देवदह । देवदह नगरपालिकाको निति तथा कार्यक्रम एवं आर्थिक विधेयक कार्यपालिका बैठकबाट बहुमतले पारित भएको छ । निकै पेचिलो छलफल र बैठकको सुरुवाती समयमा ६ वटा वडाका वडाध्यक्षको बहिष्कारविच जारी कार्यपालिका बैठकबाट अन्तत: सबै कार्यपालिका सदस्यको उपस्थितिमा राती अबेर मात्रै विधेयकहरू पास भएका हुन् ।
सेतोमसीसंग कुरा गर्दै नगर प्रवक्ता गणेश डुम्रेले केही विषयमा मतान्तर भए पनि सबैको उपस्थिती र सहमतिमा विधेयकहरू कार्यपालिकाबाट पारित भएको बताए । कार्यपालिकाका बैठकले पारित गरेका विधेयक आज (शुक्रबार ) बस्ने नगरसभामा पेस गरिनेछ।
त्यसैगरि बैठकको सुरुवातमा बैठक बहिस्कार गरेका ६ जना वडाध्यक्षमध्यका एक वडा नं. ९ का वडा अध्यक्ष मोहन जिसीले धेरै कुरामा आफुहरू असहमत भएपनि नगरसभाको गरिमालाई ख्याल गर्दै बैठकमा सहभागी भएको र नगरसभामा पनि सहभागी हुने बताए । सेतोमसीसंग कुरा गर्दै उनले भने, "संघीय सरकारको बजेटमै नयाँ गाडी नकिन्ने विषय आएको हुनाले गाडी किन्ने लगायतका नगरप्रमुखको प्रस्तावमा सहमत हुन सकिन्न । तर नगरसभाको आफ्नै गरिमा रहेकोले हामी नगरसभामा सहभागी हुन्छौं ।"
नगरसभा आज दिउँसो १ बजे होटल बि २५ मा बस्ने नगरपालिकाले जनाएको छ ।
यी हुन् देवदह नगरपालिका नगर कार्यपालिकाको १२७ औ बैठकबाट पारित भएका निर्णयहरु:
१. देवदह नगरपालिकाको आर्थिक विधेयक, २०७९ ।
२. देवदह नगरपालिकाको विनियोजन विधेयक, २०७९ ।
३. नगर शिक्षा ऐन, २०७४ को पहिलो संसोधन विधेयक, २०७९ नगरसभामा पेश गर्ने निर्णय
४. देवदह नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका विरामीहरुलाई औषधी उपचार वापत खर्च उपलब्ध गराउने सिफारिस समिति कार्यविधि, २०७९ ।
५. अस्थायी प्रहरी चौकी स्थापना ।
६. स्थानीय निर्देशक समिति गठन सम्बन्धि निर्णय
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology