देवदह । केहि दिनअघि तिलोत्तमा नगरपालिकाका एक जनप्रतिनिधिले देवदह नगर अस्पताल अगाडि उभिएको फोटो 'लवसन गुरुङ' नामको आफ्नो फेसबुक एकाउन्टबाट पोस्ट गरे । फोटोमा उनले लेखेको क्याप्सन थियो - 'तिलोत्तमा नगरपालिकाभित्र नपाएको स्वास्थ्य सुविधा मैले यहाँबाट पाएँ ।' उनको पोस्टमा तिलोत्तमा क्षेत्रका नागरिकले आफ्नो नगरपालिकामा पनि देवदहमाजस्तै स्वास्थ्य सुविधा हुनुपर्ने प्रतिक्रिया दिएका छन् ।
यो केवल एउटा सामान्य फेसबुक स्टाटस वा प्रतिक्रिया मात्र थिएन, यो त स्थानीय तहले आधारभूत स्वास्थ्य सेवामा गरेको सही लगानी र त्यसले नागरिकमा पारेको सकारात्मक प्रभावको सटिक चित्रण थियो ।
यी र यस्ता प्रतिक्रियाले कुनै समय सामान्य उपचारका लागि पनि बुटवल वा भैरहवा धाउनुपर्ने देवदहवासीका लागि अहिले आफ्नै आँगनको 'देवदह नगर अस्पताल' भरोसाको केन्द्र बनेको पुष्टि गर्छ ।
अझ रोचक कुरा त के छ भने, भौतिक पूर्वाधार र विकासमा अगाडि मानिने छिमेकी पालिकाहरूका नागरिक र जनप्रतिनिधिसमेत स्वास्थ्य सेवाको नमुना हेर्न र सेवा लिन देवदह आइपुग्न थालेका छन् । देवदह नगर अस्पताल रुपन्देहीमा स्थानीय तहले सञ्चालन गरेको पहिलो अस्पतालसमेत भएकोले अवलोकन गर्न आउने संख्या उल्लेख्य रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
नेतृत्व बदलियो, सपना बदलिएन
नागरिकलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले देवदह नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा ओम सत्य साई, भीमज्योति र ओम इन्फ्राटेक भरतपुर चितवन कम्पनीसँग ६ करोड ७५ लाख रुपैयाँमा अस्पताल निर्माणको सम्झौता गर्यो । २०७७ को कार्तिकमा निर्माण सुरु भएपनि अस्पताल निर्माण कार्य सहज रुपमा अगाडी बढ्न सकेन । निर्माणको सुरुवातदेखि नै कहिले कानुनी अड्चन त कहिले ठेकेदारको लापरवाहीले अस्पतालको भवन निर्माण कार्य अन्यौलग्रस्त बन्यो ।
जुन भवनमा नगर अस्पताल संचालन गर्ने भनिएको थियो, त्यहि भवनको निर्माण कार्य रोकिए पनि नगरपालिकाको नेतृत्व भने रोकिएन । तत्कालीन अवस्थामा हिरा बहादुर खत्री नेतृत्वको नगर सरकारले सुरु गरेको नगरको गौरवको योजनालाई २०७९ सालमा निर्वाचित ध्रुवप्रसाद खरेल नेतृत्वको सरकारले निरन्तरता दिंदै आयो ।
यसले देवदहका जनप्रतिनिधीहरू दलीय नाफा-घाटा नहेरी समग्र देवदहको विकासको लागि एक-अर्काको योजनालाई सहजै स्वीकार गर्छन र सहकार्य गर्छन भन्ने देखाउँछ ।
देवदह नगर अस्पताल उद्घाटनको त्यो समय
वि.सं. २०७९ असोज १० गते नगर प्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ लगायतको नेतृत्वमा तत्कालिन देवदह स्वास्थ्य चौकी रहेको भवनमा देवदह नगर अस्पतालको विधिवत उद्घाटन भयो ।
यसरी २०५३ असार २६ गते तत्कालिन देवदह गाँउ विकास समिति अन्तर्गत ९ वटा वडाहरुमा स्वास्थ्य सेवा दिने उद्देश्यले उप-स्वास्थ्य चौकीको रुपमा स्थापना भएको र २०७१ देखि स्वास्थ्य चौकीको रूपमा रहेको देवदह स्वास्थ्य चौकी २०७९ साल आश्विन १० गतेदेखि नगर अस्पताल बन्यो ।
सुरुवाती चरणमा सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद जम्मा १० शय्या क्षमताबाट अस्पतालले बिरामीलाई सेवा दिन थाल्यो । नगर नेतृत्वको प्रयासलाई साथ दिंदै स्वास्थ्यकर्मीहरूले साँघुरो स्थानबाट पनि गुणस्तरिय सेवा प्रवाह गरिरहे ।
स्वास्थ्य बीमा : नागरिकको आकर्षण र सेवा विस्तार
नगर अस्पतालको लोकप्रियता र सेवाग्राहीको चाप बढ्नुको मुख्य कारण हो - स्वास्थ्य बीमा कार्यक्रम । नगर प्रमुख खरेलको पहलमा अस्पतालले वि.सं. २०७९ माघ १२ गते स्वास्थ्य बीमा बोर्डसँग औपचारिक सम्झौता गर्यो ।
स्वास्थ्य बीमा बोर्डले आवश्यक प्रक्रिया पुर्याएर नगर अस्पतालसंग सम्झौता गरेपछि बीमा अन्तर्गत मात्रै १,१३३ प्रकारका औषधिहरू उपलब्ध गराउँदै आएको छ । देवदह र आसपासका नागरिकलाई महँगो निजी अस्पतालमा गएर हजारौँ खर्च गर्नुपर्ने बाध्यताको यसले अन्त्य गरिदिएको छ ।
स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको आकर्षण बढ्दै जाँदा देवदह नगर अस्पतालमा सेवाग्राहीको चाप उल्लेख्य रूपमा वृद्धि भएको छ ।
लगत्तै, स्वास्थ्य बीमा बोर्डले २०७९ फागुन १ गतेदेखि देवदह नगर अस्पताललाई स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुका रूपमा तोकेको नगर स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले बताए । लुम्बिनी प्रदेशमै नगर अस्पताललाई यस प्रकारको अनुमति दिइएको यो पहिलो उदाहरण भएको उनको भनाइ छ ।
स्वास्थ्य बीमाको प्रथम बिन्दु तोकिएसँगै देवदह नगर अस्पताल देवदह नगरभित्र मात्र सीमित रहेन । आसपासका विभिन्न पालिकाबाट समेत दैनिक रूपमा ठूलो संख्यामा सेवाग्राही अस्पताल पुग्न थाले ।
अस्पतालमा सामान्य उपचारदेखि प्रयोगशाला सेवा, औषधि वितरण तथा रेफरल सेवासमेत व्यवस्थित रूपमा उपलब्ध हुँदै आएका छन् । उपचार खर्चको भार घट्ने र सहज रूपमा सेवा पाइने भएपछि विपन्न तथा मध्यमवर्गीय नागरिकका लागि अस्पताल भरोसायोग्य केन्द्रको रूपमा स्थापित हुँदै गएको छ ।
ठेकेदार कम्पनिलाई 'कन्भिन्स' गरेर निर्माण कार्य पुन: सुचारु
प्राय:जसो कुनै ठेकेदार कम्पनीले काम गरेन र विचमै छोड्यो भने उक्त कम्पनीलाई कालोसूचीमा राखी सम्झौता रद्ध गरेर नयाँ ठेक्का प्रक्रियामा गइन्छ । तर देवदह नगर अस्पताल निर्माणको क्रममा भने त्यसो गरिएन ।
काम छोडेर हिडेको ठेकेदार कम्पनी र उसका साझेदारसंग छलफल गरि नगरपालिकाले निर्माण कम्पनीलाई काममा फर्कायो र निर्माण कार्य अघि बढाइयो ।
ठेकेदार कम्पनिलाई 'कन्भिन्स' गरेर नगर प्रमुख, उपप्रमुख तथा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले अलपत्र परेको भवन निर्माण कार्यलाई गति दिएका थिए । यदि त्यसो नगरेको भए भवन निर्माण कार्य झन् बल्झिने र योजना अलपत्र हुने खतरा देखिएकोले बिचको बाटो रोजिएको नगरपालिकाको भनाइ छ ।
नगर अस्पतालमा विशेषज्ञ सेवा
वि. सं. २०८२ साल साउन ६ गते देवदह नगर अस्पतालबाट विशेषज्ञ सेवाको सुरु भयो । एमडीजीपी (Doctor of Medicine in General Practice - MDGP) को आगमनसंगै अस्पतालमा विशेषज्ञ सेवाको सुरुवात भएको अस्पताल रहेको वडा देवदह-५ का वडाअध्यक्ष समेत रहेका नगर प्रवक्ता गणेश डुम्रे बताउँछन ।
तत्कालिन अवस्थामा सेतोमसीसंग कुरा गर्दै नगर प्रमुख खरेलले विशेषज्ञ सेवाको सुरुवातसंगै नगर अस्पतालको सेवा विस्तार हुने बताएका थिए । 'अब नगर अस्पतालमा विशेषज्ञ स्वास्थ्यसंगै सेवा विस्तार हुन्छ ।' खरेलको भनाइ थियो, 'नगर अस्पतालको आफ्नै भवनबाट विशेषज्ञ सेवा दिने हाम्रो सपना पनि पुरा हुँदैछ ।'
अत्याधुनिक भवनबाट देवदह नगर अस्पतालको सेवा
वि. सं. २०८३ बैशाख १ गतेबाट देवदह नगर अस्पतालले नवनिर्मित भवनबाट सेवा सुचारु गर्यो । ६ करोड ७५ लाख रुपैंया लागतमा निर्मित अस्पताल भवनको एक समारोह बीच नगर प्रमुख खरेल र उपप्रमुख गुरुङले संयुक्त रुपमा उद्घाटन गरे ।
अस्पताल भवन उद्घाटन समारोहमा बोल्दै प्रमुख खरेलले नागरिकलाई स्वास्थ्यमा पहुँच पुर्याउने गरी नगर अस्पताल सञ्चालन गरिएको बताए । उनले नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकता दिएको जनाउँदै नगर अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापनमा अझै चुनौती रहेको उल्लेख गरे ।
सोही कार्यक्रममा बोल्दै पुर्व नगर प्रमुख हिराबहादुर खत्रीले नगर अस्पताल व्यवस्थापनमा नगरपालिकाले कन्जुस्याई गर्न नहुने बताए । आफु नगर प्रमुख हुँदा देखेको सपना खरेल नेतृत्वको स्थानीय सरकारले पुरा गरेको भन्दै उनले खुसि व्यक्त गरे ।
करिब ६४५ वर्गमिटर क्षेत्रफलमा फैलिएको तीन तले नगर अस्पतालको भवनमा १५ शैया रहेका छन् । अस्पताल भवन अपाङ्गतामैत्री समेत छ ।
बिरामीको चाप र बढ्दो विश्वसनीयता
कुनै पनि अस्पतालको सफलता त्यसको भौतिक संरचनाले मात्र होइन, त्यहाँ आउने सेवाग्राहीको सन्तुष्टि र चापले मापन गर्दछ । देवदह नगर अस्पतालको तथ्यांक हेर्ने हो भने यसको सेवाप्रति नागरिकको विश्वासमा निरन्तर वृद्धि हुँदै गएको बुझ्न सकिन्छ ।
अस्पताल सञ्चालनमा आएको पहिलो वर्षमा नै १७ हजारभन्दा बढी सेवाग्राहीले यहाँबाट प्रत्यक्ष लाभ लिएको अस्पतालको रिपोर्टमा उल्लेख छ । यो संख्या दोस्रो वर्षमा आइपुग्दा उल्लेख्य रूपमा वृद्धि भई २५ हजारभन्दा माथि पुग्यो । हालसम्म अस्पतालबाट एक लाखभन्दा बढी सेवाग्राहीले सेवा लिएको अस्पतालका प्रशासन प्रमुख युवराज थापा बताउँछन् । वर्षैपिच्छे बढ्दै गएको यो ग्राफले अस्पतालको सेवाको गुणस्तर सुधार हुँदै गएको देखाउँछ ।
अहिले देवदह नगर अस्पतालले २४सै घण्टा आकस्मिकदेखि मातृ तथा शिशु स्वास्थ्य सेवासम्म उपलब्ध गराएको जनाएको छ । अस्पतालले हाल आपतकालीन सेवा, सानो शल्यक्रिया (माइनर ओटी), ओपिडी (बीमा तथा गैर-बीमा), फार्मेसी, भर्ना सेवा, २४सै घण्टा प्रसूति सेवा, प्रसूति पछिको सेवा (PNC), खोप, पोषण कार्यक्रम, CBIMNCI, परिवार नियोजन, क्षयरोग तथा कुष्ठरोग उपचार (DOTS), एआरभी सेवा, ईसीजी, एक्स–रे, प्रयोगशाला, सुरक्षित गर्भपतन तथा VIA परीक्षण र उपचार सेवा सञ्चालन गर्दै आएको छ ।
साथै अस्पतालले विद्यालय स्वास्थ्य कार्यक्रममार्फत स्वास्थ्य शिक्षासमेत प्रदान गर्दै आएको स्वास्थ्यकर्मीको भनाई छ ।
एक एमडिजीपी र चार जना मेडिकल अफिसरसहित २९ जना कर्मचारी
अस्पतालमा हाल एकजना एमडिजीपी र चार जना मेडिकल अफिसरसहित २९ जना कर्मचारी कार्यरत छन् ।
सेवाग्राहीको चाप बढेसँगै अस्पतालले आगामी दिनमा थप सेवा विस्तार गर्ने योजनासमेत अघि सारेको छ । योजना अनुसार अल्ट्रासाउन्ड (USG) सेवा सञ्चालन, हरेक हप्ता फरक विशेषज्ञमार्फत EHS सेवा, एमडिजीपीबाट शल्यक्रिया सेवा, मानसिक स्वास्थ्य परामर्श तथा पोषण (IMAM) कार्यक्रम सञ्चालन गरिने अस्पतालले जनाएको छ ।
यसैगरी अस्पतालले दन्त तथा आँखा उपचार केन्द्र स्थापना गर्ने तयारीसमेत गरेको जनाएको छ । सेवा विस्तारसँगै स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने नगरपालिकाको लक्ष्यमा देवदह नगर अस्पतालले लय मिलाउँदै आएको छ । देवदह नगर अस्पताल स्थानीय सरकारको सफल स्वास्थ्य मोडल रूपमा स्थापित भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology