Logo

२०८३, आश्विन ९गते


images
images

नारी नेतृत्व

झिलिङ्गाले फेरिएको इन्दिराको जीवन

झिलिङ्गाले फेरिएको इन्दिराको जीवन

images
  • झिलिङ्गाले फेरिएको इन्दिराको जीवन
    images
    images

    वि.सं. २०४४ साल बैशाख ५ गते पाल्पा जिल्लाको मदनपोखरा–९, दमकडामा बुवा युवराज बस्याल र आमा शान्ताको कोखबाट इन्दिरा रेग्मीको जन्म भयो । युवराजका ३ छोरी र १ छोरा मध्ये इन्दिरा जेठी हुन् ।

    images
    images
    images

    पाल्पाको मदनपोखरा यसैपनि कृषि र किसानहरुको भुमी भनेर परिचित छ । यहि परिचयमा बस्याल परिवारले पनि आफ्नो पौरख गरेर जिविकोपार्जन गरिरहेको थियो । इन्दिराको बुवाले बारीमा तरकारी र फलफुलहरु लगाउँथे । त्यसलाई फलाएर बिक्रीपछि आउने आम्दानी उनीहरुको परिवारको जीवन निर्वाहको माध्यम थियो । त्यतिमात्र होइन, युवराजले आफ्नो उत्पादनबाहेक गाउँका अन्य कृषि उत्पादनलाई समेत खरिद गरेर तानसेन तथा बुटवलका बजारमा पुर्याउने गर्थे ।

    images
    images
    images

    सामान्य किसान परिवारमा हुर्किदैगरेकी इन्दिराको १४ बर्षको उमेरमा प्रेम विवाह भयो । वि.सं. २०५९ सालमा स्थानीय गणेश रेग्मीसँग विवाह बन्धनमा बाँधिइसकेपछि मात्र उनलाई जीवनको भोगाई र संघर्षको अनुभुति हुन लाग्यो । किसानकी छोरी ईन्दिरा किसानीभन्दा फरक पृष्ठभुमिको परिवारकी सदस्य हुन पुगिन् । घरमा ससुराबुवा आर्मीको रिटायर्ड भएको हुँदा उनको माइतीभन्दा परिवारको सामाजिक र आर्थिक अवस्था केहि सवल थियो ।

    images
    images
    images

    बिहे गरेको अर्को दिन इन्दिराका श्रीमान् विदेश गए । त्यसपछि सुरु भए उनका संघर्षका दिनहरु । समाजमा मागी विवाहलाई सम्मान स्वरुप हेरिने र भागी विवाहलाई हेयको भावले लिइने संस्कारका कारण उनले सास्ती खेप्नुपर्यो । ‘किशोरावस्थामा परिवार भन्ने के हो थाह नहुँदै विहे गरियो । प्रेम विहे गरेका कारण सायद दुवैतर्फका परिवारको नजिक हुन र मायाँ पाउन पनि सकिएन ।’ उनी भन्छिन्, ‘श्रीमान् पनि साथमा नहुँदाको त्यो क्षण सम्झिदा शरिरमा काँडा उठ्छन् ।’

    श्रीमान् विदेश गएको लामो समयसम्म पनि घरपरिवार र इन्दिराको सम्बन्ध सुमधुर नबनेपछि करिव डेढ बर्ष मलेसीया बसेका उनका श्रीमान् गणेश घर फर्किए । त्यसपछि इन्दिरा र उनका श्रीमान् परिवारकै सहमतिमा घरबाट छुटटै बस्न लागे । वि.सं.२०६३ मा इन्दिराले छोरालाई जन्म दिईन् । उनको २ जनाको परिवार ३ मा परिणत भयो । श्रीमान् पनि घरमा रहेको र परिवारबाट छुट्टै भएपछि आफ्नो दैनिकी चलाउनका लागि पनि उनीहरुलाई हम्मेहम्मे भयो । घरबाट अलग भएपछिको पिडा सुनाउँदै उनले भनिन्, ‘छुट्टीएपछि करिव एक हप्ता त  चिउरा र दालमोट खाएर गुजारा चलायौं ।’ माघे संक्रान्तिको दिन सम्झिदै उनले थपिन, ‘घर बाहिर तरुल बेच्न ल्याएका रहेछन्, १५ रुपैंया केजी पर्ने तरुल आधा केजी किन्नको लागि ८ रुपैंया पनि घरभरि छामछुम पार्दा ५ रुपैंया मात्र भेटियो ।’ परिवारमा नयाँ सदस्यको आगमन र आर्थिक जर्जरता थप बढ्दैगएपछि इन्दिराका श्रीमान् फेरी विदेश लागे ।

    काखमा सानो दुधे छोरा, श्रीमान् विदेश । विदेश जाने वित्तिकै पैसा आउने कुरा पनि भएन, जानेबेलाको पैसा पहिला तिर्नुपर्यो । यो समयमा के गर्नेहोला भनेर टोलाएकी इन्दिरालाई उनकी आमाले केहि काम गर भनेर सुझाइन् । ‘तिमिसँग न सिप छ, न शिक्षा छ । दुवै नभएपछि भविष्यमा दुःख पाइन्छ ।’ आमाले उबेला भएको कुरा सुनाउँदै इन्दिराले भनिन्, ‘त्यतिबेला गाउँकी एकजना अन्टिले झिलिंगा बनाउने मेसिन बेच्न खोज्नुभएको रहेछ । त्यहि मेसिनसहित आमाले मलाई ५ केजी चामलसमेत ल्याएर दिनुभयो । त्यहिबाट मेरो उद्यम सुरु भयो ।’

    इन्दिराले ५ केजीबाट सुरु गरेको झिलिंगाको व्यापार अहिले बार्षिक २५ क्वीन्टलमा पुगेको छ । अहिले झिलिंगा मात्र होइन, इन्दिराले बार्षिक रुपमा ४ क्वीन्टलभन्दा बढि बेसार र ३ क्वीन्टलभन्दा बढि चामलको पिठो बिक्रि गर्छिन् । उनले चामलको पिठोबाट सेलरोटीसमेत बनाएर बेच्ने गर्छिन् । उनीकहाँ दशै, तिहार र चाडपर्वमा सेल र झिलिंगा किन्नेहरुको घुँइचो लाग्नेगर्छ । कतिपय पसलहरुमा समेत उनले आफुले उत्पादन गरेका झिलिंगा पठाउने गरेकी छन् । त्यस्तै स्थानीय रुपमा आयोजना गरिने कार्यक्रममा समेत इन्दिराले बनाएका सेलरोटी नास्ता÷खाजाको रुपमा प्रयोग हुनेगरेको छ ।

    पाल्पामा रहँदा झिलिंगा बनाउन सिकेकी इन्दिरा श्रीमान् विदेशबाट फर्किएपछि वि. सं. २०६९ सालमा देवदह झरेकी हुन् । उनी देवदह झर्नुको कारण छोरो पढाउनु थियो । उनी भन्छिन्, ‘दमकडामा त्यतिबेला दुइवटा विद्यालय थिए । एउटा सामुदायिक र अर्को निजी । छोराछोरी निजी विद्यालयमा पढाउने चलन त्यतिबेला व्याप्त थियो । त्यसैले मैले छोरालाई त्यहिँको निजी विद्यालयमा भर्ना गरें। तर विद्यालयमा शिक्षकले पिटे भन्दै छोरो विद्यालय जान नमानेपछि हामी देवदह झर्न बाध्य भयौं ।’

    शिक्षाको लागि बुटवल पनि उनीहरुको रोजाई थियो, तर बुटवल बसाई महंगो हुने भएपछि इन्दिराको परिवार देवदह आयो । उनी भन्छिन्, ‘त्यतिबेला देवदहका विद्यालयले पनि राष्ट्रिय रुपमा रिजल्ट राम्रो ल्याएको खवरहरु थाहा पायौं अनि आफन्त र नातेदारहरु पनि देवदह भएकाले पनि हामीलाई सहज बनायो ।’

    देवदहमा आएर भाडामा बस्न थालेकी इन्दिराले आफ्नो इलमलाई निरन्तरता दिन चाहन्थिन । तर झिलिंगा बनाउने ठाउँको अभावले उनलाई समस्या बनाएको थियो । त्यो समस्यालाई चिर्दै उनले छिमेकी साथीलाई पार्टनरमा काम गर्ने प्रस्ताव राखिन् । सोही बमोजिम झिलिंगाको काम पनि सुरु भयो ।

    ईन्दिराका श्रीमान्ले देवदहमा आएपछि अर्का एकजना साथीसँग मिलेर ट्रक खरिद गरेका थिए । जसबाट उनको परिवारको गुजारा चलिरहेको थियो । धेरथोर बैदेशिक रोजगारीबाट फर्किदा ल्याएको पैसा र इन्दिराले नेपालमा आफ्नो सानो उद्यमबाट संकलन गरेको बचत जम्मा पारेर उनीहरुले दुई ठाउँमा घडेरीसमेत जोडेका थिए । उनीहरुको देवदह बसाई ठिकठाक चल्दैथियो ।

    नारी नेतृत्व (2).png
    झिलिंगा बनाउँदै इन्दिराको टिम 

    श्रीमानले बिदेश नजाने अब नेपालमै बसेर केही गर्ने भन्ने सोच बनाएपछि अर्को बैकल्पिक र दिगो व्यवसायको खोजिमा उनीहरु थिए । ‘हामीले के गर्नेहोला भनेर सोँच्दै थियौं, अन्यौलता पनि थियो ।’ उनले भनिन्, ‘ट्रकबाट पछिल्ला दिनहरुमा फाइदा हुन छोड्यो र जग्गा खरिद बिक्रीको काम पनि दिगो नदेखेकाले अर्को वैकल्पिक व्यवसायको हामीसँग विकल्प थिएन ।’ पाल्पाको तानसेनमा एउटा फर्निचर उद्योग विक्रीमा छ भन्ने थाहा पाएपछि इन्दिरा र उनका श्रीमान्ले उक्त उद्योग खरिद गर्ने सल्लाह गरे । सोही बमोजिम योजना बन्यो र उनीहरुले देवदहमा भएको एउटा घडेरी बिक्री गरे ।

    फर्निचर उद्योगबारे कुरा गर्न भनि एकदिन सबेरै इन्दिराका श्रीमान् पाल्पाको लागि निस्किए । २०७५ मंसिर १८ गते देवदहबाट हिँडेको केहि घण्टा नवित्दै दुःखद् घटना घट्यो । इन्दिराका श्रीमान् गणेश मोटरसाइकल दुर्घटनामा परे । पाल्पाको सिद्धबाबामा भएको दुर्घटनामा गणेशको घटनास्थलमै मृत्यु हुन पुग्यो । श्रीमान्को मृत्युपछि इन्दिरालाई थप बज्रपात पर्यो । घर छाडेर आएको केहि बर्ष बित्यो, आफ्नो घर छैन । ४ बर्षकी छोरी काखमा, काँधमा कक्षा–७ मा पढ्ने छोराको जिम्मेवारी । बिछिप्त बनेकी इन्दिरासँग मन बुझाउनु बाहेक केहि बिकल्प थिएन । छोराछोरीको मलिन अनुहार हेरेर उनीहरुको भविष्यको चिन्तन गर्नु नै उनको जीवनको लक्ष्य बन्यो ।

    इन्दिराले घटनालाई क्रमशः सामान्य बनाउँदै लैजानुको बिकल्प थिएन । डिप्रेसनको बिरामी उनलाई श्रीमानको मृत्युले झन पेचिलो बनायो । हिजो सानो उमेरमा बोकेको ठुलो बोझका कारण उनी बिरामी थिइन् । बिरामी इन्दिराको मनमा धेरै कुरा खेल्ने गर्थ्यो । स–साना कुराहरुले समेत धेरैबेर मनमा खुल्दुलीपन ल्याउँथ्यो । ‘केहि कुरा कसैलाई व्यक्त गर्न पनि सक्दिनथे । एकदिन त म बेस्सरी चिच्याएर रोइछु । त्यो रुवाई नरोकिएपछि मलाई अस्पताल पुर्याइएको रहेछ । पछि होस आउँदा म अस्पतालको बेडमा थिए । त्यो पनि नशा तथा मानसिक लेखिएको कोठामा ।

    मानसिक तनावमा परेको भन्ने थाह पाएपछि इन्दिराले आफनो बिगत सम्झिइन् । मनमा भएको पिडा व्यक्त गर्ने कोही नहुँदाको परिणाम आफुले भोग्नुपरेको अनुभुति उनलाई भयो । डाक्टरले काउन्सेलिङ् गर्ने बेला उनलाई सोधेका हरेक कुरा ठ्याक्कै मिल्थ्यो । उनलाई डाक्टरले बुझाएपछि थाहा भयो हिजो कलिलो उमेरमा उठाएको बोझ, परिवारको तिरस्कार, गिद्धे नजर, गालि गलौज, अझ भन्दा केहि सदस्यबाट भोगेको कुटपिट र यातना उनलाई अस्पतालसम्म पुर्याउने माध्यम रहेछन् । बिरामी अवस्थाकी उनले श्रीमान्सँग हरेक कुरा सेयर गर्दै आफुलाई नियन्त्रण गरिरहेकी थिइन् । तर समय पनि यति निर्दयी बन्यो कि, श्रीमान्ले समेत उनलाई छोडेर गए ।

    श्रीमान्को मृत्युपछिपनि इन्दिराले देवदह छाडिनन् । पाल्पा सर्ने योजनाकै विचमा श्रीमान् अस्ताएपछि उनलाई त्यता जान मन लागेन । उनले देवदहमै घर किन्ने निधो गरिन् । तर त्यसको लागि इन्दिरासँग आवश्यक पैसा थिएन । जग्गा बेचेर फर्निचर उद्योग खरिदका लागि श्रीमानले जम्मा गरेको ११ लाख रुपैंया मध्ये २ लाख मात्र खातामा भेटियो । २ पटक गरेर श्रीमानले ९ लाख रुपैंया नगद खाताबाट झिकेको देखिएपनि त्यो कसलाई दिइएको थियो अत्तोपत्तो भएन । बिमा कम्पनीबाट आएको ८ लाख रुपैंया, घडेरी बिक्रीबाट १८ लाख तथा भाइले केही रकम सहयोग गरेपछि उनले देवदह–५ मितेरीगाउँमा ३५ लाख रुपैंया लगानी गरेर एउटा घर खरिद गरिन् । उनी अहिले त्यहि घरमा बस्छिन् ।

    indira regmi .jpeg
    झिलिङ्गा समाएकी इन्दिरा

    हिजो पिडा र बेदनाका बिच आँफुलाई खुम्चाएकी इन्दिरा अहिले सामाजिक कामहरुमा समेत सक्रिय हुन थालेकी छन् । उनी स्थानीय एक कृषि सहकारी संस्थामा लेखा समिति सदस्यको रुपमा कार्यरत दिन् । सहकारीले गर्ने हरेक कार्यक्रममा उनी सक्रिय सहभागिता जनाउने गर्छिन । आफुले औपचारिक रुपमा धेरै पढ्न नसकेपनि व्यवहारिकता र आत्मनिर्भरताबारे उनीसँग थुप्रै ज्ञान छ । उनका छोरा १२ कक्षा उत्तिर्ण गरेर हाल अध्ययनको सिलसिलामा अष्ट्रेलिया छन् । छोरी पनि कक्षा ६ मा अध्ययन गर्छिन् ।

    हिजो डिप्रेसनबाट ग्रसित इन्दिराले खाने औषधीको डोज ७५ एमजि बाट घटेर अहिले ५ एमजि मा झरेको छ । ‘स्वास्थ्य नै सबैभन्दा ठुलो धन रहेछ । हामी स्वस्थ हुन सक्यौं भने त्यो भन्दा ठुलो सम्पत्ति केही रहेनछ । हिजो मैले जति संघर्ष गरे, ति सबैकुरा मेरो छोरालाई सेयर गरेकी छु ।’ श्रीमान्को वियोग मेटाउन छोरासँग इन्दिरा साथीको जस्तै व्यवहार गर्छिन् । विदेशमा रहेपनि छोराले आफुलाई पटक पटक भिडियो कल गरेर अवस्था बुझ्ने गरेको इन्दिरा बताउँछिन् । ‘अहिले म कुनै तनाब लिन्न । कुनैबेला मनमा कुरा खेल्न लाग्यो भने भित्र रुममा गएर गित बजाएर मज्जाले नाच्दिन्छु । केहि क्षणमै तनाव कम हुन्छ ।’ अहिले डाक्टरले समेत उनलाई केहि महिनापछि औषधि नखाएपनि हुने भनेका छन् ।

    इन्दिराले अहिलेपनि आफुले सकेजतिको काम गर्छिन् । हिजो म्यानुअल काम गर्दा (झिलिंगा बनाउँदा) हातको बल परेर होला उनको हात बेलाबेला दुख्ने गर्छ । अहिले त उनीसँग पिठो पिध्ने मेसीन छ, जसबाट बेसारको पनि काम हुन्छ । आफुलाई आवश्यक पर्नेबाहेक गाउँले र छरछिमेकीलाई समेत उक्त मेसिनबाट गर्जो टर्ने काम हुने गरेको छ । उनीसँग सामान्य प्याकेजिङ् गर्ने मेसिन पनि छ ।  काममा सहजता होस् भनेर उनले अहिले झिलिंगा बनाउने मेसिन खरिद गरेकी छन् । काठमाडौंमा महाविर पुनलाई भेटेर उनले आफ्नै डिजाइनमा झिलिंगा बनाउने मेसिन बनाउन लगाएकी हुन् । जसको मुल्य १ लाख पचास हजार रुपैंया परेको उनी बताउँछिन् । 

    इन्दिराले अब आफ्नो व्यवसायलाई दर्ता गरेर सञ्चालन गर्न चाहन्छिन् । तर कानुनी झञ्जट र जटिलताका कारण उनलाई त्यो अफ्ठ्यारो लागिरहेको छ । ‘एउटा सामान्य मान्छेले स्वरोजगार हुनको लागि धेरै विकल्पहरु छन् । उसले बैधानिक रुपमै ब्राण्डीङ गरेर सानो उद्यम गर्न खोज्यो भनेपनि २-३ ठाउँमा दर्ता अनि खर्चिलो प्रक्रियाका कारण पछि हट्नुपर्ने अवस्था छ ।’ आफुजस्तो सानो उद्यम गरेर घरखर्च चलाउनेहरुकै लागि भएपनि राज्यले झञ्जटिलो नीति र सिस्टमलाई परिवर्तन गर्न आवश्यक रहेको इन्दिरा बताउँछिन् ।

    समाजमा व्याप्त बेरोजगारी कम गर्नको लागि सानातिना उद्यामसँग जोडिनुपर्छ भन्ने इन्दिराले सबै तहका सरकार र संघसंस्थाहरु उद्यममैत्री बन्नुपर्ने धारणा राख्छिन् । उत्पादनसँग जोडिनका लागि उद्यममैत्री वातावरण बन्नुपर्छ भन्ने उनी उद्यमी महिलालाई समाजले सम्मानजनक स्थान दिनुपर्ने बताउँछिन् । समाजमा अगाडी बढ्न खोज्ने महिलालाई शंका र प्रश्नको साँघुरो घेराभित्र राखिने गरेको प्रति दुःख व्यक्त गर्दै उनले समाजको यो नजरमा परिवर्तनको खाँचो औंल्याउँछिन् ।

     

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।