देवदह । देवदह आदर्श बहुमुखी क्याम्पसले ‘उच्च शिक्षामा नवप्रवर्तन र स्थानीय विकास’ विषयक राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । बुधवार क्याम्पसमा पत्रकार भेटघाट गर्दै क्याम्पसको रिसर्च म्यानेजमेन्ट एण्ड पब्लिकेशन सेलले यही जेठ १५ र १६ गते प्रथम सम्मेलन सञ्चालन हुने जनाएको हो ।
सेलका संयोजक होमनाथ शर्माले सम्मेलनमा देशभरिका विभिन्न विश्वविद्यालय अन्तर्गतका आंगिक, सामुदायिक तथा निजी क्याम्पससँग आबद्ध प्राध्यापक, अनुसन्धानकर्ता तथा अनुसन्धानमा रुचि राख्ने व्यक्तिहरू सहभागी हुने बताए ।
'कार्यक्रममा अनुसन्धानमा आधारित ४९ वटा शोधपत्र प्रस्तुत गरिने छ ।' उनले भने, 'सम्मेलनअन्तर्गत १० वटा विषयगत क्षेत्र तय गरिएको छ । अनुसन्धान तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सम्मेलन आयोजना गर्न लागिएको हो ।'
क्याम्पस इ.स. २०२४ मा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्रमाणित भएपछि अनुदान आयोगको सहयोगमा सम्मेलन हुन लागेको जनाइएको छ ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पुर्व उपकुलपति प्रा. डा. केशरजंग बराल, प्रा. डा. महानन्द चालिसे लगायत मुख्य वक्ताको रुपमा रहने क्याम्पस प्रमुख जयकिशन अधिकारीले जानकारी दिए ।
सम्मेलन अवधिमा मुख्य प्रस्तुतिसंगै, प्यानल छलफल तथा समानान्तर सत्र सञ्चालन हुने जनाइको छ ।
सम्मेलनका लागि ११ लाख ४२ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको क्याम्पस व्यवस्थापन समिति अध्यक्ष वासुदेव रिमालले बताए । बजेट व्यवस्थापनका लागि विश्वविद्यालय अनुदान आयोग, देवदह नगरपालिका, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका लगायत विभिन्न संस्था तथा स्थानीय तहले आर्थिक सहयोग गरेको उनको भनाइ छ ।
पत्रकार भेटघाटमा सहायक क्याम्पस प्रमुख नविन श्रेष्ठ, क्याम्पसका क्युएए कोर्डिनेटर नारायण भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology