Logo

२०८३, श्रावण २७गते


images
images

नारी नेतृत्व

पशुपालनले फेरिएको प्रमिलाको जीवन

पशुपालनले फेरिएको प्रमिलाको जीवन

images
  • पशुपालनले फेरिएको प्रमिलाको जीवन
    images
    images

    देवदह । देवदहकी प्रमिला घिमिरे बिहान भाले नबास्दै उठ्न थालेको १८ बर्ष जति भयो । बिहान ३ बजे उठेर फार्मको काम भ्याउँदा-नभ्याउँदै उज्यालो हुन्छ । गोठल्याईसँगै दुध दुहेर भ्याएसँगै त्यो दुध बजारसम्म लैजानुपर्ने हुन्छ । 

    images
    images
    images

    विसं २०३८ साल मंसिर १५ गते ईलाम जिल्लाको लोकसाम गाउँमा जन्मिएकी प्रमिलालाई जीवनमा यति धेरै संघर्ष गर्नुपर्ला जस्तो लागेको थिएन । परिवारका पाँच सन्तानमध्येकी माइली छोरी उनले प्राथमिक तहको शिक्षा बाहेक धेरै अध्ययन पनि गरेकी छैनन् । तर उनले जीवनको जोडघटाउ राम्ररी गरिरहेकी छन् । उनले आफुलाई आवश्यक पर्ने हरहिसाव आँफै गर्छिन् ।
      
    पारिवारीक पृष्ठभुमि ठिकठिकै भएपनि छोराछोरी बीच समाजले गर्ने विभेदका कारण उनी पढ्नबाट बञ्चित हुनुपर्यो । मुखियाको परिचय बोकेका प्रमिलाका बाबुले समेत समाजको त्यो कुरितीका विरुद्धमा जाने आँट गरेनन् । त्यसको परिणाम स्वरुप उनको परिवारमा २ दाजुभाईको भागमा कापी कलम र ३ दिदी बहिनीको भागमा खेतबारी र कृषिको काम पर्यो ।
     
    जीवनको भोगाईले पनि अहिलेसम्म प्रमिलालाई त्यतिबेला भागमा परेको जिम्मेवारीले छाडेको छैन । आफ्नै दुःख र मेहनतले अहिले उनीसँग अहिले २५ वटा गाई छन् । जसमध्ये १६ वटाले दुध दिन्छन् । उनी अहिले दैनिक २०० लिटर दुघ बिक्रि गर्छिन् । त्यसैबाट आउने आम्दानीले उनी परिवारको खर्च चलाउने गर्छिन् । 

    images
    images
    images

    १५ बर्षकै कलिलो उमेरमा झापा विर्तामोडका नन्दलाल घिमिरेसंग विवाह बन्धनमा बाँधिएकी उनी श्रीमान्सँगै कामको सिलसिलामा भारत गईन् । केहि समय भारतको बसाई पछि श्रीमान्की फुपु दिदीको बुटवल घरमा बस्नेगरी उनीहरु नेपाल फर्किए । तर बुटवल आउँदा उनकी फुपुको घर बिक्रि भैसकेको रहेछ । भारतबाट नेपालमै गएर दुःख सुख गर्ने सोँच बनाएर नेपाल फर्किएका पर्मिला र उनका श्रीमान् वेवारिसे जस्तै बने । त्यसपछि प्रमिलाको देवदह बसाई सुरु भयो र जीवन गुजारा चलाउनका लागि उनले शुरु गरिन् - पशुपालन ।

    images
    images
    images

    देवदहको उदयनगरस्थित सुकुम्वासी जग्गामा सानो झुपडी बनाएर बसेकी उनले आफुसंग भएको थोरै पैसाले सुरुमा एउटा बाख्रा किनिन् । प्रमिलाले भनिन्, ‘हामीसँग अरु कुनै विकल्प पनि थिएन । एउटा बाख्रा घरमा बाँधेर हामी दुवै श्रीमान - श्रीमती ज्याला मजदुरी गर्न गाउँ र छिमेकमा हिँड्ने गर्थ्यौं ।’ ५ बर्षसम्म निकै संघर्ष र मेहनत गरेकी उनले ७० वटा सम्म बाख्रा बनाएको बताईन् ।

    बाख्राको संख्या धेरै भएपछि श्रीमान मिस्त्री काम गर्न जाने र उनी बाख्रा हेर्ने र तिनलाई स्याहार सुसार गर्न थालिन् । तर २०६८ सालमा स्थानीय खोलामा बाढी आएपछि बाख्रा चराएर जंगलबाट फर्कने क्रममा उनका २२ वटा बाख्रा बाढीले बगाएर बेपत्ता भए । केहि बाख्रा बाघले खाने र कतिपय चोरी हुने भएपछि उनले बाख्रा पाल्न छाडिन् । ‘त्यो एउटा समय थियो, बाख्राले मलाई यति दियो कि एउटा बोका बेचेर ४० हजार रुपैंयासम्म पारेकी थिएँ । दैव लागेको हो कि भाग्य नै त्यस्तै थियो पछि बाख्रा पट्टी मेरो मन नै गएन ।’ उनले भनिन्, ‘बाख्रा पालनबाटै कमाएको पैसाले झुपडी घरलाई केहि व्यवस्थित गर्न सकिएको हो ।’

    बाख्रा हटाएपछि उनका श्रीमान् बैदेशिक रोजगारीको लागि कतार गए । सन्तानको रुपमा छोरालाई जन्म दिएकी प्रमिलालाई श्रीमान् विदेसिएपछि घरमा के गरेर बस्ने भन्ने हुटहुटी लाग्न थाल्यो । दुःख गरेर बस्ने बानी लागेकी उनलाई छिमेकी जयकिशोर पाण्डेले गाई पाल्न सुझाव दिए ।

    निर्धन उत्थान बैंकबाट २० हजार रुपैंया ऋण लिएर एउटा गाईबाट पशुपालनतर्फ उनको अर्को अध्याय शुरु भयो । 'बाख्रा बेचेर खोर समेत नभएका बेला मसँग गोठ बनाउन पैसा पनि थिएन ।' उनले भनिन्, ‘खोलाबाट दैनिक बिहान बेलुका बोरामा ढुंगा, गिट्टी र बालुवा बोकेर जम्मा पारेँ । काठ र खर समेत आफैले जंगलबाट रातिमा ल्याएर गोठ बनाए ।’ 

    उनले अहिलेपनि सम्झिन्छिन्, हालमा ठेला, पिठ्युमा छाला गएर त्यसले दिने पिडा, अर्कोतर्फ सानो छोरा, सुत्केरी ज्यान, मच्छरदानी किन्ने पैसा समेत नहुँदा मच्छरको टोकाईबाट छट्पटीमा ननिदाई रुदै कटाएका ति रातहरु ।

    त्यो बेला उनी बर्षातको समयमा पानी परेपछि छानाबाट चुहिएको पानी भाँडा थापेर बस्नु पर्दथ्यो । आँफु त्यसरी बसेर पनि उनले ५ वटा गाई राख्न मिल्ने गोठ बनाएकी थिईन् । 

    माईती अनि घरबाट टाढा भएकी प्रमिला हाल दिन रात नभनी काममा मात्र आफुलाई केन्द्रित गरिरहेकी छन् । छोरो जन्मिएसँगै विदेशिएका उनका श्रीमान्ले वैदेशिक रोजगारीबाट समेत राम्रो गर्न सकेनन् । कतार गएर केही समय बसेर उनी खाली हात फर्किए । 

    कैयौं समय प्रमिलाले जीवनयापन गर्नकै लागि जंगलबाट दाउरा ल्याएर बेचेको सम्झिन्छिन् । बिहान जंगल गयो, दिउँसो टण्टलापुर घाममा दाउराको भारी बोकेर घरमा फर्किन्थे । त्यसरी ल्याएको एक भारी दाउराको मुल्य मुस्किलले ६० देखि ८० रुपैया गर्दथ्यो । उनले भनिन्, 'काम गर्ने समयमा छोरा हेरिदिने कोहि नभएर कहिले खाटमा एक्लै छाडेर जाने गर्थे ।'  

    छोरालाई कोठामा राखेर कैंयौपटक दाउरा लिन जंगल जाने गरेको सुनाउँदा उनी भक्कानिईन् । डोरीले बाँध्ने पशुलाई हो तर म विवस थिए । पशु बाँधेजस्तै छोरालाई किलामा बाँधेर काम गर्न जानुपर्थ्यो ।

    अहिले प्रमिलाका छोरा कक्षा ८ मा पढ्छन् । बुटवलस्थित ज्ञानोदय रात्री माविमा अध्ययनरत उनका छोरा पढाईमा भन्दा बढि काममा चासो राख्छन् । सानैबाट मेकानिकल क्षेत्रमा रुचि राख्ने भएकाले पढाईका अलावा उनलाई मेकानिकल काम सिक्नको लागि उनले प्रोत्साहन गरिरहेकी छन् ।   

    गाई पाल्ने क्रममा उनलाई थुप्रै समस्या आए । गाई विरामी हुने र महङ्गो औषधि उपचार र प्राविधिक खर्च उनको लागि बोझ बनेर आउँथ्यो । सुख्खा सिजनमा गाईको आहारा र पानी पनि निकै समस्याको रुपमा आउने गर्थ्यो । प्रमिलाले पानीको अभावमा कैंयौपटक ट्याङ्करमा पानी मगाएर गाईलाई खुवाएको बताईन् । 

    गाईपालनबाटै अहिले उनले ७ कठ्ठा जमिन समेत जोडेकी छन् । अहिले उनको फार्ममा कामगर्ने १ जना कामदार समेत राखेकी छन् । गाईपालनबाटै उनले एउटा घर बनाएकी छन् । कुनैबेला मासिक ३ लाखसम्म पनि कमाएकी उनले केहि समय काठमाण्डौसम्म गाई विक्रि गर्ने गरेको बताईन् ।

    यसरी सुरु भएको प्रमिलाको गाईपालन अहिले व्यवस्थित छ । एउटा गाईबाट सुरु गरेकी उनको गोठ अहिले फार्मको रुपमा विकास भएको छ । जसको नाम निशान गाईफर्म रहेको छ । २०७२ सालमा दर्ता भएको उनको फार्ममा कुनैबेला ३३ वटासम्म गाई थिए ।

    प्रमिला अब केवल एउटी महिला किसान होइनन्, उनी आत्मनिर्भरताको नाम भएकी छन् । उनको यो संघर्ष कुनै सफलताको कहानी जस्तो लाग्न सक्छ तर यो एउटा जिम्मेवार र लगनशिल महिलाको प्रतिक हो । नेपाली महिलाले घर, समाज र राज्यबाट पाएको बेवास्ता विरुद्ध आफ्नै खुट्टामा उभिनका लागि लडेको लडाइँ हो । 

    उनको मुस्कानभित्र अनगिन्ती पीडा लुकेको छ । उनी भन्छिन्, 'अहिलेसम्म मलाई गाईले मात्र बचाएको छ । म त मर्न लागेको मान्छे, तर गाई र छोराको मुहार, अनि भविष्यको सपना हेरेर बाँचिरहेकी छु ।'

    आज परिवर्तित प्रमिलाका आफन्तहरू पनि विस्तारै फर्किएका छन् । उनलाई एक्लै देखेर कतिपय आफन्त र र नातेदारले घरजम गर्नका लागि विवाहको प्रस्ताव लिएर आउँने उनी बताउँछिन् । 'जसले अभावमा मुन्टो बटार्थे आज उनीहरुका अघि शिर उँचो पार्न पाईएको छ ।' आत्मसम्मान र स्वाभिमानका कुरा गर्दै प्रमिला मुस्कुराईन् । उनले भनिन्, 'दु:खको बेला सहायता र हिम्मत दिनेहरुले सहानुभुति देखाउँदा आफैलाई दया लागेर आउँछ ।'

    प्रमिलाको श्रमप्रतिको अनुशासन र निष्ठाको संकल्प आज पनि उस्तै छ । उनीसँग डिग्री छैन, तर उनले अनुभवको विश्वविद्यालय पढेकी छन् । उनले सिकाएकी छन् - आँसु झर्ने आँखाले पनि सपना देख्न सक्छ ।

    प्रमिला घिमिरेको जीवन कथा केवल व्यक्तिगत संघर्ष होइन, यो प्रणालीगत असमानता विरुद्धको विद्रोह हो । जब राज्यले हेर्दैन, जब परिवारले छोड्छ, जब समाजले अपमान गर्छ; त्यतिबेला आफैँलाई अड्याउने शक्ति नै नारीको सत्य बल हो । प्रमिलाको यो यात्रा थालनी हो - प्रत्येक नेपाली नारीको सम्भावनाको, जसले बिना सहारा पनि संसारमा आफ्नो परिचय स्थापित गर्न सक्छन् । पछिल्लो समय आफ्नो कर्मसँगै सामाजिक कार्यमा समेत सरिक हुने प्रमिला आफु थप मजवुद हुँदै समाजका बेसहारा र उत्पिडनमा परेका महिलाहरुको लागि आदर्श बन्न सकुन् । शुभकामना ।

    नोट : नारी नेतृत्व स्तम्भ देवदह नगरपालिका उपप्रमुखसंग महिला कार्यक्रम र सेतोमसीको सहकार्यमा संचालित लेखन कार्यक्रम हो  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नारी नेतृत्व
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।