देवदह । नदिजन्य पदार्थ उत्खनन सम्बन्धि रिटमा देवदह नगरपालिकालाई कारण देखाउ आदेश जारी भएको छ। आइतबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले नगर प्रमुख धुर्ब प्रसाद खरेल लगायतको नाममा कारण देखाउ आदेश जारि गरेको हो।
प्राकृतिक स्रोत र चुरे क्षेत्रको दोहन भएको भन्दै देवदह नगरपालिका वडा नम्बर ९ बस्ने प्रेम थापा मगरले दायर गरेको रिटमा न्यायाधिश किरण पौडेलको एकल इजलासले रिटका विपक्षी नगर प्रमुख धुर्ब प्रसाद खरेल लगायतको नाममा लिखित कारण सहित आफु वा कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ माग गरेको हो।
अदालतको उत्प्रेषण परमादेशमा निवेदकको माग अनुसार आदेश जारी किन नहुनुपर्ने हो सो को कारण र प्रमाण सहित १५ दिनभित्र जवाफ दिन आदेश दिईएको छ।
निवेदक प्रेम थापा मगरले दायर गरेको रिटमा नगरपालिकाले मापदण्ड विपरित नदिजन्य पदार्थ उत्खनन प्रक्रिया सुरू गर्ने तयारि गरेकोले तत्काल हालको उक्त कार्य रोकी नदिजन्य पदार्थ उत्खनन गर्नैपर्ने भए प्राकृतिक श्रोतको दोहन नहुने र चुरे पर्वतलाई क्षति नहुने गरि स्थानिय सरोकारवालाहरू समेतको सहमतिमा पुन: प्रक्रिया सुरु गर्नुपर्ने माग गरेका थिए। उनले शुक्रबार अदालतमा रिट दायर गरेका थिए।
आइतबारको बहसमा रिट निवेदकको पक्षमा अधिवक्ताहरू मदन कुमार पुन, दामोदर घिमिरे, छविलाल भट्टराई, सिर्जना थापा लगायतले बहस गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology