देवदह । देवदहमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष नोभेम्बर २४ देखि डिसेम्बर १० सम्म मनाइने १६ दिने अभियान अन्तर्गत देवदह नगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ । सोहि क्रममा नगरपालिकाको उप-प्रमुखसंग महिला कार्यक्रम अन्तरगत बुधबार देवदहको ॐ दर्शन पार्टी प्यालेसमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई प्रतिनिधिमुलक रुपमा सहभागी गराएर अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि देवदह नगर प्रमुख ध्रुव प्रसाद खरेलले नजानेर हुने हिंसालाई यस्ता अभियान र प्रशिक्षणले घटाउन सकिने तथा जानेर गरिने हिंसालाई राज्यको कानुनले निरुत्साहित गर्नुपर्ने बताए । समाज, राजनीति, घर परिवार लगायत समाजका हरेक तह र तप्कामा अनेक किसिमका हिंसाहरु रहेकाले उल्लेख गर्दै खरेलले त्यस्ता हिंसाहरुको अन्त्यका लागि आफैबाट सुरु गर्नुपर्नेमा जोड दिए।
नगर प्रमुख खरेलले कतिपय अवस्थामा जान्दा जान्दै पनि अनेक किसिमका हिंसाहरु हुने गरेकाले त्यसमा सजग हुनुपर्ने बताए । समाजमा हुने लैङ्गिक, यौनिक तथा अन्य हरेक खाले हिंसालाई बाहिर ल्याएर त्यसको समाधान गर्नेतर्फ सबैको एकमत हुनुपर्ने प्रमुख उनको भनाई छ ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले समाजमा व्याप्त लैङ्गिक हिंसाहरुको न्यूनीकरणका लागि विश्वव्यापी रुपमा मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई नगरपालिकाले पनि मनाउने गरेको बताइन । नगरपालिकाले डिसेम्बर २४ तारिखका दिन सेतो रिवन वितरण तथा हरेक वडा कार्यालयमा महिला हिंसा विरुद्ध १६ दिने अभियानको ब्यानर राखेर अभियानको शुभारम्भ गरेको उप-प्रमुख गुरुङले जानकारी दिईन।
सहभागिका तर्फबाट मन्तव्य राख्दै महिला स्वास्थ्य स्वयंसेविका मिना श्रेष्ठले लैंगिक हिंसा बिरुद्धको अभियानमा गरिने कुराहरु व्यवहारमा लागू गर्न जरुरी रहेको बताउँदै व्यवहारिक परिवर्तन आफैबाट सुरु गर्नुपर्ने बताइन । सरकारका संयन्त्र, देशको राजनीति, समाज, घर परिवार यत्रतत्र लैङ्गिक हिंसा अन्तर्गत महिला हिंसा व्याप्त रहेको दुखेसो गर्दै श्रेष्ठले यस्ता विभेद हटाउन स्थानीय सरकारले ठूलो भूमिका खेल्न सक्ने दाबी गरिन।
कार्यक्रममा इन्सेक रुपन्देहीका मानव अधिकारकर्मी रिमा बिसिले मानव अधिकार र कर्तव्यबारे तथा महिला अधिकारकर्मी एवं पत्रकार इन्दिरा अर्यालले लैङ्गिक हिंसा र त्यसको निराकरणबारे सहजीकरण गरेका थिए । सहजीकरणका क्रममा सहभागीहरुले समाजमा व्याप्त महिला हिंसा तथा लैङ्गिक हिंसाको अवस्था, आँफुले भोगेका हिंसाका घटना, निराकरणका उपाय लगयतका बारेमा धारणा राखेका थिए ।
कार्यक्रम नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको अध्यक्षता, उप्रप्रमुखसँग महिला कार्यक्रम सञ्चालक समितीका सदस्य बेलुमाया सार्कीको स्वागत र महिला बिकास शाखाका अधिकृत इन्दिरा बन्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology