देवदह । देवदह नगरपालिकाले आर्थिक बर्ष २०८२÷०८३ को संक्षिप्त प्रगति विवरण १७औं नगरसभाको अधिवेशनबाट पारित गरेको छ ।
नगरसभामा नगर प्रमुख ध्रुव प्रसाद खरेलले चालु आर्थिक बर्षमा सञ्चित कोषबाट व्ययभार हुने विनियोजित सामाजिक सुरक्षा भत्ता बाहेकको १ अर्ब ३४ करोड ५४ लाख रुपैंया मध्ये हालसम्म २५ करोड १० लाख ५७ हजार रुपैंया खर्च भएको जानकारी दिए । वित्तिय प्रगतिको हिसावले उक्त खर्च १८.६६ प्रतिशत हो ।
कार्यक्रममा उनले विभिन्न १५ वटा शिर्षकको विवरण प्रस्तुत गर्दै कृषि विकास अन्तर्गत वडा नं ४ को १० हेक्टर क्षेत्रफलमा तोरी पकेट कार्यक्रम सञ्चालन भईरहेको जानकारी दिए । खरेलले कृषि ज्ञान केन्द्रको सहयोग र कृषि विकास शाखाको सहजिकरणमा वडा नं ३ को सुर्यपुरा र वडा नं ५ को कोलुवा स्थित ३० हेक्टर क्षेत्रफलमा तोरीबालीको क्षेत्र विस्तार तथा मसुरो बालीको मिनिकिट वितरण गरिएको बताए ।
पशुसेवा कार्यक्रम अन्तर्गत हालसम्म १३८ गोवर परिक्षण र ४२ वटा थुनेलो परिक्षण गरिएको जानकारी गाउँदै नश्ल सुधार कार्यक्रम अन्तर्गत ४८९९ गाई भैंसीमा कृतिम गर्भाधान तथा ५७३७ वटा पशुलाई उपचार तथा औषधि वितरण गरिएको जानकारी दिए ।
नगर प्रमुख खरेलले प्रस्तुत गरेको संक्षिप्त प्रगति विवरणमा शिक्षा, युवा तथा खेलकुद तर्फ विभिन्न प्रतियोगिता र क्षमता विकाश कर्यक्रम गरिएको उल्लेखित छ भने स्वास्थ्य तर्फ चालु आर्थिक बर्षको हालसम्म ७५ हजार ६२३ जना नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिएको जनाइएको छ ।
यस्तै बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण तर्फ स्थानीय बजार तथा हाट बजार अनुगमन गरि समस्या देखिएका पसल÷फर्महरुलाई आवश्यक निर्देशन दिईएको विवरणमा उल्लेख छ । प्रगति विवरण अनुसार ९४ जना सूचिकृत मेलमिलापकर्ताहरु मार्फत ४६ वटा मुद्धा मिलापत्र भएको र वातावरण तथा विपद् व्यवस्थापन कार्यक्रम अन्तर्गत बैकल्पिक उर्जासँग १०७५ थान विद्युतिय चुल्हो र २००० थान सुधारिएको चुल्हो माग गरिएको छ ।
नदी तथा खोलाहरुको आईईई प्रतिवेदन तयारीको चरणमा रहेको उल्लेख गर्दै पूर्वाधार विकास तर्फ नगर अस्पतालको भनव निर्माण कार्य अन्तिम चरणमा रहेको, नगरपालिकाबाट १० वटा योजनाहरुको बोलपत्र स्वीकृत भई निर्माण कार्य भइरहेको र २ वटा योजना सम्झौता भई कार्य सुचारु भएको कार्यक्रममा नगर प्रमुख खरेलले बताए । यसैगरी १७.२ कि. मि सडक निर्माण हुनेगरी व्यवसायीहरुसँग सम्झौता भएको समेत उनले उल्लेख गरे ।
भूमितर्फ १२५० हेक्टर जग्गाको क्षेत्रफल नापजाँच गरिएको र ७८६ वटा जग्गाधनि पूर्जा वितरण गरिएको जानकारी दिदै खरेलले राजश्व तर्फ चालु आर्थिक बर्षको हालसम्म ३ करोड ९१ लाख ७७ हजार ९४१ रुपैंया संकलन भएको बताए ।
सार्वजनिक सेवालाई छिटो छरितो, पारदर्शी र सेवाग्राहिमैत्री प्रविधियुक्त बनाउँदै लगिएको बताउँदै १५४ वटा आयोजनाहरु उपभोक्ता समिति मार्फत सम्झौता भई २० वटा आयोजनाको अन्तिम भुक्तानी समेत दिईएको उनले सो अवसरमा जानकारी दिए ।

मंगलवारको नगरसभाले नगर शिक्षा ऐन २०७४ को दोस्रो संसोधन विधेयकलाई परिमार्जन सहित पारित गरेको छ । नगर उप-प्रमुख विद्यालक्ष्मी गुरुङले नगरसभामा प्रस्तुत गरेको ऐनको दफा १० (झ) मा संसोधन प्रस्ताव गरिएको थियो ।
यसैगरी नगरसभाले सभा सदस्य अमर लामिछानेको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत गठन गरेको छ । लेखा सदस्यहरुमा होमनाथ भट्टराई र तुल प्रसाद चौधरी रहेका छन् ।
नगर सभाद्धारा बजेट शिर्षक टुक्राटुक्रा :
यसैविच मंगलवार सम्पन्न नगरसभाले विभिन्न शिर्षक अन्तर्गत विनियोजित १ करोड ८१ लाख ३७ हजार रुपैंया बजेट शिर्षकलाई परिवर्तन गरेको छ । वडा नं १ देखि १२ सम्मका सबै वडाहरुले यसअघि विनियोजन गरेका बजेट शिर्षकलाई नगरसभाले टुक्राउनुका साथै शिर्षक परिवर्तन गरेको हो ।
यसरी परिवर्तन गरिएका मध्ये वडा नं १ ले २ वटा योजनाबाट ६ लाख रुपैंया शिर्षक अन्य २ वटै शिर्षकमा परिवर्तन गरेको छ । वडा नं २ ले १२ वटा योजनाबाट २६ लाख ५० हजार रुपैंया बराबरको योजना १७ वटा शिर्षकमा परिवर्तन गरेको छ ।
यस्तै वडा नं ३ ले ४ वटा योजनामा रहेको २६ लाख ७ हजार रुपैंयालाई २० वटा शिर्षकमा टुक्राएको छ । वडा नं ४ ले ३ वटा शिर्षकमा यसअघि विनियोजन गरेको १३ लाख ५० हजार रुपैंयालाई संख्या यथावत राखेर योजनाको नाम परिवर्तन गरेको छ ।
त्यसैगरी वडा नं ५ ले २ वटा शिर्षकमा रहेको ७ लाख रुपैंयालाई ५ शिर्षकमा बाँडेको छ । वडा नं ६ ले ९ वटा योजना शिर्षकमा यसअघि विनियोजन गरेको २५ लाख रुपैंयालाई १२ वटा योजना बनाएको छ ।
त्यस्तै वडा नं ७ ले ४ वटा शिर्षकमा रहेको ७ लाख ५० हजार रुपैंयालाई शिर्षक मात्र परिवर्तन गरेर संख्या यथावत राखेको छ । वडा नं ८ ले ४ वटा योजनालाई मर्ज गरेर ३ वटा बनाएको छ । जसमा उसले ९ लाख ८० हजार रुपैंया विनियोजन गरेको थियो ।
यस्तै वडा नं ९ ले ७ वटा योजनाको ११ लाख रुपैंयालाई टुक्राएर १४ वटा योजना बनाएको छ भने, वडा नं १० ले ४ वटा योजनामा विनियोजन गरेको ६ लाख ५० हजार रुपैंयालाई ५ वटा योजना शिर्षकमा वितरण गर्ने उल्लेख गरेको छ ।
यसैगरी वडा नं ११ ले ५ वटा योजना शिर्षकबाट ८ लाख रुपैंया यसअघि खर्च गर्ने जनाएपनि नगरसभाबाट उक्त शिर्षकलाई थपेर ८ पुर्याएको छ । त्यस्तै वडा नं १२ ले ८ वटा योजना शिर्षकमा विनियोजन गरेको १४ लाख ९० हजार रुपैंया को शिर्षक मात्र परिवर्तन गरेर संख्या थपघट गरेको छैन ।
त्यसैगरी नगर स्तरीय योजनाबाट ५ वटा शिर्षकमा विनियोजन गरिएको १९ लाख ६० हजार रुपैंयाको समेत शिर्षक परिवर्तन गरिएको छ । यसअघि विनियोजन गरिएका अधिकांश बजेट शिर्षक नगरसभाले टुक्राएको पाईएको छ । यसबाट बजेट परिवर्तन गरिएका शिर्षकहरुबाट उपलब्धि हुने हो कि शिर्षक टुक्राएको नगरसभाले बजेट छर्ने काम गरेको हो त्यो भने हेर्न बाँकी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology