देवदह । समानान्तर महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ५५ जिल्लामा संयोजक तोकेको छ ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएको समूहले जिल्ला ५५ जिल्लामा संयोजक तोकेको हो ।
डा. कोइरालाले नै हस्ताक्षर गरेर जिल्ला संयोजकहरूलाई पत्र दिइरहेका छन् । यही असोज १५ गते वडा अधिवेशन गरेर मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने मिति निर्धारण गरेको समूहका संयोजकहरुलाई डा. शशांक कोइरालाद्धारा हस्ताक्षरीत पत्र दिइएको देउवा निकट श्रोतले जनाएको छ ।
श्रोतका अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामै संयोजक तोकिएका छन् । तोकिएका संयोजकहरुमा रुपन्देही जिल्लाको संयोजन गर्ने जिम्मेवारी नेपाली कांग्रेस देवदहका निवर्तमान सभापति गुनाखर भुर्तेललाई तोकिएको छ । आफुले पाएको जिम्मेवारीबारे बताउँदै भुर्तेलले भने, ‘मलाई ह्वाट्सएप मार्फत महाधिवेशन अन्तर्गत जिल्लाको काम गर्नेगरि पत्र प्राप्त भएको छ । केन्द्रको निर्देशन बमोजिम कार्यसम्पादन गर्नु मेरो दायित्व हुन आउँछ ।’

श्रोतका अनुसार लुम्बिनी प्रदेशकै नवलपरासी पश्चिममा विकाश घिमिरे, कपिलवस्तुमा अब्दुल मन्नान खाँ, पाल्पामा माधव नेपाल, अर्घाखाँचीमा लक्ष्मण पाण्डे, गुल्मीमा बेदबहादुर थापा, रुकुम (पूर्व)मा दत्तबहादुर बस्नेत, रोल्पामा मानबहादुर खत्री, प्यूठानमा ईश्वरसिंह विष्ट, दाङमा गोपालराज शर्मा, बाँकेमा कृष्ण कार्की र बर्दियामा जग्गाप्रसाद पाण्डे रहेका छन् ।
यसैगरी कोशी प्रदेशका ८ जिल्लामा तोकिएका संयोजकहरुमा पाँचथरमा डेकेन्द्र कुमार तामाङ, झापामा कृष्ण हुमागाई, संखुवासभामा रामकुमार जीसी, भोजपुरमा धर्मराज राई, मोरङमा सुभाष पौडेल, खोटाङमा रोजन राई, ओखलढुंगामा बालगोविन्द राजभण्डारी र उदयपुरमा बसन्त बस्नेत रहेका छन् ।
समूहले मोरङ र उदयपुरमा सहसंयोजक पनि तोकेको छ । मोरङमा विनायक पन्त र उदयपुरमा गोविन्द चाम्लिङ सह-संयोजक तोकिएका छन् ।
यस्तै बागमती प्रदेशका ११ जिल्लामा समूहले संयोजक तोकेको छ । दोलखामा ताराबहादुर खड्का, रामेछापमा जीतबहादुर मगर, रसुवामा उपेन्द्र लम्साल, धादिङमा गोपाल बिक, नुवाकोटमा श्रीराम श्रेष्ठ, सिन्धुपाल्चोकमा लालकाजी तामाङ, चितवनमा मिलन श्रेष्ठ, मकवानपुरमा भिम लामा, भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा सुदर्शन घिमिरे र काठमाडौँमा जयकृष्ण महर्जन संयोजक तोकिएका छन् ।
दोलखामा जयराम श्रेष्ठलाई सहसंयोजक तोकिएको छ । भक्तपुरमा संयोजक तोकिएका थापा जिल्ला सभापति हुन् ।
यसैगरी गण्डकी प्रदेशका ८ जिल्लामा पनि संयोजक तोकिएको छ । जसअन्तर्गत गोरखामा भुगोल थापा, लमजुङमा रामकृष्ण कँडेल, कास्कीमा ऋषिराम काफ्ले, मनाङमा नाचोङ गुरुङ, पर्वतमा रामकृष्ण मल्ल, म्याग्दीमा हिराबहादुर पुन मगर, बागलुङमा सागर छन्त्याल र नवलपुरमा अशोक बस्ताकोटी संयोजक तोकिएका छन् ।
त्यस्तै कर्णाली प्रदेशका ८ जिल्लामा समेत संयोजक तोकिएका छन् । कर्णालीको डोल्पामा देउप्रसाद बुढा, जुम्लामा हेम बुडाथापा, मुगुमा कर्ण रावल, हुम्लामा सुर्यबहादुर शाही, कालिकोटमा मातृका सिंह, जाजरकोटमा राजजंग शाह, दैलेखमा मीनबहादुर विश्वकर्मा (मिलन) र सुर्खेतमा ललित भट्टराई संयोजक तोकिएका छन् ।
यसैगरी सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा तोकिएका संयोजक अन्तर्गत बाजुरामा धनराज पण्डित, बझाङमा हर्कजंगबहादुर सिंह, डोटीमा नरेन्द्रबहादुर सिंह, दार्चुलामा सुरेन्द्र अवस्थी, बैतडीमा वीरबहादुर विष्ट, डडेलधुरामा डिल्लीराज जोशी, कञ्चनपुरमा पदम बोगटी र कैलालीमा खेम बहादुर डगौरा थारु रहेका छन् ।
संयोजकहरूले जिल्लाबाट इतर समूहका गर्नुपर्ने आवश्यक कार्यसम्पादन गर्नेछन् । श्रोतका अनुसार देउवा समूहले मधेस प्रदेशमा भने हालसम्म कुनै जिल्लामा पनि संयोजक तोक्न सकेको छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology