महामानव गौतम बुद्धको समयमा कोशल राज्य राजतन्त्रात्मक राज्य थियो । तत्कालीन कोशल राज्यको राजधानी श्रावस्ती आर्थिक तथा सामाजिक रुपमा समृद्ध नगर थियो । श्रावस्ती नगरमा धेरै धनाढ्य साहु महाजनहरू थिए । जसमध्ये चालीस कोटी धन भएका महाजन पनि बस्दथे । त्यस महाजनको एक छोरा र एक छोरी थिए । छोरीको नाम पटाचारा थियो । पटाचारा अत्यन्तै रूपवती थिइन् । ती छोरा छोरी दुबैलाई महाजनले निकै राम्रोसँग पालन पोषण गरेका थिए । पटाचारा समयसँगै विस्तारै ठुली हुँदै गइन भइन् र १६ वर्षको उमेरमा पुगिन् । तिनको आमाबाबुले तिनलाई निकै कडा सुरक्षा प्रदान गर्न साततले भवनको माथिल्लो तलामा पूर्ण रेखदेख हुने गरी राखेका थिए ।
पटाचारा कसैसँग प्रेममा नपरुन् र राम्रो कुल घरानामा तिनको विवाह गरिदिने अपेक्षा बुवाआमाको थियो । आमाबाबुले त्यसरी निगरानीमा राख्दा पनि घरमा काम गर्न बसेको नोकरसित नै पटाचाराले प्रणय सम्बन्ध गाँस्न पुगिन् । आमाबाबुले भने छोरी पटाचाराको विवाह गरिदिने छलफल गरिरहेका थिए । उमेर पुगेकी छोरीलाई विवाह गरि पठाउनु राम्रो हुने आमावुवाको बुझाई थियो । त्यसैताका एकदिन आफ्नै जातीको केटा पटाचारासँग विवाहका लागि माग्न आए । पटाचाराको आमाबाबाले सबै कुरा सुनिसकेपछि छोरी पटाचारालाई उक्त केटासँग विवाह गरिदिने निर्णय गरे । यो कुरा पटाचाराले थाहा पाइन् । अर्कैसँग विवाह हुने कुराले उनको मन आत्तियो । आफ्नो प्रेमीलाई भेटेर भनिन् - “प्रिय ! अब मेरा बुबाआमाले मलाई विबाह गरेर पठाउने निर्णय गर्नु भएको छ । मलाई तपाईंले साच्चै माया गर्नु हुन्छ भने मलाई यहाँबाट भगाएर लैजानुहोस् ।”
पटाचाराले त्यस नोकरलाई विवाह हुने कुरा सुनाएपछि त्यस नोकरले पटाचारालाई आश्वासन दिँदै भन्यो- “तिम्रो अर्कैसँग विवाह हुने कुराले मलाई निकै चिन्तित बनायो। अब तुरुन्तै हामीले यो घर छोड्नुपर्छ, भोलि बिहान म नगर बाहिर दोबाटोमा तिम्रो प्रतीक्षा गरिबस्छु । तिमी जुनसुकै उपाय गरेर भए पनि त्यहाँ आइपुग । त्यसपछि हाम्रो प्रेमले सार्थकता पाउनेछ ।” यसरी पटाचारा र उनको प्रेमीबिच भागेर विवाह गर्ने सल्लाह भयो ।
यौवनले सबै कुरा विर्सिएकी पटाचारालाई घरमा आमाबाबाले जति सुखपूर्वक पालन-पोषण गरिराखेको भए पनि आमाबुबाले दिएको सुख र भविष्यको चिन्तालाई उनले बुझ्न सकिनन् । सबै कुरालाई तिलाञ्जली दिने निर्णय लिई फोहोर फाल्न लैजान लागेकी दासीको भेषमा उनी घरबाट बाहिर निस्किन् । त्यसबेला पटाचाराले आफूसँग भएको लुगाफाटो र गहना पनि साथै लगेकी थिइन् । पूर्व सल्लाह भए बमोजिम आफ्नो प्रेमीसँग भेट गरिन् । त्यसपछि ती दुबै प्रेमीप्रेमीका दाम्पत्य जीवन बिताउन त्यस नगरबाट ४ योजन (करिव ५० किलोमिटर) जति टाढाको गाउँमा गई बस्न थाले ।
त्यस गाउँमा आफ्नो र आफ्नी प्रियाको जीवनयापनको लागि युवकले जङ्गलभित्र खेत बनाई खेतीपाती गर्न लाग्यो । जङ्गलबाट घर फर्किंदा युवकले दाउरा र घाँसपात बटुली ल्याउँथ्यो । यसरी तिनीहरुको जीवन अति सामान्य रुपले चलेको थियो । नोकरचाकरसहितको घर परिवारमा हुर्किएकी पटाचारा प्रेमका कारण आफै नोकरको जस्तै दुःखद् जीवनयापन गर्ने अवस्थामा पुगेकी थिइन । उनीहरुको गृहस्थी जीवन जसोतसो मात्र चलेको थियो ।
समयको क्रमसँगै पटाचारा गर्भवती भइन् । त्यसबेला गर्भवती महिला सन्तान जन्माउन माइत जाने चलन भएकाले गर्भ बढ्दै गएपछि पटाचाराले आफ्नो पतिलाई भनिन्- “पतिदेव ! म यहाँ एक्लै छु । यहाँ हाम्रो कुनै नातेदार छैनन् । अब बच्चा पाउने समय हुँदैछ । तपाईंले मलाई माइत लगिदिनुहोस् ।”
पटाचाराको श्रीमानले पटाचाराको इच्छा पूरा गर्न चाहेन । पटाचारालाई फेरी आफूसँग पठाउँदैनन् भन्ने लागेको हुनाले उसले माइत जान अनुमति नदिने गरी भन्यो- “म तिम्रो घरमा नोकर थिएँ । तिमीलाई भगाएर ल्याएँ । अब तिम्रो घरमा जाँदा तिम्रा आमाबाबाले मलाई के भन्लान्, के गर्लान् केही भन्न सकिन्न । त्यसैले तिमी माइत नजाऊ ।” पतिले अनुमति नदिएपछि पनि पटाचाराले झिनो आशा राख्दै भनिन्- “हे स्वामी, आमाबाबुको मन कमलो हुन्छ । उहाँहरूले हामीलाई केही गर्नु हुन्न । यहाँ मेरा कोही छैनन् । यस्तो ठाउँमा म कसरी सुत्केरी हुने ? मलाई कसले सहयोग गर्ने ? त्यसैले मलाई माइत जान अनुमति दिनुहोस् ।”
पटाचाराले बारम्बार अनुरोध गर्दा पनि त्यस युवकले आलटाल गरीरह्यो । श्रीमानको माइत जान सहयोग नपाएपछि पटाचाराले सहेर बस्न सकिनन् । पहिलो गर्भ भएकाले उनमा डर थियो । नारीको जीवनमा गर्भ अवस्था त्यसै पनि जटिल हुन्छ । नारीहरू प्रसव अवस्थामा के होला भन्ने भयले आत्तिनु स्वाभाविक हो । लोग्नेले आज-आज, भोलि-भोलि भन्दै माइत जान नदिन खोजेको बुझेपछि पटाचाराले विचार गरिन्- “श्रीमानलाई श्रावस्ती जाने इच्छा छैन । उहाँ जाने आशाले बसेमा मलाई निकै दुःख हुन सक्छ । त्यसैले म एक्लै श्रावस्ती जान्छु ।”
एकदिन लोग्ने जङ्गल गएको मौकामा छिमेकीलाई सूचना दिई पटाचारा माइत हिँडिन् । लोग्ने जङ्गलबाट फर्किंदा पटाचारालाई देखेन । छिमेकीसँग सोधीखोजी गर्दा पटाचारा माइत गएको थाहा पायो । पटाचारा माइत हिँडेकी कुरा सुनेपछि त्यस युवकलाई दुःख लाग्यो । सोच्यो- “अहो ! मेरै कारण कुलीन घरकी पटाचाराले दुर्दशा बेहोर्नु परेको छ ।” पटाचारालाई फकाएर ल्याउँछु भन्ने उद्देश्यले ऊ श्रावस्ती जाने बाटोतर्फ लाग्यो ।
केही परको जङ्गलमा पुगेपछि उसले पटाचारालाई भेट्टायो । घर फर्काउन अनेक तरहले सम्झायो । तर प्रसव बेला हुनसक्ने दुर्घटनाको भयले उनले लोग्नेको कुरा मानिनन् र श्रावस्तीतर्फ अघि बढी राखिन् । केही समयपश्चात् बाटैमा तिनलाई प्रसववेदना शुरू भयो । जङ्गलमा एक रूखको मुनि गुप्त स्थानमा तिनले एक बालकलाई जन्म दिइन् । अनि पटाचाराले लोग्नेलाई भनिन्- “जुन उद्देश्यले म माइत जान आएकी थिएँ, त्यो उद्देश्य यहीँ पूरा भयो । त्यसैले म अब माइत जान्नँ ।”
पुत्र लाभ भएकोमा सन्तुष्ट र खुसी भई ती दम्पती घर फर्के । क्रमशः त्यस बालकको लालनपालन हुँदै गयो । उक्त बालक दुई वर्षको हुँदा पटाचारा पुनः गर्भवती भइन् । प्रसव हुने समय नजिकिएपछि पटाचाराले पहिलेझैं माइती जाने मन गरी लोग्नेलाई अनुरोध गरिन् । यसपटक पनि पटाचाराले लोग्नेको सहमति पाउन सकिनन् । अनि आफ्नै निर्णय मुताबिक प्रसवको समय नजिक आएको चाल पाएपछि लोग्नेको अनुमति नै नलिई काखे बालक साथमा लिई उनी श्रावस्तीतर्फ प्रस्थान गरिन् ।
लोग्ने घर आएपछि पटाचारा माइत गएको कुरा थाहा पायो । फर्काएर ल्याउने विचारले ऊ त्यही बाटो गयो । बाटोमा पटाचारालाई भेटायो । तर अनेक प्रकारले सम्झाउँदा पनि पटाचारा घर फर्कन मान्दै मानिनन् । पटाचाराले श्रीमानको कुरा नसुनी अगाडि बढीरहिन् । त्यसबेला अकस्मात् आकाशमा कालो बादल ढाकिँदै गयो । अन्धकार भयो । प्रसवबारे मनमा कुरा खेलाउँदै पटाचारा अघि बढिरहिन् ।
बाटोमा घनघोर वर्षा भयो । ओत लाग्ने कतै ठाउँ थिएन । उनी पानीमा रूझ्दै अघि बढीरहिन् । त्यसबेला नै उनलाई प्रसव वेदना शुरू भयो । प्रसव वेदना सहन नसकी लोग्नेलाई भनिन्- “मलाई वेदना सुरु भयो । पानीले नरूझ्ने सुरक्षित स्थान बनाइदिनुहोस् ।” स्थान बनाउन उसको लोग्ने रूखका हाँगा र घाँसपात बटुल्न जङ्गल पस्यो । एक ठाउँमा हाँगाबिंगा र पातपतिङगर पनि देख्यो । रुखका हाँगा र घाँस बटुल्न खोज्दा त्यहाँ रहेको सर्पले उसको खुट्टामा डस्यो । विष तुरून्तै उसको जीउभरि फैलियो । उसको जीउ निलो भयो । होस सम्हाल्न नसकी ऊ त्यहीँ ढल्यो । उसलाई सास फेर्न गाह्रो हुँदै गयो । त्यसको केहीबेरमा उसको मृत्यु भयो । उता प्रसव वेदनाले पटाचारा छटपटिइरहेकी थिइन् । कसैको सहयोग नपाइने उक्त ठाउँमा पटाचारा झरीको प्रवाह नगरी लोग्नेको प्रतीक्षामा थिइन् । लोग्ने आउने आसमा यताउति हेरिरहिन् । चिच्याएर बोलाइन् । कुनै प्रतिक्रिया आएन । लोग्नेको प्रतीक्षा गर्दा गर्दै रात छिप्पिन थाल्यो । काखको बच्चा भोकले रुँदै थियो । यस्तो कठिन समयमा लोग्ने नआएकाले उनलाई रिस उठेको थियो । साहारा विहीन हुँदा निरास भइन् । प्रसव वेदना बढ्दै गएपश्चात् रातको मध्य प्रहरमा बच्चाको जन्म भयो ।
औसीको रात थियो । त्यसमाथी वर्षा भइरहेको थियो । दुई बच्चाहरूले रोइरहेका थिए । दुःख र वेदना सहेर पटाचाराले दुबै बालकलाई रातभरि आफ्नो शरीरको न्यानो दिई जङ्गलमै रात बिताइन् । रातभरि पानीमा रूझेर बस्नुपरेको र सुत्केरी अवस्थामा भएकी हुँदा पटाचाराको शरीर निकै गलेको थियो ।
पति नआएपछि पटाचाराले सानो बच्चालाई काखी च्यापी ठूलोको हाल समातेर लोग्ने दाउरा बटुल्न जतातिर गएका थिए त्यतै गइन् । अलिपर ढिस्कोनिर पुगेपछि विषले कालोनीलो भएका आफ्नो लोग्नेलाई मृत अवस्थामा देखिन् । पटाचाराले त्यस वियोग सहन सकिनन् । अनेक प्रकारले विरह गरी धेरै वेरसम्म रोइरहिन् ।
“म कस्ती अभागी रहीछु । मेरो निम्ति मेरा स्वामीले प्राण त्यागे ।” पटाचाराले ठूलो विलाप गरिन् । जति विलाप गरे पनि लोग्ने जीवित हुने कुरा भएन । लोग्नेलाई पातहरुले छोपी बच्चाहरू लिई शरण पाउने आशामा उनी माइती घर श्रावस्तीतर्फ नै जाने विचार गरिन् । चेलीबेटीको आमाबाबु नै शरण हुन्छन् । नारी जीवनको ठूलो भरोसा पनि माइती नै हुन् । यस्तै विचारले माइतीको शरण पाउने आशा गर्दै शोकाकुल पटाचारा श्रावस्तीतिर अघि बढिरहिन् । वर्षा विहानपख नै रोकिएको थियो ।
बाटोमा अचिरवती नामको नदी पर्दथ्यो । रातभरि मुसलधारे पानी परेकाले उक्त नदीमा बाढी आएको थियो । नदीको बहाब र गहिराइको अन्दाज पटाचारामा थिएन । उनलाई दुबै बच्चा काखमा राखेर नदी पार गर्न सकिँदैन भन्ने लाग्यो । त्यसैले पानीको बहाब घटेपछि नदी पार गर्नुपर्ला भनेर नदी छेउमा धेरैवेरसम्म पतिको वियोगमा बिलौना गर्दै बसिन् । नदीमा पानीको बहाब घटेन । भोकप्यासले आकुलव्याकुल भएकी पटाचाराले विचार गरिन्- “दुबै बच्चा साथमा लिई नदी पार गर्नु घातक हुनसक्छ, ठूलो बच्चालाई वारि छोडेर नवजात शिशु लिई नदी तर्छु ।” यति विचार गरी नदी तरी पारि पुगिन् । अनि त्यस शिशुलाई कपडाले बेरेर पात ओछ्याइ पातैले ओढाइ सुताइन् । अनि नदी पारी छोडेर आएको बच्चालाई लिन नदीमा पसिन् । त्यस शिशुलाई केही हुन्छ कि भन्ने पीर लिएर पछाडि फर्किंदै अर्को बच्चा लिन नदी तर्दै थिइन् बीचमा पुगेपछि तिनले अकस्मात् आकाशमा उड्दै गरेको ठूलो बाज देखिन् । तल नदीको किनारमा शिशु देखेपछि बाजपक्षी बेगले तल झरी त्यस शिशुलाई टिपेर उडाई लग्यो । पटाचाराले त्यस बाजलाई देखेर “हा.“हा.” गर्दै दुबै हात माथितिर हल्लाइन् । उता नदी पारि छोडेर आएको बच्चाले आमाले मलाई आऊ भनी बोलाएको हो भन्ने बुझेर आमा भएतिर नदीमा पस्यो । पटाचाराले पारिपट्टि रहेको जेठो छोरालाई हेर्दा-हेर्दै नदीले लडाएर बगाउन थाल्यो । हेर्दा-हेर्दै जेठो छोरालाई पनि नदिले बगाएर लग्यो ।
अहो ! कस्तो वियोग ! आफ्नो प्राणभन्दा प्रिय दुबै बालकहरू पनि पटाचाराले गुमाइन् । उनको मुटुको चाल अनियन्त्रित भयो । केही देखिनन्, केही बोल्नै सकिनन् । थचक्कै नदीमा बसिन् । कस्तो अपशोच । पटाचारामा शोकको सिमा रहेन । बन्धु वियोगको दुःख सहन नसकी व्याकुल भएकी पटाचारा एक्लै उक्त नदीको किनारमा छट्पटाइरहिन् । मृत लोग्ने र बच्चाहरूलाई सम्झी दुःखका वाक्यहरू ओकलिरहिन् —भगवान ! मलाई यो कस्तो दुःख आइलाग्यो ? सानो बच्चा बाजपक्षीले टिपेर लग्यो । ठूलो बच्चालाई नदीले बगायो । स्वामीको बाटैमा मृत्युभयो । अब जीवनमा मेरा लागि केही बाँकी रहेन ।‘
उनलाई पनि नदीसँगै बहन मन लाग्यो तर पनि सकिनन् । उनी रुँदैरुँदै माइतीघर श्रावस्तीतर्फ अघि बढिन् । मुटुका टुक्राहरुको वियोगले स्तब्ध भएकी पटाचाराले श्रावस्ती नगरको नजिकै एक व्यक्तिलाई देखिन् । त्यस व्यक्तिलाई “कहाँबाट आएनु भएको ? ” भनी सोधिन् । उक्त व्यक्तिले जवाफ दियो- “बहिनी म श्रावस्ती नगरबाट आइरहेको छु ।”
त्यसपछि पटाचाराले आफ्नो आमाबुबा हालचाल सोधिन् । उक्त व्यक्तिले उत्तर दियो- “बहिनी, तिम्रो घरको कुरा केही नसोध । बरू अन्य कुरा सोध ।” यस्तो सुनेपछि पटाचाराले झनै बताउन आग्रह गरिन् ।
पटाचाराको आग्रह टाल्न नसकिने बुझेपछि उसले गएको राती भएको दुर्घटना यसरी सुनायो- “के गर्ने बहिनी ! गएको राती ठूलो पानी परेको थियो । नदीले बाटो बदलेछ । तिम्रो माइतीघर नदीले भत्काउँदा घरमा सुतिरहेका महाजन, उहाँकी श्रीमती र तिनीहरूको छोराको घरले च्यापिएर मृत्यु भएछ । ती तीनजनाको दाहसंस्कार भइरहेको छ । उ, उता हेर त ! चित्ताबाट धुवाँ निस्किरहेको छ ।” त्यस व्यक्तिको कुरा सुनेपछि पटाचारालाई संसार शून्य भएको अनुभूति भयो। उसको कुरा सुन्दा-सुन्दै पटाचारा त्यहीँ मूर्छा परेर लडिन् ।
कस्तो दुःख ! कस्तो श्रृङखलाबद्ध वियोग ! केहीवेरमा पटाचारा होसमा आए पनि अक्क न वक्क भइन् । वियोगको गहिरो बेदनाले उनको मनस्थिति विक्षिप्त थियो । शरीरको वस्त्र खसेकोसमेत अत्तोपत्तो भएन । शोकाकुल भएर विक्षिप्त हुँदै छातीमा मुड्कीले हान्दै रोइकराइ गर्दै घरी हाँस्दै हिड्न थालिन । बेसाहारा बनेकी पटाचारा अधिक मानसिक चिन्ताका कारण आफूलाई सम्हाल्न नसकी बौलाही जस्तै भइन् । उनको वस्त्र अस्तव्यस्त थियो । आफ्ना बच्चाहरू सम्झँदै रुन्थिन् । लोग्ने सम्झेर रुन्थिन् । मरेर गएका आमाबाबु, भाइलाई सम्झेर विह्वल हुँदै रुन्थिन् । आफूमा शोक वेदना बृद्धि गर्दै पटाचारा विलाप गरी यताउति भौतारिई रहन्थिन् । तिनमा आफ्नो होश पटक्कै थिएन ।
केटाकेटी तथा अबुझहरु तिनको अस्तव्यस्त रूप देखेर तिनलाई चित्त भड्किएकी बौलाही भन्थे । ईटा, ढुङ्गाले हिर्काउँथे । टाउकोमा धूलो खन्याइदिन्थे । बौलाही आई भनी गिज्याउँथे । त्यसको प्रतिकार गर्दा पटाचारा मानसिक रुपले विच्छिप्त बौलाही नै देखिन्थिन् । तिनलाई शरण दिने श्रावस्तीमा कोही थिएन । पटाचारा यस हालतमा रोइ कराइ हिड्दाहिड्दै एकदिन जेतवन विहारमा पुगिन् ।
उनी जेतवन महाविहार नजिक पुग्दा भगवान बुद्धले धर्म उपदेश दिइरहनु भएको थियो । तथागत बुद्भले पटाचारालाई टाढैबाट देख्नुभयो । बुद्धले तिनीप्रति मैत्री भावना प्रसार गर्नुभयो । बुद्धले पूर्वजन्ममा पटाचारले गरेको कर्ममा ध्यान लगाउनु भयो । पटाचारा पूर्वजन्ममा गरेका कर्मले गुण सम्पन्न रहेको पाउनु भयो ।
पटाचाराको पूर्वजन्मको कथा
एक हजार महायुग कालको समय (कल्प वर्ष) पहिले १७ औँ बुद्ध पदुमुत्तरको पालामा हंसवती नगरमा पटाचाराको पूर्वजन्म भएको थियो । ठूली भएपछि विहारमा गई उनले पदुमुत्तर तथागतको धर्म उपदेश श्रद्धापूर्वक सुन्ने गर्थिन् । उनले दानशील आदि धर्मगुण पालन गरी पुण्य सङ्ग्रह गरेकी थिइन् । पदुमुत्तर बुद्धले उनलाई त्यसबेला विनयधरणी पद दिनुभएको थियो । उनले पुनर्जन्मा पनि बुद्धका अगाडि यस्तै अग्रस्थान प्राप्त गर्नसकूँ भनी प्रार्थना गरेकी थिइन् ।
उपासिकाको प्राथना सुनेर पदुमुत्तर तथागतले उनको पुर्नजन्मको विषयमा ध्यान गर्नु भयो । तिनको प्रार्थना सिद्ध हुने देखेपछि शाक्यमुनि बुद्धको धर्म शासनमा यिनी पटाचाराको नामले विनयधर थेरीहरूमध्ये अग्रपद प्राप्त गर्नेछिन् भनी घोषणा गर्नु भएको थियो ।
पदमुत्तर बुद्धको उक्त भविष्यवाणी सुनेकी ती उपासिकाले आफ्नो प्रतिज्ञाअनुसार धर्म पूरा गर्न जीवनभर शील पालना गरी कुशल कर्म गरेर पुण्य सञ्चय गरिन् । मृत्युपछि दिव्यलोकमा देवकन्या भएर उत्पन्न भइन् । कहिले स्वर्ग सुख त कहिले मनुष्यलोकमा जन्म लिई पुण्य पारमिता पूरा गर्दै आएकी थिइन् । कश्यप बुद्धको पालामा वाराणशी देशमा कीकी भन्ने राजाको छोरी भई जन्मिइन् । राजाको सात छोरीहरूमध्ये यिनी एक थिइन् । ती सातैजना श्रद्धावती र शीलवती थिए । कश्यप तथागतको उपदेश सुनेर सातै राजकुमारीले बुद्धधर्ममा अगाध श्रद्धा राख्दै आ-आफ्नो जीवन सार्थक बनाएका थिए । त्यस जन्ममा अनेक पुण्य सङ्ग्रह गरेर मृत्यपश्चात सात दिदीबहिनीहरू पुनः देवलोकमा उत्पन्न भए । देवकन्या भइ दिव्यलोकको सुख-ऐश्वर्य भोग गरे । त्यसपछि शाक्यमुनि गौतमबुद्धको पालामा ती सात दिदीबहिनीहरू आ-आफ्नो कर्मानुसार मनुष्यलोकमा जन्म लिए । पटाचारा श्रावस्तीमा एक धनाढ्य कुलमा जन्मिएकी थिइन् ।
पटाचाराको पूर्वजन्मका घटनाहरूबारे पनि बुद्धलाई जानकारी भयो । पटाचारा धर्म गुणसम्पन्न थिइन् । तर अहिले पटाचारा दुर्दशाले लखेटिएकी थिइन् । तिनी प्रबचन भइरहेकी ठाउँ जेतवनतिर आइरहेकी देखिइन् । यो दृश्य देखेर बुद्धले उनीप्रति मैत्रीपूर्ण करूणा राख्नुभयो । पहिलेको प्रतिज्ञा र अहिलेको स्थितिलाई देखेर आफूबाहेक अरू कसैले पनि पटाचाराको उपकार गर्न नसक्ने बुझ्नु भयो । त्यसबेलासम्म पटाचारा जेतवन महाविहारको नजिन आइपुगेकी थिइन् ।
धर्मश्रवणका लागि त्यहाँ जम्मा भएका श्रोताले “यो बौलाहीलाई विहारमा आउन नदेऊ” भनी कराए । तर भगवान् बुद्धले “तिनलाई नरोक” भन्नुभयो । नजिकै आइपुगेपछि बुद्धले पटाचारालाई “आफ्नो स्मृति समाल, बहिनी” भन्नुभयो । त्यस अवस्थामा पनि बुद्धानुभावको प्रभावले पटाचाराको स्मृति (होश) फर्कियो । तिनले आफ्नो शरीर अस्तव्यस्त भएको चाल पाइन् । तत्काल लाजले भुतुक्कै भइ थचक्कै बसिन् । त्यतिखेरै एकजनाले तिनी माथि पछ्यौरा फालिदिए । तिनले पछ्यौरी ओढी बुद्ध सन्मुख गइन् र बुद्धको चरणमा दण्डवत गरिन् । अनि पटाचारा बुद्धसँग प्रार्थना गरिन्- “शास्ता, मलाई शरण लिनुहोस्, मलाई रक्षा गर्नुहोस् । मेरो एउटा बच्चा बाजले टिपी लग्यो । अर्को बच्चा नदीले बगायो । बाटोमा पतिको मृत्यु भयो । आमाबाबु सबैको मृत्यु भयो । तथागत ! मेरो रक्षा होस् ।” पटाचाराको प्रार्थना अनुसार शाक्यमुनी बुद्धले भन्नुभयो- “पटाचारा ! चिन्ता नगर । तिमी मकहाँ आइपुग्यौ, यहाँ तिमीले शरणमात्र होइन, त्राण पनि पाउनेछ्यौ ।”
बुद्धले अबला नारी पटाचाराको शोकाकुल हृदयलाई सान्त्वना दिँदै सम्झाउनु भयो । “पटाचारा ! जसरी तिम्रो एउटा बच्चा बाजले झम्टेर लग्यो । एउटा बच्चा नदीले बगायो । बाटोमा पतिको मृत्यु भयो । आमाबाबु र भाइलााई घरले पुरेर मृत्यु भयो । आफ्ना बन्धुहरू मर्दा तिमीले धेरै आँसु बहायौ ।” बगेको आँसु जम्मा गर्दा समुद्र नै भए पनि आँसुले दुःख कम हुँदैन । त्यसैले हे प्रिय पुत्री ! तिमी किन अपशोच गरी विस्मृत हुन्छ्यौ ? आदि र अन्त नभएको यस संसारमा प्राणीहरूले दुःखभोग गरिरहेका कुरा पटाचारालाई हृदयस्पर्श हुने गरी बुद्धले आज्ञा गर्नुभयो । यो उपदेश सुनेर तिनको शरीरमा विस्तारै चेतनाको सञ्चार भयो र शोकको मात्रा क्रमशः कम हुँदै गयो ।
बुद्धले पनि पटाचाराको हृदयव्यथा कम हुँदै गएको थाहा पाउनु भयो- पटाचारामात्र होइन सबैलाई बुझाउनका लागि भन्नु भयो- “पटाचारा ! छोराछोरी नाता कुटुम्बहरूले मर्ने बेलामा रक्षा गर्न, शरण वा भरोसा दिन सक्दैनन् । त्यसैले ती जीवितै भए पनि त्यस अवस्थामा नभएकै बराबर हुन्छन् । बरू शुद्धरूपले शील पालन गरी आफ्नो निर्वाणगामी मार्गलाई छिट्टै बुझ्नुपर्छ ।”
यो धर्मदेशनापछि पटाचाराले आफ्नो चित्तमा जमेको क्लेशलाई ज्ञान अग्निले भष्म गरी आफूलाई रुपान्तरण गरिन् । धर्म उपदेश सुन्ने-बुझ्ने अवस्थामा फर्किएपछि पटाचाराले बुद्धसँग प्रबज्या मागिन् । बुद्धले तिनलाई भिक्षुणीसंघमा पठाएर प्रव्रज्या दिलाउनुभयो । पटाचारा भिक्षुणी भएपछि अझ उत्साही भइ आफ्नो जीवनलाई उच्चतम रुपमा प्रतिस्थापित गर्न प्रयत्नशील भइन् । भिक्षुणीहरूबिच पटाचारा विनयधारण गर्ने र धर्मको कुरा राम्ररी बुझ्ने श्रेष्ठ ज्ञाता हुन् भनी सबैले मान्दथे ।
एकदिन पटाचाराले खुट्टा धोइरहेकी थिइन् । खुट्टा धोएको पानी बगेर गएको देखिन् । अलि पर पुगेपछि त्यो बगेको पानी सुकेर गयो । फेरि दोश्रोपल्ट खुट्टा धुँदा पानी त्यसभन्दा पनि केही परसम्म बगेर सुकेर गएको देखिन् । तेस्रोपल्ट खुट्टा धुँदा पनि पानी त्यसरी नै अलि टाढासम्म बगेर सुकेर गएको देखिन् । त्यसरी पानी बग्दै-सुक्दै गएको देखेर तिनलाई ज्ञान प्राप्त भयो । पहिलोपल्ट खुट्टा धुँदा बगेर सुकेको पानी जस्तै केही प्राणीको छिट्टै मृत्यु हुँदो रहेछ । दोस्रोपल्ट धोएको पानी समान प्राणीहरू मध्यम वैशमा नै मृत्यु हुँदा रहेछन् । तेस्रोपल्ट खुट्टा धुँदा बगेको पानी समान कोही-कोही लामो समयसम्म बाँच्ने रहेछन् । यी सबै मरणधर्म हुन् । सबै अनित्य हुन् । मृत्युबारेको यो ज्ञान पटाचाराले प्राप्त गरेपछि भगवान् बुद्धले ६ वर्ण रश्मि फैलाउनु भई तिनको अघिल्लितिर नै उभिई भन्नुभयो । “त्यस्तै हो पटाचारा ! भावनाको बिधि त्यही हो । सबै प्राणीहरू मरणधर्म हुन् । पञ्चस्कन्धको उत्पत्ति र विनाश हुने कुरा नजानी सय वर्षसम्म जीवित हुनुभन्दा उत्पत्ति र विनाश हुने स्वभाव धर्मलाई जानेर एकदिन मात्र जीवित हुनु श्रेयस्कर छ ।” बुद्धको अमृतमय बुद्धबचनले पटाचारमा रहेको बन्धुवियोगको शोक पूर्णरुपमा हट्दै गयो । धेरै समय नबित्दै पटाचारा अर्हतत्व प्राप्त भिक्षुणी भइन् । एकदिन भगवान् बुद्धले प्रवचनका क्रममा भन्नुभयो- भिक्षुहरू ! पुनर्जन्मा नै पटाचाराले बुद्धका अगाडि विनयधारणी श्राविकामध्ये अग्रस्थान प्राप्त गर्नसकूँ भनी प्रार्थना गरेकी थिइन् । यिनको कर्मले नै भन्छ भिक्षुणी श्राविका संघमा विनय पालना गर्नेमध्ये पटाचारा अहिले अग्रश्राविका हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology