देवदह । देवदह आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई एक समारोहका विच छात्रवृत्ति वितरण गरिएको छ । देवदह नगरपालिका अन्तर्गतका विभिन्न ८ वटा वडाहरुबाट छात्रवृत्तिका लागि विनियोजित बजेटबाट एक सय ४७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो ।
नगरका ७ वटा वडाहरुले विनियोजन गरेको छात्रवृत्ति रकम मध्येबाट ५० हजार रुपैंया बराबर १० जना र १ लाख रुपैंया बराबर २० जना सोही वडाका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको क्याम्पस प्रमुख जयकिशन अधिकारीले जानकारी दिए । छात्रवृत्ति अन्तर्गत वडा नं ९ ले ६ लाख रुपैंया विनियोजन गरेका कारण उक्त रकमबाट सोही वडाका ४७ जना विद्यार्थीलाई बर्षभरिको शिक्षण शुल्क बराबरको छात्रवृत्ति रकम वितरण गरिएको क्याम्पस प्रमुख अधिकारीले बताए ।
छात्रवृत्तिको लागि बजेट विनियोजन गर्ने वडाहरुमा वडा नं १, ५, ६, ७, ८, ९, ११ र १२ रहेका छन् । जस अन्तर्गत वडा नं १, ६, ७, १२ बाट ५० हजार रुपैंया तथा वडा नं ५, ८ र ११ ले १ लाख रुपैंया बिनियोजन गरेका थिए । यसैगरी छात्रवृत्तिको लागि वडा नं ९ ले ६ लाख रुपैंया विनियोजन गरेको विद्यालयका लेखा प्रमुख हरि ढुङ्गानाले जानकारी दिए ।
छात्रवृत्तिका लागि रकम विनियोजन गर्ने वडाहरुको उपस्थितिमा बिहिबार र शुक्रवार गरि २ चरणमा छात्रवृत्ति वितरण गरिएको क्याम्पसका अध्यक्ष बासुदेव रिमालले बताएका छन् । ‘हामिले गत बर्षहरुमा पनि विद्यार्थीहरुलाई पठनपाठनमा सहज होस् भनेर विभिन्न वडाहरुसंगको सहकार्यमा छात्रवृत्ति वितरण गर्ने गरेका थियौं यो बर्ष पनि त्यसलाई निरन्तरता दिएका छौं ।’ अध्यक्ष रिमालले भने, ‘छात्रवृत्तिका कारण विद्यार्थी संख्या पनि बढिरहेको छ, वडागत रुपमा समेत विद्यार्थीहरुले छात्रवृत्तिको लागि आवेदन दिनेगरेका छन् ।’
सहायक क्याम्पस प्रमुख नविन कुमार श्रेष्ठको सञ्चालनमा भएको छात्रवृत्ति वितरण कार्यक्रममा वडा नं ९ का अध्यक्ष मोहनबहादुर जिसी, वडा र्न ७ का अध्यक्ष कृष्णप्रसाद अधिकारी, वडा नं १२ का अध्यक्ष डेक बहादुर सारु, ११ का अध्यक्ष दुधनाथ यादव, निवर्तमान क्याम्पस प्रमुख मित्रलाल न्यौपाने, प्राध्यापक होमनाथ शर्मा, वडा नं ९ का वडा सदस्य चमकान्त गौडेल, स्ववियू सभापति अश्विन न्यौपाने लगाएतले बोलेका थिए । उनीहरुले छात्रवृत्ति वितरणले विद्यार्थीहरुमा पठनपाठनमा थप हौसला बढ्ने बताए ।
रुपन्देहीको पूर्वी क्षेत्रमा २०६५ सालमा स्थापित देवदह आदर्श बहुमुखी क्याम्पसमा व्यवस्थापन तथा शिक्षा संकाय अन्तर्गतका विभिन्न विषयहरुमा ८ बढि विद्यार्थीले अध्ययन गर्ने गरेका छन् । जहा २५ जना प्रध्यापक तथा सह प्राध्यापकहरुले अध्यापन गरिरहेका छन् । क्याम्पसले यसबर्ष बिसिए, बिबिए, एमबिएस कक्षा संचालनको लागि टि यू को डिन कार्यालयसँग समन्वय गरि ‘फिजिविलिटी स्टडी’ भइरहेको क्याम्पस प्रमुख अधिकारीले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology