देशभित्र दसैं लाग्दा गाउँघर रंगिन हुन्छ । रातो टिका र पहेंला जमराले घर नै चम्किलो बनाउँछ । छोराछोरीका निधारमा आमाबाबु र मान्यजनको हातबाट टीका बस्छ । दसैंले ल्याउने यस्तो उत्साह र उमंग अर्काको देशमा कहाँ पाइन्छ र ? देशको राजनीतिक र आर्थिक-सामाजिक परिवेशका कारण सात समुन्द्रपारी पुगेका हजारौँ युवाले देशको दसैंको त्यो सुगन्ध र स्पर्शलाई मात्र सम्झनामा टाँसिरहेका छन् । विदेशका आलिसान भवन र चिल्ला सडकमा मात्रै नेपाली मन कहाँ खुसी हुन्छ र ? दसैंमा नेपाली मनले गाउँ नै सम्झिन्छ, आफ्नै आगनको धुलो सम्झिन्छ अनि तिहार भेट्न कुरिरहेका मखमली फूलका कलिला मुना सम्झिन्छ । सेतोमसीको समुद्रपारी स्तम्भको यो अंकमा हामी पहिलोपटक परदेशमा दसैं मनाउँदै गरेका नेपाली युवाको मनसंग जोडिने प्रयास गरेका छौं ।
भिडियोकलमा घरको दसैं हेर्छु : खेलराज कार्की, क्रोएसिया
'बस्नुस् है बा ! तपाई सधै बिमारी परिरहनुहुन्छ, आफ्नो ज्यानको ख्याल राख्नु है ! म गए ।' चलचित्र मुग्लानमा झैँ तीन महिनाअघि क्रोएसिया गएका खेलराज कार्कीले आफ्नो बुबालाई यसरी नै सम्जाएका थिए l उदयपुरका कार्कीको परदेशमा यो पहिलो दशैं हो । टिका लगाउन नपाएपनि दसैंको दिन उनलाई भिडियोकलमा घरको दसैं हेर्न मन छ । कम्पनीमा छुट्टीको लागि अनुरोध पनि गरेका छन् । तर अहिलेसम्म उनलाई छुट्टी मिलेको छैन । 'छुट्टीको निवेदन दिएको हुँ, खै अहिलेसम्म सुपरभाइजरले हुन्छ भनेको छैन । सायद ड्युटीमै भइन्छ होला ।' अमिलो मन बनाउंदै उनले सुनाए । छुट्टी पाए भने सहकर्मी दाइहरूकै हातबाट टीका लगाउँने र घरको दसैं भिडियो र फोटोमा हेर्ने उनको योजना छ ।
रुदै जाने त होला दसैं : पुनम ढुङ्गाना, माल्दिभ्स
नवलपरासीकी पुनम ढुङ्गाना ६ महिनाअघि माल्दिभ्स गएकी हुन् । दसैं नजिकै आउँदा उनी घरको यादमा डुबिरहेकी छन् । उनले दसैंमा छुट्टी नपाउने पक्का छ । 'दसैंको दिन फुल ड्युटीमा हुन्छु, खै के गर्ने ? रुँदै जाने त होला दसैं !' मलिनो स्वरमा उनले सुनाइन् । क्याफेमा काम गर्ने उनलाई अहिलेदेखि नै झिलिमिली र समृद्ध माल्दिभ्स नै खल्लो लागिरहेको छ ।
सम्झना आयो, दसैं आएन : प्रकाश भण्डारी, बेलायत
देवदहका प्रकाश भण्डारी बेलायत पुगेको नौ महिना भएछ । आफुले विदेश जाने सपना नदेखेपनि बाध्यताले विदेसिनु भएको बताउने भण्डारीले बेलायतमा पढाईसंगै काम पनि गरेका छन् ।
उनी भन्छन् - 'पहिले पहिले दसैं आउँदा मन फुरुङ्ग हुन्थ्यो, यो पाली देशबाट परदेश छिरियो, चाडबाड र त्यसको उमंग गाउँमै भुलेको आभास भएको छ । घटस्थापनाको नोटिफिकेशन बज्दै गर्दा यता काम गरिरहेको थिएँ । महसुस हुँदै थियो, गाउँमा आजबाट दशैँ लाग्यो । उ बेला अब दसैंमा नयाँ कपडा किन्न पाइन्छ भनेर मख्ख हुने म अब जिम्मेवारी सम्झिदै दसैं खर्च घर पठाउन मिहिनेत गरिरहेको छु । दसैं लागेसंगै दसैंका गीतका भिडियो देख्दा मन भने खल्लो महसुस हुने रहेछ । यो पाली दसैंको दिन टीका लगाउन बिदा त मागेको छु, तर पनि यहाँ बिदा लिनलाई नि धेरै दु:ख गर्नुपर्ने रहेछ। समय मिलाइ-मिलाइ अरुलाई पनि फकाएर आफ्नो त्यो सिफ्टमा काम गर्न बिन्ती बिसाउन पर्ने रहेछ । सायद यो सालको टीका केही हामी नेपाली दाजुभाई दिदीबहिनीहरूकै बीचमा लगाइने तयारी भैसकेको छ । नेपाली परिकार पकाउने, खाने, घर फोन गर्ने - त्यसरी नै दशैँ मनाउने तयारी गरिरहेको छु ।'
दसैं एउटै, माटो फरक : तुसार तुलाधर, युएई
काठमाडौं घर भएका तुसार तुलाधर दुबई पुगेको १० महिना भयो । उनी भन्छन्, 'पोहोर त चाडपर्व मनाएर आइयो, त्यस्तो केही महसुस भएन । तर अहिले परदेशमा मेरो पहिलो दसैं हो । माटो फरक, भूगोल फरक, तर दसैं त एकै हो नि । याद त आउँछ नि, आफ्नो गाउँघरको । तर के गर्नु हामी बाध्य छौँ । मिलेसम्म नेपाली दाजुभाई दिदीबहिनीहरूसँग दुबईमा कार्यक्रम गरी दशैं मनाउने हो । देशमा केही परिवर्तन भए हामी जस्तो युवा बाहिरिन पर्दैन थियो कि !'
परदेशको चमक पनि फिका लाग्दैछ : सम्झना बस्याल, अष्ट्रेलिया
देवदहकी सम्झना बस्याल अष्ट्रेलिया पुगेको तीन महिना भयो । उनी भन्छिन्, 'अझै यहाँको माहोलमा घुलमिल हुन सकेको छैन । दसैं नजिकिँदा घरको चहलपहल, मन्दिरको घण्टी, टिका–जमरा झन् मनमा बजिरहन्छन् । बाटोमा नेपाली पोसाकमा हिँड्ने परिवार देख्दा आफ्ना आमाबुबाको याद आउँछ । श्रीमान् साथमा हुनुहुन्छ, तर सासुससुरालाई एक्लै छोडेर आउँदा मन अझ नरमाइलो हुन्छ । परदेशको चमकमा पनि घरको माया कहिल्यै फिका हुँदैन भन्ने महसुस हुन्छ ।'
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology