देवदह । देवदहमा नारी नेतृत्व कृति विमोचन गरिएको छ । सेतोमसी मिडिया नेटवर्कले प्रकाशन गरेको देवदह क्षेत्रका २० जना महिलाहरूको संघर्ष र सफलताको कथा समेटिएको पुस्तक शनिवार विमोचन गरिएको हो ।
पुस्तक विमोचन गर्दै देवदह नगर प्रमुख ध्रुव प्रसाद खरेलले संघर्षको विरासतमा मात्र सफलता प्राप्त हुने तथ्यलाई पुस्तकले पुष्टी गरेको बताए । पुस्तकमा समेटिएका विषयबस्तु महिलाका यथार्थ घटना भएको उल्लेख गर्दै प्रमुख खरेलले पुस्तक नवपुस्तालाई थप प्रेरणाको स्रोत बन्ने विचार व्यक्त गरे । 'इतिहास उच्च सफलता प्राप्त गर्ने व्यक्ति धनी र शक्तिशाली व्यक्तिको लेखिने गरेको दृष्टान्त थियो ।' उनले भने, 'यो पुस्तकले भुँइ मान्छेको पनि इतिहास बन्ने तथ्य पुष्टी गरेको छ ।'
कार्यक्रममा बोल्दै देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले हरेक क्षेत्रमा महिलाहरुले महिला भएकै कारण थप संघर्ष गर्नुपर्ने अवस्था रहेको बताइन् । 'पुस्तकमा महिलाहरुले भोगेका कठोर कहानी रहेका छन् ।' उनले भनिन्, 'यी नेपाली समाज प्रतिनिधि कथा हुन् र यी आम महिलाका जीवन हुन् ।'
पुस्तकको समिक्षा गर्दै साहित्यकारद्वय निर्मल ढुंगाना र सुशील सापकोटाले सबै युवा विद्यार्थीले यस्ता संघर्षका कथा पढ्नुपर्ने बताए । पुस्तकमा रहेका प्राविधिक विषयमा सुझाव दिंदै समिक्षकद्वयले पुस्तक देवदहको सम्पत्तिको रुपमा आएको बताए । अग्रज पुस्ताको संघर्ष र त्यागको इतिहासले मात्र समाज अहिलेको अवस्थामा आइपुगेको समिक्षकद्वयको भनाइ छ ।

कार्यक्रमको औचित्यबारे बोल्दै सेतोमसीका सम्पादक विष्णु पोखरेलले राज्यको चौंथो अंगको रुपमा मिडियाले राज्यका तीन अंगको निगरानी र खबरदारीसंगै समाज रुपान्तरण र नागरिकको दृष्टिकोण निर्माणमा काम गर्नुपर्नेमा जोड दिए ।
सेतोमसीका कार्यकारी सम्पादक पवन पौडेलको संचालन रहेको कार्यक्रममा लेखक कमला अर्याल, देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल, शिक्षक तथा महिला अधिकारकर्मी इन्दिरा अर्याल लगायतले बोलेका थिए ।
कार्यक्रममा पुस्तकमा स्टोरी समेटिएका महिलाहरुलाई सम्मान समेत गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology