कुनै पनि ठाउँ नामाङ्करणमा त्यहाँको ऐतिहासिक पक्ष जोडिएको हुन्छ । शाक्य र कोलियहरुको बसोबाससँग कपिलवस्तु, रुपन्देही र नवलपरासीका विभिन्न क्षेत्रहरुको प्राचीनतासँग जोडिएको छ । हामी नेपालमा जनताहरुको त्यागबाट बि.स. २०६५ सालमा गणतन्त्र आएको स्वीकार्छौ । यद्यपि बौद्ध साहित्यहरुले बुद्धकालीन समयका राज्यहरु गणतन्त्रात्मक भएको प्रमाणित गरेका छन् । बौद्धकालीन भारतीय भूगोललाई हेर्दा त्यस समय चार राजतन्त्र, १० गणतन्त्र राज्य र १६ महाजनपदहरू थिए । गौतम बुद्धको समयमा साना–साना राज्यहरू धेरै थिए । तिनलाई गणराज्य भनिन्थ्यो । कोलिय राज्य पनि तिनैमध्ये एक गणराज्य थियो । यसअन्तर्गत विशेष गरी देवदह र रामग्राम क्षेत्र पर्दथ्यो । देवदहमा कोलियहरूले राज्य गर्दथे । कोलियको राजधानी देवदह थियो ।
‘प्राचीन कोलीय र शाक्य गणराज्य अन्तर्गतका बौद्ध सम्पदा’ पुस्तकका लेखक देवेन्द्रराज शाक्यका अनुसार प्राचीन कोलीय राज्यको सिमाना पश्चिममा रोहिणी नदी, पूर्वमा सदानिरा अर्थात नारायणी नदी, उत्तरमा हिमालय पर्वत र दक्षिणमा गंगा नदीसम्म थियो । भरतसिंह उपाध्ययद्वारा लिखित ‘बुद्धकालीन भारतीय भुगोल’ पुस्तकमा उल्लेख भएअनुसार बुद्धकालीन कोलीय राज्यमा त्यसबेला छवटा प्रमुख नगरहरू रहेका थिए ।
क) कक्करपत्त
कक्करपत्त प्राचीन कोलिय राज्यमा पर्ने एक महत्त्वपूर्ण नगर थियो । जहाँ एक पटक भगवान गौतम बुद्ध आउनु भएको थियो । कक्करपत्तमा बस्ने दीघजानु नाम गरेको कोलीय वंशको व्यक्तिलाई भगवान गौतम बुद्धले उपदेश दिनु भएको थियो । जुन प्रसंग अंगुत्तर निकायको दीघजानु सुत्तमा छ । यो स्थान हालको नवलपरासीमा रहेको छ । पश्चिम नवलपरासी जिल्लाको सरवल गाउँपालिकामा रहेको जावा क्षेत्र नै बौद्धकालीन देवदहको नगर काकरपत्त हो । जुन बुद्धकालीन भूगोलमा देवदह जनपथको निकै महत्त्वपूर्ण नगर थियो । यस क्षेत्रमा प्राचीन लोपोन्मुख कोल वृक्ष र सिमसार क्षेत्र भएकाले जैविक विविधतामासमेत महत्त्वपूर्ण मानिन्छ ।
ख) सज्जनेल
प्राचीन कोलीय राज्यको अर्को महत्त्वपूर्ण नगर सज्जनेल थियो । जहाँ भगवान गौतम एक पटक आउनु भएको प्रसंग अंगुत्तर निकायमा उल्लेख छ । सज्जनेलमा सुप्पवासा कोलियधीता नाम गरेका कोलिय बस्ने गर्दथे । कृष्णप्रसाद न्यौपानेको अनुसन्धान अनुसार सज्जनेल अपभ्रंस हुँदै हालको सुनवल भएको हो ।
ग) उत्तर/उत्तरक
प्राचीन कोलीय राज्यको अर्को महत्त्वपूर्ण नगर उत्तरक हो । उत्तरक नगरमा पनि भगवान गौतम बुद्ध आउनु भएको थियो । यहीँ ठाउँमा रहँदा पाटली ग्रामणी भगवान बुद्धलाई भेट्न आएको र भगवान बुद्धले उनलाई पाटली सुत्तको उपदेश दिनु भएको थियो ।
घ) कुण्डी/कुण्डिया
कुण्डिया प्राचीन कोलिय राज्यको एक महत्त्वपूर्ण गाउँ थियो । यही ग्रामको नजिकै कुण्डधान वन थियो । यसको केही पर साणवासि नामक पर्वत रहेको थियो । जहाँ भिक्षु आनन्द केही समयको बस्नु भएको थियो । कुण्डी गाउँको नजिकै रहेको कुण्डधान वनमा बसेको समयमा भगवान बुद्धले सुप्रवासा कोलीयलाई सुखी र खुसी रहनका लागि आशिर्वाद दिनु भएको थियो । यद्यपि कुरु राज्यमा पनि कुण्डी÷कुण्डिय÷कुण्डिया वा कुण्डकोल नामक गाउँ रहेको थियो । यसर्थ दुई फरक राज्यहरूभित्र एउटै नाम रहेका गाउँका रुपमा कुण्डीलाई पाउन सकिन्छ ।
ङ) सापुग/सापुगा
प्राचीन कोलिय राज्यभित्रको अर्को महत्त्वपूर्ण सहरका रुपमा सापुग नगर थियो । अंगुत्तर निकायमा उल्लेख भए अनुसार यस नगरमा पनि भगवान गौतम बुद्ध आनन्द चारिका गर्दै आउनु भएको थियो र केही समय उहाँ यस स्थानमा बस्नु भएको थियो । सापुग नगरमा बस्ने कोलियहरूलाई सापुगिया भनिन्थ्यो ।
च) हलिद्दवसन
प्राचीन कोलियको अर्को महत्त्वपूर्ण नगरका रूपमा हलिद्दवसन थियो । हलिद्दवसनलाई हरिद्रवसन पनि भनिन्थ्यो । यस ठाउँमा पनि गौतम बुद्ध आउनु भएको थियो र बुद्धले हलिद्दवसनमा मज्झिम–निकायको ‘कुक्करवतिक सुत्तान्त’को उपदेश दिनु भएको थियो । यसका साथै संयुक्त–निकायको ‘मेत्त–सुत्त’को उपदेश पनि गौतम बुद्धले हलिद्दवसनमा दिनु भएको थियो । बुद्धघोषका अनुसार यो ठाउँको नाम हलिद्दवसन रहनुको कारण मङ्गलमय मुहूर्तमा यहाँका बासिन्दाले हल्दी (बेसार) रङको कपडा लगाएर नक्षेत्र पर्व मनाइएका थिए । यहाँका घरहरू पनि पहेँला रङका हुन्थे । हलिद्दवसनबाट अपभ्रंश हुँदै हर्दिया नामङ्करण भएको कृष्णप्रसाद न्यौपानेको अनुसन्धानमा उल्लेख छ ।
निर्मल ढुङ्गाना, देवदह ७, रूपन्देही (nirmaldhungana2020@gmail.com)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology