Logo

२०८३, कार्तिक २४गते


images
images

बौद्ध इतिहास

देवदहकी सुप्रसिद्ध नारी महाप्रजापति गौतमी

देवदहकी सुप्रसिद्ध नारी महाप्रजापति गौतमी

images
  • देवदहकी सुप्रसिद्ध नारी महाप्रजापति गौतमी
    images

    देवदहमा जन्मिएर प्रसिद्धि प्राप्त गर्ने व्यक्तिहरुको इतिहास हेर्दा देवदहका लागि सुनौलो समय बुद्धकालीन समय नै हो । बौद्ध साहित्यमा देवदहबारे रहेको चर्चा र परिचर्चाले देवदहको पहिचान एवम् गरिमालाई उच्च बनाएको छ । भगवान बुद्ध देवदहमा आएर प्रदान गरेका बुद्ध बचनहरुले देवदह क्षेत्र विश्वकै लागि महत्त्वपूर्ण ठाउँका रुपमा चित्रित छ । यसका साथै बौद्ध साहित्यमा नारी महिमाको अध्ययन गर्दा देवदहमा जन्मिएर प्रसिद्धि प्राप्त गर्ने मायादेवी, प्रजापति र यशोधराको चर्चा व्यापक छ । यी तीन प्रसिद्ध नारीहरुको जन्म देवदहमै भएको थियो । देवदहमा जन्मिएका यी तीन नारीहरु बौद्ध दर्शन तथा बौद्ध साहित्यमा निकै प्रसिद्ध छन् । देवदहका यिनै प्रसिद्ध महान नारीहरुमध्ये यहाँ महाप्रजापतिको चर्चा गरिएको छ ।

    images
    images
    images

    ममताकी प्रतिमूर्ति महाप्रजापति

    images
    images
    images

    महाप्रजापतिको वास्तविक नाम प्रजापति गौतमी हो । उनको योगदानलाई उच्च कदर गरेर नै यिनलाई महाप्रजापति गौतमी भनिएको हो । बुद्धकालीन नारीहरुमध्ये प्रजापती गौतमी राजकुमार सिद्धार्थकी सानीआमा हुन् । प्रजापती कोलीय राज्य–अन्तर्गत देवदह नगरका राजा अञ्जन र रानी यशोधराका दुई छोरीहरूमध्ये कान्छी छोरी थिइन् । जेठी छोरी मायादेवी थिइन् । यिनीहरू दुवैलाई कपिलवस्तुका राजा शुद्धोधनले विवाह गरेका थिए । त्यसबेला राजाहरुलाई दुई वा दुई भन्दा बढी विवाह गर्न अनुमती थियो । जेठी रानी मायादेवी र कान्छी रानी प्रजापति गौतमी थिए । मायादेवी सिद्धार्थ गौतमकी आमा थिइन् भने प्रजापति गौतमी सानिमा अर्थात कान्छि आमा थिइन् । सिद्धार्थ गौतम जन्मिएको सातौँ दिनमा उनकी आमा मायादेवीको मृत्यु भएको थियो । त्यसपछि कान्छी आमा भएको कारण बालक सिद्धार्थलाई हेरविचार र लालनपालन प्रजापति गौतमीले नै गरिन् ।

    images
    images

    महामाया र प्रजापती साख्खै दिदीबहिनी हुन् । त्यसवेला नै भविष्यवाणी गरिएको थियो कि यी दुबै राजकुमारीहरुको कोखबाट जन्मिने वालकहरु चक्रवती हुनेछन् । कालान्तरमा महामायाबाट सिद्धार्थको जन्मभयो जो लोकमा सम्यक सम्बुद्ध भए । प्रजापति गौतमीतर्फ पनि नन्दकुमार र नन्दकुमारी नामका एक छोरा र एक छोरी जन्मिएका थिए । दिदी महामायाको मृत्यु भएपछि आफ्नो छोरालाई धाई आमाको जिम्मा लगाएर प्रजापतिले सिद्धार्थ गौतमलाई आफ्नै कोखबाट जन्मेको बच्चासरह माया, ममता, स्नेहको कुनै कमी नगरी हुर्काइन् । राजा शुद्धोधनले यिनको निस्वार्थ ममतालाई सम्मान गरेर राजमहिषी पदमा प्रतिष्ठित गरेका थिए । यसर्थ यिनको ममता भावको सम्मान गरेर यनलाई ममताकी प्रतिमुर्ति महाप्रजापतिका भनिएको हो । बौद्ध इतिहासमासमेत महाप्रजापति प्रसिद्ध, आदर्श, सङ्घर्षाशील र अनुकरणीय महिलाका रुपमा स्थापित छिन् ।

    बुद्धलाई प्रजापतिद्वारा चिवर उपहार

    बुद्धत्व प्राप्त गरेको पाँच महिनापछि राजा शुद्धोधनको निमन्त्रणामा सिद्धार्थ गौतम कपिलवस्तु आएका थिए । बुद्धत्व प्राप्त गरेपछि कपिलवस्तु आउँदा कुदान भन्ने ठाउँमा उनलाई राजा शुद्धोधन, रानी प्रजापति र नगरबासीहरूले भव्य स्वागत गरेका थिए । त्यहाँ प्रजापति गौतमीले गौतम बुद्धलाई आफैले बुनेको काषायवस्त्र (चिवर) उपहार दिइन् तर, बुद्धले “व्यक्तिभन्दा सङ्घको महत्व ठूलो हुन्छ, त्यसैले यो काषायवस्त्र मलाई दान गर्नुभन्दा सङ्घलाई चढाउनू” भनेँ । प्रजापतिले आफ्नै हातले बुनेको हुनाले बुद्धले नै लगाउनु पर्ने जिकीर गरिन् तर बुद्धले उक्त चिवर सङ्घलाई चढाउन भनी आफूले लिएनन् । यसले गर्दा प्रजापति गौतमीको सङ्घप्रति सम्मान बढ्यो । त्यसको भोलीपल्ट विहानै नगरवासीहरुलाई सङ्घदानको पुण्यबाट लाभान्वित गर्न भगवान बुद्ध भिक्षु सङ्घसहित घरघरमा भिक्षाटन गर्न निस्कए । राजा शुद्धोधनले पनि बुद्धलाई सङ्घसहित राजमहलमा ल्याए र बुद्धबाट धर्मोपदेश सुनेर स्रोतापन्न अवस्था प्राप्त गरे । बुद्धले सोही अवसरमा भाइ नन्दकुमार र सात बर्षीय आफ्नै पुत्र राहुललाई प्रव्रज्जित गरे । प्रव्रज्जित भएपछि उनीहरु बुद्धसँगै बैशालीतिर प्रस्थान गरे। प्रजापतिले लालनपालन गरेको सिद्धार्थ गौतम बोधी ज्ञान प्राप्त गरी बुद्ध भए, आफ्नै छोरा नन्दकुमार पनि प्रव्रज्जित भएर बुद्धकै पछि लागे । एक दिन राजा शुद्धोधनको पनि मृत्यु भयो । बिस्तारै शुद्धोधनको राजमहल खाली भयो ।

    प्रजापतिको प्रव्रज्जित हुने प्रतिज्ञा

    राजा शुद्धोधनको देहावसानपछि प्रजापतिलाई ज्यादै विरक्त लाग्यो । त्यसैले आफू पनि प्रव्रजित भएर सङ्घमा प्रवेश हुने विचार गरिन् । तर भगवान बुद्धलाई यो कुरा स्वीकार्य भएन।

    अर्कोपटक भगवान बुद्ध कपिलवस्तुको निग्रोधाममा विहार गर्दै हुनुहुन्थ्यो । महाप्रजापती गौतमी भगवान बुद्धको नजिक पुगेर अभिवादन गरी छेउँतिर उभिइन् । महाप्रजापतीले भनिन् – “भन्ते तथागतद्वारा उपदिष्ट धर्मविनयमा महिलाहरुलाई पनि प्रव्रजित हुने अवसर प्राप्त होस ।”

    बुद्धले भन्नु भयो “गौतमी तपाईलाई धर्मविनयमा घरबाट बेघर भएर प्रव्रज्या पाउनु रुचिकर नहोस । यो सम्भव छैन ।”

    प्रजापती गौतमीले दोश्रो र तेश्रो पटक पनि बुद्धसँग अनुनय विनय गरिन् । भगवानबाट प्रजापतीको कुरा तीनै पटक अस्वीकार भयो । तब गौतमी महिलाहरुले प्रव्रज्या नपाउने कुराले दुखी भइन् । रुँदै भगवानलाई अभिवादन गरेर फर्किइन् तर पनि उनले हार मानिनन् ।

    एक दिन उनले केश मुण्डन गरेर काषायवस्त्र धारण गरिन् । त्यसपछि कपिलवस्तुबाट गौतम बुद्ध बसेको ठाउँ वैशाली नगरसम्म पैदल हिँडेर गइन् । उनीसँग कपिलवस्तुका पाँचसय शाक्य महिलाहरू पनि पछि लागेर गएका थिए । वैशालीसम्म पुग्दा गौतमीका खुट्टाबाट रगत बगिरहेको थियो ।

    भिक्षुणी सङ्घको संस्थापक महाप्रजापति

    महारानी गौतमीले यसअघि नै कपिलवस्तुमा पटकपटक प्रव्रजित हुने अनुमति मागेकी थिइन् तर गौतम बुद्धले प्रव्रजित हुने इच्छा नगर्नू भनेका थिए । फेरि वैशालीमा देखेर पनि बुद्धले अनुमति दिएनन् । प्रजापतिको प्रतिज्ञाका कारण महारानी गौतमीले बुद्धको सहयोगी आनन्दमार्फत पटक–पटक अनुरोध गरिन् । यसअघि महिलालाई सङ्घमा प्रवेश गर्ने अनुमति दिइएको थिएन । यस पटक भने आठवटा निकै कठिन नियमहरू पालन गर्ने सर्तमा उनी र उनीसँगै जाने महिलाहरुलाई प्रव्रजित हुने अनुमति प्राप्त भयो । यो नै महिलाहरूलाई सङ्घमा प्रवेश गर्ने अनुमति दिएको पहिलो घटना थियो । यसरी प्रजापतिकै कारण भिक्षुणी सङ्घको स्थापना भएको थियो । सङ्घभित्र महिलालाई प्रवेश गराउँदा सङ्घको आयु घट्न सक्ने भएकाले बुद्धले महिलाहरूलाई सङ्घमा प्रवेश गर्ने अनुमति दिन चाहेका थिएनन् ।

    बौद्ध इतिहासमा भिक्षुणी सङ्घको स्थापना गर्न प्रजापति गौतमीको प्रमुख भूमिका रहेको छ । उनी पहिलो प्रव्रजित महिला थिइन् । उनीसँग गएका अन्य महिलाहरू पनि सँगै प्रव्रजित भएका थिए । त्यसपछि प्रजापति गौतमीले बुद्धको उपदेश श्रवण गरी ज्ञान लाभ गरेर अर्हत प्राप्त गरिन् ।

    त्यस समयका महिलाहरूमध्ये उनको सहनशील, लगनशील, धर्मप्रतिको आस्था तथा श्रद्धाजस्ता गुण भएको कारणले उनलाई अग्रपद महिलाको रूपमा पनि चिनिन्छ । प्रजापति गौतमीको उचित स्याहारसुसारबाट नै सिद्धार्थ गौतमको बाल्यजीवन युवावस्थासम्म आइपुगेको थियो । तिनै बालक संसारलाई धर्मको प्रकाश दिने बुद्ध बने । आज हामी बुद्ध र बुद्धको जीवनसँग सम्बन्धित लुम्बिनी, कपिलवस्तु देवदहआदि स्थानहरू हाम्रो वरपर रहेकामा जति गौरव गर्छौं, त्यसको पछाडि प्रजापतीको उल्लेखनीय योगदान रहेको छ । आज उनलाई बौद्धजगतको एक आदर्श नारी, उदाहरणीय महिला तथा प्रेरणाको स्रोतको रूपमा सम्झने गरिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।