यो भगवान बुद्धले रोहिणी नदीतटमा सुनाउनु भएको लटुकिक जातक कथा हो । रोहिणी नदीवाट सिचाइका लागि लगिएको कुलोले गर्दा तत्कालीन कोलिय र शाक्य राज्यका किसानहरूवीच भनाभन भई हातपात हुने स्थितिसम्म पुगेको थियो । त्यसबेला राजवंशलाईसमेत असर पर्ने गरी दुबैतर्फका किसानहरुले अपशब्द प्रयोग गरेका थिए । किसानका झगडाका कुरा राजदरवारसम्म पुगेपछि ठूलै युद्धको तयारी भएको थियो । कोलिय र शाक्यबिचको युद्ध रोक्न भगवान बुद्ध स्वयम् रोहिणी नदीमा प्रकट हुनु भएको थियो । बुद्धले रोहिणी नदीतटमा महायुद्धको तयारी गरेका शाक्य र कोलीय राजाहरुलाई प्रश्न सोधेर नाजवाफ तथा लज्जित बनाउनु भएको थियो । वैरभाव र वैमनश्यता हटाउन बुद्धले रोहिणी नदीमा विभिन्न जातक कथाहरू सुनाउनु भएको थियो । अरुलाई सानो वा कमजोर भनेर हेप्दाको परिणाम बुझाउन बुद्धले लटुकिक जातक कथा सुनााउनु भएको थियो । लटुकिक चरा र हात्ती वीचको वैरभाव र द्वेषभावले गर्दा हात्ती जस्तो भीमकाय जनावरको समेत ज्यान गएको कुरा लटुकिक जातक कथामार्फत निकै रोचक रुपमा प्रस्तुत गर्नु भएको छ । ठूलाले सानालाई माया र सहयोग गर्दा ठूलाको क्षमता र शक्ति बढ्ने हुन्छ भने वैरभाव राख्दा आफै अफ्ठ्यारोमा पर्ने भएकाले ठूलाले सानालाई वैरभाव राख्दा हुने क्षतिबारे बुद्धले यस कथामार्फत बुझाउन खोज्नु भएको छ । बुद्धले रोहिणी नदीमा देशना गर्नु भएको लटुकिक जातक कथालाई यहाँ प्रस्तुत गरिएको छ ।
वाराणसीमा ब्रम्हदत्तले राज्य गरिरहेको समयमा बोधिसत्व हात्तीको रुप लिएर जन्मियो । वयस्क भएपछि उक्त्त हात्ती राम्रो जिउलाग्दो भएर ८० हजार हात्तीहरूको नाइके भई हिमालय क्षेत्रमा बास गरिरहे ।
त्यस समयमा एउटा लटुकिका चराले हात्तीहरू हिंडडुल गर्ने ठाउँमा फुल पार्यो । फुल छोपेको केही दिनपछि माउले फुलबाट बच्चाहरू काढ्यो । बच्चाहरूको जिउमा पखेटाहरू नउम्रेकोले उड्न नसक्ने अवस्थामा थिए । त्यही समयमा हात्तीहरू आहाराको खोजीमा त्यही बाटो गरी आइरहे । त्यसलाई देख्नासाथ लटुकिक चराले "यो हस्तिराजले - मेरो बच्चाहरूलाई कुल्चेर मारिदेलान् ! मैले मेरो बच्चाहरूका निमित्त धार्मिक याचना गर्नुपर्यो ।" भन्ने विचार गर्यो । उसले दुईवटै पखेटा जोडेर अगाडि–अगाडि उडेर पहिलो गाथा गायो -
"वन्दामि तं कुञ्जरा सट्टिहायनं-आरञ्जकं यूथपतिं यस्सासिं ।
पक्खेहि तं पञ्जलिकं करोमि मा मे वधी पुत्तके दुब्वलायन्ति ।"
हे जंगलबासी ! हे समूहका नायक ! हे यशस्वी ! हे ६० हातको हस्ति ! तपाईलाई नमस्कार छ । मैले तपाईलाई दुईवटै पखेटा जोडेर बिन्ति गर्दैछु । म निर्धाका बच्चाहरूलाई कुल्चेर नमारिदिनुहोस् ।"
वोधिसत्वले भन्यो - "लटुकिका ! मैले तिम्रो बच्चालाई रक्षा गर्छु । तिमीले चिन्ता नगर्नु ।" बोधिसत्व हात्तीले बच्चाहरू माथि उभिदिए । त्यसपछि चरनमा आएका सबै हात्तीहरू गइसकेपछि लटुकिक चरालाई बोलाएर भन्यो- "हामीहरु गइसकेपछि एउटा एक्लो हात्ती आउनेछ । उसले हाम्रो कुरा झनै मान्दैन । ऊ आउनासाथ बरु तिमीले नै ऊसँग प्रार्थना गर र आफ्ना बच्चाहरूलाई रक्षा गर ।" यति भनि बोधिसत्व हात्ती गयो ।
एक्लो हात्ती आउनासाथ लटुकिक चराले उसलाई पनि स्वागत गरेर दुईवटै पखेटा जोडेर विन्ति गर्दै दोस्रो पटक गाथा भन्यो -
"वन्दामि तं कुञ्जरा सट्टिहायनं-आरञ्जकं यूथपतिं यस्सासिं ।
पक्खेहि तं पञ्जलिकं करोमि मा मे वधी पुत्तके दुब्वलायन्ति ।"
"हे जंगलबासी ! हे पर्वतबासी ! हे एकचरी कुञ्जर ! तपाईलाई नमस्कार छ । मैले दुईवटै पखेटा जोडेर नमस्कार गरिरहेको छु । म निर्धाका वच्चाहरूलाई नमार्नुहोस् I
लटुकिकाको कुरा सुनेर त्यो हात्तीले भन्यो :
"वधिस्सामि ते लटुकिके पुत्तकानि कि मे तुवं कहसि दुब्बलासि ।
सतं सहस्सानिपि तादिसीनं वामेन पादेन पपोथयेय्यन्ति ।"
"हे लटुकिका चरा ! तिमी दुर्बल छौ । मैले तिम्रो बच्चाहरूलाई मार्नेछु । तिमीले मलाई के गर्न सक्छौ र ? तिमीहरू जस्ता लाखौंलाई मैले बायाँ खुट्टाले कुल्चेर मार्नेछु ।”
यति भनेर उसले लटुकिका चराको बच्चालाई टुक्रा टुक्रा हुने गरिकन खुट्टाले कुल्चेर त्यसमा पिसाव फेरेर बगाई दियो ।
लटुकिका चराले रुखको हाङ्गामा वसेर "हात्ती ! अहिले त तिमीले - पिसाव फेरेर वगाइदियौ। केहि दिनपछि तिमीले मेरो काम हेरौला । तिमीलाई शरीरको बलभन्दा ज्ञानको बल ठूलो छ भन्ने कुरा थाहा छैन । अब तिमीले सिक भनेर अर्को गाथा भन्यो -
"न हेव सब्बत्थ बलेन किच्चं वलम्हि बालस्स वधाय होति ।
करिस्सामि ते नागराजा अनत्थ-यो मे वधी पुत्तके दुब्बलायान्ति ।"
"जहाँसुकै पनि बलले मात्र काम गर्दैन । बल मूर्खहरूको हत्याको कारण हुन्छ । हे गजराज ! तिमीले म निर्धाको बच्चाहरू मारिदियौ । म पनि तिमीलाई अनर्थ पार्नेछु ।"
उसले यति भनिसकेपछि एउटा कागको सेवा गर्यो । काग खुसी भएर भन्यो- "मैले तिमीलाई के गर्नु पर्यो ?"
"स्वामी मलाई अरु केही चाहिदैन। मैले तिमीबाट यति आशा गर्छु कि एक्लै घुमफिर गरिरहने हात्तीको आँखा फुटालिदिनू ।"
कागले “हुन्छ” भनेर स्वीकार गरिसकेपछि त्यो चरोले फेरि एउटा हरियो झिङ्गाको सेवा गर्यो । झिङ्गाले पनि "मैले तिमीलाई के सेवा गर्नु पर्यो ?" भनेर सोध्नासाथ “एक्लै घुमफिर गरिरहने हात्तीको आँखा कागले फुटालिसकेपछि मैले तिमीबाट यति आशा गर्छु कि तिमीले उसको आँखामा फुल पारि दिनू ।" उसले पनि हुन्छ भनेर स्वीकार गर्यो । त्यसपछि लटुकिक चराले फेरि एउटा भ्यागुतोको सेवा गर्यो । भ्यागुतो खुसी भएर सोध्यो "मैले तिमीलाई के गर्नु पर्यो ?” एक्लै घुमफिर गरिरहने हात्ती अन्धो भएर प्यास बुझाउन पानीको खोजी गरिरहँदा तिमीले पर्वतको टुप्पामा बसेर ट्यारट्यार आवाज निकालेर कराउनू । त्यसपछि त्यो अन्धो हात्ती पर्वत चढेर टुप्पामा पुगिसकेपछि तिमी पर्वतबाट तल झरेर फेरि ट्यारट्यार आवाज निकालेर कराउनु । मलाई तिमीले गरिदिनु पर्ने यत्ति हो।"
भ्यागुतोले पनि “हुन्छ” भनेर स्वीकार गर्यो ।
एकदिन कागले उक्त्त हात्तीको दुईवटै आँखा आफ्नो चुच्चोले ठुगेर फुटाई दियो । हरियो झिङ्गाले फुटेको आँखामा फुल पारि दियो । अन्धो हात्ती किराहरूले टोकेको बेदनाले ब्याकुल हुँदै पानीको खोजमा घुम्दैरह्यो । त्यही समयमा भ्यागुतोले पर्वतको भीरमा बसेर ट्यारट्यार ट्यारट्यारको आवाज निकाल्यो । अन्धो हात्तीले पानी छ भन्ठानेर पर्वतको भीरमा पाइला टेक्दा चिप्लिएर भीरबाट खसेर मर्यो ।
वैरीहरूलाई वैर गर्नु दुर्गति हो । काग, लटुकिक चरा, भ्यागुतो र हरियो झिङ्गा मिलेर हात्तीको ज्यान लिएजस्तै कमजोरहरुले पनि बलिया र शक्तिमानलाई ढलाउन सक्छन् । त्यसैले कुनै पनि मनुष्यले कसैसँग पनि वैरभाव गर्नु हुँदैन भन्ने लटुकिक जातक कथाको सन्देश हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology