कपिलवस्तु नेपालको लुम्बिनी प्रदेशमा पर्ने ऐतिहासिक जिल्ला हो । जसको सम्बन्ध प्राचीन शाक्य गणराज्य र कपिल ऋषिसँग जोडिएको छ। कपिलबस्तु विशेषतः क्रकुच्छन्द बुद्ध, कनकमुनि बुद्ध र गौतम बुद्धसँग सम्बन्धित छ । कपिलवस्तुको गर्विलो बुद्धकालीन इतिहास भएकाले यसलाई बौद्ध धर्मको महत्वपूर्ण केन्द्र मानिन्छ।
शाक्य र कपिलवस्तु नामकरण
कोशलका राजा इक्षवाकुले आफ्नी कान्छी पत्नी जयन्तीका छोरा जन्तुलाई राजा बनाउन कान्छी पत्नीको अनुरोधमा आफ्नै चार छोरा र पाँच छोरीहरुलाई देशबाट निर्वासित गरिदिएका थिए । निर्वासनमा परेका नौंजना उत्तरतर्फ हिँडे । हिड्दै जाँदा सालको घना जङ्गल आयो । त्यहाँ उनीहरुको कपिलमुनी ऋषिसँग भेट भयो । कपिल ऋषिकै सल्लाह र सहयोगमा त्यो क्षेत्रमा निर्वासनमा परेका नौंजना राजकुमारराजकुमरीले बस्ती बसालेका थिए । साक (साल) को जङ्गलमा बस्ति बसालेका कारण उनीहरुलाई शाक्य भनियो भने कपिल ऋषिको सहयोग र सल्लाहमा बस्ती बसेको हुनाले उक्त स्थानलाई कपिलवस्तु भनिएको हो । विस्तारै उक्त बस्ति फैलिँदै गएर गणराज्य बन्यो । जुन गणराज्यले सिद्धार्थ गौतम जस्ता महामानवलाई जन्म दियो । यसबाहेक हालको कपिलवस्तुमा पर्ने गोठिहवा कक्रुछन्द बुद्ध, निग्लिहवा कनकमुनी बुद्धको जन्मभूमी मानिने भएका कारण कपिलवस्तु बौद्ध इतिहासको उम्दा भूमी हो ।
बुद्धकालीन भूगोल अनुसार त्यसबेला ४ राजतन्त्रात्मक, १० गणतन्त्रात्मक र १६ महाजनपथ र थुप्रै जनपथ राज्यहरु थिए । जसमध्ये कोलीय र शाक्य कोसल अन्तर्गत पर्ने स्वायत्त गणराज्य थिए । त्यसबेला एक राज्यले अर्को राज्यलाई आक्रमण गर्ने हुनाले राज्यको सीमा परिवर्तन भइरहन्थ्यो । तत्कालीन समयमा कपिलवस्तुको केन्द्र तिलौराकोट थियो । उत्तरमा हिमालय, दक्षिणमा पभ र कुशीनगर, पूर्वमा रोहिणी नदि र पश्चिममा राप्ती नदी बिच फैलिएको भूभाग नै तत्कालीन शाक्य राज्य थियो । पूर्वको सीमाना रोहिणी नदिपारि देवदह राजधानी भएका कोलिय बस्दथे ।जसलाई कोलिय गणराज्य भनिन्थ्यो । कोलिय र कपिलवस्तुका राजाहरु सूर्यवंशी भएको र उनीहरु जातीय रुपमा दृढ रहेकाले उनीहरुबिच बिहेबारीको सम्बन्ध स्थापित भएको थियो ।
बुद्धकालीन भूगोल अनुसार त्यसबेला ४ राजतन्त्रात्मक, १० गणतन्त्रात्मक र १६ महाजनपथ र थुप्रै जनपथ राज्यहरु थिए । जसमध्ये कोलीय र शाक्य कोसल अन्तर्गत पर्ने स्वायत्त गणराज्य थिए । उत्तरमा हिमालय, दक्षिणमा पभ र कुशीनगर, पूर्वमा रोहिणी नदि र पश्चिममा राप्ती नदी बिच फैलिएको भूभाग नै तत्कालीन शाक्य राज्य थियो । पूर्वको सीमाना रोहिणी नदिपारि देवदह राजधानी भएका कोलिय बस्दथे ।जसलाई कोलिय गणराज्य भनिन्थ्यो । कोलिय र कपिलवस्तुका राजाहरु सूर्यवंशी भएको र उनीहरु जातीय रुपमा दृढ रहेकाले उनीहरुबिच बिहेबारीको सम्बन्ध स्थापित भएको थियो ।
प्राचीनकालमा कपिलवस्तु शाक्य गणराज्यको राजधानी थियो। शाक्य राजकुल सिद्धार्थ गौतमका पुर्खाहरूको वंश थियो। सिद्धार्थ गौतमका पिता राजा शुद्धोधनले कपिलवस्तु राज्यमा शासन गरेका थिए। कपिलवस्तु बुद्धको प्रारम्भिक जीवनको स्थल थियो । जहाँ उनले राजकुमारका रूपमा २९ वर्षसम्म जीवन बिताएका थिए । २९ वर्षको उमेरमा सिद्धार्थ गौतमलाई वैराग्य उत्पन्न भएपछि उनी ज्ञानको खोजीमा थिए । महाभिनिष्क्रमण अर्थात् बुद्धत्व प्राप्त गर्न उनले कपिलवस्तु दरबारको सबै सुखसयल त्यागेका थिए । सिद्धार्थ गौतमले ३५ वर्षको उमेरमा ज्ञान (बुद्धत्व) प्राप्त गरेपछि कपिलवस्तु फर्किएर बौद्ध धर्मको प्रचारप्रसार गरेका थिए । बौद्ध सम्पदाका रुपमा कपिलवस्तुका निम्नानुसार स्थानहरु निकै महत्त्वपूर्ण मानिन्छन् ।
गोठिहवा
क्रकुच्छन्द बुद्धको जन्मस्थल गोठिहवा नेपालको कपिलवस्तु जिल्लामा अवस्थित एक ऐतिहासिक तथा धार्मिक स्थल हो । गठिहवालाई क्रकुच्छन्द बुद्धको जन्मस्थल मानिन्छ । क्रकुच्छन्द बुद्ध बौद्ध धर्ममा उल्लिखित बुद्धहरूमध्ये पहिलो बुद्ध हुन् । उनी गौतम बुद्धभन्दा धेरै वर्षअघि जन्मिएका थिए र बौद्ध धर्मको पुरानो इतिहासमा उनी एक प्रमुख व्यक्तित्व मानिन्छन् । सम्राट अशोकले गोठिहवा भ्रमण गरी लुम्बनीमा जस्तै यहाँ पनि एक अशोक स्तम्भ स्थापना गराएका थिए । जुन स्तम्भको भग्नावशेष अहिले पनि गोठिहवामा सुरक्षित छ । स्तम्भमा लेखिएको अभिलेखअनुसार गोठिहवा क्रकुच्छन्द बुद्धको जन्मस्थल हो । पुरातत्वविद्हरूले गोठिहवामा प्राचीन ईंटाका संरचना, विहार र अन्य धार्मिक अवशेषहरू फेला पारेका छन् ।

निग्लिहवा
गौतम बुद्धसँग सम्बन्धित ऐतिहासिक स्थल निग्लिहवा नेपालको लुम्बिनी प्रदेश कपिलवस्तु जिल्लामा पर्ने एक महत्वपूर्ण बौद्ध तीर्थस्थल हो । यस स्थानलाई कनकमुनि बुद्धको जन्मस्थल मानिन्छ । सम्राट अशोकले इ.पू. तेस्रो शताब्दीमा निग्लिहवा भ्रमण यहाँ पनि एक अशोक स्तम्भ स्थापना गराएका थिए । जुन स्तम्भको भग्नावशेष अहिले पनि निग्लिहवामा देख्न सकिन्छ । जुन स्तम्भमा निग्लिहवा कनकमुनि बुद्धको जन्मस्थल भएको उल्लेख छ । यो स्तम्भमा लेखिएको अभिलेख अनुसार सम्राट अशोकले यहाँ बौद्ध धर्मको प्रचारका लागि स्तम्भ खडा गराएका थिए । यो स्तम्भ लुम्बिनीको अशोक स्तम्भजस्तै पुरानो र ऐतिहासिक रूपमा प्रमाणित छ । पुरातत्वविद्हरूले निग्लिहवामा बुद्धकालीन भग्नावशेषहरू फेला पारेका छन् । यहाँ पनि प्राचीन ईंटाका संरचनाहरू र अन्य अवशेषहरू पाइएका छन् ।

तिलौराकोट
तिलौराकोट ऐतिहासिक कपिलवस्तु राज्यको राजधानी थियो । शाक्य वंशीय राजा शुद्धोधनको दरबार तथा राजकुमार सिद्धार्थले आफ्नो जीवनको प्रारम्भिक २९ वर्ष व्यतित गरेको पवित्र स्थल तिलौराकोट हो । तौलिहवादेखि ३ कि.मि. उत्तरपश्चिममा वाणगंगा (भागीरथी) नदीको पूर्वीय तटमा तिलौराकोट रहेको छ । यस स्थानमा प्राचीन पुरातात्विक भगनावशेषहरु पाइएका छन् । पुरातात्विक उत्खननले यो स्थान अत्यन्त महत्वपूर्ण र ऐतिहासिक रहेको आधारहरु देखाएका छन् । पुरातात्विक उत्खननमा उत्तर-दक्षिण १७०० फिट लामो र पुर्व-पश्चिम १३०० फिट चौडा रहेको ८ देखि १२ फिटको पर्खाल भेटिएको छ । तिलौराकोटमा विभिन्न समयमा गरिएका उत्खननबाट राजा शुद्धोधनको दरबार, सुरक्षा पर्खाल, पोखरी, यशोधरा-राहुल विहार, सिद्धार्थ गौतमको पाठशाला, तत्कालिन देव मन्दिर रहेको आधार प्रशस्त गरेको छ । उत्खननमा ताम्र मुद्रा तथा धातुका वस्तुहरु पनि प्राप्त भएका छन् ।

शुद्धोधनको राजमहल उत्खनन गर्दा कुशाङ, मौर्य र सुङ्गा कालका सिक्काहरु, भाडाका टुक्रासहित तत्कालिन हतियार र गाग्रीहरु फेला पारेका थिए। यसबाहेक माला, चुरा र ब्राह्मी अभिलेखयुक्त मोहर प्राप्त भएका छन् । पूर्वदक्षिण तर्फ सुरक्षा नहर (खाई) समेत पाइएको छ । यसको चारैतर्फ अति महत्वपूर्ण स्तुपहरु फेला परेका छन् । तिलौराकोटमा अझै प्रशस्त प्राचीन अवशेषहरु उत्खननको पर्खाइमा छन् ।
कुदान
कुदान नेपालको कपिलवस्तु जिल्लामा अवस्थित एक महत्वपूर्ण बौद्ध तीर्थस्थल हो। यस स्थानको प्रमुख विशेषता गौतम बुद्धको परिवारसँग पुनर्मिलन तथा उनको पुत्र राहुलको दीक्षा स्थल हुनु हो । बुद्धले ज्ञान प्राप्त गरेपछि कपिलवस्तुका राजा सुद्धोधनले गौतम बुद्धलाई लिन सेनाहरुलाई पठएका थिए तर गौतम बुद्धलाई लिन गएका सेनाहरु बुद्धसँग पुगेपछि उतै भिक्षु बनेर बस्थे । पछि बुद्धले आफू अब दरवारमा नआउने बताएपछि बुद्धलाई कपिलवस्तु बोलाउन शुद्धोधनद्वारा निर्मित विहार नै कुदान हो । यसर्थ कुदान नेपालको पहिलो बिहार हो । जसको भग्नावशेष अहिले पनि स्पष्ट रुपमा देख्न सकिन्छ । बुद्ध कपिलबस्तु फर्किएपछि शुद्धोधन र उनको परिवारका सदस्यहरूले बुद्धलाई कुदानमा नै भेट गरेका थिए । कुदानमा बुद्धकी पत्नी यशोधराले छोरा राहुलका लागि बुद्धसँग अंश मागेपछि बुद्धले छोरा राहुललाई आफूसँग भएको भिक्षु दीक्षा मात्र रहेकाले सोही अंशका रुपमा दिएका थिए । यहाँ बुद्धकालीन स्तूप (चैत्य) का भग्नावशेष छन् । जसले यो ठाउँको महत्त्वलाई प्रमाणित गर्छ ।

बुद्धलाई पालनपोषण गर्ने सानिआमा महाप्रजापतीले आफ्ना गहनाबाट सुनको धागो तयार गर्न लगाई बुद्धका लागि आफ्नै हातले विशेष खालको चिवर बुनेकी थिइन् । उनले उक्त्त चिवर बुद्धलाई श्रद्धापूर्वक दान गर्न चाहिन् । बुद्धले सानीआमा महाप्रजापतीले दिएको चिवर आफूले लिन अस्वीकार गरे। उनले भने- "चिवर केवल मेरो लागि होइन, संघ अर्थात भिक्षु समुदायलाई दान गर्नुहोस ।"
सानीआमा महाप्रजापतीले बुद्धलाई नै दिन धेरै प्रयास गरिन् तर बुद्धले संघ अर्थात भिक्षु समुदायलाई दान गरेमा स्वीकार हुने वताएपछि संघको महत्त्व महाप्रजापतीले बुझिन् । त्यसपछि संघमा चिवर दान गर्ने परम्परा स्थापित भयो । बुद्धकालदेखि नै चिवर दान गर्नुलाई ठूलो पुण्य मानिन्छ । अहिले पनि रातो वा पहेँलो वस्त्र अर्थात चिवर बौद्ध भिक्षुहरूलाई दान गर्नु विशेष मानिन्छ ।
कुदानमा रहँदा बुद्ध अन्य भिक्षुहरूसँग मिलेर कपिलवस्तुमा भिक्षाटन गर्न निस्किनु भयो। बुद्धले भिक्षाटन गर्दै हिडेको राजदरवारमा कुरा चलेपछि राजा शुद्धोधन दुःखी भए । राजकुमारले भिक्षा माग्नु राजकीय प्रतिष्ठासँग मेल खाँदैन भन्ने विचार शुद्धोधनमा थियो । त्यसैले शुद्धोधनले बुद्धलाई भनेका थिए- "राजकुमार भएर पनि किन भिक्षा माग्दै हिँड्नुभएको ?"
बुद्धले भन्नुभएको थियो- "अब म शाक्य परम्पराको होइन, बुद्ध परम्परामा छु । भिक्षाटन बौद्ध परम्पराको अङ्ग हो।"
यो कुरा बुझेपछि शुद्धोधनले बुद्धलाई दरवारमा बोलाएर भिक्षा दान गर्ने इच्छा व्यक्त गरे । जसले गर्दा बुद्धले आफ्नै घरबाट पनि भिक्षा लिनुभयो । त्यसपछि कुदानमा सबै भिक्षुलाई खाद्यान्य तथा आवश्यक वस्तुहरुको व्यवस्थापन दरवारबाट गरिदिने गरी बुद्धलाई त्यस ठाउँमा भिक्षाटन नगर्न शुद्धोधनले अनुरोध गरेको जनविश्वास अहिले पनि सुन्न पाइन्छ ।

सग्रहवा नेपालको कपिलवस्तु जिल्लामा अवस्थित बौद्धकालीन ऐतिहासिक स्थल हो । यो स्थान शाक्य र कोलीय वंशका मानिसहरूको नरसंहार भएको ठाउँ हो । बुद्धको जीवनकालमै कोशलका राजा विडुडभले कपिलवस्तुमा आक्रमण गरी शाक्य र कोलीय वंशका ९९९० जना बौद्ध अनुयायीहरुको हत्या गरेका थिए । बुद्धले विडुडभको आक्रमणलाई दुई पटकसम्म रोकेका थिए तर विडुडभमा जातीय अपमानको ज्वाला दन्किरहेका कारण बुद्धले तेस्रो आक्रमण रोक्न चाहनु भएन । यो युद्ध शाक्यहरुको जातीय अभिमानका कारण हुँदै थियो । अन्ततः राजा विडुडभले शाक्य र कोलीयहरूको नरसंहार गरे । इतिहासअनुसार, हजारौं शाक्य र कोलीयहरू सग्रहवामा मारिएका थिए र उनीहरूको शव तलाउमा फालिएको थियो । भनिन्छ, सग्रहवा ताल रगतले भरिएको थियो । यो आक्रमणबाट बचेका शाक्य र कोलीयहरु आफ्नो राज्यबाट भागेर काठमाडौं तथा उत्तर हिमालतर्फ गएर कपिलवस्तु र देवदहबाट पलायन भएको मान्यता रहेको छ । यसबारे सग्रहवा सम्बन्धी लेखमा विस्तृत विवरण उल्लेख छ ।
यी बाहेक कपिलवस्तुमा थुप्रै महत्त्वपूर्ण ठाउँहरू बुद्धकालीन इतिहाससँग जोडिएका छन् । बुद्धकालीन शिक्षा तथा ध्यान केन्द्र भएको मानिने सिसहनियाँ, बुद्धले गृहत्यागपछि गौतम वंशका चिन्ह, आभूषण र वस्त्र पनि त्याग गरेको स्थान चारकोट, बुद्धका अनुयायीहरूले ध्यान तथा साधना गरेको स्थल मैनिहवा र अरौराकोट, बुद्धले आफ्नो बाल्यकाल र युवावस्थामा स्नान गरेको बाढगंगा नदी, कोलीयसँगको विवाद सुल्झिएपछि शाक्यहरुले पानी संरक्षण गर्न निर्माण गरेको विशाल जगदीशपुर ताल, शाक्य वंशका व्यक्तिहरूको अन्त्येष्टि गरिने समाधिस्थल पत्थरदेइया, बुद्धकालीन शाक्यहरूको व्यापारिक केन्द्र मानिने बैरिहवा लगायतका बुद्धकालीन इतिहासको प्रमाण बोकेका महत्त्वपूर्ण ठाउँहरू कपिलवस्तुमै रहेकाले कपिलवस्तुलाई बौद्ध इतिहासको उम्दा गणराज्य मानिएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology