरूले पैसा कमाउनु मात्र ठूलो उपलब्धि नभएको बताए  । छात्रा यूनिसा नेपाली भन्छिन्,  'अहिले हामीलाई व्यवसाय कसरी सञ्चालन गर्ने भन्ने ज्ञान सिक्नु मुख्य कुरा हो । समूहमा काम गर्ने, जिम्मेवारी बाँड्ने, समस्या समाधान गर्ने र बजार बुझ्ने अभ्यासले आत्मविश्वास बढेको छ ।'

    प्रगती माध्यमिक विद्यालयमा मौसमी तरकारी खेती भइरहेको छ । १६ जना विद्यार्थीको सामूहिक प्रयासले भर्खरै पहिलो उत्पादन बजारमा पुगेको जनाइएको छ ।

    विद्यालय परिसरमा उत्पादन भएका तरकारीले विद्यार्थीलाई श्रमको मूल्य र उत्पादनको महत्व सिकाइरहेको विद्यालयको भनाई छ । सानो लगानीबाट पनि अवसर सिर्जना गर्न सकिन्छ भन्ने आत्मविश्वास विद्यार्थीमा देखिन्छ ।

    त्यसैगरी सीता माध्यमिक विद्यालयका विद्यार्थीहरूले पनि यसअघि च्याउ उत्पादनको योजना सुरु गरे । पहिलो प्रयासमा अपेक्षित सफलता प्राप्त नभए पनि विद्यार्थीहरूले हिम्मत नहारेको प्रधानाध्यापक उमाकान्त अधिकारी बताउँछन् ।

    १८ जना विद्यार्थी सहभागी समूह अहिले विगतका कमजोरीबाट सिक्दै परियोजना अगाडि बढाउने तयारीमा छ । समूहकी एक सदस्य दीपिका गाहा भन्छिन्, उद्यममा सफलता मात्र होइन, असफलताबाट सिक्ने अनुभव पनि महत्वपूर्ण हुन्छ ।'

    गाउँबाट डिजिटल बजारसम्म

    देवदहको दक्षिणी क्षेत्रमा रहेको सिक्टहन माध्यमिक विद्यालयका विद्यार्थीहरूले वातावरणमैत्री सोया क्यान्डल उत्पादन गरिरहेका छन् । मुख्य बजार क्षेत्रबाट टाढा भए पनि उनीहरूको सोच भने आधुनिक बजारतर्फ केन्द्रित छ ।

    १२ जना विद्यार्थी सहभागी समूहले डिजिटल माध्यमबाट आफ्नो उत्पादन बिक्री गर्ने लक्ष्य राखेको छ । उनीहरूले यसअघि देवदह महोत्सवमा समेत आफ्ना सामग्री बिक्री गरेका छन् । आफुहरूले विद्यालयमै बसेर उत्पादन, प्याकेजिङ र बजार व्यवस्थापन सिकिरहेको र भविष्यमा डिजिटल उद्यमी बन्ने सपना देखिरहेको छात्रा सरस्वती कलवार बताउँछिन् ।

    त्यसैगरी खड्ग माध्यमिक विद्यालयमा विद्यार्थीहरूले बाटेको धुप र कोन धुप उत्पादन गरिरहेका छन् । साथै विद्यालय परिसरमै करेसाबारी निर्माण गरेर दिवा खाजाका लागि आवश्यक तरकारी समेत उत्पादन भइरहेको छ ।

    १८ जना विद्यार्थीको समूहले विद्यालयलाई आत्मनिर्भर बनाउने प्रयास पनि गरिरहेको र स्थानीय मेला महोत्सवसँगै विद्यालयबाटै उत्पादन बिक्री भइरहेको विद्यालय शिक्षक रीता पराजुलीको भनाई छ  ।

    व्यावसायिक योजना बनाउँदै जनप्रीय

    यस कार्यमा जनप्रीय माध्यमिक विद्यालय प्रारम्भिक चरणमा छ । विद्यार्थीहरूले हाल व्यवसाय योजना बनाउन सिकिरहेका छन् । १४ जना विद्यार्थी सहभागी समूहले हालसम्म आठ वटा बैठक गरिसकेको छ भने अभिभावकलाई समेत  विद्यालयमा उनीहरूले गर्न लागेको उद्यमबारे जानकारी गराइएको छ ।

    आफुहरू अहिले योजना, लगानी र बजारबारे अध्ययन गरिरहेको र नयाँ शैक्षिक सत्रसंगै अब उत्पादन कार्य सुरु गर्ने तयारीमा रहेको विद्यार्थीहरू बताउँछन् ।

    माटोसँग जोडिएको सिकाइ

    केरवानी माध्यमिक विद्यालय यस क्षेत्रकै ठूलो सामुदायिक विद्यालयमध्ये एक हो । कृषि विज्ञान विषयसमेत अध्यापन हुने यस विद्यालयमा विद्यार्थीहरूले भर्मी कम्पोस्ट उत्पादनको योजना बनाएको प्रधानाध्यापक निर्मल ढुङ्गाना बताउँछन् ।

    उनी भन्छन्, 'समूहमा १८ जना विद्यार्थी सहभागी छन्  । उनीहरूले माटोको उर्वरा शक्ति बढाउने लक्ष्य राखेको देखिन्छ ।'

    त्यसो त केरवानी माविमा कृषि विषय अध्यायन गरिरहेका विद्यार्थीले च्याउ, माछासहित हरिया तरकारी पनि उत्पादन गरिरहेका छन्  । गत शैक्षिक सत्रमा केरवानीका विद्यार्थीले उत्पादन गरेको फूलले समेत उत्तिकै चर्चा पाएको थियो  ।

    विद्यालय र विद्यार्थीको प्रयासमा नगरपालिकाको साथ

    देवदहमा सञ्चालन भइरहेको यो अभ्यास विद्यालय र विद्यार्थीको सहकार्यमा अघि बढिरहेको छ । विद्यालयहरूले विद्यार्थीलाई व्यवहारिक सिकाइका लागि स्थान र वातावरण दिएका छन् भने विद्यार्थीहरूले आफ्नै मेहनतले बस्तु उत्पादन  गरिरहेका छन् ।

    यसैबीच देवदह नगरपालिकाले पनि विद्यालयस्तरको हरित उद्यमशीलतालाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । स्थानीय सरकारसँग युवा संवाद कार्यक्रममा नगर प्रमुख ध्रुव प्रसाद खरेलले विद्यालयमा हरित उद्यम सञ्चालनका लागि बिउ पुँजी उपलब्ध गराउने घोषणा गरेका छन् ।

    कार्यक्रममा बोल्दै प्रमुख खरेलले नगरपालिकाले विद्यार्थीका व्यवसाय योजनाको स्वामित्व लिने र अध्ययन गरी आवश्यक सहयोग गर्ने बताए । 'विद्यार्थी उद्यमशीलताको लागि आवश्यक विउ पूँजीको व्यवस्था नगरपालिकाले गर्छ  ।' प्रमुख खरेलले भने, 'विद्यालय शिक्षापछि पनि उद्यममा जोडिन चाहने युवाहरूको लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तथा उत्पादित सामग्रीको बजारीकरणमा सहजीकरण गर्नसमेत नगरपालिका प्रतिबद्ध छ  ।'

    सोही कार्यक्रममा बोल्दै देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले विद्यार्थीहरूले हरित उद्यममा काम गर्ने इच्छा देखाएपछि टपरी उद्योगको लागि नगरपालिकाले लगानी गरेको बताइन्  । 'युवा-विद्यार्थीको साथमा हामी छौं ।' उनले भनिन्, 'यसअघि पनि उपप्रमुखसंग महिला कार्यक्रमबाट टपरी उद्योगमा मेसिन अनुदान गरेका छौं । फेरिपनि आवश्यक सहयोग गर्छौं  ।'

     बदलिँदै विद्यालय

    लामो समयसम्म नेपाली विद्यालय शिक्षा मुख्यतः पाठ्यपुस्तक, परीक्षा र सैद्धान्तिक ज्ञानमा केन्द्रित रह्यो । तर अहिले शिक्षालाई व्यवहारिक जीवन, उत्पादन, सीप र आत्मनिर्भरतासँग जोड्नुपर्ने बहस चलिरहेको छ । देवदहका विद्यालयमा भइरहेको अभ्यास यही परिवर्तनको स्थानीय उदाहरण हो भन्न सकिन्छ ।

    नेपाल सरकारको शिक्षा नीतिले पनि पछिल्ला वर्षहरूमा 'सिकाइसँग उत्पादन' र 'सीपसँग शिक्षा' जस्ता नारालाई प्राथमिकता दिँदै आएको छ । विद्यालय शिक्षालाई व्यवहारिक, जीवनोपयोगी र उत्पादनमुखी बनाउने उद्देश्यसहित 'पढ्दै कमाउँदै' अवधारणा अघि सारिएको छ । यसको मूल उद्देश्य विद्यार्थीलाई विद्यालय तहदेखि नै उद्यम, श्रम र व्यवसायिक सीपसँग जोड्नु हो, ताकि उनीहरू भविष्यमा केवल रोजगारी खोज्ने होइन, अवसर सिर्जना गर्ने नागरिक बन्न सकून् ।

    देवदहका विद्यालयमा भइरहेको अभ्यास यही अवधारणासँग मेल खान्छ । यहाँ विद्यार्थीहरू पाठ्यपुस्तकमा कृषि, वातावरण वा व्यवसाय पढेका मात्र छैनन् । उनीहरूले विद्यालयमै उत्पादन गरिरहेका छन्, बिक्री गरिरहेका छन्, हिसाब राखिरहेका छन् र बजार बुझिरहेका छन् । यो सिकाइ परीक्षा हलका लागि मात्र होइन, जीवनका लागि उपयोगी बन्ने छ  ।

    देवदह नगरपालिकाले पनि विद्यालयस्तरको हरित उद्यमशीलतालाई महत्व दिएर स्थानीय सरकारले अब शिक्षा र उद्यमलाई छुट्टाछुट्टै विषयको रूपमा होइन, एकअर्कासँग जोडिएको विषयको रूपमा हेर्न थालेको संकेत गरेको छ ।

    हरित विद्यालय, हरित उद्यम

    हरित विद्यालयको अवधारणाले पनि अहिले नेपालमा विस्तारै स्थान बनाइरहेको छ । हरित विद्यालय भन्नाले केवल विद्यालय परिसरमा हरियाली बढाउने वा वृक्षारोपण गर्ने मात्र बुझिँदैन । यसले वातावरणमैत्री सोच, फोहोर व्यवस्थापन, दिगो उत्पादन, पुनः प्रयोग, जैविक खेती, स्वच्छ ऊर्जा र जिम्मेवार जीवनशैलीलाई विद्यालय शिक्षासँग जोड्ने प्रयास गर्छ ।

    देवदहका विद्यालयमा विद्यार्थीहरूले सञ्चालन गरिरहेका परियोजनामा पनि यही सोच देखिन्छ । जैविक तरकारी खेती, भर्मी कम्पोस्ट उत्पादन, वातावरणमैत्री सोया क्यान्डल, विद्यालय परिसरमै करेसाबारी, दिवा खाजाका लागि तरकारी उत्पादन लगायतका कार्य प्रत्यक्ष रूपमा वातावरण संरक्षणसँग जोडिएका छन् ।

    यसले विद्यार्थीलाई वातावरणीय संकट, जलवायु परिवर्तन र दिगोपनबारे व्यवहारिक ज्ञान दिइरहेको छ । अहिले विश्वभर हरित अर्थतन्त्र र हरित रोजगारीबारे चर्चा भइरहेका बेला विद्यालय तहदेखि नै यस्ता अभ्यास सुरु हुनु महत्वपूर्ण कार्य हो ।

    यस्ता अभ्यासले विद्यार्थीमा आत्मविश्वास बढाउने, समूहमा काम गर्ने क्षमता विकास गर्ने र श्रमप्रति सम्मान जगाउने काम गरिरहेका छन् ।

    धेरै विद्यार्थीका लागि यो पहिलो व्यवसायिक अनुभव पनि हो । उत्पादन असफल हुन सक्छ, नाफा कम हुन सक्छ, तर उनीहरूले सिकेको योजना निर्माण, जोखिम व्यवस्थापन, ग्राहकसँग गर्ने व्यवहार र निर्णय क्षमता भविष्यका लागि महत्वपूर्ण आधार बन्नेछ ।

    सबै विद्यार्थी भविष्यमा उद्यमी नै बन्छन् भन्ने छैन । तर उनीहरूले सिकेको श्रम, योजना, सहकार्य र आत्मनिर्भरताको अनुभव भने जहाँ पुगे पनि उपयोगी बन्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # असल अभ्यास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।