हरेक मानिसले देख्ने सपना पुरा हुन्छन् भन्ने छैन । कतिपयले आफुले देखेको सपना पुरा गर्छन् र त्यहि अनुसार आफ्नो जीवनलाई अगाडि बढाउँछन् । कतिपयको हकमा त्यो फरक हुन सक्छ । आफुले देखेको सपनालाई फरक धारबाट सहज रुपमा अघि बढाउन सक्नु पनि एउटा कला हो । त्यस्तै कलाकी धनीमध्ये एक हुन् - रोजी चौधरी ।
रोजी वि.सं २०४५ साल असोज १२ गते नवलपरासीको सुनवल–८ देउराली टोलमा जन्मिइन् । बुवा बन्दुराम चौधरी र आमा बालकुमारी चौधरीका ४ सन्तान मध्ये उनी माईली हुन् । बाल्यकालमा उनको परिवार कृषिमा आश्रीत थियो । घरमा के खाम के लाम भन्ने त्यस्तो समस्या थिएन । अचल सम्पत्तिले इच्छा लाग्दा नगदले आउने बजारको केही सामान किन्न मिल्दैनथ्यो । त्यसो त रोजी जन्मिएको समाज मिश्रित थियो । उनी हुर्केको गाउँमा चौधरी समुदायका २ परिवार मात्र थिए ।
मिश्रित समुदायमा हुर्केकि उनी सानै उमेरदेखि निकै मेहनती थिइन् । करिव डेढ बिगाहा जग्गामा उनको परिवारलेमात्र खेती लगाएर सक्काउँथ्यो । परिवारको सदस्यहरु बिहानदेखि बेलुकासम्म प्राय: खेतमै हुन्थे । स्कूल समय बाहेक खेतमा काम गर्ने रोजी विद्यालय जाने बेला भएपछि मात्र हस्याङ्फस्याङ् झोला बोकेर कुद्ने गर्दिन । ‘बिहान उठ्नासाथ बुवा आमा खेतमा गैसकेको हुनुहुन्थ्यो । हामीपनि उठ्नासाथ आँखा मिच्दै खेतमै जान्थ्यौं । त्यतिबेला घडीको जमाना थिएन । सुनवलस्थित चिनीमिलको साईरन बजेपछि विद्यालय जानेबेला भएछ भनेर विद्यालय कुद्थ्यौं ।’
सरस्वतीका दाई नेपाल आर्मीमा भर्ति भएका थिए । परिवारका दाई, अंकल र फुपुको छोरा समेत आर्मीको जागिरे भएकाले उनलाई पनि सानोमा आर्मी बन्ने ठुलो रहर थियो । तर उनका परिवारले आर्मी नबन्न दवाव दिएपछि उनको सपना सपनामै सिमित हुन पुग्यो । उनी भन्छिन्, ‘परिवारका अग्रजहरु आर्मी भएकाले मलाई पनि आर्मी मन पथ्र्यो, तर परिवारका आर्मीहरुले नै नबन्न सुझाएपछि मैले पनि ठिकै होला भन्ठानेर त्यता तिर सोच्न छाड्दिए ।’
सानै उमेरदेखि खेलप्रति रुची राख्ने उनी विद्यालयका खेलकुद प्रतियोगितामा पनि सँधै प्रथम या दोस्रो हुने गर्थिन । एथ्लेटिक्सका प्रतियोगितामा उनी सहभागी भएपछि अरु सबै पछि पर्थै । विषयगत पढाईमा मध्ययम रोजीले औपचारीक अध्ययन भने एसएलसीसम्म मात्र गरेकी छन् । कक्षा ८ सम्म स्थानीय अरनीको माध्यमिक विद्यालयमा अध्ययन गरेकी उनले एसएलसी भने वेनीमणीपुर मावि सर्दीबाट गरेकी हुन् ।
एसएलसी दिएपछि दिदीकहाँबाट घर फर्किएकी रोजीले रिजल्ट नआउने बेलासम्म फुर्सदको समयमा कटिङ् सिकिन् । त्यसो त तत्कालिन अवस्थामा गाउँघरमा कटिङ् सिक्ने लहर नै चलिरहेको थियो । आफुले गर्ने हरेक कामलाई निकै मेहनत र महत्व दिने रोजीले कटिङ्को काम निकै छिटो सिकिन् । उनलाई सिकाउने प्रशिक्षकले समेत हातमा कला छ र फिनिसिङ् दिन सक्ने अचम्मको क्षमता छ भनेर भन्ने गर्थे ।
करिव २ महिनाको तालिम अवधिकै रोजी कपडा काट्न र सिलाउन सक्ने भईन् । उनले एउटा सिलाई मेसीन किनेर घरमै कपडा सिलाउने काम गर्ने योजना बनाईन् । मेसीन खरिद गर्ने सवालमा सुरुमा आर्थिक समस्या आयो । रुदै कराउँदै यो कुरा आमालाई सुनाएपछि उनकी आमाले दाईसँग २ हजार रुपैंया मागिदिइन् । रोजीसँग घरमा आफुले कुखुरा बेचेर जम्मा पारेको १ हजार तथा छिमेकीकोमा धान रोप्न जाँदा कमाएको १ हजार समेतगरी २ हजार रुपैंया थियो । सोहि रकमबाट उनले सुरुमा सिलाई मेसिन खरिद गरिन् ।
एउटा सिलाई मेसिन खरिद गरेर गाउँटोल र छिमेकीको काम गर्दै गरेकी उनलाई विस्तारै गाउँले र छिमेकीले काम दिन थाले । यसबाट उनको व्यस्तता पनि बढ्दै जान थाल्यो । झुपडी घर अनि माटोको भँुइ भएकाले उनलाई कपडा काट्न निकै कठिन हुने गथ्र्यो । त्यो देखेर उनलाई भिनाजुले १ थान टेवल किनिदिएको उनले सुनाइन् । यसरी कामलाई निरन्तरदा दिँदै गरेकी रोजीले धेरथोर कमाई हुन थालेपछि थप एउटा इन्टरलक मेसिन समेत खरिद गरिन् ।
घरबाटै काम गरिरहेकी उनले २ वटा मेसीन भएपछि व्यवसायलाई थप विस्तार गर्ने सोच बनाइन् । जुन कुरा उनले घरपरिवारलाई सुनाइन् । आफुले सिकेको काम र भविष्यको बारेमा परिवारमा कुरा गर्दा उनलाई अचम्मको जवाफ आयो । उनका बुवाले उनलाई भने, ‘अब के को काम गर्ने हो र हुर्कीएकी छोरी, माइतीमा धेरै बस्न हुन्न अब बिहे गर्नुपर्छ ।’ रोजीका दाईको समेत भर्खर बिहे गरेको स्मरण गराउँदै उनका बुवाले भने, ‘छोरी पाल्नेले बुहारी पाल्दैन, अब बिहेको सुरसार गर, कामका कुरा नगर ।’
आफुले सुरु गरेको काममा परिवारको सपोर्ट पाउँछु र उद्यम गर्छु भन्ने सोच बनाएकी रोजीको सपनामा ठुलो बज्रपात पर्यो । बुवाको कुराले उनको मन भतभति पोल्यो । उनी भन्छिन्, ‘यतिका समय मेरो आफ्नै घर हो भन्ने सोचेर बसेकी म कहाँ बसेकी रहेछु त ? मेरो परिवार बुवा, आमा, दाई भनेका मेरा को रहेछन् त ? उनी भन्छिन्, निकै पिडाबोधका साथ मैले आफ्नो मेसिन लगाएतका सामानहरुको साथमा घर छाड्ने निधो गरें र देवदह खैरेनीमा अरु २ जना साथीहरुको साथमा सटर खोजेर वि.सं. २०६६ सालमा व्यवसाय सुरु गर्न थाल्यौं ।
साथीहरुसँग मिलेर व्यवसाय गर्नेबेला उनीसँग लगानी थिएन । मामाको छोराले उनलाई दिएको ७५ हजार रुपैंया सापटी र उनीसँग भएका दुईथान मेसिनबाट रोजीको व्यावसायिक जीवन सुरुवात भएको हो ।
अहिले रोजीले देवदह–७, खैरेनी स्थित मनसुन कम्प्लेक्समा ‘आकर्षण बुटिक’ नामक पसल सञ्चालन गर्दै आएकी छन् । जहाँ आफुसहित ४ जनाले काम गर्ने गर्छन् । महिलाहरुका लागि आवश्वयक कपडा सिलाईसँगै बुटिक र कपडा डिजाईन सम्बन्धि काम त्यहाँ गरिन्छ । विगतमा २ वटा सटर र माथिल्लो तल्लामा सामान स्टक राखेर व्यापार गरिरहेकी रोजीले अहिले त्यसलाई केहि साँघुरो बनाएकी छन् । ‘अहिले बजार पनि खासै चलायमान छैन, मानिसहरुसँग खर्च गर्ने त्यति उत्साह पनि देखिदैन, यो बेलामा लगानी गर्दा आफुलाई पनि भार पर्नसक्ने भएकाले केही कम गरेकी हुँ ।’ उनले भनिन्, ‘व्यापार भएको बेला त ६÷७ जना कर्मचारीलाई काम गर्न भ्याई नभ्याई हुन्थ्यो । कतिपय अवस्थामा दिनभरी पसलमा काम नभ्याएर खाना खान जाँदा कोठामा लगेर समेत काम गर्नुपथ्र्यो ।’ कुनै समय मासिक कर्मचारी र कोठा भाडाको गरि करिव १ लाख रुपैंयासम्म भुक्तानी गरेको रोजी बताउँछिन् ।
केहि बर्षअघि निकै फस्टाएको उनको व्यवसाय अहिले स्थिर रुपमा चलिरहेको छ । ‘एउटा समय थियो, मैले एक थान लेहेंगा डिजाइन गरेर ५५ हजार रुपैंया सम्ममा बिक्रि गरेकी छु ।’ विगतका दिनहरु सम्झिदै उनले भनिन्, ‘धेरैजसो दिनमा ४०÷४५ हजारको व्यापार हुने गथ्र्यो, केही बर्ष अघि अम्रेला सुटको लहर आउँदाको व्यापारको सम्झना मलाई अहिले पनि आउने गर्छ । तर अहिले सामाजिक सञ्जाल र अनलाइन व्यापारले बजार खाइरहेको छ ।’
डिजाइनलाई महत्व दिने र क्वालिटी खोज्ने मान्छे अहिले पनि आफुलाई खोज्दै आउने गरेको रोजी बताउँछिन् । ‘हिजो स्थापनाकालदेखि मसंगै काम गराउनेहरु अहिलेपनि मलाई नै खोज्दै आउनुहुन्छ । कतिपय त यस्ता ग्राहक हुनुहुन्छ कि मैले समय दिन नसकेको खण्डमा महिनौंसम्म कुरेर समेत बस्ने गर्नुहुन्छ । उहाँहरुको विश्वास देखेर मलाई गर्व लाग्छ ।’ उनी भन्छिन्, ‘यो नै आफुले अहिलेसम्म कमाएको सम्पत्ति हो । ग्राहकको विश्वासलाई मर्न दिनुहुन्न भन्ने लागेर नै म अहिलेसम्म यो व्यवसायमा टिकिरहेकी छु ।’
रोजीले देवदहको खैरेनीमा बुटिकको नामले पसल खोल्दा स्थानीयलाई बुटिकबारे जानकारी नै थिएन । कतिपयले बुटिक भनेको जरिबुटीको पसल हो भनेर भन्ने गर्थे । त्यो अवस्थाबाट अहिलेसम्म आउँदा खैरेनी क्षेत्रमा मात्र बुटिकको नामले सञ्चालन भएका पसल आधा दर्जन भन्दा बढि छन् । अझ सामाजिक सञ्जालको प्रभावबाट साँघुरिएको बजारका कारण कैंयौं व्यावसायिक प्रतिष्ठानका सामग्रीहरु यस क्षेत्रमा भित्रने गरेको रोजी बताउँछिन् । अहिलेसम्म आफुले व्यावसायिक प्रवद्र्धनको लागि सामाजिक सञ्जालको प्रयोग नगरेको बताउने उनी भविष्यमा पनि त्यस्तो सोच नभएको बताउँछिन् ।
श्रमलाई अत्यन्त महत्व दिनुपर्छ भन्ने मान्यता राख्ने रोजी अहिले पनि आफ्नो व्यवसायका लागि आफुनै खटेर नलाग्ने हो भने त्यसबाट मुनाफाको आश गर्न नहुने धारणा राख्छिन् । ‘आफुले काम नजानेर अरु कामदारको भरमा व्यवसाय संचालन गरेको भए मेरो व्यवसाय उहिल्यै बन्द भैसक्ने थियो ।’ उनले भनिन्, ‘कामको माचोमा विदामा घर गएको कामदार नआउँदा अत्यन्त पिडा हुनेगर्छ । तर पनि मैले अहिलेसम्म जेनतेन धानिरहेकै छु ।’
कुनैपनि व्यवसाय सुरु गर्दा त्यसको ज्ञान आफुसँग भएर मात्र सुरु गर्नुपर्ने रोजी बताउँछिन् । त्यसो भएमा निरन्तर रुपमा व्यवसायिक काममा लागिरहन सकिने र कुनै समयमा कामदार वा कर्मचारी नहुँदा पनि त्यसलाई निरन्तरता दिन सकिने भएका कारण पनि आँफुसँग व्यावसायिक सीप र ज्ञान आवश्यक रहेको उनको भनाई छ ।
व्यावसायिक जीवनमा आजसम्म पनि व्यस्त देखिने रोजीलाई अहिलेसम्म आफ्नो पारिवारीक भविष्यबारे सोच्ने फुर्सद भएन । सुरुमा व्यवसायलाई कसरी सेटल गर्ने भन्नेमै समय वित्यो । सायद त्यो समय आफ्नो वैवाहिक जीवनबारे सोच्ने समय थियो कि भन्ने अहिले उनलाई लाग्ने गर्छ । परिवारसँगको सामिप्यता भएको भएपनि सायद उनलाई बिहेको दवाव आउँदो हो । तर उनलाई त्यस्तो अवसर कहिल्यै जुरेन । व्यवसाय सुरु हुनु अगावै एकपटक घरमा विहेबारे कुरा आएको भएपनि उनलाई त्यसपछि कसैले यसबारे कुरा गरेनन् । एउटी छोरीले आफ्ना आन्तरिक कुरा गर्ने सबैभन्दा नजिकको मान्छे भनेको आमा हो । आफु काममा दिनरात नभनि खट्ने बेलामा वि.सं. २०६८ सालमा विरामी आमाको मृत्यु भएपछि रोजीलाई त्यो वातावरण पनि बनेन ।
आफु अविवाहित भएपनि उनले दिदीका ३ वटी छोरीहरुलाई आफ्नै जस्तै मान्ने गर्छिन । उनीहरुले पनि आफुलाई बेलाबेलामा हामी छौं नि पिर नगर्नुस् भन्ने गरेको रोजी बताउँछिन् । छोरीहरु मध्ये एउटी एमविविएस, एउटी सि ए र अर्की बिएससी नर्सिङ अध्ययन गर्दै गरेका छन् ।
शारीरिक रुपमा आफुलाई अत्यन्त फिट राख्न रुचाउने रोजी अहिले नियमित रुपमा जिम जाने गर्छिन् । उनी भन्छिन्, ‘शरीर रहे सबै कुरा छ । मेरो महिलो प्राथमिकता स्वास्थ्य र तन्दुरुस्ती हो ।’
स्वस्थ शरीर र मन दुवै हुनुपर्छ भन्ने उनी आफु अहिले पनि सिकाईकै क्रममा रहेको बताउँछिन् । ‘सिक्ने काम कहिल्यै सकिने रहेनछ । अझ यो डिजाइनमा झन हरेक समय अपडेट भइरहनुपर्ने रहेछ । आज एउटा डिजाइन बजारमा आउँछ, भोलि त्यो बजारमा लामो समय रहला भन्ने पनि हुँदैन ।’
एउटा डिजाइनरले आफुले गरेको काम बिग्रदा पनि बिग्रेको कामलाई नयाँ क्रियसनको रुपमा परिणत गर्न सक्यो भने निराश हुन नपर्ने धारणा राख्ने उनी आफ्नो काम र कर्ममा रमाउन सिक्नुपर्ने बताउँछिन् ।
परिवारको चाहना र आफ्ना आकांक्षाबीचको द्वन्द्व, सीमित स्रोतसाधन, सामाजिक चुनौती र बजारको उतारचढावका बीच रोजी आफ्नो पहिचान आफैं निर्माण गरेकी छन् । आज पनि उनी सफलता भन्दा निरन्तर सिकाइ, इमानदार श्रम र ग्राहकको विश्वासलाई सबैभन्दा ठूलो उपलब्धि मान्छिन् ।
परिस्थितिले धेरै कुरा बदल्न सक्छ, तर आफ्नो कामप्रतिको लगाव र दृढ संकल्प भए कुनैपनि व्यक्तिले आफ्नै बाटो बनाउन सक्छ भन्ने सन्देश रोजीको यात्राले दिन्छ । रोजी चौधरीको जीवनकथा एक सफल बुटिक व्यवसायीको कथा मात्र होइन, सपना भत्किँदा पनि हार नमान्ने आत्मविश्वास, श्रमप्रतिको सम्मान र आत्मनिर्भरताको उदाहरण हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology