गुरुको गौरव गगन जस्तै, गुणको गाथा गहिरो छ
ज्ञानको ज्योति जगाउने,जीवनभरको धरोहर छ ।।
गुरु बिना जिवन अँध्यारो, गुरु भए संसार उज्याला
श्रद्धाभावले शिर झुकाऔ गुरुचरणमा प्रेमको माला ।।
पहिलो गुरु बाबाआमा प्राण दिए संसार देखाए
काखमा राखी हात समाती धर्तीमाथि पाइला टेकाए ।।
लड्दै उठ्दा हौसला दिदै हाँस्न, बोल्न र बाँच्न सिकाए
माया, ममता,मर्यादा सिकाइ मानवताको बाटो देखाए ।।
क, ख, ग, घ अक्षर चिनाई गुरुले पढ्न सिकाइ दिनु भो
कलम समाई कर्मको बाटो, उज्यालोतिर डोर्याई दिनु भो ।।
सत्यलाई सधैं साथ दिदै निडर हुन सिकाउनुभयो
अन्यायको विरुद्ध न्यायको ज्योति बालेर हिड्न सिकाउनुभयो ।।
सदाचार ईमानदारीता संस्कारको शिक्षा दिनुभयो
साहस, सेवा, समर्पणको सच्चा सार बुझाइदिनुभयो ।।
श्रमको सम्मान नारीको आदार शान्तिको शिखर चढ्न सिकाई
जीवन भरि जनहित सोच्ने राष्ट्र सेवाको मन्त्र सुनाई ।।
हे गुरुजन तपाईको ऋण तिर्न कहाँ सकिन्छ र
जीवनभरि जति जे गरेनी गुरुऋण अझै अधुरै रहन्छ ।।
गुरुको आशीषले मात्रै हाम्रो सपनाले सार्थक रूप लिन्छ
ज्ञानको दीप निभ्न नदिई अगाडि बढ्ने सत् बाटो खुल्छ ।।
गुरु पूर्णिमाको शुभ अवसरमा प्रणाम छ मेरो बारम्बार
बाबाआमा, गुरुजन सबै, हाम्रा जीवनका हुनुहुन्छ आधार ।।
श्रद्धा, सेवा, सत्यको बाटो कहिल्यै नछोड्ने प्रण गरौँ
गुरुको गौरव गुञ्जिरहोस् यही कामना सबैले गरौँ ।।
(गुरु पूर्णिमाको पावन अवसरमा)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology