Logo

२०८३, श्रावण २७गते


images
images

विचार

तिहार : हिजो र आज

तिहार : हिजो र आज

images
  • तिहार : हिजो र आज
    images
    images

    नेपाल विविध धर्म, भाषा, जातजाति र संस्कृतिले भरिएको देश हो । यहाँका हरेक पर्व, चाड र संस्कारहरूले सामाजिक, धार्मिक र प्राकृतिक जीवनसँगको गहिरो सम्बन्ध प्रकट गर्छन् । तिनै मध्ये तिहार नेपालीहरूको दोस्रो ठूलो र  रङ्गीन पर्व हो । यसलाई दीपावली, यमपञ्चक वा उज्यालो पर्व पनि भन्ने गरिन्छ ।

    images
    images
    images

    तिहार केवल एउटा पर्व मात्र होइन यो प्रेम, सद्भाव , आत्मीयता र उज्यालोको प्रतीक हो । यसले रिस राग हटाएर सत्य, मित्रता र आत्मियताको बाटो देखाउँछ । प्रकृति, जनावर र मानिसबीचको सम्बन्धलाई  सुदृढ गर्ने माध्यमका रूपमा पनि तिहारको विशेष महत्व छ ।

    images
    images
    images

    तिहार आउँदैछ भन्ने कुरा प्रकृतिले नै पहिल्यै जनाइदिन्छ । जब घर आँगन अगाडि गुरधौली, मखमली, लालकोटी, सयपत्री, थुंगे हजारी जस्ता फूलहरू ढकमक्क फुल्न थाल्छन खेतका गराहरुमा धानका बालाहरू पहेंला भएर झुल्न थाल्छन् बारीका पाटाहरुमा कोदोका बालाहरू लहराउँदै हावामा खेल्न थाल्छन्, तब गाउँघरमा तिहारको  आएको आभास हुन थाल्छ ।

    images
    images
    images

    पहाडको कुरा गर्दा बारीका कान्लामा बाबियो खर लररर परेको हुन्छ जुन पछि गुन्द्री बुन्ने रसी बनाउन प्रयोग हु्न्छ । साथै तिहारकै मेसोमा बोडीका झाङहरुमा बोडीफल्न थाल्छन् । त्यस्तै बारीका पाटाहरूमा कर्कलो(पिँडालु) काटेर मसेउरा बनाउन तैयार  देखिन्छन् । आकासमा मालचरीका लाईनहरु बसाइ सर्न उडेका देखिन्छन् । यी सबै दृश्यले गाउँको हरेक कुनामा तिहार आएको महशुस गराउँछ ।

    त्यसै समयमा गाउँघरमा चिउरी पेल्ने चटारो सुरु हुन्छ । असारदेखि भदौसम्म खेतबारी वा जंगलमा पाकेका चिउरीका फल बिजुला  टिपिन्छ र सुकाएर राखिन्छ । यसरी सुकाएर राखिएका चिउरीका बिजुलालाई ढिकीमा कुटेर मसिनो बनाईन्छ जसलाई फुलो भनिन्छ । यसरी तयार पारेको फुलोलाई डालोमा राखी तातो पानीको बाफमा बफाइन्छ । यसरी बाफिएको चिउरीको फुलोलाई काठको कोलमा राखेर दुई तीन जनाले मिलेर घुमाउँदा तल घिउ झर्छ र माथि पिना रहन्छ । यसरी चिउरी पेलेर तयार गरेको घिउ दीयो बाल्न, रोटी पकाउन र अन्य घरायसी काममा प्रयोग गरिन्छ । यो चिउरी पेल्ने काम सामूहिक सहयोगमा गरिन्छ । दुई–चार घर मिलेर बिहानैदेखि साँझसम्म काम गरिन्छ । यसले गाउँमा मेलमिलाप,  र एकताको भावना जगाउँछ । जुन हाल लोप हुन लागेको छ ।

    तिहार केवल पूजा आराधना मात्र होइन, स्वाद र परिकारहरूको पर्व पनि हो । पहिले चामलको अभावमा मकैको रोटी तिहारको विशेष परिकार मानिन्थ्यो । मकैलाई पानीमा भिजाएर ढिकीमा कुटी ठेला बनाइन्थ्यो । त्यो ठेलालाई दुई–तीन दिन घाममा सुकाएर फेरि भिजाएर  ढिकिमै कुटेर  पिठो बनाईन्थ्यो । त्यसपछि त्यो पिठोलाई चिउरी वा भैंसीको घिउमा रोटी पकाईन्थ्यो । यसरी बनेको मकैको रोटी तिहारमा खानुको साथै लामो समयसम्म राख्दा समेत नबिग्रने हुन्थ्यो ।

    अहिले पुरानो घिउको दियो, मारुनी नाच र मकैको रोटी हराउँदै गएका छन् । यस्ता मौलिकपन हराउनु भनेको हाम्रो परम्परा र सँस्कृति हराउनु हो । लोप हुनु हो । त्यसैले यसलाई जोगाउनु हामी सबैको कर्तव्य हो ।

    तिहारको पहिलो दिन काग तिहार हो । कागलाई सन्देशवाहक र शुभसूचक मानिन्छ । काग तिहारको दिन बिहानै कागका लागि भात र विभिन्न  परिकार बनाएर कागलाई वरपर  राख्ने चलन अझै पनि यथावत छ ।

    तिहार दोस्रो दिन  कुकुर तिहार हो । कुकुरलाई निष्ठा र सुरक्षाको प्रतीको रुपमा  मानिन्छ । यसदिन कुकुरलाई पुजा गर्ने माला लगाउने र  अनुहारमा टीका लगाई मिठा मिठा परिकार खुबाउने गरिन्छ भने महिलाहरुले चिउरीको पातको टपरी बनाएर त्यसलाई सजाएर खोला ताल वा पोखरीमा गएर नरके फाल्ने चलन पनि छ ।

    तिहारको तेस्रो दिन गाई तिहार वा लक्ष्मी पूजा मनाइन्छ । गाईलाई हिन्दू धर्ममा माता र लक्ष्मीको प्रतीकका रूपमा मानिन्छ । यसदिन गाईलाई नुहाइ धुवाइ गरी माला लगाइ, नुन खुवाइ, दयो लगाएर पुजा गरिन्छ । बाबियो खरबाट बाटिएका  तोरणलाई बुकिफुल पिपलका पात अन्य फुलहरुले सजाएर पुजा गरेर बाँधिन्छ । पहिले पहिले गाई तिहारको दिन लगाइने तोरण कसको लामो हुने भन्ने रमाइलो प्रतिस्पर्धा चल्थ्यो । तोरणको बिचमा रोटी झुन्ड्याईन्छ जुन तोरण बाधेपछि केटाकेटीहरुले लठ्ठी ढुङ्गाले हानेर खसालेर खान्छन् । बिहानमा गाईको पुजा गरिन्छ भने साँझ पर्नासाथ घर घरमा चिउरीको घिउका दीप बाल्ने, घर, आँगन, देवालय र बाटोभरि झिलिमिली उज्यालो बनाउने गरिन्थ्यो । आजकल विद्धुतिय सामग्रीका झिलिमिलीले यो पुरानो प्रथालाई पछि पारेको पाइन्छ भने गरगहना र पैसाको पुजा गर्ने चलन पछिल्लो समयमा बढेको छ । पहिले पुराना ढ्याक पैसाको मात्र पुजा गरिन्थ्यो जुन पुजा गर्दा निकाल्ने र सुरक्षित राख्ने गरिन्थ्यो ।

    पहिले कपडाको टुक्रालाई चिउरीको घिउमा भिजाएर दीप बाल्ने चलन थियो । आजभोलि मैनबत्ती, बल्ब लगाएतले यसको स्थान लिएका छन् । यद्यपि आजभोलिका तिहारमा उज्यालो अझ चकमक हुनेगर्छ तर त्यो आत्मीय प्रकाश घटेजस्तो देखिन्छ ।

    लक्ष्मी पूजाको सन्देश  धनभन्दा पनि स्वच्छता, परिश्रम र सकारात्मक उर्जाको सम्मान गर्नु हो  । आजभोलि यस्तो रमाइलोपन घट्दै गएको छ। धेरै ठाउँमा गाईको सट्टा पैसाको पूजा गर्ने चलन बढेको छ । जसले संस्कृतिको भावनात्मक पक्षलाई ओझेलमा पारेको छ ।

    तिहारको चौथो दिन गोवर्धन पूजा गरिन्छ । जसमा गोरुको गोबरबाट सानो पर्वत बनाएर पूजा गर्ने परम्परा छ । यसले वातावरण, माटो र कृषिप्रतिको सम्मान झल्काउँछ भने धार्मिक रुपमा श्रीकृष्णले स्वर्गको राजा इन्द्रको घमण्ड तोड्न गोवर्धन पर्वत उचालेर आफ्ना प्रजाको रक्षा गरेको कथा पनि छ । यसै दिन नेवार समुदायले आफुले आफुलाई पुजागर्ने गर्छन् । जसलाई मह पुजा भनिन्छ । यसले आत्मशुद्धि, आत्मसम्मान र दीर्घायुको कामना गर्दछ ।

    तिहारको अन्तिम दिन हो - भाइटीका । दिदीबहिनीहरूले आफ्ना दाजु भाइहरूको दीर्घायु र सुख–समृद्धिको कामना गर्दै पाँच रङ्गका टीका लगाएर तिहार मनाउने गरिन्छ । दाजु भाइको वरिपरि तोरीको तेलले घेरा लगाउने, घरको सघारमा ओखर फोड्ने र फोडिएको ओखरका टुक्रा घरको धुरी कटाउने चलन अहिले पनि छ । अमिलो, वेवरा आदिमा पुजा गरेर चिउरीको पातको टपरीमा रोटी बनाएर जेमजितेको नामा चढाउने अनि सेतो, रातो, हरियो, पहेंलो, निलो टीका लगाउने चलन निकै अर्थपूर्ण छ । साथै घरमा तेल र रातो, सेतो, हरियो र पहेंलो रङको बसुधारा राख्ने चलन पनि छ । यसरी दाजु भाइको वरिपरि तोरीको तेलले घेरा लगाउने, दुवो, मखमली फुलको माला बनाएर दाजु भाईको पुजा गरेरर घरको सघारमा ओखर फोड्ने र फोडिएको ओखर लाई धुरी कटाएपछि दाजु भाईलाई टीका लगाईदिने र मखमली सयपत्री आदि फुलबाट बनेका माला लगाई दिने चलन छ । साथै तिहारको दिन दिदी बहिनीहरुले दाजुभाईलाई टोपी वा अन्य बस्त्र लगाई दिने र दाजुभाईले आफुले सकेको दक्षिणा दिने गरिन्छ । 

    आजभोलि विदेशमा रहेका नेपालीहरूले भिडियो कलमार्फत पनि टीका लगाउने चलन चलेको छ । जसले आधुनिक युगमा पनि परम्परा जीवित राखेको प्रमाण दिन्छ । पहिले तिहारमा गाउँ–गाउँमा मारुनी नाच नाचिन्थ्यो । यस नाचमा पुरुषहरूले महिलाको पोशाक लगाउँथे  जसलाई मारुनी भनिन्थ्यो । यसरी पुरुषको भुमिकामा नाच्नेलाई  पुर्सिङ्गे भनिन्थ्यो  र मादल बजाउनेलाई मादले भनिन्थ्यो । यो नाच मादलको ताल र गीतमा नाचिन्थ्यो । यो नाचको लागि महिलाको कपडा लगाउने र उतार्ने विशेष विधि अनुसार गरिन्छ । जसबाट गाउँभरि उत्सव, हाँसो र मिलनको भावना फैलिन्थ्यो ।

    तर आजभोलि यो मौलिक नाच प्रायः लोप हुने अवस्थामा पुगेको छ । अहिले देउसी भैलोको नाममा आधुनिक र छाडा प्रकृतिका गीतहरु गुञ्जीने गरेका छन् । जसले देउसी भैलोको परम्परालाई पैसा संकलनको उद्देश्यमा ढाल्दै गएको पाइन्छ ।हामीले बुझ्नुपर्ने कुरा यो हो कि संस्कृति मनोरञ्जनको विषय मात्र होइन त्यो हाम्रो पहिचान, इतिहास र अस्तित्वको संरक्षण पनि  हो ।

    तिहारको नकारात्मक पक्ष

    जुवा र खोरखोरे संस्कृति तिहारको सौन्दर्यसँगै यसको नकारात्मक पक्ष हो । यसको सबैभन्दा प्रमुख समस्या हो जुवा र खोरखोरे पासा अनि कौडा । पहिले रमाइलोका रूपमा सुरु गरिएको पासा, कौडा खेल अहिले समाजमा विकृतिको रुपमा मौलाएको छ ।

    विशेषगरी शहरी क्षेत्रहरुमा विद्यालयतहका केटाकेटीदेखि युवासम्म खोरखोरे खेलमा लिप्त रहेको देखिन्छ । चोक चोकमा  चल्ने यस्ता खोरखोरे खेलले पैसा गुमाउने तथा अनुशासन बिग्रिने जस्ता समस्याहरू बढ्दै गएका छन् । जसले एक आपसमा झगडा समेत निम्त्याउछ ।

    यो त बाहिर देखिने विषय भयो । अर्कोतर्फ तिहारको सुरुवातसँगै ठुलाठुला जुवा तासका खालहरु समेत चल्ने गरेका छन् । जुन गोप्य रुपमा खेल्ने गर्छन् । जहाँ लाखौ लाखको खेल हुने गर्छ । जसले कैयौंको जीवन वर्वाद पार्ने गर्दछ ।

    यदि राज्यले चाहने हो भने यो खेल नियन्त्रण गर्न सम्भव छ । तिहारको वास्तविक अर्थ उज्यालो हो । त्यसैले यस पर्वमा अन्धकार फैलाउने क्रियाकलाप रोक्नु समाज, परिवार र प्रशासन सबैको जिम्मेवारी हो ।

    समय परिवर्तनशील छ । आजको तिहारमा विद्युत् बत्तीसंगै सामाजिक सञ्जालको प्रयोग तथा पश्चिमा शैलीका गीतहरुमा गरिने नृत्य र आधुनिक परिकारहरू थपिएका छन् । अहिले पुरानो घिउको दियो, मारुनी नाच र मकैको रोटी हराउँदै गएका छन् । यस्ता मौलिकपन हराउनु भनेको हाम्रो परम्परा र सँस्कृति हराउनु हो । लोप हुनु हो । त्यसैले यसलाई जोगाउनु हामी सबैको कर्तव्य हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तिहार
  • # विचार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।