गाउँले परिवेश, अनि दिनचर्या पनि उस्तै । अधिकांश मानिसहरु कृषि र खेतीपातीमै व्यस्त । रोजिरोटीको लागि धर्तीसंग पैठेजोरी खोज्दै संघर्ष नगरी सुखै नहुने । संकुचित र परम्परावादी सोचले शिक्षा र पठनपाठन अलि ठुला घरानाकाले मात्र गर्नुपर्छ भन्ने मान्यता । त्यसमाथि छोरीको लागि त झन् पढाई 'आकाशको फल' जस्तै हुने ।
यो आवरण आजभन्दा करिव ५० बर्ष अघिको पूर्वी पाल्पाको तत्कालिन गल्धा गाविस, ढुंगानाबेसी गाउँको हो । जहाँको एउटा गरिव परिवारमा वि.सं. २०३४ सालको पुष ७ गते जन्मिएकी थिईन् - सकारात्मक सोचकी धनी इन्दिरा अर्याल । उनको जीवनकथा कुनै चलचित्रको स्क्रिप्टभन्दा कम छैन । जहाँ दुःख छ, आँसु छ, संघर्ष छ तर त्यही संघर्षको भित्ताभित्र उभिएको एउटा आत्मनिर्भर, स्वाभिमानी र सफल महिलाको चित्र पनि छ ।
इन्दिरा ४८ वर्ष पुगिन् । अहिले उनी पेशाले शिक्षक हुन् । सामान्य परिवारमा जन्मिएर पनि आफ्नै बलबुताले एउटा सम्मानित स्थान बनाउन सकेकी उनी संघर्ष गरेर अघि बढ्न चाहनेहरुका लागि खुल्ला किताब हुन् । जसलाई पढेरै पनि मानिस जीवनमा आत्तिनु हुँदैन भन्ने धारणा बनाउन सक्छ ।
जीवनमा हरेश खाएर हिम्मत खोज्नकै लागि कोही भौँतारीएको छ भने इन्दिरालाई सुन्नुपर्छ । उनलाई थोरै सुन्यो भनेपनि त्यो हिम्मत र आँट उनीबाटै पाउन सकिन्छ । बाल्यकालमा निकै संघर्ष झेलेकी उनलाई जीवनमा आउने हरेक समस्याहरु खासै ठुला हुन् जस्तो लाग्दैन । उनी भन्छिन्, ‘चप्पल टुटेपछि सर्टको तल्ला च्यातेर चप्पल बनाई लगाएको सम्झना आज पनि मलाई ताजै छ ।’
उनको बाल्यकाल अभावमा बित्यो । अरु बालबालिका जस्तै खेल्न रमाउन अनि घुम्ने मन इन्दिरालाई पनि हुन्थ्यो । तर त्यो बालापनमा पनि उनी यस्ता रमाईला क्रियाकलापभन्दा धेरै पर भइन् । आफुलाई जन्मदिने आमा क्यान्सर जस्तो घातक रोगसँग लड्दै उपचार गराईरहेको र शारिरीक रुपमा आमाले काम गर्न नसक्ने भएका कारण घरको कामधन्दा, मेलापात, गाईभैंसी र घाँस दाउरासँग उनको प्राय: समय बितेको हुन्थ्यो ।
अधिकांश समय घरधन्दामै खर्चिनुपर्ने वाध्यताका कारण उनको अध्ययन यात्रा पनि निकै संघर्षपूर्ण रह्यो । कक्षा १ देखि ५ सम्म स्थानीय जनता प्राथमिक विद्यालय, ६ र ७ कक्षा सरस्वती निमाविमा पढेकी उनलाई विद्यालय पुग्न डेढ घण्टाको पहाडी बाटो हिँड्नु पर्थ्यो । जहाँ दुई वटा खोला समेत पर्ने गर्थे ।
गाउँमा मावि तहको विद्यालय नभएकाले फुपुको घरमा बसेर उनले कक्षा ८ पढेकी हुन् । जनविकास उच्च माविमा भर्ना भएर पढ्दै गर्दा भारतको गोरखपुरमा उपचार गराईरहेकी उनकी आमाको मृत्यु भयो । जुन उनको जीवनको सबैभन्दा ठुलो बज्रपात थियो ।
१३ वर्षको कलिलो उमेरमा आमा गुमाएकी इन्दिराले त्यसपछि बहिनीको जिम्मेवारी पनि आफैंले सम्हाल्नुपर्ने वाध्यता बन्यो । कमजोर आर्थिक अवस्था अनि समाजमा महिलाको कमजोर अस्तित्व । यि दुवै दुरावस्ताको शिकार थिईन् इन्दिरा । आमाको मृत्युपछि बुवाले ‘छोरी मान्छेले पढ्नुपर्दैन, अक्षर चिनिस्, अब घर बस्’ भनेर रोक्ने कोसिस पनि गरे । तर उनलाई आमाले विरामी अवस्थामा विस्ताराबाट छोरी तिमी पढेर ठुलो मान्छे बन्नुपर्छ, धेरै पढ्नुपर्छ है ! भनेर सम्झाएको कुरा मनमा बिझेको थियो । त्यसैले पनि उनलाई आमाको इच्छाले घच्घचायो र निरन्तर अघि बढ्न प्रेरित गरिरह्यो ।
इन्दिराका बुबाले पहिलो श्रीमतीको निधनपछि इन्दिराकी आमासँग विवाह गरेका थिए । विदुर बुवासँगै विवाह गरेकी उनकी आमालाई समाजले सहजै स्वीकार गरेन । आमालाई ‘विधवा विवाह’ गरेको भन्दै हेप्न थालियो । यी सबै हेर्दा हेर्दै हुर्किएकी ईन्दिराले सानैदेखि समाजको कठोरता र पीडालाई बुझ्दै गइन् ।
त्यसो त इन्दिराको आमाको जीवन पनि संघर्षले भरिएको थियो । जसलाई ईन्दिराले आफु जान्ने बुझ्ने भएदेखि नै महसुस गर्थिन् । उनी भन्छिन्, ‘मलाई लाग्छ ४६–४७ बर्षको अल्पायुमा परलोक भएकी मेरी आमाको ९–१० वर्षको कलिलो उमेरमा विवाह हुनु र १३ वर्षमा विधवा भएको पल कति पिडादायि हुँदो हो ? मलिन अनि भावुक हुँदै उनले थपिन्, 'बालापनमै रजस्वलासमेत नहुँदै विहेवारी र श्रीमानको मृत्युपछि मेरी आमालाई त्यो बेलाको समाजले के के भन्यो होला ? के के लाञ्छना लगायो होला ? यो त मैले आज भोलि पनि सोँचिरहेकी हुन्छु ।’
दोश्रो विवाहपछि जन्मिएकी इन्दिराका बुवा-आमाबाट छोरा जन्मिएनन् । इन्दिरा र उनकी बहिनी नै उनकी आमाका अन्तिम निशानी थिए । जसलाई छाडेर उनकी आमा कहिल्यै नफर्किने गरि गएकी थिइन् । ईन्दिरा भन्छिन्, ‘बाल्यकालमा विधवा बनेकी आमाले अर्को विवाह गर्दासमेत छोरा नपाएपछि समाजमा कैंयौ घोँचपेच सहनुप¥यो । जुनकुरा बाल्यकालमा मेरो कानसम्म पनि नआएका होईनन् ।'
त्यो पल सम्झिदा अहिले पनि इन्दिराको मन भक्कानिन्छ । आखिर छोरा र छोरीमा फरक के नै हुने हो र ?’ आँखाको डिलमा आँसु पु¥याउँदै उनले भनिन्, ‘परिवारमा छोरी भएर जन्मिनु अभिषाप हो र ?’
आमाको मृत्युपछि विक्षिप्त बनेकी इन्दिरालाई समाज र बुवाले समेत पढ्नु पर्दैन भनेपछि अब त झन् आफुले पढ्नैपर्ने र जसरी भएपनि पढ्नुपर्छ भन्ने हिम्मत पलायो । त्यसैले उनले कक्षा ९ र १० घर बाहिर डेरा गरेर पढिन् । कक्षा ११ पढ्दा साथी पार्वती घिमिरेको घरमा पढेको बताउने उनले कक्षा १२ भने पुन: डेरामै फर्किएर उत्तिर्ण गरिन् । घरबाट आउने सामान्य खर्चले आफ्नो पढाई र बसाईलाई व्यवस्थित बनाउने अनुभव बटुलेकी ईन्दिराको स्वभाव आज पनि उस्तै छ ।
उनी भन्छिन्, 'डेरामा बसेर खर्च गरम् भन्ने हो भने अनेक खर्चका बाटाहरु बन्थे, अब नपढ छोरी भन्ने बुवालाई कन्भिन्स गरेर पढ्न आएकी मैले फजुल खर्च गर्नुहुँदैन भन्ने बुझेकी थिएँ ।’ त्यसो त उनको घरमा रहेको सानो किराना पसल बाहेक आम्दानीको अर्को श्रोत पनि थिएन । पसलबाट आउने थोरै आम्दानीले बुवा, जेठी आमा पट्टीका दुई दाई, एक दिदी र उनकी बहिनीको सबै खर्च चलाउनु पर्थ्यो ।
परीक्षा दिने बेला शुल्क तिर्न नसक्दा इन्दिराको आँखामा आँसु आउने गर्थे । उनी भन्छिन्, ‘पैसा नतिरेको मलाई महसुस हुनेभएपनि विद्यालयले भने कहिल्यै पनि पैसा नतिर्नेहरुको लिस्टमा मेरो नाम राखेन ।’ उनी अहिले पनि त्यतिवेला आफुलाई पढाउने शिक्षक, परिवार र आफ्ना केही आफन्तको सहयोग आँफुलाई निकै सम्झना आउने बताउँछिन् ।
इन्दिराको सामाजिक क्षेत्रप्रतिको लगाव पनि त्यति नै छ । कक्षा ७ मा पढ्दैखेरी ग्रामीण उत्थान युवा क्लबको सचिव भएर गाउँमा सचेतना फैलाउने अभियानमा उनी संलग्न रहिन् । त्यतिबेला गाउँमा फोहरका कारण विभिन्न सरुवा रोगहरुको प्रकोप थियो । सरसफाई र चर्पीको महत्वबारे उनको अभियानले सचेतना फैलाउने काम गर्थ्यो ।

त्यसो त उनी राजनीतिक हिसावले पनि सचेत भईसकेकी थिईन् । कक्षा ११ मढ्दै गर्दा देशको सीमारक्षाबारे जागरण फैलाउने विद्यार्थी अभियानमा सहभागि भएर उनी कालापानी समेत पुगेकी थिइन् ।
कक्षा १२ उत्तिर्ण गरेपछि जागिर गर्दै पढ्ने सोँच बनाएर २०५५ सालमा तानसेन झरेकी इन्दिराले त्यहाँ काम पाइनन् । त्यसपछि उनी बुटवल झरिन् । केही समयपछि उनले सीटीईभीटी अन्तर्गत आयुर्वेदिक क्याम्पसको लेखाशाखामा काम पाईन् । भाञ्जी दिदीकोमा बसेर त्यहाँ काम गरेकी उनले पहिलो महिना २२ सय रुपैयाँ तलब बुझेकी थिईन् ।
२०५७ सालमा रेडियो लुम्बिनीमा साहित्यिक कार्यक्रम मार्फत प्रवेश गरेकी इन्दिराले करिव १७ बर्ष आंशिक तथा पूर्णकालिन रुपमा त्यहाँ काम गरिन् । रेडियोमा काम गर्दा उनलाई समुदायसँग थप घुलमेल हुने अवसर मिल्यो । उनी भन्छिन्, ‘२५ बर्ष अघि यस क्षेत्रमा स्थानीय समुदायको आवाज बोल्दिने र सुन्दिने कुनै सञ्चार माध्यम थिएन । यस क्षेत्रमै पहिलो पटक सामुदायिक रेडियोको रुपमा लुम्बिनीले समुदायस्तरमा गएर काम गर्दा नागरिकले निकै अपनत्व महसुस गर्थे । त्यतिबेला बाल कार्यक्रममा भेटेर कुराकानी गरेका नानीबाबुहरु अहिले विभिन्न क्षेत्रमा काम गरिरहेको भेट्दा निकै खुसी लाग्ने गर्छ ।’

रेडियोमा रहँदा साहित्यसँगै शिक्षा, स्वास्थ्य र पत्रकारीताको विषयमासमेत गहिरो अध्ययनसंगै रेडियो सामग्री प्रस्तुत गर्ने इन्दिराले रेडियो मार्फत चलाएको ‘टिचिङ्ग बाइ रेडियो’ कार्यक्रम आफुलाई समेत गर्व लाग्ने कार्यक्रम रहेको बताउँछिन् । पश्चिम नेपालका अधिकांश स्थानमा रेडियो सुनिने भएकाले पनि द्धन्द्धकालमा द्धन्द्ध प्रभावित क्षेत्रका विद्यार्थीलाई रेडियो ट्युसन कार्यक्रमले निकै फाईदा पुगेको प्रतिक्रियाहरु आफुले फोन र पत्र मार्फत पाउने गरेको उनले सुनाईन् ।
रेडियोका कार्यक्रमहरुलाई प्रभावकारी श्रोतामैत्री बनाउन कतिपय अवस्थामा उनी बिहान ४ बजे देखि राती १२ बजेसम्म खटेकी हुन्थिन् ।
२०५९ सालमा युवराज घिमिरेसँग विवाह बन्धनमा बाँधिएकी इन्दिरा २०६१ सालमा आमा बनिन् । तर उनको व्यस्तता यति थियो कि कतिपय अवस्थामा उनीबाट जन्मिएको छोराले समेत उनलाई हेर्न पाउँदैनथे । उनी भन्छिन्, ‘घरकी सासू आमा टाढा हुनुहुन्थ्यो । माइतकी आमा पनि वितिसकेकाले म रेडियोको कामले बाहिर निस्कदा छोरालाई छिमेकी आमाहरूले हेरचाह गरिदिनुहुन्थ्यो ।’

२०६२/०६३ सालको जनआन्दोलनमा छोरो पिठ्युँमा बाँधि साइकिल चढेर समाचार सङ्कलन गरेको पल उनलाई अहिले पनि ताजै छ । उनी भन्छिन्, ‘कतिपय अवस्थामा बाबुलाई रेडियोको स्टुडियोमा सुताएर समेत कार्यक्रम चलाएकी छु । बच्चालाई स्तनपान गराउँदै रेडियोमा कार्यक्रम चलाएको क्षण सम्झिँदा अहिले आङ्ग सिरिङ्ग हुन्छ ।’ त्यसो त उनी कैंयौ दशैका दिनहरुमा बिहान १०-११ बजेसम्म कार्यक्रम चलाएर टिका थाप्न घर तथा आफन्तकोमा गएका उदाहरणहरु छन् ।
इन्दिराका हरेक योजनामा उनका श्रीमानले निकै नजिकबाट सघाउने गर्छन् । उनले भनिन् ‘श्रीमान् शिक्षक र कर्मचारी हुनुहुन्छ । उहाँ आफै व्यस्त हुने, म समेत अबेर आईपुग्दा घरको अवस्था छरपस्ट हुन्थ्यो । मलाई कुनैदिन पनि मेरो श्रीमानले किन ढिला घर भनेर प्रश्न गर्नुभएन ।’

रेडियोमा काम गर्दैगर्दा आंशिक रुपमा बुटवलका विभिन्न कलेजहरुमा पढाउने इन्दिरा २०७२ साल यता देवदह माविमा अध्यापनरत छन् । शिक्षण पेशामा संलग्न रहेपनि फुर्सद हुनासाथ उनी सामाजिक काममा समेत सक्रिय हुन्छिन् । पूर्णकालिन रुपमा करिव एक दशक शिक्षण पेशालाई अंगालेकी इन्दिराले आर्थिक अभावमा पढाई छोड्ने अवस्थामा पुगेका विद्यार्थीलाई आफैले भर्ना गरेर पढाउने गर्छिन् । निकै आत्मियताका साथ सँधै मातृवात्सल्य प्रदान गर्ने इन्दिरा मेडमलाई विद्यार्थीहरुले साथी जस्तै ठान्छन् । त्यसैलेपनि कतिपय लैंगिक हिंसा र यौन दुर्व्यवहारमा परेका बालबालिकाले समेत उनीसँग खुलेर आफ्ना समस्या राख्नेगर्छन् । जसबाट बालबालिकाका समस्या सुल्झाउन र आवश्यकता अनुसार परामर्शको लागि समेत मद्धत पुग्ने गरेको इन्दिरा बताउँछिन् ।

इन्दिराले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयमा ‘शिक्षक विद्यार्थी कल्याणकारी कोष’ स्थापना गरेकी छन् । शिक्षक र विद्यार्थीहरूले जन्मदिनमा फजुल खर्च कटाएर कोषमा रकम जम्मा गर्ने गरेको उनले बताईन् । कोषको उद्धेश्य समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गर्ने र उनीहरुको पढाईमा अवरोध नपुगोस भन्ने हो ।
इन्दिराले फरक फरक क्षेत्रमा रहेर काम गर्दा उनले पुर्याएको योगदानको कदर गर्दै विभिन्न संघसंस्था र निकायले उनलाई सम्मान र पुरस्कृत गरेका छन् । बुटवलस्थित घरका भित्ता र टेवलहरुमा उनले पाएका पुरस्कार, प्रमाणपत्र र सम्मानपत्रहरु प्रशस्त देखिन्छन् । जसमध्ये जिल्ला खानेपानी तथा सरसफाई संस्थाबाट प्रदान गरिएको सरसफाई हिरो २०७०, जिल्ला विकास समिति रुपन्देहीबाट प्राप्त विकास पत्रकारीता पुरस्कार २०७१, नेपाल पत्रकार महासंघले प्रदान गरेको श्रमजिवी पत्रकारिता पुरस्कार २०६९ तथा क्षेत्रिय शिक्षा पुरस्कार २०७०, यदु स्मृति प्रतिष्ठानद्धारा प्रदान गरिएको यदु स्मृति पत्रकारिता पुरस्कार २०६९, उत्कृष्ट महिला पत्रकारिता पुरस्कार २०६५, महिला तथा बालबालिका बेचबिखनको विरुद्धमा कलम चलाएवापत २०६६ मा महिला तथा बालबालिका कार्यालयबाट पुरस्कृत, तत्कालीन गंगोलिया गाविसबाट विकास संचार अवार्ड २०६६, नेपाल पत्रकार महासंघबाट २०७३ र २०७४ मा लगातार दुई वर्ष संघर्षशील महिला पत्रकारिता अवार्ड, अन्तराष्ट्रिय संस्था डब्लुडब्लुएसएफबाट ग्रामीण जनजीवनमा महिला सृजनशीलता पुरस्कार (सन २०१८) लगायत थुप्रै संघसंस्थाहरुले प्रदान गर्ने पुरस्कार उनले प्राप्त गरेकी छन् ।

जीवनका विभिन्न आरोह अवरोह झेल्दै यहाँसम्म आईपुगेकी इन्दिरा दुःखमा परेकालाई सहयोग गर्न पाउँदा आँफुलाई निकै खुसी मिल्ने गरेको बताउँछिन् । शिक्षण पेशामा रहेर पनि विद्यार्थीहरुसँग शिक्षक जस्तो नबनी अभिभावकजस्तो व्यवहार देखाउने इन्दिराले शिक्षा शास्त्रमा स्नातकोत्तर गरेकी छन् ।
शिक्षा मार्फत उज्यालो छर्ने अभियानमा लागेकी उनी एक शिक्षक मात्र होइनन् । प्रेरणादायी पात्र हुन् । रेडियो, विद्यालय वा अन्य जुनसुकै माध्यमबाट उनको आवाजले आवाज विहिनहरुको आवाज बोल्न सकोस् । उनको संघर्ष, समर्पण र सफलताको कथा नेपाली नारीको उच्च आत्मबल र समाजप्रतिको ज्वलन्त उदाहरण बन्न सकोस् । इन्दिरालाई अगाडिको यात्राका लागि शुभकामना ।
नोट : नारी नेतृत्व स्तम्भ देवदह नगरपालिका उपप्रमुखसंग महिला कार्यक्रम र सेतोमसीको सहकार्यमा संचालित लेखन कार्यक्रम हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology