रोहिणी नदीको पानी कसले लगाउने भन्ने विषयमा झगडा गर्न तयार भएका कोलिय र शाक्य पक्षका योद्धाहरुको कलह शान्त पार्न बुद्धले फन्दन, लटुकिक र पथवी उद्दिय जातक कथा सुनाउनु भएको थियो । यी कथाले उनीहरुमा विकास भएको युद्ध मनस्थिति शान्त भएपछि एकता र मेलमिलापको भावना बढाउन बुद्धले रुक्खधम्म र सम्मोदमान जातक कथा सुनाउनु भएको थियो । बुद्धले रुक्खधम्म जातक कथामार्फत आपसमा मेलमिलाप र राम्रो सम्बन्ध भए कुनै पनि शत्रुहरूले कहिल्यै विगार्न नसक्ने सन्देश दिनुभएको छ ।
बुद्धले रोहिणी नदीमा युद्धका लागि आएका कोलीय र शाक्य राज्यका राजाहरूलाई सम्बोधन गर्दै भन्नु भएको थियो -
×महाराजहरू ! तपाईंहरू स्वयं आ-आफ्नै नातेदार हुनुहुन्छ । आ-आफ्नै नातेदारहरू त आपसमा सधैं मिलेर बस्नुपर्छ । आफन्तहरूबिच परस्पर एकता भएमा मात्र सबै सुरक्षित हुने वातावरण तयार हुन्छ । एकता मानिसलाई मात्र होइन, वनस्पतिहरूका लागि समेत आवश्यक छ । यसको प्रमाण रुख्खधम्म जातक कथा हो ।"
रुक्खधम्म जातक कथा
धेरै पहिले वाराणसीमा ब्रम्हदत्त राजाले राज्य गरिरहेका थिए । त्यस समयमा कुबेर राजाको मृत्यु भयो । देवराज इन्द्रले अर्को कुबेर स्थापना गरे । पहिलेको कुबेरको स्थानमा आउने नयाँ कुबेरले सम्पूर्ण रुख, झाडी, विरुवा, लता आदिलाई सम्बोधन गर्दै भने- "जहाँ-जहाँ आफूलाई सुबिधा हुन्छ, त्यसै स्थानमा आ-आफ्ना निवास बनाएर बस्नू ।"
त्यस समय बोधिसत्व हिमवन्त प्रदेशको शालवनमा एउटा वृक्ष देवताका रुपमा जन्मिएका थिए । उनले आफ्नो आफन्त र नातेदारहरूलाई भने "निवास स्थान वनाउँदा खुल्ला चौरको एक्लो रुखमा नबनाउनू । यस शालवनमा मैले जहाँ बासस्थान बनाएको छु, त्यसकै आसपासमा नै तिमीहरूले आफ्ना लागि बासस्थान बनाउनू ।"
वोधिसत्वको कुरा सुन्ने असल कर्म गर्ने पण्डित देवताहरूले बोधिसत्वको बासस्थानकै वरिपरि आफू बस्ने स्थान बनाए तर असल कर्म नगर्नेहरूले विचार गरे "हामीहरूले जँगलमा बास बनाएर के फाइदा हुन्छ ? मानिसहरू बसोबास गर्ने स्थान, गाउँ वा बस्तीको नजिक बासस्थान बनाउन सके पो राम्रो । गाउँ नजिकमा रहने देवताहरूलाई गाउँलेहरुले पूजा गर्छन् । लाभ र यश प्राप्त हुन्छ ।" यस्तो विचार मनमा राखेर मुर्ख देवताहरुले वस्ती भएको गाउँ नजिक खुल्ला चौरमा रहेको अग्लो सालको रुखमा आफूहरु बस्ने बासस्थान तयार गरे ।
उक्त्त स्थानमा एकदिन आँधिवेहरी चल्यो । आँधिवेहरी बढ्दै निकै ठूलो रुप लियो । जमिनको भित्रसम्म जरा फैलिएका रुखहरुलाई आँधिवेहरीले ढाल्यो । पातपतिङ्गर र भाँचिएका रुखका हाँगाहरु सडकभरि भए । बस्तीमा रहेका घरगोठका छानाहरु उडे, घरहरुसमेत आँधिवेहरी भताभुङ्ग बनाइदियो । हिमवत प्रदेशको शालवनमा महावायु आउँदा त्यो वनका रुखहरु अर्को रुखको हाँगा, डाँठ, पात र लहराहरूमा जोडिएकाले सुरक्षित रहे । सालवनमा रहेका एक रुखको हाँगा अर्को रुखको हाँगासँग जोडिएका थिए । एकले अर्कालाई सहारा दिएकाले आँधिवेहरीले एउटा रुख पनि ढाल्न सकेन । माथि-माथि मात्रै आँधिवेहरी चलिरह्यो। चौरमा अलग्ग रहेको मुर्ख देवताहरुले बासस्थान बनाएको रुख अन्य कुनै पनि रुखसँग नजोडिएका कारण आँधिवेहरीले जरैदेखि ढालिदियो । जुन निकै अग्लो, विशाल, धेरै हाँगायुक्त्त र सुन्दर थियो । तर उक्त्त रुखलाई अर्काको आधार नभएकाले महावायुले सजिलै ढालिदियो ।
मुर्ख देवताहरूको बासस्थान आँधिले क्षति भयो । मुर्ख देवताहरू आश्रयविहीन भएर आफ्ना बाल-बच्चाहरू लिएर सालवनमा पुगे । सालवनमा रहेका देवताहरूसँग आफ्नो बासस्थान आँधिवेहेरीले ढलेका कारण बासस्थान बिहिन भएको सुनाए । मुर्ख देवताहरू बासस्थान खोज्दै आइपुगेको कुरा उनीहरूले वोधिसत्वलाई सुनाए। वोधिसत्वले अरुलाई स्वीकार नगरेर एक्लै रहन जानेहरूको अवस्था यस्तै हुन्छ भनेर धर्मदेशना गर्दै भन्नु भयो -
साधू सम्वुहला जाती-अपि रुक्खा अरञ्जना ।
वातो वहति एकट्ठ-ब्रहन्तम्पि वनप्पति'नि ।।
आफन्तहरू धेरै हूनु राम्रो हो । फराकिलो चौरमा एउटा मात्र झ्याम्म परेको ठूलो रुख भए पनि आँधिहुरीले त्यसलाई सजिलै ढालिदिन सक्छ । तर जङ्गलमा मिलेर बसेका धेरै रुखलाई आँधिहुरीले ढाल्न सक्दैन । मनुष्यहरूलाई त के वनस्पतिहरूलाई समेत मेलमिलाप आवश्यक हुन्छ । यसकारण महाराजहरू ! तपाईंहरु मिलीजुली प्रसन्न चित्त लिई खुसी भएर बस्नुहोस् ।"
बोधिसत्वले यी कुरा सालवनका सबै देवताहरूलाई बताउनु भयो । आयु समाप्त भएपछि सालवनमा रहेका देवताहरु आफ्नो कर्म अनुसार परलोक भए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology