देवदह । देवदहका युवाहरूले एक असहाय महिलालाई दसैंको उपहार स्वरूप घर हस्तान्तरण गरेका छन् । युवाहरुले देवदह नगरपालिका–७ निवासी आर्थिक रुपमा विपन्न एक महिलाको भत्किएको घर निर्माण गरेर मंगलवार हस्तान्तरण गरेका हुन् ।
सात वर्षअघि श्रीमानको निधनपछि दुई छोरीसहित असहाय बनेकी ती महिला अहिले पनि दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकी छन् । उनका दुई छोरीहरू विद्यालय तहमा अध्ययन गरीरहेका छन् ।
सरकारको फुसको छानो विस्थापन कार्यक्रमअन्तर्गत २०७८ सालमा जस्ता पाता हालिएको भए पनि घरको बाँकी काम अधुरो अवस्थामा नै थियो ।
स्थानीय युवाहरू चन्द्रकान्त खराल (ध्रुव), अर्जुन गैरे, सुरेन्द्र गुरुङ लगायतले स्थानीयस्तरमा चन्दा संकलन गरेर घर निर्माण गरेका हुन् । घर निर्माण गर्न एक लाख ६८ हजार ६०० रुपैयाँ संकलन भएको र अझै १५ हजार अपुग भएको खराल ले बताए ।
घर निर्माण अभियानमा एक हजारदेखि सर्वाधिक २५ हजारसम्म सहयोग संकलन भएको छ । जसमा स्थानीय निर्माण कम्पनी, व्यवसायी, मिडिया (सेतोमसी डटकम) देखि निजि विद्यालय र सर्वसाधारणसम्मले योगदान गरेका छन् ।
यसअघि पनि युवाहरु देवदह–७ मदनग्राममा जेष्ठ नागरिक लिलावति क्षेत्रीको घर पुनर्निर्माण गरेर गतवर्षको दशैंमा हस्तान्तरण गरेका थिए ।
हालसम्म तीन वटा घर निर्माण गरिसकिएको युवाहरुले जनाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology