देवदह । देवदह आदर्श बहुमुखी क्याम्पसले शिक्षामा रुपन्देहीको पूर्वी क्षेत्रको नेतृत्व गरिरहेको छ । जिल्लाको बुटवलपूर्वमा स्नातक तह अध्यापन हुने शैक्षिक संस्था नभएको अवस्थामा वि.सं २०६५ साल मंसिरमा देवदह आदर्श बहुमुखी क्याम्पस स्थापना गरिएको थियो । आज यसले जिल्लाकै नेतृत्वदायी शैक्षिक संस्थाको रुपमा आफुलाई उभ्याएको छ ।
स्थापनाको सुरुवातमा शिक्षा संकाय अन्तर्गत गणित, अंग्रेजी, नेपाली, अर्थशास्त्र, स्वास्थ्य तथा शिक्षा र जनसंख्या तथा वातावरण शिक्षा अध्यापन हुने देवदह आदर्शमा अहिले व्यवस्थापन संकायसमेत अध्ययन हुने गरेको छ । देवदह आदर्शले स्नातक सुरु गरेको एक वर्षमै अर्थात २०६६ साउन ४ गते व्यवस्थापन संकाय संचालनको अनुमति पाएको थियो ।
तत्कालीन केरवानी उच्च मावि देवदह–५ को 'वेस'मा स्थापित देवदह आदर्श बहुमुखी क्याम्पस संचालनका लागि आर्थिक संकलन गर्न २०६६ मंसिर १७ देखि २४ गतेसम्म महायज्ञ समेत सञ्चालन गरिएको थियो । २०७१ सालसम्म केरवानी माविको भौतिक पूर्वाधारमा सञ्चालित क्याम्पस २०८२ सालसम्म आईपुग्दा १५औं समूहसम्मका विद्यार्थीहरुले यहाँबाट अध्ययन पुरा गरेका छन् ।
६२ जना विद्यार्थीहरुबाट सुरु भएको देवदह आदर्श बहुमुखी क्याम्पस अहिले ८४४ जना विद्यार्थीको रोजाइको शैक्षिक संस्था बनेको छ । विद्यार्थी संख्याका हिसावले हेर्दा २०७७ मा ७१८ जना, २०७८ मा ८०७ जना, २०७९ मा ७६९ जना, २०८० मा ७२९ र २०८१ मा ८४४ जना विद्यार्थी देवदह आदर्शमा भर्ना भएको देखिन्छ ।
देवदह आदर्शको भर्ना तथ्यांकलाई हेर्दा छात्राहरुको संख्या उल्लेख्य देखिन्छ । ०७७ मा ३९६ जना छात्रा भर्ना भएकोमा २०७८ मा ४२७ जना, २०७९ मा ३६१ जना, २०८० मा ३०८ जना र २०८१ मा ३५० जना छात्रा विद्यार्थी देवदह आदर्शमा भर्ना भएका छन ।
अधिकांश ग्रामिण क्षेत्र भएकाले पनि यहाँ छात्राहरुको संख्या बढि भएको हो । कक्षा १२ पास गरेका गृहणीहरुको पनि देवदह आदर्श बहुमुखी क्याम्पस उपयुक्त प्लेटफर्म भएकाले छात्राको संख्या बढी देखिएको क्याम्पसले जनाएको छ ।
क्याम्पस संचालक समिति अध्यक्ष बासुदेव रिमालले यस क्षेत्रका ग्रामिण भेगदेखि देवदहको मुख्य बजार क्षेत्र खैरेनीसम्मका विद्यार्थीहरुलाई देवदह आदर्शले सर्वसुलभ रुपमा गुणस्तरिय शिक्षा प्रदान गरेको बताए । उनले बुटवल र काठमाडौंका क्याम्पसको गुणस्तर देवदहमा आदर्शले दिइरहेको दावी गरे ।
देवदह आदर्शले शैक्षिक सुधारको लागि विभिन्न प्रयत्नहरु गदैं आएको छ । त्यसैको फलस्वरुप क्याम्पसले २०८० सालमा विश्वविद्यालय अनुदान आयोग (युजिसि) नेपालबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणीकरण (क्युएए) प्रमाणपत्र प्राप्त गरेको छ । एउटा विद्यालयको पृष्ठभुमिबाट सुरु भएको देवदह आदर्श क्याम्पस आज अव्वल भौतिक संरचना र दक्ष प्राध्यापक एवम् जनशक्तिको व्यवस्थापनका साथ उत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित छ ।
नियमित कक्षा बाहेक अतिरिक्त क्रियाकलापमा पनि क्याम्पस अगाडि छ । क्याम्पसमा खेलजन्य गतिविधि अन्तर्गत टेबल टेनिस, व्याडमिन्टन, भलिवल, फुटवल, वास्केटवल, क्रिकेट लगाएत खेलका लागि समेत व्यवस्थापन मिलाइएको छ ।
क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले छात्रवृत्तिका लागि समेत प्रसस्त अवसरहरु पाउनेगरेका छन् । जसबाट आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई समेत अध्ययनको लागि सहजता हुनेगरेको क्याम्पस प्रमुख जयकिशन अधिकारी बताउँछन् । 'हामीले विभिन्न निकायसँगको सहकार्यमा छात्रवृत्तिको व्यवस्था गर्नेगरेका छौं । जसबाट विद्यार्थीलाई पठनपाठनमा सहयोग हुनेगरेको छ ।’ उनी भन्छन्, 'उच्च शिक्षा हासिल गर्ने तिव्र इच्छाशक्ति भएका विद्यार्थीको लागि देवदह आदर्श क्याम्पस उपयुक्त गन्तव्य हो ।’
छात्रवृत्ति अन्गर्तत आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न ९ वटा निकायबाट आदर्शका २५५ जना विद्यार्थीहरुले छात्रवृत्ति वापतको रकम प्राप्त गरेका छन् । यसरी छात्रवृत्ति प्रदान गर्ने निकायहरुमा विश्वविद्यालय अनुदान आयोग (युजिसि) नेपाल, शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेश, यु–जि ओ नेपाल र नगरका वडा नं १,३, ६, ८ र ९ का कार्यालयहरु रहेका छन् । त्यसैगरी संघिय मामिला मन्त्रालय, क्याम्पसकै अक्षयकोष र रोटरी क्लव अफ देवदहबाट पनि २०८१/०८२ मा छात्रवृत्ति प्रदन गरिएको छ ।
क्याम्पस प्रमुख अधिकारीले भने, 'हामीले छात्रवृत्तिको लागि खुल्ला रुपमा आव्हान गर्दछौं । विद्यार्थीहरुले क्याम्पसले निकालेका सूचनाको आधारमा विभिन्न निकायले प्रदान गर्ने छात्रवृत्तिको लागि आवेदन दिनुहुन्छ ।'
अधिकारीका अनुसार २०८१/०८२ मा क्याम्पसमा अध्ययनरत २५५ जना विद्यार्थीले करिव २७ लाख रुपैंया बराबरको छात्रवृत्ति रकम प्राप्त गरी अध्ययन गरेका छन् । यस शैक्षिक सत्रमा पनि गरिव, जेहेन्दार, छात्रा, आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिम, सिमान्तकृत तथा अपाङ्गता भएका विद्यार्थीहरुलाई छात्रवृत्तिको कार्यक्रम जारी रहने क्याम्पसले जनाएको छ ।
विद्यार्थी संख्या निरन्तर वृद्धि गर्दै र उत्कृष्ट नतिजा दिंदै आएको देवदह आदर्श बहुमुखी क्याम्पसले फरक अभ्यास गर्दै आएको छ । क्याम्पस प्रमुख जयकिशन अधिकारीले आफूहरूले पढाएका कोही पनि विद्यार्थी बेरोजगार नभएको बताए । 'हामीकहाँ पढ्ने कोही विद्यार्थी बेरोजगार छैनन् ।' अधिकारीले भने, 'हामीले विभिन्न कम्पनीहरूसंग समन्वय पनि गरेका छौं । जसले गर्दा क्याम्पसमै रोजगारदाता आउने र कतिपय पढाई सकिएपछि त कतिपय विद्यार्थी पढ्दा-पढ्दै पनि रोजगारमा जोडिएका छन् ।'
क्याम्पसले खास गरी शिक्षा संकाय पढ्ने विद्यार्थीलाई देवदह र आसपासका शैक्षिक संस्थाबाट रोजगारको अवसर आउने बताएको छ । क्याम्पस प्रमुख अधिकारीले अहिले पनि क्याम्पसले प्रयाप्त शिक्षक पुर्याउन नसकेको दावी गरे ।
त्यसैगरी देवदह र आसपासमा रहेका बैंक, सहकारी र बिजनेश हाउसमा देवदह आदर्श क्याम्पसका व्यवस्थापन संकायका विद्यार्थीहरुले सेवा प्रदान गरिरहेको क्याम्पसको भनाई छ ।
सहायक क्याम्पस प्रमुख नविन कुमार श्रेष्ठ क्याम्पसका विद्यार्थीहरु आफ्नै उद्यममा सफल भएको बताउँछन् । 'हामीले रोजगारमा मात्र जोड दिएका छैनौं, स्वरोजगार र उद्यमशीलतामा विद्यार्थी जोड्ने र देशको आर्थिक समृद्धिमा इट्टा थप्ने काम हामीले गर्नुपर्छ भन्नेमा पनि हामी सचेत छौं ।' उनी भन्छन्, 'हामीसंग त्यस्ता प्रशस्त उदाहरणसमेत छन् ।'
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology