देवदह । प्रगती सामुदायिक वन उपभोक्ता समूहले सोमबार गोप्य सिलवन्दी फारम (टेण्डर) खोलेको छ । यसवर्ष उत्पादन गरि घाटगद्दिमा संकलन भएको काठ बिक्रीको लागि आव्वहान गरिएकोमा समूहमा प्राप्त लाह छापसहितका गोप्य सिलबन्दी फारम सरोकारवालाहरुको रोहवरमा खोलिएको हो ।
समूहले यसबर्ष ६८२६।४६ क्युफिट काठ र १८ चट्टा दाउरा कटान गरि घाटगद्दीमा संकलन गरेको थियो । जसमध्ये ४४५७।८६ क्यु फिट काठ र २ चट्टा दाउरा लिलाम बिक्री (टेण्डर)को लागि आव्हान गरेको थियो । ४ वटा लट निर्धारण गरि आव्हान गरिएको टेण्डरका लागि १४२ वटा गोप्य सिलबन्दी फारम बिक्री भएको समूहका अध्यक्ष दुर्गबहादुर रानाले जानकारी दिए । जसमध्ये समूहबाट ८० थान र डिभिजन वन कार्यालय रुपन्देहीबाट ६२ थान टेण्डर फारम बिक्री भएको उनले बताए ।
अध्यक्ष रानाका अनुसार पहिलो लटमा १५ वटा गोप्य शिलबन्दी फारम दाखिला भएको र दोश्रोमा २१ वटा गोप्य शिलबन्दी फारम दाखिला भएका थिए । यस्तै तेस्रोमा १७ वटा र चौथोमा ७ गोप्य शिलबन्दी फारम दाखिला भएको थियो ।
पहिलो लटमा ७ लाख १ हजार ९ सय ४ रुपैया न्यूनतम मुल्य सहित विभिन्न जातका १२०८।३६ क्युफिट काट लिलामको लागि आव्हान गरिएकोमा ममता समिल नराहा गाउँपालिका ३ सिराहाले सबैभन्दा बढि ११ लाख ५० हजार रुपैंया मुल्य कबोल गर्दै उक्त लट सकारेको छ । यसैगरी दोश्रो लटमा ८ लाख तीन हजार आठ सय चौतिस रुपैया मुल्य सहित साल जातका ७५६।९१ क्युफिट काठ लिलामको लागि आव्हान गरिएकोमा मुहान काष्ठ उद्योग कपिलवस्तुले सबैभन्दा बढि १५ लाख ६७ हजार ५५० रुपैंया मुल्य कबोल गर्दै लट सकारेको छ ।
यस्तै तेस्रो लटका लागि ७ लाख १४ हजार ९ सय ७० रुपैंया पचास पैसा न्युनतम मुल्य सहित बिभिन्न जातका १०२५।७२ क्युफिट काठ लिलामको लागि आव्हान गरिएकोमा इमान समिल सैनामैना ६ रुपन्देहीले सबैभन्दा बढि १२ लाख ११ हजार ७५५ रुपैंया मुल्य कबोल गर्दै लट सकारेको छ । त्यस्तै चौथो लटका लागि विभिन्न जातका १४६६।९७ क्यु फिट काठ तथा २ चट्टा दाउराको लागि ७ लाख ९३ हजार ८ सय उनान्सत्तरी रुपैया रुपैंया न्युनतम मुल्य राखिएकोमा दिक्षा स मिल बुटवल १९ ले सबैभन्दा बढि १० लाख ७४ हजार ८ सय मुल्य कबोल गर्दै लट सकारेको छ ।
२०८३ जेठ २६ गते डिभिजन वन कार्यालय रुपन्देहीको बिक्री सहमतीमा जेठ २९ गते समुहले २१ दिने प्रथम सुचना प्रकाशन गरि काठदाउरा लिलाम बिक्रीको लागि सार्वजनिक आव्हान गरेको थियो ।
समूहले यसबर्ष सङ्कलित कुल काठमध्ये स्थानीय उपभोक्तामा बिक्रीको लागि ११८१।२ क्युफिट, जिल्ला वन आपुर्ती समिति मार्फत बिक्रीको लागि ११८७।३ क्यु फिट छुट्याएको कोषाध्यक्ष ऋषिराम खनालले जानकारी दिए । खनालका अनुसार समूहले कुल उत्पादित दाउरा मध्ये उपभोक्ताको लागि १४ चट्टा र आपुर्ति समिति मार्फत २ चट्टा दाउरा बिक्रीको लागि छुट्याएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology