Logo

२०८३, श्रावण २७गते


images
images

बौद्ध इतिहास

बुद्धले मन पराएकी यशोधरा

बुद्धले मन पराएकी यशोधरा

images
  • बुद्धले मन पराएकी यशोधरा
    images
    images

    देवदहमा जन्मिएर प्रसिद्धि प्राप्त गर्ने व्यक्तिहरुको इतिहास हेर्दा देवदहका लागि सुनौलो समय बुद्धकालीन समय नै हो । बौद्ध साहित्यमा देवदहबारे रहेको चर्चा र परिचर्चाले देवदहको पहिचान एवम् गरिमालाई उच्च बनाएको छ । भगवान बुद्ध देवदहमा आएर प्रदान गरेका बुद्ध बचनहरुले देवदह क्षेत्र विश्वकै लागि महत्त्वपूर्ण ठाउँका रुपमा चित्रित छ । यसका साथै बौद्ध साहित्यमा नारी महिमाको अध्ययन गर्दा देवदहमा जन्मिएर प्रसिद्धि प्राप्त गर्ने मायादेवी, प्रजापति र यशोधराको चर्चा व्यापक छ । यी तीन प्रसिद्ध नारीहरुको जन्म देवदहमै भएको थियो । देवदहमा जन्मिएका यी तीन नारीहरु बौद्ध दर्शन तथा बौद्ध साहित्यमा निकै प्रसिद्ध छन् । देवदहका यिनै प्रसिद्ध महान नारीहरुमध्ये यहाँ सिद्धार्थ गौतमकी धर्मपत्नी यशोधराको चर्चा गरिएको छ ।

    images
    images
    images

    नेपालको लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही जिल्लाको पूर्वी भागमा देवदह छ । प्राचीन समयमा देवदहमा कोलीय राजाहरूले राज्य गर्दथे । देवदहका राजा सुप्रबुद्ध र रानी अमिताकी पुत्रीका रूपमा यशोधराको जन्म भएको थियो । यशोधराको अर्को नाम गोपा पनि हो ।

    images
    images
    images

    लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएकै समयमा देवदहमा यशोधराको जन्म भएको थियो । युवा भैसकेपछि सिद्धार्थ गौतम राजमहल बाहिरको जीवन बुझ्न विभिन्न स्थानमा आफ्नो साथी छन्नको सहयोगमा घुम्ने गर्दथे । एक दिन आफ्नो मावली गाउँ देवदहमा उनले साधारण पहिरनमा रहेकी एक युवतीलाई देखे । ती युवतीले रोगी बच्चाहरूका आँखा र शरीरमा आएका घाउहरू धोएर सफा गर्दै औषधी लगाइरहेकी थिइन् । सिद्धार्थ गौतमले उनले गरेको सेवालाई ध्यान दिएर हेरे । यशोधराले रोगी बच्चाहरुको घाउ सफा गरेपछि उनीहरुको फोहोर कपडाहरू धोइदिइन् ।

    images
    images
    images

    सिद्धार्थले उनलाई त्यहाँ त्यस्तो कार्य गरिरहेको देख्दा खुसी लागेको कुरा व्यक्त गरे । राजकुमारीले केही प्रतिक्रिया नजनाई आफ्नो काममा तल्लीन भइरहिन् । यसरी राजकुमारी यशोधराले आफ्नो राजकीय सुख सुविधालाई छाडेर निरन्तर विभिन्न स्थानमा असहाय मानिसहरूको हेरचाह एवम् सेवा प्रदान गर्दै आएकी थाहा पाएपछि सिद्धार्थ गौतम उनीप्रति निकै प्रभावित भए ।

    यशोधरा पनि राजदरवारमै हुर्किएको हुनाले उनले अध्ययन गर्ने अवसर पाएकी थिइन् । नम्मरी सुनजस्तो स्वर्ण वर्णकी अति रुपवती उनी गुणभूषिता, विद्याभूषिता जस्ता गुणले युक्त थिइन्। उनको रुपको बारेमा राजकुमारी नन्दाकुमारीले यशोधरा बाहेक सबै युवतीमध्ये सबैले मलाई नै रुपवती भन्छन भनेकी थिइन । यसबाट यशोधराको सुन्दरता प्रमाणित हुन्छ । यद्यपि यशोधरामा रुप र शत्तिको कुनै घमण्ड थिएन । यशोधरा शारीरिक रुपमा मात्र होइन् बौद्धिक रुपमा पनि निकै सुन्दर थिइन् । बाल्यकालमा यशोधराको भरण पोषण यथोचित ढङ्गले भएको थियो । उनले वेदको अध्ययन गरेकी थिइन् । वेद अध्ययन गरेकी हुनाले उनी सामाजिक कुरीतिको खुलेर विरोध गर्दथिन् । साथै राजपरिवारको सुविधाभोगी सदस्य बनेर रहनमा उनी प्रसन्न थिइनन् । उनको यस्तो स्वभाव जानेपछि सिद्धार्थलाई यशोधराप्रति विशेष आकर्षण पैदा भएको थियो ।

    सिद्धार्थ गौतमलाई बिबाहका लागि विभिन्न दरवारबाट राजकुमारीहरु झिकाएर एकसे एक राजकुमारीहरु देखाइएको थियो । तर राजकुमार सिद्धार्थ कुनै पनि युवतीसँग आकर्षित भएका थिएनन् । राजा शुद्धोधनले आफ्नो पुत्र सिद्धार्थ गौतमलाई सांसारिक मोहमा पारेर राज्यको अभिभारा हस्तान्तरण गर्न चाहेका थिए ।

    सिद्धार्थ गौतम यशोधराप्रति आकर्षित भएको कुराले शुद्धोधन निकै खुसी भएका थिए । सिद्धार्थ घरगृहस्थीमा बाधिएपछि उनले राज्य समाल्न सक्ने विश्वास शुद्धोधनले राखेका थिए । त्यसका लागि राजकुुमारी यशोधरा उपयुक्त नारी थिइन् । राजकुमार सिद्धार्थ र यशोधराको जन्म इ.पू. ५६३ मा बैशाख पूर्णिमाकै दिन भएको थियो । राजदरवारमा हुने बैबाहिक भव्यताका साथ उनीहरु १६ वर्षको उमेर हुँदा राजकुमारी यशोधरा र   राजकुमार सिद्धार्थको विवाह भयो । बिबाह भएपछि शुद्धोधनले राजकाज सिद्धार्थलाई सुम्पन चाहेका थिए तर यसमा सिद्धार्थको कुनै रुचि थिएन । सिद्धार्थ गौतम र यशोधरा २९ वर्ष उमेरको हुँदा उनीहरूबाट पुत्र राहुलको जन्म भयो । पुत्र जन्म हुनुभन्दा अघिबाटै सिद्धार्थ गौतमलाई बैराग्य उत्पन्न भएको थियो । यतिसम्मकी पुत्र जन्मिएको खबर सुन्दा पनि सिद्धार्थमा खुसीको कुनै संवेदना देखिँदैनथ्यो । सिद्धार्थ दुःखबाट मुक्त हुने उपायबारे चिन्तित थिए ।

    यशोधरा नवजात पुत्रको सेवामा तल्लीन रहेको अवस्थामा एक रात सिद्धार्थ गौतमले गृहत्याग गरे । त्यसपछि यशोधरा एक्लैले पनि पुत्रको लालनपालनमा कुनै कमी हुन दिइनन् । बुद्धले जुन किसिमको साधारण जीवनचर्या अपनाएका थिए राजमहलमा रहेर पनि यशोधराले एक साधिकाझैँ त्यही जीवनचर्यालाई पालना गरिरहिन् ।

    यशोधरालाई आफ्नो पतिको गृहत्यागप्रति गर्व थियो । सिद्धार्थले प्रव्रजित भई घरबार छाडेर हिँडेपछि उनले पनि उच्च शयनासन त्याग गरी भुइँमा सुत्ने गर्दथिन् । गरगहना त्याग गरेर साधारण लुगा लगाउँथिन् एवम् एक छाकमात्र भोजन गरी सासुससुरा एवम् छोराको सेवा गरेर दिन बिताउँथिन् । केही दुष्टहरूले त्यस बेला यशोधराप्रति कुदृष्टी राखेर कष्ट दिने कार्य गरेका थिए तर पनि यशोधराले सम्पूर्ण कष्टहरूलाई पार गर्दै गइन् । उनमा कुनै किसिमको विचलन आएन । अफ्ठ्याराहरुमा हतोत्साही भइनन् । कर्तव्यको पालना गर्ने कुरामा सधैँ लागिरहिन् । उनले आफ्नो पति विश्वको सुखका लागि हिडेको हुनाले आफ्ना चाहना कुन मार्गमा हुनुपर्छ भन्ने पहिचान गरिन् । उनको अवस्था देखेर देवदहका राजा सुप्रबुद्ध निकै चिन्तित हुन्थे । राजमहलमा शासन गर्न सक्ने छोरी सामान्य मानिसको भन्दा पनि दयनीय जीवन बाँचिरहेकोमा उनी सिद्धार्थसँगको सम्बन्धप्रति निराश थिए । उनलाई सिद्धार्थले आफ्नी छोरीलाई अलपत्र पारेको आभाष थियो । यशोधरा आफ्नै खुसीले नै यस्तो कर्म गरिरहेकी छिन् भन्ने कुरामा उनी विश्वास गर्दैनथे ।

    भद्रा कत्यायनी

    यशोधरा यतिसम्म दानी थिइन् कि उनले आफ्नो एकमात्र पुत्र राहुल पनि बुद्धलाई नै सुम्पिदिइन् । पछि ससुराको मृत्यु भएपछि उनी पनि बुद्धबाट दीक्षा ग्रहण गरेर भिक्षुणी बनिन् र समाजकै हितमा आफ्नो जीवन अर्पण गरिन् । उनले कठिन साधना तथा शील पालना गर्दागर्दै सङ्घमा प्रवेश गरेको १५ दिनमै अर्हत्व प्राप्त गरेकी थिइन् । यशोधरा पछि भिक्षुणी सङ्घमा भद्रा कात्यायनीको नामबाट विख्यात भइन् । बौद्धधर्मका उत्कृष्ट भिक्षुणीहरूमध्येमा उनको नाम आउँछ । बौद्धग्रन्थहरूमा उनलाई आदर्श नारीका रूपमा लिइएको छ ।

    त्यस समयका महिलाहरूमध्ये यशोधराको सहनशील, लगनशील, धर्मप्रतिको आस्था तथा श्रद्धाजस्ता गुण भएको कारणले उनलाई आदर्श नारीको रूपमा लिइन्छ । आज हामी बुद्ध र बुद्धको जीवनसँग सम्बन्धित लुम्बिनी, कपिलवस्तु देवदह आदि स्थानहरू हाम्रो वरपर रहेकामा जति गौरव गर्छौं, त्यसको पछाडि यशोधराको उल्लेखनीय योगदान छ । भद्रा कत्यायनीका रुपमा बौद्ध साहित्यमा चर्चित यशोधरा एक विवेकी आदर्श र उदाहरणीय नारी भएका उनलाई प्रेरणाको उच्च स्रोतको रूपमा सम्झने गरिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बौद्ध इतिहास
  • # यशोधरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।