Logo

२०८३, कार्तिक २४गते


images
images

बौद्ध इतिहास

मङ्गलपुष्करिणी दहको चिनारी र दह महोत्सव

मङ्गलपुष्करिणी दहको चिनारी र दह महोत्सव

images
  • मङ्गलपुष्करिणी दहको चिनारी र दह महोत्सव
    images
    प्राचीन राजा दण्डपाणी, अञ्जन र सुप्रबुद्धको शासन रहेको देवदह क्षेत्र निकै महत्त्वपूर्ण छ । महामाया, प्रजापति गौतमी र यशोधराजस्ता नारीको जन्मस्थल पनि देवदह हो । बुद्धको मावली तथा ससुराली रहेको प्राचीन देवदह रोहिणी नदीको पूर्वतर्फ थियो । देवदह वडा नं. ९ मा रहेको मङ्गलपुष्करिणी दहको विकास र संरक्षण देवदहको चिनारी र पहिचानका लागि नितान्त आवश्यक छ । डा. कृष्णप्रसाद न्यौपाने, खडगबहादुर जंगली र गणेश घिमिरे लगायतले यसको पहिचानका लागि खेलेको भूमिका महत्त्वपूर्ण छ । वडा नं. ९ का वडाध्यक्ष मोहन जिसीको परिकल्पना अनुसार स्थानीयको अग्रसरतामा केही समय अघि देवदहको घोडाहामा आयोजनामा भएको दह महत्सबले मङ्गलपुष्करिणी अर्थात देवदहको पहिचान बढाउन विशेष भूमिका खेलेको छ । 
     
    बौद्धकालीन देव-दह
     
    प्राचीन समयमा राजा र ऋषि-तपस्वीहरूले स्नान गर्ने पवित्र पोखरी नै देवदह हो । यहाँ सेता, राता र गुलावीलगायत अनेकौँ रङ्ग र प्रजातिका कमलका फूलहरू फुल्ने भएकाले यस पोखरीलाई बौद्ध धर्ममा मङ्गलपुष्करिणी भनिन्छ । देवदह नगरपालिका वडा नं. ९ घोडाहाको उत्तरतर्फ प्रगति सामुदायिक वनमा मङ्गलपुष्करिणी (देवदह) रहेको छ । यही दहको कारण यस क्षेत्रको नाम देवदह रहन गएको हो ।
     
    बौद्ध ग्रन्थहरूमा सङ्कल्प र साधनाको उपयुक्त स्थलका रुपमा मङ्गलपुष्करिणीलाई लिइन्छ । यसबारे भनिएको छ । "सच्चं, धम्मं, संगं, मङ्गलं, पवित्रं कर्तुं, यथा सिद्धं।" अर्थात सत्य, धर्म, सङ्घ र मङ्गलको पवित्रता प्राप्त गर्ने स्थान नै मङ्गलपुष्करिणी हो । "ध्यानं समनुपस्सन्तं, मङ्गलपुष्करिणी सुखं" अर्थात ध्यान, शुद्धता र सुखको प्रतीक मङ्गलपुष्करिणी हो । मङ्गलपुष्करिणी (देवदह) पवित्रता, सदाचार र धार्मिक आचरण बृद्धि हुने स्थानका रुपमा उजागर छ। पवित्र स्थान मङ्गलपुष्करिणीमा स्नान गरेमा मानसिक र आध्यात्मिक शान्ति प्राप्त हुने मान्यता छ । 
     
    हिन्दू साहित्यमा देवदह
     
    हिन्दू धर्मको पौराणिक धर्मग्रन्थ वराह पुराणमा वराह भगवान र पृथ्वीमाताबीच भएको संवादमा उल्लिखित तथ्यले देवदहबारे चर्चा गरेको छ । जसले यस स्थानको नामकरणलाई स्पष्ट पार्दछ । संवादमा उल्लेख छ ।
     
    “हे पृथ्वी ! यस ठाउँमा देवदह नाम गरेको एउटा ठूलो देवताल छ । कश्यप ऋषि र उनको धर्मपत्नी अदितिको पुत्र भई जन्मेको म विष्णुले बटुवामान (वामन अवतार) रूप धारण गरी यस क्षेत्रमा यज्ञ गरिरहेका राजा वलिको यज्ञ ध्वंश गरेपछि जहाँ मैले आफ्नो प्रथम चरण राखेको थिएँ, त्यो ठाऊँमा मेरो चरण धसियो र एउटा विशाल ताल बन्यो । मेरो चरण धसिएर ताल बनेको हुनाले मेरै नामबाट तालको नाम देवदह प्रसिद्ध भयो र यसको नाम बटुवामान तीर्थ रहन गयो । सो तालमा श्रद्धापूर्वक स्नान गर्ने भक्तहरूले मनले चाहेअनुसार वरदान प्राप्त गर्दछन् । यो परम् श्रेष्ठ देवताल अति शीतल, आनन्दमय र दुर्लभ छ । देवदहमा ३६ वटा सुवर्णमय कमलहरूको मनमोहकतालाई बिहान सूर्योदय भएदेखि मध्यान्हसम्म पुण्यात्माहरूले दर्शन गर्न पाउँछन् । यहाँ दश रात बसेर स्नान गर्नेहरू मन, वचन र शरीरद्वारा गरिएका पाप कर्मबाट शुद्ध भई देवलोक जान पाउँछन् ।” 
     
    पौराणिक धर्म ग्रन्थ वराह पुराण अनुसार देवदहमा धेरै पहिले अपार शक्ति प्राप्त गर्ने कुण्ठासहित यज्ञ गरिरहेका वली राजाको राज्य थियो । जहाँ विष्णु भगवानले वामन अवतारको रूप धारण गरी शक्ति प्राप्त गर्न गरेको यज्ञलाई ध्वंश पारी राक्षसहरूको उत्कर्षलाई रोक्नु भएको थियो । विष्णुलाई बटु, बटुक पनि भनिन्छ र उहाँको वामन अवतार रूप लिएको अवस्थालाई बटुवामन भनिन्छ । 
     
    पौराणिक धर्मग्रन्थ वराह पुराणको शालाग्राम क्षेत्र माहात्म्य अन्तर्गतको १५ गुप्त तीर्थ वर्णन खण्डमा उल्लिखित श्लोकहरू यस प्रकार छन् । 
     
    तत्र देवदहं नाम मम क्षेत्र बसुन्धरे । यत्र कान्तासि मे भूमेर्वलेयज्ञ विनाशानात ।।७५।।
    स ह्रदो वरादः श्रेष्ठो मनोज्ञ सुख शीतलः । अगाधः सौख्यदश्चिपि देवानामपीदुर्लभः ।।७६।।
    तस्मिनन्ह्रदे महाभागे मम वै नियमोदके । मत्स्यश्चक्रागिंताश्चैत पर्यटन्ते इतस्ततः ।।७७।।
    अन्यच्चले प्रवक्ष्यामि तच्छुणुष्व बसुन्धरे । महाश्चर्य विशालाक्षि यत्र तत्परिवत्र्तते ।।७८।।
    पश्चोति ऋदृधानस्तु नपश्येतत्पापपुरुष । तास्मिन् देवह्रदे पुष्य चतुविशातिद्घादशा ।।७९।।
    सौवर्णानी च पद्यानि दृष्ययन्ते भास्करोदय । तावत्पश्यन्ति भूतानी यावन्मध्यदिनम्भवेता ।।८०।।
    पत्र स्नाता दिवंयान्ति शुद्धावाककायजैर्मलैः । तत्रस्नानम्मप्रकुरवीत दशरात्रोषितोनरः ।।८१।।
    दशानामश्वमेघानां प्राप्नोत्यविमलम्फलम् । यथात्र मुञ्चते प्रणन्ममचिन्ताव्यवस्थितः ।।८२।।
    अश्वमेघ फलम्भूक्त्वा भुमे भत्सवतां व्रजेत । अन्चच्य ते प्रवक्षामि क्षेत्रं गृहैय परं ममः ।।८३।।
     
    हाम्रा धर्म दर्शन र साहित्यले देवदहको चर्चा र विकासका सन्दर्भमा प्रशस्त्र सम्भावनाहरु प्रदान गरेका छन् । सानासाना आधार पर्यटन विकासका लागि विशेष रहन्छ भन्नेबारे म्यानमारका व्यापारी तपस्सु र भल्लिकको कथा मङ्गलपुष्करिणी दह संरक्षणमा महत्त्वपूर्ण हुन सक्छ । 
     
    म्यानमारमा दुई व्यापारी तपस्सु र भल्लिकले व्यापारको क्रममा बाटोमा भेट भएका बुद्धलाई आफूहरूसँग भएको खाना र मह दिए । जुन बुद्धले ज्ञान प्राप्त गरेपछि खाएको पहिलो आहार मानिन्छ । बुद्धसँग अरू केही नभएकाले उनले आफ्नै केशबाट आठओटा कपालका रौंहरू चुटालेर ती व्यापारीलाई दिए । ती व्यापारी दाजुभाईंले म्यानमार फर्किएपछि तत्कालीन राजा अक्कलापतिसँग सल्लाह गरेर बोटाटुवाङ प्यागोडाको निर्माण गरे । दोस्रो विश्वयुद्धका कारण उक्त प्यागोडा खण्डहर भयो । पछि खण्डहर सफा गर्दा पुराना अवशेषहरू फेला परे र उक्त प्यागोडाको पुनर्स्थापना गरियो । बोटाटुवाङ प्यागोडा अहिले निकै कलात्मक रूपमा सजाइएको छ । अहिले म्यानमारमा विश्वका विभिन्न देशबाट बौद्ध अनुयायी तथा पर्यटकहरू उक्त प्यागोडा अवलोकन गर्न आउँछन् । 
     
    कपालको रौं अर्थात केश धातुमात्र प्राप्त गर्ने म्यानमारले त्यही विषयलाई विश्वभर प्रचारप्रसार गरि बौद्ध पर्यटन बढाएको छ । देवदहमा स्वयम् बुद्ध आएर दिनुभएको सुत्त तथा जातक कथाको प्रचारप्रसार हुन नसक्नु हामी सबैका लागि दुःखद् विषय पनि हो ।
     
    त्यसो त देवदहमा बौद्ध पर्यटनको प्रचुर सम्भावनाभित्र पनि थुप्रै चुनौतीहरू देखिइरहेका छन् । यी चुनौतीहरू समाधान गर्न मङ्गलपुष्करिणी दहको संरक्षण र विकास निकै जरुरी छ । जसरी कजाकिस्थानको आल्माअटामा सन् १९७८ मा प्राथमिक स्वास्थ्य सेवासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो र यो सम्मेलनले विश्वको स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनुका साथै आल्माअटाको पनि संसारभर प्रचार प्रसार हुनमा भूमिका खेल्यो । त्यसरी नै प्राचीन देवदह मङ्गलपुष्करिणी दह क्षेत्रमा पनि सरकारी तबरबाट रणनीति, योजना, लगानी, प्रतिबद्धता र सहभागिता बढाउने कार्यक्रम हुन आवश्यक छ । हाल भएको दह मोहोत्सबले मङ्गलपुष्करिणी दहको प्रचार प्रसार गरेको छ । अव यसको संरक्षण र विकासमा काम गर्न जरुरी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बौद्ध इतिहास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।