देवदह । जीवनमा सफलता धेरैलाई अन्तिम गन्तव्यजस्तो लाग्छ, तर देवदहकी मीना श्रेष्ठका लागि सफलता भने निरन्तर संघर्षको अर्को नाम हो । चुलोको आगो निभ्न नदिन होटलमा रातभर खटिनुपर्ने अवस्थाबाट पसलमा ग्राहकको भीड सम्हाल्दै गाउँका महिलाको स्वास्थ्यका लागि घर–घर पुग्नुपर्ने, त कहिले सहकारी, समाज र राजनीतिका बैठकहरूमा नेतृत्व गर्नुपर्ने उनका दैनिकी हुन् । यति धेरै जिम्मेवारीबीच पनि मीनाले आफ्ना सपनाहरूलाई कहिल्यै थाक्न दिइनन् । बरु, उमेरले पाँच दशक नाघ्दै गर्दा तीन दशकअघि छुटेको पढाइ फेरि सुरु गरेर उनले सिकाइको यात्रामा समेत नयाँ अध्याय थपिन् ।
सामान्य व्यापारिक परिवारमा जन्मिएकी मीनाले जीवनलाई कहिल्यै सहज रूपमा पाइनन् । ठूलो परिवार, सीमित स्रोतसाधन, सानैदेखि व्यापारको जिम्मेवारी, विवाहपछिको संघर्ष, व्यवसाय उभ्याउने चुनौती र समाजमा आफ्नो पहिचान बनाउने कठिन यात्रा उनको जीवनका अभिन्न पाटा बने । मानिसले सपना पूरा गर्न जन्म, अवस्था वा उमेरले होइन, दृढ इच्छाशक्ति, अथक मेहनत र इमानदार कर्मले निर्धारण गर्छ भन्ने उनीबाट लुक्दैन ।
वि.सं २०३६ साल पौष २३ गते रुपन्देहीको तत्कालिन देवदह गाविस ५ तथा हालको वडा नं ७ मा बुवा जितबहादुर श्रेष्ठ र आमा लालमतिको कोखबाट उनको जन्म भयो । बुवा इन्डियन लाहुरे र दुइवटी आमाका ११ जना छोराछोरी भएकाले उनको परिवार ठुलो थियो ।
बुवा भारतबाट नेपाल आएपछि मीनाको परिवार देवदहमा व्यापार क्षेत्रमा निरन्तर लागिरह्यो । शितलनगर चोकमा मीनाका बुवाले होटल सहितको किराना पसल सञ्चालन गर्थे । जसबाट उनको परिवार चल्ने गर्थ्यो ।
परिवारमा मीनाकी आमाले व्यापार हेर्ने गर्थिन् भने कान्छि आमाले घरमा पशुपालन र कृषिको काम गर्ने गर्थिन । आमाहरु दिदी बहिनी भएपनि उनीहरुमा बेमेल थियो । जसका कारण घरमा समय समयमा झैझगडा भैरहन्थ्यो ।
तर परिवारका भाई बहिनीहरुमा उनीहरुको भने त्यस्तो बेमेल नरहेको मीनाले बताइन् । उनको परिवारले शितलनगर चोकमा व्यापार तथा चोकको केहि दक्षिणमा रहेको घरमा १६ वटा गाईभैंसी, त्यो भन्दा बढिको संख्यामा बाख्रा र अन्य कृषि बालिहरु समेत लगाउने गर्थ्यो ।
औपचारिक शिक्षाको क्रममा मीनाले कक्षा ५ सम्म देवदह माविमा अध्ययन गरिन् , कक्षा ६ मा केरवानी मावि पढेकी उनी साथीहरुको लहैलहैमा लागेर जनप्रिय मावि भलुही पुगिन् । उनले कक्षा ८ पछि पढाइ भने छाडिन् । पढाइ छाड्ने कारण थियो सिलाइ कटाई सिक्ने उनको धोको । घरमा व्यावसायिक माहोल भएका कारण उनी सानै उमेरदेखि पढाइमा भन्दा पनि व्यवसायबाटै पैसा कमाउनुपर्छ भन्ने मान्यता राख्थिन् ।
मीनाले स्वतन्त्र भुपु सैनिक कल्याणकारी परिवारले आयोजना गरेको सिलाइकटाई तालिममा ९ महिने कोर्ष सिकिन् ।
त्यसको अलावा उनले पढ्दैको बेलादेखि लौकेश्वर किस्ता कार्यक्रममा दैनिकी उठाउने कामसमेत गर्थिन् । घरमा पसल भएका कारण विभिन्न व्यक्तिहरुको आउजाउ बढि हुने र त्यहाँ गरिने कुराकानीहरुलाई पनि मीनाले निकै चासोका साथ लिने गर्थिन् । वि.सं २०४९ साल तिर उनले साँझ बिहान साईकल चलाएर देवदहका भवानीपुर, ६ नं चोक, सुनवल लगायतका क्षेत्रमा पुगेर ५० भन्दा बढि घर र व्यावसायिक प्रतिष्ठानमा दैनिकी उठाउने गर्थिन् । त्यसबाहेक पसलमा आमा बुवालाई सघाउने काम त उनको नियमित नै हुने गर्थ्यो । त्यो बेला सम्झिदै उनी भन्छिन्, 'चोकमा व्यापार गर्ने अन्य पसलहरु थिएनन्, बुवालाई ‘टंकीको नेवार’ भनेर ग्राहकहरुले चिन्ने गर्थे, मानिसहरु यसरी आउने गर्थे कि साँझमा त बोल्ने फुर्सद पनि हुँदैनथ्यो ।
मीनाको वि.सं २०५८ सालमा बुटवल ३ निवासी पदमप्रसाद श्रेष्ठसंग विवाह बन्धनमा बाधिईन् । बिहे गर्दा उनी २२ बर्षकी थिईन् । बिहे नगर्ने सोँच थियो । दिदी भिनाजुको घरबार बिग्रिएपछि साना साना २ वटी छोरीको संरक्षण र पालनपोषणको लागि पनि आफुले बुवा आमाकै आग्रहमा विवाह गरेको मीनाले बताइन् । ‘मैले बिहे गर्ने कुनै योजना थिएन, भिनाजु गाडीमा काम गर्ने, बुवा आमाले त्यतिबेला भनेको स्मरण गर्दै उनले भनिन्, हाम्रा ससाना नातिनीहरुको बिचल्ली हुनेभयौ । अरु कोही आयो भनेपनि भोलि समस्या हुन्छ । त्यसैले तिमिले नै बिहे गर ।’ उनले आमा बुवाले धेरै सम्झाएपछि आफु बिहेको लागि राजी भएको सुनाइन् ।
बिहेगर्दा मीनाका श्रीमान् सवारी चालक थिए । उनले बुटवल विराटनगर रात्रीकालिन बस चलाउँने भएका कारण छोरीहरुसँग बस्ने समय हुँदैनथ्यो । बुटवलको थोरै जग्गामा बनेको घर र त्यसमा पनि श्रीमान्का ३ दाजुभाईको परिवार बस्नुपर्थ्यो । मीनाको बुटवल बसाई असहज भएपनि उनी श्रीमान्सँगको सल्लाहमा छोरीहरुसहित देवदह बसाइ सरिन् । 'देवदहको खुल्ला ठाउँमा बसेको म बुटवलमा साँघुरो महसुस गरेँ र त्यसपछि देवदहमै आएर व्यापार गर्ने सोँच बनाएर देवदह मदनग्राममा आयौं' उनले भनिन् ।
देवदहको मदनग्राममा वि.सं २०५८ सालमा १७ हजार पाँच सय रुपैंया ऋण काडेर किनेको सानो टंकी पसलबाट उनको व्यावसायिक जीवन सुरु भयो । मैले बुटवलमा बस्न गार्हो हुने कुरा आमालाई सुनाएपछि आमाले एउटा बन्द रहेको टंकी खोजिदिनुभएछ । त्यहि टंकी र टंकी राख्ने १० धुर जग्गा मासिक ५ सय रुपैंयामा भाडामा लिएर मैले व्यापार सुरु गरेकी हुँ ।
तत्कालिन अवस्थामा मदनग्राममा बुटवल धागो कारखानामा काम गर्ने कामदारहरुको बसोबास थियो । उनीहरुलाई मासिक भुक्तानी गर्नेगरी नास्ता, खाना तथा रासनको व्यवस्था गर्दै उनले आफ्नो व्यवसायलाई अघि बढाएको बताईन् । यसरी सुरु भएको उनको पसल चोकका अन्य पसल भन्दा राम्ररी चल्न थाल्यो । पसल सुरु गरेको २ बर्षपछि मीनाका श्रीमानले समेट ड्राइभिङ्ग छोडेर व्यवसायमै समय दिन थाले ।
श्रीमान्को थप सहयोग पाएकी मीनाले मदनग्रामसंगै शितलनगर चोकमा मिष्ठान्न पसल पनि सुरु गरिन् । केहि समय दुवैतर्फको काम गरेपछि लामो समय मदनग्रामको पसललई निरन्तरता दिन सकिनन् । त्यसलाई बन्द गरेर उनी शितलनगर चोक स्थित ‘सन्ध्या मिष्ठान्न भण्डार’मा केन्द्रित भइन् । उक्त पसल मीनाले स्थानीय निकायमा दर्ता गरेर सञ्चालन गरेको पहिलो पसल पनि थियो ।
मीना बिहेगर्नभन्दा ७ बर्ष अघिदेखि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्ने गर्थिन । स्वयंसेविका भएर समाज र गाउँघरमा काम गरेको र भिजेको कारण उनलाई व्यवसायमा पनि सहयोग मिलेको उनको अनुभव छ । 'स्वयंसेविका भएर वडामा लामो समयदेखि काम गरेको कारण पनि चिनजान भयो, त्यसअघि माइतिमा हुँदाको व्यापार अनुभवले पनि काम गर्यो र त्यसले व्यवसायमा पनि सपोर्ट नै गर्यो ।' उनले भनिन्, 'मैले निशुल्क रुपमा सामाजिक काम गरेपनि चिनजानको हिसावलले पसल गर्दा त्यसले फाइदा नै पुर्याए जस्तो लाग्छ ।'
सामाजिक कार्यमा निकै रुची राख्ने मीनालाई सुरुमा महिला स्वयंसेविका हुन पनि निकै निकै सास्ती व्यवहोर्नुपरेको थियो । स्वयंसेविकाहरु विहाहित हुनुपर्ने तर उनी अविवाहित भएका कारण तत्कालिन उपस्वास्थ्य चौकी प्रमुखले तीन दिनसम्म तिमी हुँदैन भनेको उनलाई अहिलेपनि याद छ । तर उनी नेवार जातिमा बेलसँग विवाह गर्ने परम्पराको सहायतामा महिला स्वास्थ्य स्वयम्सेवीका बनेको बताइन् ।
सामाजिक कार्यमा निकै रुची राख्ने मीनालाई सुरुमा महिला स्वयंसेविका हुन पनि निकै निकै सास्ती व्यवहोर्नुपरेको थियो । स्वयंसेविकाहरु विहाहित हुनुपर्ने तर उनी अविवाहित भएका कारण तत्कालिन उपस्वास्थ्य चौकी प्रमुखले तीन दिनसम्म तिमी हुँदैन भनेको उनलाई अहिलेपनि याद छ । तर उनी नेवार जातिमा बेलसँग विवाह गर्ने परम्पराको सहायतामा महिला स्वास्थ्य स्वयम्सेवीका बनेको बताइन् ।
‘प्रमुख सरले तिमी हुन्नौ बिहे भएको छैन भन्नुभयो, 'मैले अर्को दिन सारी, चुरा पोते सिंदुर सबै लगाएर गएँ, अनि उहाँले केहि भन्न छाड्नु भो र विस्तारै आफुभन्दा सिनियर दिदीहरुसँग काम गर्न सुरु गरें’ उनले भनिन् ।
संघसंस्थामा नेतृत्वको हिसावले मीना देवदह क्षेत्रका विभिन्न संघसंस्थामा विभिन्न पदमा बसेर काम गरेकी छन् । सहकारी संस्था हाल उनको सबैभन्दा सक्रिय रहेर काम गरेको संस्था अन्तर्गत पर्छ । पल्लवी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष रहेकी उनी सहकारी अभियानबाटै सामान्य नागरिकको जीवन परिवर्तन हुन सक्ने तर्क गर्छिन् । ‘म अहिले जुन अवस्थामा छु, त्यो सहकारीताकै देन हो । मानिसले दैनिक, साप्ताहिक वा मासिक जसरी सक्छ त्यसरी नै नियमित बचत गर्ने बानी बसाल्यो भने त्यसले भविष्यका लागि ठुलो काम गर्छ ।
नवप्रभात महिला सहकारी संस्था मार्फत सहकारिता सिकेकी मीना हरेक महिला उद्यमी बन्नुपर्ने र उनीहरु सबै सहकारीमा जोडिनुपर्ने बताउँछिन् । सहकारी एउटा एउटा यस्तो माध्यम हो जहाँ बचतसँगै आम्दानीको पाटो समेत देखाईन्छ । जसका कारण मेहनत गरेर जीविकोपार्जन गर्छु भन्नेले सजिलै उद्यम सुरुवात गर्न सक्छ । नवप्रभातको संस्थापक सेयर सदस्य, सञ्चालक सदस्य हुँदै एक कार्यकाल अध्यक्ष बनेकी उनले आफ्नो कार्यकालमा सहकारी पुस्तक पसलदेखि विभिन्न कृषिका कार्यक्रमहरु सञ्चालन गरेको बताउँछिन् ।
हाल आदिवासी जनजाती महसंघ देवदहको अध्यक्षसमेत रहेकी श्रेष्ठ राजनीतिमा पनि सक्रिय छन । राजनीतिक रुपमा नेपाली कांग्रेसको प्रदेश प्रतिनिधि तथा प्रदेश सदस्य र नेपाल महिला संघ देवदहकी सचिव रहेकी उनी वि.सं २०६८ सालमा पार्टीको क्रियाशिल सदस्यता मार्फत राजनीतिमा होमिएकी हुन् ।
राजनीति, सामाजिक संघसंथाको नेतृत्वसंगै व्यवसाय र परिवारलाई समेत उत्तिकै समय व्यवस्थापन गर्नसक्ने मीनाले घरमा थोरै समय पाएको खण्डमा करेसाबारी र खेतको काम समेत आफै गर्ने गर्छिन् । ‘बजारमा किन्यो भने आजभोलि विषदी नभएको तरकारी र खाद्यान्न पाउन गाह्रो छ । तर दिनमा केही समय आफ्नो स्वास्थ्यको लागि भनेर मैले करेसाबारी र खेतीको काम गर्नेगर्छु ।’ मीना भन्छिन्, 'खेतबाट बर्षभरी खान पुग्नेगरी चामल, गहुँ तथा मकै उत्पादन हुनेगर्छ भने मलाई तरकारी किन्नको लागि झोला बोकेर बजार जानुपर्ने स्थिति कमै बन्ने गरेको छ ।’
होटल र मिष्ठान्न भण्डार सञ्चालन गर्दा राती एक घण्टा मात्र सुतेका क्षणहरु सम्झिदै उनले मेहनत गर्न छाड्नेहरुले प्रगतिको सपना देख्न नहुने तर्क गर्छिन् । शुन्यबाट सुरुवात गरेर पनि एक सफल उद्यमी र व्यवसायिको रुपमा देवदहमा उनी परिचित छन् । हिजो व्यवसायका लागि १० धुर जग्गा भाडामा लिने मीनासँग अहिले एक बिगाहा भन्दा बढि आफ्नै जग्गा छ । जसमा उनले आफ्नो गार्मेन्ट उद्योगदेखि कृषि (खेती)को काम गरिरहेकी छन् । हाल उनले संचालन गरेको सन्ध्या गार्मेन्टमा करिव ५० लाख भन्दा बढिको लगानी छ । जहाँ परिवारका ३ जना र अन्य ५ जनाभन्दा बढिले आंशिक वा पूर्णकालिन काम गर्छन् ।
कक्षा ८ पछि स्थगित रहेको मीनाको अध्ययन कार्य ३ दशकपछि अहिले जारी छ । बुटवलस्थित खुल्ला विद्यालयबाट वि.सं. २०७९ सालमा एसइई उत्तिर्ण गरेकी उनले अहिले देवदह स्थित केरवानी माविमा कक्षा १२ अध्ययन गरिरहेकी छन् । संघर्षसंग कहिल्यै हार नखाने उनी आफ्नो दैनिकीलाई व्यवस्थापन गर्दै अध्ययनलाई भविष्यमा पनि निरन्तरता दिने सोचमा छन् । अध्ययनको लागि उमेरले फरक पार्दैन भन्ने मान्यता राख्ने मीना उमेर ढल्केर पढ्न चाहनेहरुका लागि समेत प्रेरणाकी पात्र हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology