माटो हुन् जननी पिता सगर हुन् हो भाइ संसार यो
हाम्रो आदिम सभ्यता विविधता सम्पत्ति हुन् देशको ।
सक्छौँ माथ बली चढाउँन परे यो देशलाई बरू
माटोको इतिहास भुल्न सजिलै सक्छौँ र हामीहरू ?
छाती दुख्छ हिमालको यदि भने हाँस्ला तराइ कहाँ
झर्दा आँसु पहाडको नयनमा नेपाल बाँच्नका र यहाँ ?
गोडा गल्दछ एकको यदि भने थामौँ न जुट्दै अरू
माटोको इतिहास भुल्न सजिलै सक्छौँ र हामीहरू ?
कहिल्यै पाठ दिएन यो मुलुकले छुट्ने र फुट्ने भनी
ढिक्का एक बनी बस्यो युगयुगौँ आदर्श माटो बनी ।
बाल्दै दीप म प्रेमको मुलुकमा थप्नेछु जैल्यै चरू
माटोको इतिहास भुल्न सजिलै सक्छौँ र हामीहरू ?
बाँडे जात धर्ममा मुलुक यो बँच्दैन अस्तित्व क्यै
राखे लिङ्ग विभेदको नियम यो हट्छौँ पछाडि सधैं ।
यो माटो छ अखण्ड खण्ड नहुने जोडौँ न प्रतिज्ञा बरू
माटोको इतिहास भुल्न सजिलै सक्छौँ र हामीहरू ?
मेरा दाइ र भाइ आज नभुलौँ यो एकताको बल
फुट्दा भाइ गवार लुट्न रिपुले गर्नेछ लाखौँ छल ।
जोडौँ बुद्धि विवेकले अझ नयाँ होस्टे र हैशे बरू
माटोको इतिहास भुल्न सजिलै सक्छौँ र हामीहरू ?
- मनरुपा ज्ञवाली
काठमाडौ
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology