बुटवल । नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रम गरेको छ । १४औं नमराज–दिलिप स्मृति दिवसको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम गरिएको हो ।
निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशका सह-इन्चार्ज नारायणप्रसाद भण्डारीले ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन भएको कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक नरमाया श्रीसले जानकारी दिइन् ।
सोही अवसरमा बोल्दै सह इन्चार्ज भण्डारीले एक पोका रगतले पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै उनले रक्तदान जस्तो पवित्र कार्यक्रमको आयोजना गर्ने संगठनप्रति विशेष आभार प्रकट गरे । पेशाकर्मीको हकहितका लागि संगठन स्थापना भएको उल्लेख गर्दै उनले यसलाई अझ सशक्त बनाएर जैजानुपर्ने धारणा राखे । उनले यस्ता रचनात्मक कार्यक्रमहरू निरन्तर गरिरहन संगठनलाई सुझाव दिए ।
कार्यक्रममा निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज प्रेमप्रसाद खनालले नयाँ बन्ने सरकारले संघीय निजामती ऐन ल्याउने विस्वास व्यक्त गर्दै कर्मचारीहरुले सेवा प्रवाहलाई अझै सहज र चुस्त बनाउनुपर्ने बताए ।
नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै १८ वर्ष उमेर पुगेका हरेक स्वस्थ व्यक्तिले ३-३ महिनामा रक्तदान गर्न सक्ने बताए ।
स्व.नमराज श्रेष्ठकी छोरी रिना श्रेष्ठले संगठनले हरेक वर्ष स्मृति दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरी स्मरण गर्दै आएकोमा धन्यवाद व्यक्त गरिन् ।
नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष कमल पराजुलीले अस्पतालहरुमा देखिएको रगतको अभावलाई केही हदसम्म भएपनि कम गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष कमल पराजुली, कर्मचारी मिलन केन्द्र रुपन्देहीका अध्यक्ष प्रेम पोखरेल लगाएतले बोलेका थिए ।
वि.सं २०६८ साल चैत ६ गते कार्यालयतर्फ जाँदै गरेको अवस्थामा नमराज श्रेष्ठ र दिलिप न्यौपाने सवार मोटरसाइकललाई बुटवलको मिलनचोकमा टिप्परले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो । संगठनका उपाध्यक्ष विष्णु खनाल पन्थीको स्वागत तथा सहसचिव प्रेम केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
संगठनले रहेक वर्ष नमराज–दिलिप स्मृति दिवसको अवसरमा चैत ६ गते रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । कर्मचारीहरुको हकहितका लागि काम गर्दै आएको संगठनले बिभिन्न सामाजिक र रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology