दैनिक जीवनमा उपयोग गर्न सकिने बौद्ध धर्म दर्शनलाई प्रायोगिक बौद्ध दर्शन भनिन्छ । शाक्यमुनि बुद्धले दिएका उपदेशहरू त्रिपिटक लगायतका ग्रन्थमा संग्रहित छन् । यी उपदेशहरूलाई जीवनमा उतार्ने कार्य नै प्रायोगिक पक्ष हो । प्रायोगिक बौद्ध धर्म भनेको शाक्यमुनि बुद्धको ज्ञानलाई समय र परिस्थिति अनुसार ठिकसँग बुझेर दैनिक जीवनमा लागू गर्नु हो ।
प्रायोगिक बौद्ध दर्शन भनेको मानिसहरूको दैनिक जीवनमा बौद्ध शिक्षाको प्रयोग हो । यो एक फराकिलो छाता हो, जसअन्तर्गत शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक कल्याणका साथै दार्शनिक, जैविक, आर्थिक र आधुनिक वैज्ञानिक पक्षहरू समाहित छन् । यसमा थेरावाद, महायान र तन्त्रयान (तिब्बती) जस्ता बौद्ध विचारका प्रमुख स्कूलहरूको अभ्यास समावेश गरिएको छ ।
प्रायोगिक बौद्ध धर्मले आधुनिक विज्ञान, स्वास्थ्य र कल्याणमा बौद्ध योगदानको बारेमा मूल्यवान् जानकारीहरूलाई समेटेको छ । प्रायोगिक बौद्ध धर्मको धारणा भनेको मानिसहरूलाई बौद्ध धर्ममा परिवर्तन नगरिकन बौद्ध धर्मको अभ्यास गर्न सक्षम बनाउनु हो । बौद्ध धर्म केवल धर्म र दर्शन मात्र होइन, यो एक जीवनशैली पनि हो । दैनिक जीवनमा बौद्ध विचारहरूलाई लागू गर्न व्यक्तिले आफ्नो धर्म त्याग्नु पर्दैन । कुनै आध्यात्मिक व्यक्ति स्वभावैले धार्मिक पनि हुन्छ । यसरी धर्म र अध्यात्मको अन्तर्सम्बन्धले बौद्ध धर्मलाई औपचारिक रूपमा स्वीकार नगरीकन पनि बौद्ध अभ्यास गर्न सकिन्छ । प्रायोगिक बौद्ध धर्मले बौद्ध ज्ञानलाई शान्ति र सद्भाव प्रवर्धनको लागि मार्ग प्रशस्त गर्दछ ।
प्रायोगिक बौद्ध धर्मको उद्देश्य भनेको मानव जीवनका विभिन्न समस्याहरूलाई समाधान गर्न बुद्ध शिक्षाको प्रयोग गर्नु हो । यसका उद्देश्यहरूमा शाक्यमुनि बुद्धका उपदेशलाई समाजका विभिन्न मानवीय समस्याहरूलाई सुल्झाउन प्रयोग गर्ने, मानव जीवनलाई मात्र महत्व दिएर नभई समस्त जीवप्रति नै बौद्ध शिक्षालाई जोडेर व्यवहार गर्ने, आधुनिक विज्ञान र प्रविधिसँग बौद्ध शिक्षाको समन्वय गर्दै जीवनका विभिन्न पक्षहरूमा यसको प्रयोग बढाउने तथा आध्यात्मिक र भौतिक क्षेत्रमा बौद्ध शिक्षाको क्षेत्रलाई फराकिलो बनाउने रहेको छ ।
प्रायोगिक बौद्ध धर्मको उद्देश्य सर्वसत्व प्राणीहरूको कल्याणका लागि बुद्धका उपदेशहरूलाई व्यावहारिक प्रयोजनार्थ दैनिक जीवनमा स्थापित गर्नु हो । यसले व्यक्तिहरूलाई अनुशासित र जागरूक जीवन जीउन मद्दत गर्दछ । बौद्ध धर्म केवल एक धार्मिक विश्वास मात्र होइन, यो जीवनको एक पद्धति हो जसले हरेक व्यक्तिलाई आत्मज्ञान र शान्तिको मार्गमा अघि बढ्न प्रेरित गर्दछ । यसै कारण, प्रायोगिक बौद्ध धर्मलाई अपनाउनु वर्तमान युगको एक महत्वपूर्ण आवश्यकता हो, जसले मानवता र समाजलाई सशक्त बनाउने लक्ष्य राख्दछ ।
प्रायोगिक बौद्ध धर्मलाई आधुनिक जीवनशैलीमा लागू गर्नु भनेको बौद्ध शिक्षालाई दैनिक क्रियाकलापमा समावेश गर्नु हो । यसले व्यक्तिलाई मानसिक शान्ति, शारीरिक स्वास्थ्य, र सामाजिक कल्याणमा मद्दत पुर्याउँछ । जुन सबैको जीवनसँग जोडिनु आवश्यक छ जस्तै वर्तमानमा मानसिक स्वास्थ्य बृद्धि गर्न ध्यान आवश्यक छ । ध्यानले मानसिक स्पष्टता र शान्ति ल्याउँछ । प्रत्येक दिन केही मिनेटको लागि ध्यान गर्नुले तनाव कम गर्न र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्दछ। बिहान उठेर १०-१५ मिनेटको लागि श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्दा दिनको सुरुवात सकारात्मक हुन्छ ।
यसका साथै प्रायोगिक बौद्ध दर्शनको प्रयोगले जगतमा करुणा र सहिष्णुता बृद्धि हुनु पर्छ । किनभने बौद्ध धर्मले करुणा र सहिष्णुता महत्त्वपूर्ण मान्दछ । यो सिद्धान्तलाई लागू गरेर हामी समाजमा सहयोगी बन्न सक्छौं। कुनै अनाथालय वा वृद्धाश्रममा स्वयंसेवकको रूपमा सेवा गर्नुले अरूको जीवनमा सकारात्मक प्रभाव पार्ने भन्दा पनि व्यक्तिलाई नै आत्मिक सन्तोष हुन्छ ।
प्रायोगिक बौद्ध दर्शनले व्यक्तिमा नैतिकता र सही आचरण विकास गराउँछ । कार्यस्थलमा ईमानदारी र नैतिकताको पालन गर्दा, गरिएका कार्यहरूमा पारदर्शिता र विश्वसनीयता बढ्छ । सहकर्मीलाई सहारा दिने र समस्याहरूमा सहयोग गर्ने व्यवहारले सकारात्मक कार्य वातावरण सिर्जना गर्दछ ।
प्रायोगिक बौद्ध दर्शनले पनि जीवनको अस्थिरता स्विकार्न सिकाउँछ । बौद्ध धर्मले मुख्य रुपमा जीवनको अस्थिरता र परिवर्तनलाई स्वीकार्नका लागि प्रेरित गर्छ । काममा भएको संघर्ष वा व्यक्तिगत जीवनका चुनौतीहरूमा सकारात्मक दृष्टिकोण राखेर व्यक्ति तनाव र चिन्ताबाट मुक्त हुन सक्छ ।
प्रायोगिक बौद्ध दर्शनले साधारण जीवनशैली र उपभोगमा संयमको महत्त्वलाई जोड दिन्छ । आधुनिक जीवनशैलीमा अनावश्यक वस्तुहरू खरीद गर्नु सट्टा आवश्यक र उपयोगी वस्तुहरूमा ध्यान दिनु उपयुक्त हुन्छ । प्रायोगिक बौद्ध दर्शनले समुदायमा बौद्ध शिक्षाको प्रचार गर्न सक्रिय रहनुले समुदायलाई नै सकारात्मक प्रभाव पार्ने कुरामा जोड दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology