रेशम अधिकारी, दुबई । नेपालीहरूको चाड दसैँ हर्षोल्लासका साथ घर आँगनमा छुट्टै रौनक लिएर आएको छ । विशेष गरी, दसैँ आम नेपालीहरूको लागि दुस्ख र पीडालाई भुल्न, परिवार र इस्टमित्रलाईसंगै राखेर खुशीको समय बिताउने अवसर पनि हो ।
शहरबाट गाउँ फर्कनेको लर्कोले दसैँको आभास दिन्छ । चिटिक्क पोतिएका घरहरू, नयाँ कपडा र मिठा खानेकुराले चाडको सुगन्ध ल्याउँछन् । लिङ्गेपिङको चचहुई र आकाशमा उड्ने रंगबिरंगी चङ्गाले दसैँको रौनकमा थप रङ भर्दछ । प्रविधिको विकाससँगै चाडपर्व मनाउने तरिकामा परिवर्तन आएको भएपनि दसैँ भने नेपालीहरूको लागि आपसी सद्भाव, मेलमिलाप र भाईचारा अभिव्यक्त गर्ने महत्वपूर्ण अवसर हो ।
दसैँको यहि सेरोफेरोमा समुन्द्रपारी विदेशी भूमिमा रहेका नेपालीहरुले यसलाई कसरी मनाउँदैछन्, भन्नेबारे उनीहरुका अनुभव समेट्ने प्रयास गरेका छौँ ।
हरेक दसैँमा रहरहरूले आत्महत्या गर्छन् : अमृत लम्साल (सोतन्त्र नेपाल), कतार
लामो समयदेखि कतारमा काम गरिरहेका देवदहका सोतन्त्र नेपाली चाडपर्वको मौलिकता हराउँदै गएकोमा चिन्तित छन् । उनी भन्छन् ‘हाम्रो परम्परा र चाडपर्वको मौलिकता क्रमशः हराउँदैछन् । रक्षाबन्धनलाई राखीले जित्यो । पहिलेपहिले कुशे औंशी, नागपञ्चमी जस्ता चाड पनि कति धुमधाम हुन्थे । अहिले नागपञ्चमीमा भुतपुर्व प्रेमिकालाई व्यङ्ग्य गर्दै शुभकामना दिने स्थितिमा हामी छौं । अचेल दसैँ पनि दसैँ जस्तो हुँदैन । पहिलेपहिले दसैँमा लाहुरबाट लाहुरेहरु फर्किन्थे । गाउँ घरनै उज्यालो हुन्थ्यो । घर आँगन चिटिक्क हुन्थे । खसी डोराउदै घरकै बाटो काकाहरु हिड्थे । खसीको पुच्छर बटार्दै भुराहरु पछिपछि लाग्थे । हप्तादिन अगाडिदेखि नै पिङ्ग हुँइकिन थाल्थे । अचेलका दसैँमा त्यस्तो हुन छाड्यो । बियर, ह्वीस्की, वाइन र भोड्काहरु बिक्छन् । मान्छे तासका खालहरुमा रमाउँछन् । लाहुरेहरु पनि अचेल दसैँकै लागि भनेर घर फर्किन्नन्, किनकी टिकट महङ्गो हुन्छ । साँच्चिकै हाम्रा चाडपर्वहरुको अस्तित्व, महत्व र मौलिकता हराउँदै छ कि जस्तो लाग्छ ।'
जे होस, देश फर्किने रहर परदेसिएका जो कसैलाई पनि हुन्छ । उनलाई पनि त्यो रहर छ तर देशको माहोल देखेर आफुले घर फर्किने हिम्मत गर्न नसकेको उनी बताउँछन् । उनी भन्छन्, ‘जब दसैँ र तिहारको रौनकताले सामाजिक सञ्जाल रङ्गिन्छन् । टीकाजमरा, मंगल धुन र तिहारको झिलिमिली अनि देउसी, भैलो सुरु हुन्छ, यो सबै देख्दा पासपोर्ट टिपेर एयरपोर्ट जाउँ जस्तै हुन्छ । तर अगाडि आइपर्छ जिम्मेवारी र देशको वर्तमान अवस्था । त्यसपछि रहरहरुले आत्महत्या गर्दा रहेछन् । प्रत्येक बर्ष दसैँको बेला यस्तै हुन्छ ।’
जाँदाजाँदै उनले कविता पनि छाडेका छन् ।
‘देशको दसैँ’
कहिले रोकिने हो ?
भञ्ज्याङ्,
चौतारी
अनि देउरालीले
डाको छोडेर रुँदै बाटो छेक्दापनी
नदेखे जस्तै गरी,
नसुने जस्तै गरी
मुग्लान पस्ने शिलशिला ?
कहिले निषेधित गरिने हो ?
पसिना
र,
खुन बगाउन
मुग्लान लैजान आउने जहाजहरुलाई
अन्तराष्ट्रिय विमानस्थलमा ?
कहिले अन्त्य हुने हो ?
सपना र रहरहरुलाई
रियाल र दिरामका लागि
बली दिने प्रथा ?
कहिलेसम्म अनुत्तरित हुने हो ?
तातेताते गर्दै बल्ल भुइ छुन खोजेका लालाबालाको
बाबा कहिले आउनुहुन्छ ?
भन्ने प्रश्न ?
कहिलेसम्म नाफामा जाने हुन् ?
रातो बाकस बनाउने कम्पनीहरु ?
कहिलसम्म लगाउन पर्ने हो ?
दैलो माथिको तस्बिरले रातो टीका
र,
कहिलेसम्म बोटमै ओइलाउनु पर्ने हो
सयपत्री फूलहरु ?
ए सरकार ! रेमिटान्स पायौ, पाएनौ
पछि बताउनु
तर,
अहिले यत्ती बताइदेउ,
मेरो देशले दसैँ कहिले मनाउँछ ?
दसैँको दिन पनि ड्युटी छ : विद्या सुनार, युएई
युएईको अबुधाबीमा बारिष्टाको रूपमा काम गरिरहेकी रुपन्देही देवदहकी विद्या सुनारलाई दसैँको बेला जमराको खुबै याद आउँछ । उनलाई विशेषगरी दसैँ भन्नासाथ् नयाँ लुगा किन्ने रमाइलो, मङ्गल धुन बजेको र घरको खुसीको माहोल सम्झना आउँछ ।
देशमा रहँदा हरेक वर्ष आफ्नो घरमा जमरा राखिरहेकी विद्याले अहिले खाडी मुलुक युएईमा आफु बस्ने सानो रूममा जमरा राखेकी छन् । उनी भन्छिन्, ‘यो पृथ्वी उही हो । यो घाम, यो हावापानी सबै उस्तै त हो । तर, देशमा जमरा राखेको माटोमा पानी राख्दा माटोको जुन सुगन्ध आउँछ, त्यो यहाँ आउँदैन । किनकी यो मेरो देश होइन । यहाँको माटोले मलाई चिन्दैन । खाडीको यो निर्जिव बालुवामा जीवन छैन । सुगन्ध छैन, किनकी यो मसंग मुस्कुराउँदैन ।’
देशमा रहँदा हरेक वर्ष आफ्नो घरमा जमरा राखिरहेकी विद्याले अहिले खाडी मुलुक युएईमा आफु बस्ने सानो रूममा जमरा राखेकी छन् । उनी भन्छिन्, ‘यो पृथ्वी उही हो । यो घाम, यो हावापानी सबै उस्तै त हो । तर, देशमा जमरा राखेको माटोमा पानी राख्दा माटोको जुन सुगन्ध आउँछ, त्यो यहाँ आउँदैन । किनकी यो मेरो देश होइन । यहाँको माटोले मलाई चिन्दैन । खाडीको यो निर्जिव बालुवामा जीवन छैन । सुगन्ध छैन, किनकी यो मसंग मुस्कुराउँदैन ।’
यस वर्ष दशैं टिकाको दिन पनि विद्याको ड्युटी छ । बिदा मागेपनि कम्पनीले छुट्टी दिएन । तर आफ्नो संस्कृतिले प्रेमको अँगालोमा बाधेका नेपाली यसै हार खाँदैनन् । विद्या ड्युटी सकेपछि दुबईमा रहेका आफन्तकोमा टीका लगाउन जाँदैछन् ।
तीन वर्षदेखि भिडियोकल मार्फत टीका र आशिर्वाद थापिरहेको छु : दिपराज तिरुवा, दुबई
भारत दार्जिलिङका दिपराज तिरुवा दुबई आएको तीन वर्ष भयो । यसक्रममा उनले तीनवटा दसैँ र तिहार पनि परदेशमै बिताएका छन् । परिवार र मातृभूमिबाट टाढा भए पनि उनी आफ्ना पर्वहरू भर्चुअल रूपमा मनाउँछन् । परिवारसँग भिडियो कलमार्फत टीका थाप्ने र आशीर्वाद लिने गर्छन् । विदेशी भूमिमा एक्लै हुनुपरेका सबै पिडा लुकाएर उनी साथीभाइहरूसँग जमघट गरी रमाइलो गतिविधिहरूमा सहभागी भएर पर्वको रौनक बाँड्छन् ।
चाडपर्वको समयमा दिपराज तिरुवालाई आफ्नो घरपरिवार, दार्जिलिङको मौलिक वातावरण, र बाल्यकालका रमाइला क्षणहरू विशेष रूपमा याद आउँछन् । उनलाई दशैंको बेला आमाबाबाले लगाइदिने टीका र आशीर्वाद, घरमा जमरा राख्ने र आफन्तसँगको भेटघाटको सम्झनाले निकै भावुक बनाउँछ । तिहारमा देउसीभैलो खेलेको, दियो बत्तीले झिलिमिली बनाएको घर र दाजुभाइसँगको रमाइलो क्षण उनको मनमा सधैं ताजा रहन्छ ।
दसैँ तिहारमा नेपाल झिलिमिली हुन्छ, जापान अन्धकार लाग्छ : सुस्मिता न्यौपाने, जापान
रुपन्देही देवदहकी सुस्मिता न्यौपाने अध्ययनको क्रममा जापान आएको दुई वर्ष बढी भयो । उनी जापानमा अध्ययनसंगै काम पनि गर्छिन् । जापानमा के छैन, सबथोक छ । जापान विश्वको सबैभन्दा समृद्ध देश हो । यहाँको संस्कृति र सभ्यता उच्चकोटीको छ । तर मान्छेलाई आफ्नै संस्कृति मन पर्छ । जुन कुरा सुस्मितामा पनि लागु हुन्छ ।
सुस्मितालाई सँधै झिलिमिली लाग्ने दिन र रात एकै हुने जापान पनि दसैँतिहारको बेला अँध्यारो लाग्छ । मन खिन्न हुन्छ । बेचैनी बढ्छ । सोंचेको सबैथोक पाएर पनि यी पर्वहरूमा परिवारसंग संगै हुन नपाउँदा सबैथोक गुमाएको महसुस उनलाई हुन्छ ।
जापानमा यो उनको दोस्रो दसैँ हो । उनले पहिलो दसैँतिहार कसरी गयो पत्तो पाइनन् । तर उनी यो पटक भने समय मिलाएर साथी भाइसंग रमाइलो गर्ने तयारी गर्दैछन् । ‘गाउँमा हुँदा दशैमा रातो माटो र कमेरोले घर लिपेको खुब याद आउँछ । तिनै याद संगालेर दशैंको खुसीलाई अंगाल्नु बाहेक के नै गर्न सकियो र !’ सेतोमसीसंग उनले भनिन् ।
नेपालीहरू एक ठाउँमा भेला भएर टीका लगाउँछौं : युवराज पौडेल, अष्ट्रेलिया
अष्ट्रेलियाको मेल्बर्नमा अध्ययन र कामलाई सँगसँगै अगाडि बढाइरहेका नवलपरासी सुनवलका युबराज पौडेलले देश छोडेपनि आफ्नो जन्मभूमिको प्रेम विर्सेका छैनन् । नेपाली संस्कृति र चाडपर्व अझै पनि उनलाई निकै प्रिय लाग्छन् । दसैँ जस्तो ठूलो चाड उनले मेल्बर्नमै भए पनि आफ्नो परिवार र संस्कृतिलाई नजिक राख्दै मनाउने गर्छन् । दशैंको दिन उनी आफ्ना साथीभाइहरूसँग टीका लगाएर आशीर्वाद आदानप्रदान गर्छन् । ‘यहाँ हामी नेपालीहरू एक ठाउँमा भेला भएर टीका लगाउँछौं । खसीको मासु पकाउँछौं । गीतहरू गउने बजाउने गरेर रमाइलो गर्छौ ।’ उनी भन्छन् । त्यसो गरेता पनि घरको दसैंँ जस्तो रमाइलो यहा हुँदैन । आमाको हातबाट टीका लगाउँदा जुन आत्मीयता आउँछ, त्यो भर्चुअल टीकामा पाउन सकिँदैन । यहाँ रमाइलो त हुन्छ, तर त्यो नेपालमा जस्तो हुन्न ।’
बेलायतमा खल्लो दसैँं : राजु पाण्डे, बेलायत
राजु पाण्डे केही वर्षदेखि बेलायतमा बस्दै आएका छन् । नेपालमा हुँदा दसैँको रौनक बेग्लै हुन्थ्यो । परिवारसँगको समय, गाउँघरको रमाइलो र संस्कृतिप्रतिको अपनत्व, तर यस पटकको दसैँ भने उनका लागि फरक छ ।
राजु भन्छन्, ‘दसैँ त मनाइन्छ तर परिवारबाट टाढा हुँदा त्यो उल्लास खल्लो महसुस हुन्छ ।’ बेलायतमा रहेका दिदीभिनाजु र भाइबुहारीसँग दसैँ मनाउने तयारी गरेका उनले नेपालमा हुँदा जस्तो माहोल पाउन मुस्किल भएको बताए ।
नेपालमा दसैँ भनेको बिदा र रमाइलो समय थियो तर बेलायतमा कामलाई प्राथमिकतामा राख्नुपर्छ । त्यसैले चाडपर्वको मज्जा त्यति लिन नसकिने उनको अनुभव छ । यद्यपि, देशबाट टाढा भएपनि परम्परालाई जगेर्ना गर्न विदेसिएकाहरुले आ–आफ्नै तरिकाले दशैं मनाउने प्रयास गरिरहेका छन् । भविष्यको खोजीमा देश छोडेर सात समुद्रपारी पुगेका झन्डै ७० लाख नेपालीका साझा कथाव्यथा यस्तै हुन्छन् ।
देशका शासकहरु जिम्मेवार नबन्दा र राज्यका सबै अंगहरू राजनीति र भ्रष्टाचारका अखडा बनिरहदा आज हरेक नेपालीले आफ्ना रहर मार्नुपरेको छ । कैयौं नेपाली युवाले विदेशी भूमिमा ज्यान गुमाउनु परेको छ । देश युवा निर्यात गरेर रेमिटान्स भित्र्याउने कम्पनी जस्तो बनेको छ ।
फेरिपनि अभाव र कठिनाइकै बिचबाट उठ्नुको विकल्प छैन । यो देशलाई बृद्धाश्रम र केही राजनीतिक दलका कार्यकर्ताको परेडस्थल बन्नबाट रोक्न यिनै युवाहरू उठ्नुपर्छ । बिदेसिएका युवाहरूले बिदेशमा सिकेको ज्ञान, देखेको प्रविधि र कमाएको पुँजीसहित देश फर्किएर उद्यम गर्ने वातावरण बन्ने दिन यो देश फेरि तन्नेरी हुनेछ । हामी युवा होइन, हाम्रा उत्पादन निर्यात गर्नेछौं । जहाँ जस्तो अवस्थामा भएपनि नेपाल र नेपालीपन नभुल्नु ।
दसैै लगायत नजिकिएका सम्पूर्ण पर्वहरुको एकमुष्ट शुभकामना ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology