एकता र मेलमिलाप भएमा कसैले पनि हानी पुर्याउन सक्दैनन् भन्ने कुरा सम्झाउन बुद्धले रोहिणी नदी तटमा सुनाएको जातक कथामध्येको एक सम्मोदमान (बट्टक) जातक कथा हो ।
त्यस समय शास्ता (बुद्ध) ले आफ्ना नातेदारहरूलाई भन्नु भएको थियो - "महाराजहरू ! आ-आफ्ना नातेदारहरबिच एक आपसमा झगडा गर्नु उचित हुँदैन । पूर्व समयमा पंक्षीको योनीमा जन्मेर पनि बट्टाईहरूबिच एकता हुँदासम्म शत्रुहरूलाई पराजित गर्न सफल भए, तर जब एक आपसमा झगडा भयो तब उनीहरूको महाविनाश भयो ।"
यो कुरा सुनेपछि कोलिय र शाक्यतर्फका राजाहरूले "के भएको हो सुन्न पाऊँ ।" भनी प्रार्थना गरेपछि बुद्धले पूर्व जन्मको सम्मोदमान जातक कथा सुनाउनु भएको भयो ।
परापूर्व कालमा वाराणसीमा ब्रम्हदत्त राजाले राज्य गरिरहेका थिए । त्यसवेला बोधिसत्व बट्टाई चराका रुपमा जन्मिन पुगे । उक्त्त बोधिसत्व बट्टाई चरा अन्य बट्टाईहरूसहित जङ्गलमा बस्थे । त्यस समय एकजना सिकारी बोधिसत्व बट्टाई बसेको वनमा आइपुग्यो । सिकारीले बट्टाईले जस्तै आवाज निकाल्थ्यो । त्यो आवाज सुनेपछि बट्टाईंहरू उसकै नजिकमा एकत्रित हुन्थे । त्यही मौका पारेर उसले जालमा फसाउँथ्यो । त्यसपछि बट्टाईहरूलाई समातेर पिंजडामा हाल्थ्यो र बेचेर आएको पैसावाट आफ्नो जीविका चलाउँथ्यो । सिकारीको दिनचर्या यसरी नै चलिरहेको थियो ।
बट्टाईहरूलाई जालमा फसाइरहेको देखेपछि बोधिसत्व बट्टाई चराले अरु सबैलाई बोलाएर भन्यो- "सिकारीले हाम्रा आफन्तहरूलाई नाश गरिरहेको छ । उसले हामीलाई समात्न नसक्ने उपाय लगाउनु पर्छ । अब तिमीहरू सिकारीको जाल नजिक पुगेपछि सबैले जालको छेउमा रहेको गाँठोमा टाउको राखेर उडनू र सिकारीको जाललाई उडाएर भीरमा रहेको काँडाघारीमा अड्काइदिनू । यसो गर्दा हामीहरू जालको तल-माथि जहाँबाट पनि निस्कन सक्छौँ तर सिकारीको जाल काँडाघारीमा फसेपछि उसलाई आफ्नो जाल निकाल्न समय लाग्छ । जाल नभएपछि हामीहरू बाँच्न सक्छौँ ।"
अरु बट्टाई चराहरू यसमा सहमत भए । भोलिपल्ट उनीहरूमाथि सिकारीले पासो (जाल) फैलाउनासाथ बोधिसत्वले सिकाए जस्तै उनीहरूले जाललाई उडाएर काँडैकाँडा भएको बनमा अड्काइदिए । बट्टाई चराहरू जालको तलमाथीबाट निस्किए ।
सिकारीलाई काँडाको झाँङ्मा अडकिरहेको जाल निकाल्नै मुस्किल भयो । त्यस दिन ऊ खालि हात घर फर्कियो । भोलिपल्ट पनि सबै बट्टाईहरू मिलेर त्यस्तै गरे । साँझ पर्दासम्म पनि सिकारी अड्केको जाल निकाल्नमै व्यस्त थियो । बट्टाईहरूले जाल नै उडाएर लान थाले पछि सिकारीको मनमा अब त्यो ठाउँमा नआउने विचार पनि आएको थियो ।
रित्त्तै घर आएको देखेर सिकारीकी श्रीमतीले रिसाउँदै भनेकी थिई "तिमी दिनहुँ खालि हात घर फर्किरहेका छौ । तिमीले बाहिर कसैलाई पाल्नु छ कि कसो ?"
सिकारीले भन्यो "प्रिय ! मैले बाहिर कसैलाई पाल्नु छैन । बट्टाईंहरू जम्मा भएर आहारा खान आउँछन् । मेरो जाललाईसमेत उडाएर काँडाको झाङ्गमा अङ्काइदिएर जान्छन् । यति भनेर सिकारीले आफ्नी श्रीमतीलाई यो गाथा सुनायो -
सम्मोदमाना गच्छन्ति, जालमादाय पख्खिनो ।
यदा ते विवादिस्सन्ति, तदा एहिन्ति मे वसन्ति ।।
"अहिले चराहरू एकै मत भएर मिलिरहेको कारणले जालसमेत उडाएर लगिरहेका छन् । जुनवेला उनीहरूको एक आपसमा झगडा हुन्छ, त्यसबेला यिनीहरू मेरो वशमा आउँछन् । यिनीहरू सधैं यसरी मिलेर बस्न सक्दैनन् होला ? तिमीले धन्दा मान्नु पर्दैन । जुनवेला बट्टाईहरूबिच झगडा हुन्छ, त्यसदिन तिनीहरूलाई समातेर ल्याउनेछु ।"
केहि दिनपछि आहारा खोज्न जमिनतिर झरिरहेको बेला एउटा बट्टाईले झुक्केर अर्को बट्टाईको टाउको नाघ्न पुग्यो । ऊ रिसाएर भन्यो "मेरो टाउको नाघेर जाने को हो ?"
टाउको नाघेर जाने बट्टाईले भन्यो "क्षमा दिनुहोला । गल्तिले नाघ्न पुगेँ । नरिसाउनु है ।" यसोभन्दा पनि ऊ रिसाई नै रह्यो । बारम्बार क्षमा माग्दा पनि मानेन । अनि दुबै बाझ्न थाले । झगडा गर्दागर्दै एकले अर्कोलाई भन्यो "हेरुँला नि ! तिम्रो तमासा । तिमीले मात्र जाल उडाएको होला नि ?" अब मैले जाल उडाउँदिन, अनि सिकारीले समातेर लगेपछि बल्ला फेला पर्छौ ?
तिनीहरूको विवाद देखेर बोधिसत्वले विचार गर्यो "विवाद गर्नेहरूको कहिल्यै कल्याण हुँदैन, अव यिनीहरूले जाल उठाउँदैनन् । यिनीहरू विनास भएर जानेछन् । सिकारीलाई फेरी राम्रो मौका आउने भयो। अव म यहाँ बस्नु ठिक छैन ।" यति कुरा विचार गरेर बोधिसत्व बट्टाई आफूले भनेको मान्नेहरूलाई लिएर अर्कै ठाउँमा गए ।
सिकारी एकदुई दिन उक्त्त ठाउँमा आएन तर केही दिन पछि आयो । बट्टाईको स्वर निकालेर करायो । तिनीहरू जम्मा भएर चारो खान आएपछी सिकारीले जाल फ्याँक्यो ।
एउटा बट्टाईले “जालको टुप्पो उठाऊ भन्दा तेरो टाउकोको केश खस्यो कि क्याहो ?, जाललाई उडाऊँ भन्दा -"तेरो उड्न पखेटा छैन कि क्याहो ?” भन्दै एक आपसमा झगडा गरिरहे । एउटाले "मैले किन गर्छु, तैँले गर्, ।" अर्कोले "तैँले नै गर मैले किन गर्छु ?" भनी तँ तँ र म म गर्दागर्दै उनीहरू जालमा परे ।
उनीहरू जालमा परेपछि सिकारी आइपुग्यो । जाल उठाउँदै एक एक गरी त्यहाँ भएका बट्टाईहरू समातेर पिंजडामा हाल्यो । खुसी हुँदै घरमा पुगेपछि श्रीमतिलाई भन्यो "प्रिय आज पिँजडाभरी बट्टाई छन् । यिनीहरूले पक्कै झगडा गरे होलान् । आज यिनीहरूमा एकता र मेलमिलाप थिएन।"
शास्ताले भन्नुभयो - "महाराजहरू ! आफ्नै जाति (नातेदार) हरू बीच हुने कलह विनाशको कारण बन्छ । पूर्वजन्ममा त्यसबेला मूर्ख बट्टाई देवदत्त थिए । अनि बोधिसत्व बट्टाई म नै थिएँ ।"
जहाँ एकता र मेलमिलाप हुँदैन, त्यहाँ रहनेहरूमा अभिमान बढ्छ । अभिमान बढ्दै गएपछि आफ्नै अभिमानले प्राप्त भएको बस्तु, पद, प्रतिष्ठा र जीवनसमेत गुम्न सक्छ । मेलमिलाप राम्रो भए जस्तोसुकै शत्रुबाट पनि बच्न सकिन्छ ।
सामान्य कुरालाई ठुलो बनाउने, अर्काको जिम्मेवारी मात्र देख्ने, आफ्नै कुरालाई ठुलो ठान्ने प्रवृत्ति आजको समाजमा मौलाइरहेको छ । जहाँ मूर्खहरू हावी हुन्छन्, त्यहाँ सज्जनहरू बस्न रुचाउँदैनन् र त्यो ठाउँ छोड्छन् । अन्त्यमा मुर्खहरूको विनास अवश्य हुन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology