तिमीले भोगेका छौ? भोको पेटका ती पीरहरू
मलहम नभएर घाउ चहराउदा नभेटिएका नीरहरू ।।
छिनेको तुनो डोरीले बाधेर लगाउदै चप्पल
जाडोले काँप्दा नढाकिएको शरीरको विह्वल ।।
चुहिने छानो, भिज्ने ओछ्यान, निद्राहीन ति रात
आँसु नै आँसु उपहार बनेको अभावको सौगात ।।
सपना बेचेर जीवन धानेका ती दीन दु:खीका दिन
दुःखसँगै हाँस्न सिकाउने कठोर निमुखाका ति क्षण ।।
के थाहा यी दुख उनीहरूलाई, महलभित्र बस्नेहरू
सुनका डल्ला गन्ने, अनि वैभवमै हाँस्नेहरू ।।
चौरासी व्यञ्जनले भरिएका अगाडि तिनका थाल
भोकको मूल्य के हो? कहाँ बुझ्छन् र त्यो सवाल? ।।
जसले कहिल्यै देखेनन् नाङ्गो खुट्टा हिडेको बाटो।
नभोगे अभावको आँधी, नचिने पीडाको पाटो।।
उनीहरूका भाषणमा करुणाको गुञ्जन छ।
तर गरिबको घाउमा न पट्टि न मलहम छ।।
भोकले सिकाएको पाठ किताबले कहि लेख्दैन
अभावले कोरेको इतिहास समयले मेट्दैन ।।
पीडा नै धन हो हाम्रो, संघर्ष नै छ सधै साथ
पसिनाले देखाउछ उज्यालो एक दिन अँध्यारोबाट ।।
न धनीको महल रहन्छ, न वैभवको त्यो शान
मानवताको मापन हो सन्तुष्टिको मुस्कान ।।
जसले दु:खीको पुछ्छ आँसु ऊ नै साँचो धनी
बाँकी सब क्षणिक भ्रम हो—जीवनको कहानी ।।
- दुर्गालाल तिवारी, देवदह, रुपन्देही
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology