देवदह । प्रगति सामुदायिक वन उपभोक्ता समूह देवदह ९ ले आर्थिक वर्ष २०८२/०८३ का लागि एक करोड बढिको बजेट सार्वजनिक गरेको छ । अध्यक्ष दुर्गबहादुर रानाले बुधवार योजना तर्जुमा गोष्ठिमा समुहले चालु आर्थिक बर्षका लागि एक करोड ५ लाख ४७ हजार ५२८ रुपैंया बराबरको आयव्यय विवरण प्रस्तुत गरेका हुन् ।
अध्यक्ष रानाले चालु आर्थिक बर्षमा समूहले काठ दाउरा विक्रिबाट ४३ लाख ५० हजार रुपैंया, गत आर्थिक बर्षको काठ दाउरा लिलामबाट ३५ लाख ३३ हजार ९६२ रुपैंया, जिल्ला वन पौदावार आपूर्ति समितिबाट १२ लाख ५० हजार ५७७ रुपैंया र जर्ना दाउरा विक्रिबाट ४ लाख ४८ हजार रुपैंया आम्दानी गर्ने लक्ष्य रहेको जानकारी दिए ।
यसैगरी नयाँ सदस्यता शुल्क मार्फत ३० हजार ३०० रुपैंया, बल्लाबल्ली बिक्रीबाट २० हजार रुपैंया, उपभोक्तामा साल गोलिया बिक्रीबाट २ लाख ४२ हजार ५३८ रुपैंया, लिलाम टेण्डर फर्मबाट ८६ हजार रुपैंया, वनबाटिकाबाट १० हजार रुपैंया तथा जिल्ला वन कार्यालय रुपन्देहीबाट ५ लाख रुपैंया आम्दानी स्वरुप प्राप्त हुने लक्ष्य राखिएको उनले बताए ।
समूहले आर्थिक बर्ष २०८२/०८३ मा वन विकास तर्फ ६०.७१ प्रतिशत अर्थात ६४ लाख ४ हजार ४८ रुपैंया, सामाजिक तथा पूर्वाधार विकास तर्फ १४.९३ प्रतिशत अर्थात १५ लाख ७५ हजार रुपैंया, महिला लक्षित तथा गरिबी निवारण तर्फ १४.२२ प्रतिशत अर्थात १५ लाख रुपैंया, तथा प्रशासनिक खर्च तर्फ १०.१३ प्रतिशत अर्थात १० लाख ६८ हजार ४८० रुपैंया खर्च हुने जानकारी दिए ।
चालु आर्थिक बर्षमा समूहले गर्ने कार्यक्रमहरुबारे जानकारी दिदैं अध्यक्ष रानाले समूहले पर्यापर्यटनलाई विशेष मध्येनजर गर्दै यस आथिक बर्षका कार्यक्रम सञ्चालन हुने बताए । नियमित कार्यक्रमहरुसँगै यसबर्ष दक्षिण एसिया उपक्षेत्रिय आर्थिक सहयोगमा हुने विद्युत प्रशारण तथा विद्युत सुदृढिकरण परियोजना अन्तर्गत ४ सय के.भी. प्रशारण आयोजना विस्तारको क्रममा समूहको ८.८७ हेक्टर वन क्षेत्रमा पर्ने ३१३५ वटा रुख पोलहरु हटाउने बारे डिभिजन वन कार्यालय रुपन्देही र सव डिभिजन वन कार्यालयको समन्वयमा काम गर्ने उल्लेख गरे ।
कार्यक्रममा समुहका कोषाध्यक्ष ऋषिराम खनालले आर्थिक वर्ष २०८१/०८२ को ८५ लाख ९० हजार ८८२ रुपैंया बराबरको समष्टिगत आय व्यय विवरण प्रस्तुत गरे । जसमा वन विकास तर्फ ५२.८६ प्रतिशत, सामाजिक विकास तर्फ १८.४९ प्रतिशत, महिला सशक्तिकरण तथा गरिबी निवारण तर्फ ११.२७ प्रतिशत र प्रशासनिक तर्फ १२.१२ प्रतिशत खर्च गरिएको जानकारी दिए ।
गोष्ठिमा बोल्दै देवदह नगरपालिका वडा नं ९ का अध्यक्ष मोहन बहादुर जिसीले समूहले अघि सारेका योजना कार्यान्वयनमा आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । विगतका बर्षहरुमा जस्तै यस वर्षपनि वडा कार्यालयले सहकार्य गर्ने उनले उल्लेख गरे ।
कार्यक्रममा गाउँ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, समूहका पूर्व अध्यक्ष एवम् जनप्रतिनिधि चमकान्त गौंडेल, पूर्व अध्यक्ष खैराज शर्मा लगायतले बोल्दै उपभोक्तालाई विश्वासमा लिएर वन विकाससंगै सामुदायिव विकास कार्यमा समुह अग्रसर हुनुपर्ने बताए ।
समूहका उपाध्यक्ष डोलराज न्यौपानेको स्वागत र सचिव वर्षा तिवारीको सञ्चालनमा भएको कार्यक्रममा सहभागिहरुले समूहले उपभोक्ता क्षेत्रमा गर्नुपर्ने कामसँगै वनको दिगो विकासका निम्ति सुझावहरु प्रस्तुत गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology