रुपन्देही । बिहानको ८ बजेको छ। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका रुपन्देही जिल्ला इञ्चार्ज गणेशमान पुनको नेतृत्वमा बुटवलबाट नेताहरूको एउटा टीम पश्चिम रुपन्देहीको कन्चन गाउँपालिका पुगेको छ। बर्षातको समय भएपनि सधैकोभन्दा मंगलबारको मौसम फरक छ। उदाउदो सुर्यको कलिलो प्रकाशसंग जिस्किदै सिरसीर बतास चलेको छ अर्थात गाउँपालिकाको नामजस्तै यहाँको मौसम पनि कन्चन छ।
कन्चन गाउँपालिकाको वडा नम्बर १ मा एउटा सुन्दर बस्ती छ। बस्तीको सुन्दरता अनुसार नै यस टोलको नाम सुन्दर टोल राखिएको छ। यसै टोलमा एउटा कार्यक्रमको तयारी हुँदैछ। संघीय सरकारका मन्त्री भैसकेका माओवादी नेता गणेशमान पुन सहभागी हुने उक्त कार्यक्रमको तयारी यति साधारण तरिकाले हुँदैछ कि यहाँ चर्को माइकिङ्ग, सुविधायुक्त कुर्सी/सोफा र टेन्ट केहीको पनि व्यवस्था छैन।
घडीको सुईले बिहानको ९ बजाउनै लाग्दा सुन्दर टोलमा अवस्थित एक घरको फराकिलो आगनमा कार्यक्रम सुरू हुन्छ। न प्रमुख वा विशिष्ट अतिथिको पर्खाई, न नेताको स्तुतिगान र जयजयकार सरासर कार्यक्रम अगाडि बढ्छ। वडा कमिटि सचिव कृष्ण प्रसाद उपाध्यायले अतिथिहरूलाई आसनग्रहण गराएपछि सहभागीबाट रिपोर्ट लिने कार्य अगाडि बढ्छ।
एक सय ५० घरधुरी रहेको सुन्दर टोलका ९० जनाको समावेशी उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्ने अधिकांशले देश र माओवादी आन्दोलनको चिन्ता गरे। गणतन्त्र प्राप्तिपछि पनि जनताको अवस्थामा परिवर्तन नआएकोमा दु:ख व्यक्त गर्दै उनीहरूले भ्रष्टाचार नै देश विकासको तगारो रहेकोले त्यतातर्फ नै मुख्य रूपमा ध्यान केन्द्रित गर्न नेतालाई सुझाब दिए।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रणमा गरिरहेको कामले समुन्नत र समृद्ध राष्ट्र देखेर मर्ने आफ्नो सपना पुनर्जीवित भएको भन्दै एक ७६ वर्षिया बृद्धा महिला हिमाली थापाले खुट्टा नकमाएर अघि बढ्न माओवादी नेतालाई अनुरोध गरिन्। नेता गणेशमान पुनको मुखमा गर्दै उनले भनिन्, 'हेर्नुस् बाबु हजुर ठूलो नेता हुनुहुन्छ, उमेर पनि छ। हामी त बुढो भैयो । शरिर बुढो भएपनि मेरो सपना बुढो भएको छैन। मलाई कहीं जानुपनि छैन, केही पाउनुपनि छैन । मात्रै समृद्ध देश देखेर मर्न मन छ। प्रचण्डबाट मलाई अझै पनि आस छ। हामीजस्ता बुढा बा-आमाको सपना पुरा गर्नु तपाईंजस्ता छोरा नातिको कर्तब्य हो है बाबु ।'
पहिलेदेखि नै गम्भीरताका साथ सबैका कुरा सुन्दै डायरीमा नोट गरिरहेका नेता पुनले जेष्ठ नागरिक हिमाली थापाका शब्द डायरीमा मात्रै टिपेनन् । जेष्ठ नागरिकको त्यो आवेग, आशा र उर्जा सहितको अभिव्यक्तिले नेता पुनका आखाँ रसाए। गहभरी आशु बनाएका उनलाई बृद्ध 'आमा' का कुराले गम्भीर बनाएको सहजै अनुमान गर्न सकिन्थ्यो।
'घर घरमा माओवादी, जनजनमा माओवादी' नारासहित तीन महिने विशेष रुपान्तरण अभियान लिएर बस्ति-बस्तीमा पुग्ने क्रममा कन्चनको सुन्दर टोल पुगेका माओवादी नेतासंग पार्टी कार्यकर्ता र स्थानियले गाउँमा माओवादी नेता हराएको गुनासो गरे। 'जनयुद्धको उभार सहित आएर देशकै पहिलो दल बनिसकेको र कैयौं पटक सरकारमा सहभागी भैसकेको, अहिले पनि देशको नेतृत्व गरिरहेको मुलुकको तेस्रो ठूलो दल माओवादीका नेताहरू गाउँबाट किन गायब भए ?' अधिकांशले प्रश्न तेर्स्याए।
गाउँबाट नेता हराए पनि पार्टी नहराएको तर्क गर्दै स्थानिय विजय शर्माले लोभी-पापी र भ्रष्टहरूले पार्टी छाडे पनि आफूहरूले जगबाटै नयाँ ढंगले पार्टी निर्माण गरिरहेको बताए। 'पार्टी-संगठनमा काम गर्दागर्दै आर्थिक अभावले म २०७० सालमा मलेसिया पुगेँ। त्यहाँ तीन वर्ष काम गरेर नेपाल फर्किदा गाउँबाट पार्टी हराईसकेको रहेछ। केही हाम्रा अगुवा भन्नेहरू अन्य पार्टी प्रवेश गरेर आन्दोलनमाथि खिसीट्युरी गर्दै हिडेको मैले यिनै आखाँले देखें। सहनै नसकिने गरि पिडा भयो। तर म मा विचलन आएन। निर्भिकताका साथ पार्टी निर्माणमा लगियो, अहिले परिस्थिति बदलिएको छ। यसरी हँसिया हथौडा अंकित झण्डा देख्दा मनमा उर्जा आउँछ अनि आखाँमा खुसीका आशु ।' आक्रोस, आवेग र आखाँमा आशुसहित एकै सासमा उनले गाउँको सबै कहानी सुनाए।
त्यसैगरी अर्का स्थानिय कार्यकर्ता निर्मला थापाले आफु गुल्मीको ठूलो लुम्पेकमा हुँदादेखि नै पार्टीमा जोडिएको तर बसाईसराई गरेर कन्चन आएपछि पार्टीमा जोडिन मुस्किल भएको बताइन। 'श्रीमान् आर्मीमा हुँदा समेत हामी माओवादी बनियो। हिजो श्रीमान् सहित एकातिर आर्मी र अर्कोतिर माओवादी हुँदा हामीले माओवादी रोज्यौं। परिवारलाई कन्भिन्स गर्यौं र पार्टीमा होमियौं तर आज त्यही पार्टीमा जोडिन र जनताको काम गर्न हामीलाई सहज छैन। चुनाबै पिच्छे नेता फेरिने, चुनाब लडेको नेता चुनाब सकिएको दिनदेखि गाउँमा नदेखिने, यस्तो अवस्थामा छाती फ़ुल्याएर हामी माओवादी हौँ भन्न कसरी सकिन्छ ? के तपाईंहरू हाम्रो यो पिडा महसुस गर्न सक्नुहुन्छ ? महसुस मात्रै गर्न सक्नुहुन्छ भने पार्टी यही छ, पार्टी बन्छ ।" निर्मलाले रुदैं रिपोर्ट गरिन् । निर्मला थापा आफु मात्रै रोइनन्, उनी बोल्दै गर्दा पार्टी नेता गणेशमान पुन लगायतका अतिथि समेतले आखाँको आशु पुछिरहे।
पार्टीको रिपोर्ट गर्दै अर्का स्थानिय चित्रराज चालिसेले केन्द्रमा अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले संचालन गरिरहेको भ्रष्टाचार विरोधी अभियान र स्थानिय तहमा आफ्नो पार्टीबाट विजयी गाउँपालिका उपाध्यक्ष मौसमी थापाले जनस्तरमा गरिरहेको कामले आफूहरूलाई उत्साहित बनाएको बताए। देशको मुल समस्या भ्रष्टाचार उन्मुलन गर्ने कार्यमा केन्द्रिय सरकार र नागरिकका दैनिक जीवनसंग जोडिएका प्रशासनिक तथा विकास निर्माणका काममा पालिका उपाध्यक्ष मौसमी थापाले लिएको पहलले स्थानियहरूले माओवादीले अवसर पाए देश र जनताको पक्षमा काम गर्ने रहेछ भनेर आफुलाई सुनाउन थालेको उनको भनाई थियो।
टोलको गुनासो र सुझाब सुन्ने कार्यक्रममा केन्द्रिय नेता सहित सहभागी भएका नेकपा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले कार्यक्रममा आफुले अपेक्षा नै नगरेको उपस्थिति देखिएको भन्दै आश्चार्य व्यक्त गरे।
'हामी थोरै छौं, १०-१५ जना हुन्छौं होला भन्ने लागेको थियो, यतिधेरै साथीहरू त्यो पनि पार्टीमा यति ठूलो लगानी र माया भएका साथीहरू देख्दा मैले खुसीका आशु रोक्न सकिन' उनले भने, 'यहाँहरूले नेता हराएको भन्नुभयो यसले मलाई विझ्याएको छ, यहि मन्चबाट म कन्चनलाई नेता हराएको होइन, नेतैनेताको पालिका बनाउने प्रण गर्छु।'
अध्यक्ष शर्माले अहिले पालिकामा चार सय ५० पार्टी सदस्य रहेको जानकारी दिंदै वडासम्म कायम कमिटीलाई अब टोलसम्म विस्तार गर्दै नयाँ सदस्यता वितरण कार्य समेत अघि बढाइने बताए।
नेता कार्यकर्ताको गुनासो र सुझाब सुनिसकेपछि पार्टी स्थायी समिति सदस्य गणेशमान पुनले आफुले जनयुद्धका सुरुवाती दिनहरूको स्मरण गरेको बताए। जनयुद्धको पहिलो फौजी आक्रमणको कमान्डर समेत रहेका नेता पुनले जनतामा रहेको आक्रोश र आवेगलाई उत्साहमा परिणत गर्नु अहिलेको पहिलो आवश्यकता रहेको बताए।
'यहाँ रिपोर्ट गर्नुहुने बृद्ध आमाको सपना नै हाम्रो सपना हो र अहिले यो आम जनताको सपना हो' उनले भने, 'हामी हाम्रो सपनालाई मर्न दिन्नौं, परिस्थिति फरक होला, लडाईको स्वरूप बदलिएको होला, तर अहिलेपनि समुन्नत राष्ट्र निर्माण गर्दै समाजवादमा पुग्ने लडाई जारी छ, रुप मात्रै बदलिएको हो।'
समाजवाद आफै कतैबाट आउने नभई समुदायबाटै जन्मिने उल्लेख गर्दै नेता पुनले राज्य र दलहरूले त्यसकोलागि आवश्यक आधार तयार गर्नुपर्ने बताए।
भ्रष्टाचारको अन्त्यसंगै नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने दिशामा सरकार अघि बढ्ने बताउदैं नेता पुनले पार्टीले त्यसको लागि सुझाब र आलोचना संकलन गर्ने अभियान नै विशेष रूपान्तरण भएको दावी गरे।
रुपान्तरण अभियानले हराएका नेता खोज्ने र नयाँ नेता जन्माउने दुवै काम एकसाथ गर्ने उलेख गर्दै नेता पुनले समाजवादको नेपाली बाटोको खोजी गर्दा पार्टी केही समय अलमलिए जस्तो देखिए पनि अब त्यस्तो नहुने तर्क गरे।
संघीयताले स्थानिय तह र नागरिकलाई अधिकार दिएको उल्लेख गर्दै नेता पुनले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर वृद्धि गर्ने, स्थानीय सरकारी निकायको अनुगमन र नियमन गर्ने, रोजगार, नेतृत्व विकास लगायतका कार्य संचालनको लागि स्थानिय सरकारले काम गर्न सक्ने हुनाले स्थानीय सरकारलाई जनमुखी बनाउन आवश्यक पहल लिन उनले अनुरोध गरे ।
नेता पुनसंगै सहभागी माओवादी नेताहरू ठाकुर कुमार विक, निर्मल जिसी, दिपिका शर्मा लगायतको समूहले स्थानिय आमा समूह लगायतसंग समेत अन्तरक्रिया गरेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology