हे आमा, यसपालि फर्किनँ घर, मन रोइरहेछ है
बाबा सम्झी नरुनू मलाई, भाग्य लेखिएको यही ।
मन्दिरभरि जमरा होलान्, निधार खाली छ मेरो
परदेशी यो छोराको मनमा, गाउँको बासना छ खरो ।।
आमाको त्यो हातले निधारमा टीका लगाइदिँदा
बाबाको आशीर्वादले मनभित्र साहस जगाउँदा ।
साथीभाइको हाँसोसँगै गाउँभरि सँगै रमाउँदा
कस्तो रमाइलो हुन्थ्यो दसैँ हाम्रो मातृभूमिमा हुँदा ।।
लुठे पिङको हुर्हुर चचहुईँ र रोटे पिङको त्यो घुमाइ
दाजुभाइ दिदीबहिनी बस्थे रोधीघरमा रमाई ।
सरायँको त्यो बाजा बज्दा खुकुरी नाचको चमक
आउँछन् आँसु परदेशमा, कठै सम्झेर ती झलक ।।
ए बाबा, मेरो देश सुध्रेला कि नसुध्रेला खै
आमाको सपना पूरा हुने दिन आउला नआउला है ।
गाउँ रित्तियो, घर सुनसान, बुढेसकाल एक्लो
विदेशिएका सन्तानको फोटो हेर्दै, पीडा छ गहिरो ।।
छोराछोरी परदेशिए, चाडपर्व भए बिराना
कसले बुझ्छ आमाबाबाका मनभित्रका वेदना ।
रहरले कहाँ रोजेको हो र परदेशको त्यो बाटो
ऋणले थिच्दा बेच्नुपर्यो आफ्नै खेत र पाटो ।।
आफ्नै माटोमा पसिना बगाउने चाहना मेरो थियो
बाध्यताले पराई भूमिमा जीवन बिताउनु पर्यो ।
अब त जागौँ, देश बनाऔँ, तोडौँ बेथितिका जाला
श्रमको मूल्य, न्यायको दिन त्यही दिन उदाउला ।।
न जातको पर्खाल रहोस्, न अन्यायको शासन
न सोझाको आँसु बेचेर चलोस् कसैको आसन ।
युवाको हातमा काम होस्, किसानको मुहारमा हाँसो
आमाको आँखामा खुसी होस्, देशभरि उज्यालो ।।
मलाई धनको लोभ छैन, महल चाहिन्न आमा
तिम्रो काख र बाबाको साथ यही हो मेरो धामा ।
आफ्नै माटोमा श्रम गरूँ, पसिनाको फल खाऊँ
आउने पुस्ताले देश छोड्न नपर्ने बिहानी ल्याऊँ ।।
अर्को साल त फर्किएला नि, भाग्यले साथ दिए
बाबाको निधार चुमौँला, आमाका हात लिए ।
साथीभाइसँग पिङ खेलौँला, रोधीमा गीत गाऔँला
त्यही पारि डाँडाको बाटो हुँदै घरतिर फिरौँला ।।
हे आमा, मन नदुखाउनू, फर्कने आशा राख
बाबा मेरो नाम सम्झेर राख आशीर्वादको हात ।
दसैँ फेरि अर्को साल आउँछ, समय बगिरहन्छ,
माटोको माया बोकेको मन एकदिन घर फर्किन्छ ।।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology