सिद्धार्थनगर । प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न आमनिर्वाचनपछि रुपन्देहीमा रातिदेखि नै मतगणना सुरु गर्ने तयारी गरिएको छ । मतपत्रको सुरक्षा, पारदर्शिता र मर्यादित वातावरण सुनिश्चित गर्न सबै आवश्यक प्रबन्ध मिलाइएको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले बताए ।
मुख्य निर्वाचन अधिकृत बस्नेतका अनुसार जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका मतगणनास्थलमा १० फिट अग्लो तारजाली जडान गरी सुरक्षा घेरा बनाइएको छ। मतगणनास्थलभित्र अनधिकृत प्रवेश रोक्न कडा निगरानी व्यवस्था मिलाइएको उनले बताए ।
निर्वाचन क्षेत्र नम्बर १ को मतगणना देवदह आदर्श बहुमुखी क्याम्पसमा, क्षेत्र नम्बर २ को बुटवल उपमहानगरपालिका–११ को वडा कार्यालयमा, क्षेत्र नम्बर ३ को भैरहवा नमूना माध्यमिक विद्यालयमा, क्षेत्र नम्बर ४ को कोटहीमाई गाउँपालिका कार्यालयको सभाहलमा तथा क्षेत्र नम्बर ५ को गैडहवा गाउँपालिका कार्यालयमा तोकिएको छ ।
ती सबै मतगणनास्थलमा सिसी टिभी क्यामेरा जडान गरिएको छ । मतपेटिका राखिने स्थान तथा बाहिरी परिसरसमेत निगरानीमा राखिएको छ । विद्युत् आपूर्ति अवरुद्ध नहोस् भनेर वैकल्पिक बत्तीको व्यवस्था गरिएको जनाइएको छ ।
मतगणनाका क्रममा खटिएका कर्मचारी र सुरक्षाकर्मीबाहेक अन्य व्यक्तिलाई तारजालीभित्र प्रवेश नदिइने व्यवस्था गरिएको छ। उम्मेदवारका प्रतिनिधि तथा सरोकारवालाले भने तोकिएको स्थानबाट मतगणना अवलोकन गर्न पाउनेछन् ।
२०७४ सालमा भरतपुरमा सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा देखिएको विवादास्पद घटनापछि देशभर मतगणनास्थलमा तारजालीसहितको सुरक्षा प्रबन्ध गर्ने अभ्यास सुरु भएको हो। यसपटक पनि सोही अनुभवलाई ध्यानमा राखी रुपन्देहीमा सुरक्षा व्यवस्था थप सुदृढ बनाइएको निर्वाचन कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology