देवदह । दृढ संकल्प र समर्पित भएर लागेमा कुनैपनि कामबाट सफलता प्राप्त हुन्छ भन्ने उदाहरणहरु हाम्रो समाजमा प्रशस्त भेटिन्छन् । उदाहरणीय बन्दै समाजप्रतिको आफ्नो कर्तव्य र उपस्थितिलाई मजवुद बनाएर जिम्मेवारीका साथ अघि बढिरहेकी एक सशक्त शिक्षक, समर्पित आमा र दृढ संकल्प बोकेको संस्थाकी प्रमुख हुन् - कल्याणी पौडेल ।
वि.सं. २०४२ चैत १४ गते सिन्धुली जिल्लाको कमलामाई नगरपालिका भिमागाउँमा बुवा ईन्द्र पौडेल र आमा कल्पनाको कोखबाट जन्मिएकी कल्याणी चार छोरीमध्ये जेठी हुन् । बाल्यकालबाटै देखिएको उनीभित्रको चञ्चलता, रचनात्मकता र नेतृत्वको झिल्कोले उनको भविष्य र उनले भविष्यमा उठाउन सक्ने कदमहरूबारे संकेत गरिरहेको थियो ।
सानैदेखि गाउँका बालबालिकालाई पढाउने र घरमा उनले गर्ने कामहरु हेर्दा उनी व्यवस्थापकीय क्षमतामा अब्बल हुँदैछिन् भन्ने भान हुन्थ्यो । नाचगान र खेलकुदका क्रियाकलापमा समेत रुची राख्ने उनी पढाइमा औसत भए पनि सोंचमा परिपक्व थिइन् ।
उनका बुवाको शिक्षामैत्री सोचले उनलाई जीवनका कठिन घडीमा पनि आत्मबल दिएको छ । ‘छोरीले पढ्नुपर्छ, समाज बदल्नको लागि बाँच्नुपर्छ ।’ भन्ने बुवाको मन्त्र उनको जीवनको लागि प्रेरणा बनेको छ । उनी भन्छिन्, ‘बुवाले मन्त्रालयमा काम गर्नुहुन्थ्यो । एउटा मन्त्रीको चलकको रुपमा । तर हाम्रो भविष्यप्रति उहाँ निकै सचेत भएको मैले अनुभुति गर्थें ।’
त्यसो त सँधै घरमा आउँदा बुवाले अफिसबाट पत्रपत्रिका ल्याईदिने र नयाँ नयाँ कुरा सिक्नुपर्छ भनेर सिकाउने गरेका कारण पनि आँफुलाई केहि फरक गर्नुपर्छ भन्ने सोचको विकास भएको उनी बताउँछिन् ।
जागिरे बुवाको कारण शिक्षित मान्छेहरुसँग घुलमेल हुन अवसर पाएकी उनले आफ्नो मार्गदर्शक समेत बुवालाई मान्ने गर्छिन् । कल्याणी भन्छिन्, ‘बुवा मेरो असल साथी हो । शिक्षक र पथ प्रदर्शक हो । बुवाकै मार्गदर्शनमा म हिँडिरहेकी हुन्छु ।’
काठमाडौँको शिक्षा प्रणालीबाट प्रभावित भएकी कल्याणीलाई भर्खरै ग्रामिण परिवेशबाट शहरोन्मुख बन्दै गरेको देवदहका विद्यालयको शैक्षिक वातावरणले चिन्तित तुल्यायो । बालबालिकाको लागि बालमैत्री वातावरणयुक्त विद्यालयको उनले कल्पना गर्न थालिन् ।
उनी भन्छिन्, सानोमा काठमाडौंका हरेक ठाउँ घुमाउँदा त्यहाँको ऐतिहासिक तथा धार्मिक महत्वका बारेमा बुवाले बताउने गरेको कुरा अहिले पनि मलाई ताजै छ । मेरो अध्ययनको शिलशिलामा पनि बुवाले बताएका र सिकाएका कुराहरुले ठुलै अर्थ राख्थे ।' बुवाले आफुलाई जीवन ‘मिनिङफुल’ बनाउनका लागि उत्प्रेरित गर्ने गरेको कल्याणी बताउँछिन् ।
स्नातक तहसम्मको अध्ययन पूरा गरेकी कल्याणीले कक्षा १० सम्म प्रगतिशील मावि कमलामाईमा अध्ययन गरेकी हुन् । काठमाडौं डिल्लीबजार क्याम्पस हुँदै बुटवल बहुमुखी क्याम्पससम्म उनको अध्ययनको यात्रा रह्यो ।
शिक्षण पेशाप्रति उनको मोह १८ वर्षको उमेरदेखि नै सुरु भएको हो । काठमाडौंको जेलियर्स पब्लिक स्कूलमा दुई हजार दुई सय रुपैयाँ मासिक तलबमा काम गरेको बताउने उनले सुरुमा आफुले पैसाको लागि नभई नयाँ कुरा सिक्नका लागि शिक्षण क्षेत्रमा प्रवेश गरेको बताउँछिन् ।
जागिरे जीवन सुरुवात भएसँगै २०६२ सालमा उनको जीवनको अर्को अध्याय सुरु भयो । उनले देवदहका अनिल पाण्डेसँग प्रेम विवाह गरिन् । विवाहपछि देवदह आएकी कल्याणीको जीवन फेरि नयाँ शिराबाट सुरु भयो । विवाहको केहि बर्षमै उनका श्रीमान रोजगारीको सिलसिलामा दक्षिण कोरिया गए । श्रीमान रोजगारीको लागि विदेशिएपछि उनलाई पनि कहिँ न कहिँ व्यस्त हुन मन लाग्यो ।
बिहेअघि छोटो समय शिक्षण पेशामा संलग्न भएकी उनलाई फेरिपनि सोहि पेशासँग जोडिने चाह जाग्यो । उनी देवदहको नयाँ परिवेशमा आफूलाई घुलमिल गराउँदै स्थानीय स्कूलमा पढाउन थालिन् ।
काठमाडौँको शिक्षा प्रणालीबाट प्रभावित भएकी कल्याणीलाई भर्खरै ग्रामिण परिवेशबाट शहरोन्मुख बन्दै गरेको देवदहका विद्यालयको शैक्षिक वातावरणले चिन्तित तुल्यायो । बालबालिकाको लागि बालमैत्री वातावरणयुक्त विद्यालयको उनले कल्पना गर्न थालिन् । उक्त क्षणले कल्याणीलाई नयाँ शैक्षिक संस्था स्थापना गर्ने सोचमा पुर्यायो । उनले एउटा बालमैत्री वातावरणसहितको विद्यालय स्थापना गर्ने सपना देखिन् । त्यसबेला देखेको सपनालाई अहिले उनी वास्तविकतामा परिणत गरेर किड्स प्याराडाईज मन्टेश्वरी सञ्चालन गरिरहेकी छन् ।
सुरुमा उनले मन्टेश्वरी स्कुल खोलौं भनेर आफुले पढाउने विद्यालयका केहि शिक्षक साथीहरुलाई भनिन् । उक्त समयमा साथीहरुले कल्याणीको प्रस्तावलाई वास्ता गरेनन् । उनी भन्छिन्, ‘मैले प्रस्ताव त गरेँ तर साथीहरु के हो, कसो हो भनेर डराए । मेरो कुरालाई वास्ता गरेनन् । त्यसपछि उनलाई पनि एक्लै आँट आएन र पछि हटिन् ।
साथीहरु ‘कन्भिन्स’ नभएपछि उनी स्नातकोत्तर पढ्न काठमाडौं तर्फ लागिन् । काठमाडौं गएर कलेज भर्ना हुन नभ्याउँदै कल्याणीलाई साथीहरुले २०६८ सालमा मन्टेश्वरी खोलौं भनेर फोन गरेपछि उनमा खुसीको सीमा रहेन । उनी देवदहमा नयाँ सपना बोकेर फर्किईन् । उनले भनिन्, ‘काठमाडौंबाट फर्किएपछि एउटा दृष्टिकोण तयार भयो । त्यसलगत्तै म बुटवल स्थित पश्चिमाञ्चल मन्टेश्वरी केन्द्रमा ६ महिने मन्टेश्वरी तालिमको लागि गए । साथीहरुले पनि समय मिलाएर पालैसँग उक्त तालिम लिनुभयो ।’
२०६९ सालको तेस्रो महिनामा ३ जना मिलेर देवदहको खैरेनीमा किड्स प्याराडाईस मन्टेश्वरी सञ्चालनमा ल्याएकी उनी मण्डेश्वरीकी संस्थापक प्रिन्सिपल हुन् । सुरुसुरुमा बालबालिका खोज्न निकै कठिन हुने गरेको बताउँदै स्थापनाको २ बर्षमै हाम्रा बालबालिका भर्ना गरिदिनुपर्यो भन्दै अभिभावकहरु मण्टेश्वरीमा आउँदा खुशीले आँखा रसाउने गरेको उनले सुनाईन् ।
‘मण्टेश्वरीको सुरुवातमा ३ जना बालबालिका थिए । बालबालिका खोज्न घरघरमा जाँदा सुरु सुरुमा धेरैले उपहास गरे । ‘देवदहमा अन्य धेरै विद्यालय हुँदाहुँदै किन यस्तो बेग्लै ठाउँमा छोराछोरी पठाउने ?’ भनेर अभिभावकहरूले उनको टिमलाई धेरैपटक फर्काए । उनले भनिन्, ‘बालबालिकाका लागि सिकाइ सामग्री बोकेर जब हामी घरघर पुग्थ्यौं, धेरैले अपमान गरे, हाँसे, खिसिट्युरी गरे । हामी उहाँहरुसँग झुक्यौं, भेटघाटलाई निरन्तरता दियौं, तर रोकिएनौं ।’ कल्याणी भन्छिन्, ‘त्यो समयको पीडा अझै ताजै छ ।’
उद्धेश्यप्रति विश्वस्त अनि कटिवद्ध रहेको कल्याणीको टिमलाई मन्टेश्वरी स्थापनादेखि अहिलेसम्म पछाडि फर्किनु परेको छैन । आफुहरु ३ जना र एकजना कर्मचारीबाट सुरु भएको किड्समा अहिले २२ जना शिक्षक-कर्मचारी कार्यरत छन् भने एक सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।
किड्सको सबै व्यवस्थापनदेखि शिक्षण कार्यमा समेत महिला शिक्षक र कर्मचारी रहेका छन् भने एकजना भ्यान चालक मात्र पुरुष कर्मचारीको रुपमा कार्यरत छन् ।
देवदहमा शिक्षाको विकासका लागि थुप्रै शैक्षिक संस्था रहेपनि बालबालिकालाई छुट्टै वातावरणमा बालमैत्री हिसाबले खेलाउँदै सिकाउनुपर्छ भनेर नयाँ प्रयोग किड्सबाटै सुरुवात भएको हो । उनी भन्छिन्, ‘शिक्षकले माथिल्लो कक्षामा मात्र ध्यान दिँदा शिक्षाको जग कमजोर हुन जान्छ । जब बच्चाले माया ममता र स्नेहका साथ सिक्ने वातावरण पाउँछ, उसको मष्तिष्क पनि सोहि अनुरुप विकास हुन्छ । बालबालिकाले शिक्षकको हिसाबले होईन, एउटा अभिभावक, दिदी, दाई, अझ नजिकबाट भन्दा आमाको स्नेहका साथ केहि सिक्न चाहिरहेको हुन्छ । हामीले त्यहि कुरालाई क्याच गर्यौं र निकै मेहनतका साथ आज यहाँसम्म आएका छैं ।’
तीनलाख रुपैंयाबाट सुरु भएको किड्समा अहिले १ करोड रुपैंयाभन्दा बढी लगानी पुगेको छ । देवदहको खैरेनीमा एउटा घरको फ्ल्याट भाडामा लिएर सञ्चालित विद्यालय अहिले देवदहको शितलनगरमा रहेको छ ।
दुई सन्तानकी आमा कल्याणी कैंयौपटक छोरालाई पिठ्युँमा बोकेर शिक्षण सिकाई क्रियाकलापमा सहभागि भएको बताउँछिन् । कुनैदिन रातीको २ बजेसम्म मन्टेश्वरीको काम गर्ने र बिहान ५ बजे उठेर घरको कामसँगै विद्यालयको क्रियाकलापमा सहभागि भएको अनुभव उनीसंग छ ।
महिना दिनको सुत्केरी अवस्थामा पनि विद्यालयको संरचना बनाउन कस्सिएर लागेकी उनी भन्छिन्, ‘घरपरिवार, छिमेकी अनि हाम्रो लगावलाई देखेर धेरैले हामी प्रति कहिले सहानुभुति त कहिले हौसला प्रदान गर्नुभयो । साथीहरूको सुझावमा शितलनगरमा विद्यालयको संरचना बन्यो र हामी आफ्नै भवनमा विद्यालय संचालन गरिरहेका छौं ।’
कल्याणी पौडेलको यात्रा आत्मबल, संघर्ष र दूरदृष्टिको उदाहरण हो । शिक्षक भएर सुरु भएको यो यात्रा आज शैक्षिक नेतृत्वमा रूपान्तरण भएको छ । बाल शिक्षामा उनले देखाएको प्रतिबद्धता, सुत्केरी अवस्थामा पनि उनको विद्यालयप्रतिको समर्पण र विद्यालयभित्र महिलाको नेतृत्वको विषय सर्हानिय छ ।
नोट : नारी नेतृत्व स्तम्भ देवदह नगरपालिका उपप्रमुखसंग महिला कार्यक्रम र सेतोमसीको सहकार्यमा संचालित लेखन कार्यक्रम हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology