Logo

२०८३, श्रावण २७गते


images
images

उच्च शिक्षा र स्थानीय विकासबारे देवदहमा राष्ट्रिय सम्मेलन : ५२ अनुसन्धानकर्ताद्वारा ४३ शोधपत्र प्रस्तुत

उच्च शिक्षा र स्थानीय विकासबारे देवदहमा राष्ट्रिय सम्मेलन : ५२ अनुसन्धानकर्ताद्वारा ४३ शोधपत्र प्रस्तुत

images
  • उच्च शिक्षा र स्थानीय विकासबारे देवदहमा राष्ट्रिय सम्मेलन : ५२ अनुसन्धानकर्ताद्वारा ४३ शोधपत्र प्रस्तुत
    images
    images

    देवदह । उच्च शिक्षालाई नवप्रवर्तन, अनुसन्धान, उद्यमशीलता र स्थानीय विकाससँग प्रभावकारी रूपमा जोड्ने उद्देश्यले देवदहमा राष्ट्रिय सम्मेलन गरिएको छ । देवदह आदर्श बहुमुखी क्याम्पसद्वारा आयोजित ‘उच्च शिक्षामा नवप्रवर्तन र स्थानीय विकास’ विषयक सम्मेलनमा देशका विभिन्न क्षेत्रका ५२ जना अनुसन्धानकर्ता, प्राध्यापक तथा विज्ञहरूको सहभागिता थियो ।

    images
    images
    images

    सम्मेलनमा कुल ४३ वटा अनुसन्धानमूलक शोधपत्र प्रस्तुत भए । अनुसन्धानकर्ताद्धारा प्रस्तुत शोधपत्रहरूले उच्च शिक्षाको गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षण प्रणाली, अनुसन्धान तथा विकास, उद्यमशीलता प्रवद्र्धन, दिगो विकास, सामाजिक उत्तरदायित्व तथा स्थानीय ज्ञानको संरक्षणजस्ता समसामयिक विषयलाई समेट्ने प्रयास गरे ।

    images
    images
    images

    सम्मेलनले उच्च शिक्षालाई शैक्षिक उपलब्धिमा सीमित नराखी स्थानीय आवश्यकता, आर्थिक विकास तथा सामाजिक रूपान्तरणसँग जोड्ने बहसलाई थप बल दिएको आयोजक देवदह आदर्श बहुमुखि क्याम्पसका प्राचार्य जयकिसन अधिकारीले बताए । विश्वविद्यालय तथा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरूले समाजका वास्तविक समस्या समाधानमा केन्द्रित अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष सम्मेलनले निकालेको अधिकारीले जानकारी दिए ।

    images
    images
    images

    प्रविधिको प्रयोगमार्फत उद्यमशीलताका लागि अबको उच्च शिक्षा

    कार्यक्रममा पाठ्यक्रम सुधारदेखि अनुसन्धान, प्रविधिको प्रयोग, उद्यमशीलता, दिगो विकास, सामुदायिक सहभागिता र नीतिगत सुधारसम्मका विविध पक्षमा व्यापक छलफल भए । मुख्य विषयअन्तर्गत रहेर विभिन्न १० वटा उप विषयहरू कार्यक्रममा समेटिएका थिए । जसमा पाठ्यक्रममा नवप्रवर्तनको एकीकरण, विश्वविद्यालय तथा उच्च शिक्षा अध्यापन गर्ने शैक्षिक संस्थाहरूलाई स्थानीय विकाससँग जोड्ने उपायहरू, अनुसन्धान तथा विकासको प्रवद्र्धन, उद्यमशीलता तथा स्टार्टअप संस्कृतिको विकास रहेका थिए ।

    devdaha .jpeg

    यसैगरी उच्च शिक्षामा प्रविधिको प्रयोग र डिजिटल रूपान्तरण, शैक्षिक संस्था, उद्योग तथा सरकारबीच सहकार्य र साझेदारी, शिक्षक तथा विद्यार्थीहरूको क्षमता अभिवृद्धि, दिगो विकास र हरित नवप्रवर्तन, नीतिगत सुधार तथा संस्थागत सहयोग र सामुदायिक सहभागिता र सामाजिक उत्तरदायित्व विषयमा अनुसन्धानकर्ताहरुले आ–आफ्नो शोधपत्र प्रस्तुत गरेका थिए ।

    सहभागिहरूले चौथो औद्योगिक क्रान्ति, कृत्रिम बौद्धिकता, डिजिटल शिक्षण प्रणाली, अनुसन्धानमा लगानी तथा नवप्रवर्तनमैत्री वातावरण निर्माणजस्ता विषयमा पनि आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

    शोधपत्रलाई विषयका आधारमा ३ वटा ट्रयाकमा विभाजन

    सम्मेलनमा प्रस्तुत गरिएका ४३ वटा शोधपत्रलाई विषयगत समानताका आधारमा तीनवटा ट्रयाकमा वर्गिकरण गरेर प्रस्तुत गरिएको कार्यक्रम संयोजक होमनाथ शर्माले जानकारी दिए । जसमा पहिलो डिजिटल रूपान्तरण, नवप्रवर्तन र उच्च शिक्षा, दोस्रोमा आर्थिक विकास, उद्यमशीलता र दिगो सामुदायिक विकास तथा तेस्रोमा स्वास्थ्य, स्थानीय तथा आदिवासी ज्ञान र सामाजिक कल्याण रहेको थियो ।

    पहिलो ट्रयाक अन्तर्गत सबैभन्दा बढी १७ वटा शोधपत्र प्रस्तुत गरिएका थिए । उच्च शिक्षामा डिजिटल प्रविधिको बढ्दो प्रयोग, अनलाइन तथा मिश्रित शिक्षण प्रणाली, कृत्रिम बौद्धिकताको प्रयोग, पाठ्यक्रम सुधार तथा अनुसन्धानको गुणस्तर अभिवृद्धिजस्ता विषयमा केन्द्रित अध्ययनहरू त्यसमा प्रस्तुत गरिएका थिए ।

    devdaha। .jpeg

    यसैगरी दोस्रो ट्रयाकमा १५ वटा शोधपत्र समावेश थिए । विश्वविद्यालयहरूलाई स्थानीय आर्थिक विकाससँग कसरी जोड्न सकिन्छ, उद्यमशीलता तथा स्टार्टअप संस्कृतिलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ र दिगो विकासका लक्ष्यहरू प्राप्तिमा शैक्षिक संस्थाको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा अनुसन्धानमूलक प्रस्तुतीकरण दोस्रो ट्रयाकमा समावेश थिए ।

    यस्तै तेस्रो ट्रयाक अन्तर्गत ११ वटा शोधपत्र प्रस्तुत गरिएका थिए । जसले स्वास्थ्य, सामाजिक समावेशीकरण, स्थानीय ज्ञान प्रणाली तथा समुदाय विकासका विषयमा केन्द्रित अध्ययनहरूलाई समेटेको क्याम्पसका गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) संयोजक नारायण भण्डारीले जानकारी दिए ।

    क्यूएए अन्तर्गत गरिएको अनुसन्धानात्मक कार्यक्रममा रुपन्देही र बाहिरी जिल्लाबाट समेत अनुसन्धानकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । शोधपत्रका लेखक तथा प्रस्तोतामध्ये २६ जना रुपन्देहीबाट सहभागी थिए भने १७ जना रुपन्देही बाहिरका विभिन्न जिल्लाबाट सहभागी भएका थिए । कार्यक्रमका सेसन चियरका रुपमा डा. निरञ्जन देवकोटा, डा आलोक आत्रेय र डा. नानीबाबु घिमिरेले शोधपत्र प्रस्तुतकर्ताहरुलाई सुझाव र मार्गनिर्देश गरेका थिए ।

    शोधपत्रमा आएका विषय नगरको सम्पत्तिको रुपमा ग्रहण

    स्थानीय तथा राष्ट्रियस्तरका अनुसन्धानकर्ताहरूको सहभागिताले सम्मेलनलाई अझ समृद्ध बनाएको क्याम्पसका अध्यक्ष बासुदेव रिमालले बताए । ‘विभिन्न भौगोलिक क्षेत्रका अनुसन्धानकर्ताले प्रस्तुत गरेका अनुभव, अनुसन्धानका निष्कर्ष तथा नवीन अभ्यासहरू सुन्न र जान्न पाउनु देवदहवासीको लागि गौरव भएको हामीले महशुस गरेका छौं ।’ रिमालले भने, ‘प्रस्तुत भएका अनुसन्धानमुलक विषयका शोधपत्रहरु क्याम्पस र देवदहकै सम्पत्तिको रुपमा हामीले ग्रहण गरेका छौं ।’ जसले स्थानीय आवश्यकता र राष्ट्रिय प्राथमिकताबीचको सम्बन्धलाई अझ स्पष्ट रूपमा उजागर गर्नुका साथै ज्ञान आदानप्रदानको प्रभावकारी मञ्चका रूपमा सम्मेलनलाई स्थापित गरेको रिमालको भनाइ छ ।

    सम्मेलनमा प्रस्तुत अधिकांश शोधपत्रहरूले विश्वविद्यालय र समुदायबीचको सम्बन्धलाई बलियो बनाउने, अनुसन्धानलाई व्यवहारिक समस्या समाधानतर्फ उन्मुख गर्ने तथा नवप्रवर्तनमार्फत स्थानीय विकासलाई गति दिने विषयमा जोड दिएका थिए ।

    सहभागीहरूले उच्च शिक्षण संस्थाहरू डिग्री प्रदान गर्ने केन्द्रमा मात्र सीमित नभई अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता तथा सामाजिक रूपान्तरणका केन्द्रका रूपमा विकास हुनुपर्ने आवश्यकता औँल्याएका थिए ।

    सम्मेलनले उच्च शिक्षा क्षेत्रका नीति निर्माता, प्राध्यापक, अनुसन्धानकर्ता तथा सरोकारवालाबीच अनुभव आदानप्रदान, सहकार्य विस्तार तथा भावी अनुसन्धानका सम्भावित क्षेत्र पहिचान गर्न महत्वपूर्ण योगदान पु¥याएको देखिन्छ ।

    आयोजकले सम्मेलनबाट प्राप्त निष्कर्ष तथा सिफारिसहरूले उच्च शिक्षालाई स्थानीय विकाससँग जोड्ने नीति निर्माण तथा कार्यक्रम सञ्चालनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ ।

    उच्च शिक्षा र स्थानीय विकास, अवसर र चुनौती’ विषयमा प्यानल डिस्कसन

    जेष्ठ १५ र १६ गतेगरि २ दिनसम्म सञ्चालिन कार्यक्रमको पहिलो दिन ‘उच्च शिक्षा र स्थानीय विकास, अवसर र चुनौती’ विषयमा प्यानल डिस्कसन समेत गरिएको थियो । क्याम्पसका नारायण भण्डारीको सहजीकरणमा भएको प्यानल डिस्कसनमा नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष सत्रुघन प्रसाद गुप्ता, देवदह मेडिकल कलेजका निर्देशक गोपाल पोखरेल, शिक्षा नीति विषयमा पिएचडी शोधकर्ता दिनेश पन्थी, देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले छलफल गरेका थिए ।

    शिक्षाको नीति र संरचनामा आमुल परिवर्तन आवश्यक : त्रिवि  पूर्व उपकुलपति बराल

    यसअघि कार्यक्रमको उद्घाटन गर्दै  त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. केशर जंग बरालले उच्च शिक्षालाई देशको आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने बताएका थिए । उनले उच्च शिक्षाको नीति र संरचनामा आमुल परिवर्तन आवश्यक रहेको उल्लेख गरे ।

    बरालले उच्च शिक्षा विकाससँग प्रत्यक्ष रुपमा जोडिनुपर्ने बताउँदै देशको आवश्यकता अनुसारको शिक्षा प्रणाली र जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । उनले पाठ्यक्रमलाई विश्व बजारसँग तुलना गर्दै लगिनुपर्ने आवश्यकता समेत औंल्याएका थिए ।

    प्रा. डा. केशर जंग बराल .jpeg

    बरालले स्थानीय आवश्यकतासँग उच्च शिक्षालाई जोड्न नसक्दासम्म सुधार सम्भव नहुने तर्क गर्दै विदेशमा अध्ययन गरेर फर्किने नीति निर्मातामा स्थानीय सन्दर्भको ज्ञान कमजोर हुने समस्या रहेको पनि उल्लेख गरे ।

    उच्च शिक्षाको ऐतिहासिक विकासबारे चर्चा गर्दै उनले १९१८ मा त्रिचन्द्र कलेज स्थापनासँगै आधुनिक शिक्षाको सुरुवात भएको र १९५९ मा त्रिभुवन विश्वविद्यालय स्थापना भएपछि शिक्षा प्रणालीमा थप विस्तार भएको बताए । उनले देशका अधिकांश कलेज त्रिभुवन विश्वविद्यालयसँग आवद्ध भए पनि अपेक्षित परिवर्तन हुन नसकेको स्वीकार गरे ।

    लुम्बिनी विश्वविद्यालयले इन्जिनियरिङ लगायत विषय सञ्चालन गरिरहेको उल्लेख गर्दै बरालले संरचनात्मक परिवर्तन भए पनि व्यवहारिक सुधार र राजनीतिक हस्तक्षेपको समस्या शिक्षामा कायमै रहेको तर्क गरे । उनले शिक्षा क्षेत्रमा रहेको राजनीतिक प्रभाव र विद्यार्थी तथा शिक्षक संगठनको हस्तक्षेपले समस्या सिर्जना गरेको र्औल्याउँदै विद्यार्थी मैत्री शिक्षा प्रणालीको आवश्यकता औंल्याए ।

    उद्घाटन समारोहमा त्रिभुवन विश्वविद्यालयका रजिष्टार महानन्द चालीसे, विश्वविद्यालय अनुदान आयोगका सहायक निर्देशक नारायण भण्डारी, लुम्बिनी प्रदेशका निवर्तमान सांसद डा. कृष्ण न्यौपाने लगाएतले बोलेका थिए ।

    शोधपत्र प्रस्तुतकर्तालाई ऐतिहासिक क्षेत्र अवलोकनको अवसर

    कार्यक्रमको अवसरमा देवदहमा आएका शोधकर्ता तथा पाहुनाहरुलाई क्याम्पसले नगरका विभिन्न ऐतिहासिक स्थलहरुको अवलोकन भ्रमण समेत गराएको छ । अवलोकनर्ताहरुले बुद्धको मावली क्षेत्र भवानीपुर, पाकरी वृक्ष तथा मंगलपुष्करिणी दहको अवलोकन भ्रमण गराएको हो । कार्यक्रमको अवसर पारेर ऐतिहासिक र साँस्कृतिक भुमी देवदहको जानकारीसहित अवलोकन भ्रमण गर्न पाएकोमा सहभागीहरुले खुसी व्यक्त गरे ।

    कार्यक्रममामध्यविन्दु बहुमुखी क्याम्पसबाट सहभागी डा. नरनाथ पाण्डेले क्याम्पसद्धारा आयोजित कार्यक्रममा समग्र देवदहको आतिथ्यता अत्यन्त सरहानिय रहेको उल्लेख गरे । छिमेकी जिल्ला भएपनि अहिलेसम्म नघुमेका ऐतिहासिक क्षेत्रमा गराइएको भ्रमणले आफुलाई अत्यन्त उर्जा प्राप्त भएको डा. पाण्डेले प्रतिक्रया दिए ।

    ऐतिहासिक रुपमा राष्ट्रिय स्तरको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा क्याम्पसलाई धन्यवाद दिदै उनले समुदायसंगको सहकार्यमा क्याम्पसले गरेको कार्यक्रमबाट आफु प्रभावित भएको बताए । समुदायका प्रतिनिधिहरु २ दिनको कार्यक्रममा धैर्य भएर सहभागी हुने परम्परा देवदहबाट आफुले समेत सिकेर फर्किएको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।