नेपाललाई मन्दिरै मन्दिरको देश भने जस्तै यहाँ चाडपर्वहरु पनि धेरै छन् । त्यसैले नेपाललाई चाडपर्वको देश पनि भन्न मिल्छ । वर्षभरि विभिन्न चाडपर्व, मेला, उत्सव र अनुष्ठानहरूले नेपाली जीवनलाई रङ्गीन बनाइरहेका हुन्छन् तर यी सबैमध्ये महत्वपूर्ण र लामो समयसम्म मनाइने पर्व हो - दसैँ ।
दसैँलाई धार्मिक दृष्टिले हेर्दा देवी दुर्गाले असुर शक्तिमाथि गरेको विजयउत्सवको स्मरणका रुपमा लिने गरिन्छ । सामाजिक दृष्टिले हेर्दा यो पारिवारिक मेलमिलाप, आफन्तसँगको भेटघाट सांस्कृतिक सम्पर्क र सामाजिक सहकार्यको महोत्सव हो । पितृ तर्पण (सोह्रश्राद्ध) सकिएसँगै दसैँको सुरुवात हुन्छ भने कोजाग्रत पूणिमामा देवीको पूजा गरेर यसको विधिवत विसर्जन गरिन्छ । यसबीचमा नौ दिनसम्म देवीका विभिन्न स्वरुपको आरधना गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको रुपमा देवीको आधारना गरिन्छ ।
दसैँको अवसरमा सातौं दिनमा फुलपाती, आठौं दिनमा कालारात्रीको रुपमा बोकाको बलि दिने गरिन्छ भने कतिपय दुर्गा मन्दिर र कोटहरुमा कसैले कुभिण्डोको बलि दिने चलन पनि रहेको छ । कुभिण्डो नपाएमा घिरौलाको पनि बलि दिने चलन छ । नवौ दिनमा कोटहरुमा बलि दिईन्छ भने दसौं दिनमा देवीको प्रसादको रुपमा घटस्थापनाको दिन रोपेको जमरा र रातो, सेतो आफ्नो चलन अनुसार टीका जमरा र आशिष ग्रहण गर्ने परम्परा छ ।
नेपाली परम्परा अनुसार जब नवदुर्गा सुरु हुन्छ, तब गाउँघरमा पिङ् राख्न सुरु हुन्थ्यो । लिङ्गे पिङ, रोटे पिङ, राईचुई जस्ता खेल्ने पिङहरु राखिन्थ्यो, खेलिन्थ्यो । कोटहरुमा बाजागाजाका साथ मालश्री धुन बजाइन्थ्यो, जसले दसैँ आएको संकेत गर्थ्यो । आजकल मालश्री धुन कम बज्न थालेका छन् भने पिङहरुको प्रचलन पनि हराउदै गएका छन् ।
आजको समयमा दसैँ केवल नेपालभित्रका नेपाली मात्र नभई विदेशमा रहेका नेपालीहरूको लागि पनि विशेष महत्वको पर्व बनेको छ । विदेशमा रहेका नेपालीहरू सकेसम्म दसैँ मनाउन घर फर्किन्छन्, जसले गर्दा यो पर्वलाई अझै महत्वपूर्ण बनाएको छ ।
आजको समयमा दसैँ केवल नेपालभित्रका नेपाली मात्र नभई विदेशमा रहेका नेपालीहरूको लागि पनि विशेष महत्वको पर्व बनेको छ । विदेशमा रहेका नेपालीहरू सकेसम्म दसैँ मनाउन घर फर्किन्छन्, जसले गर्दा यो पर्वलाई अझै महत्वपूर्ण बनाएको छ ।
दसैंको धार्मिक मूल आधार देवी दुर्गा हुन् । हिन्दू धर्मशास्त्र अनुसार, महिषासुर नामक शक्तिशाली राक्षसले देवता र मानव दुवैलाई त्रसित पारेका बेला, ब्रह्मा, विष्णु र महादेवले संयुक्त रूपमा शक्तिको सृष्टि गरे । त्यसको स्वरुप देवी दुर्गा थिइन् । दुर्गाले महिषासुरलाई पराजित गरी धर्म, सत्य र न्यायको रक्षा गरिन् । त्यसैले यो पर्वलाई विजयादशमी भनिन्छ । जसको अर्थ हो - विजय प्राप्त भएको दशमी । यसरी धार्मिक दृष्टिले दसैँलाई असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको, अन्यायमाथि न्यायको विजयको उत्सवका रूपमा व्याख्या गर्न सकिन्छ ।
नेपालको समाज परम्परादेखि नै कृषि प्रधान छ । असोज–कार्तिकको समय खेतीपातीका हिसाबले विशेष हुन्छ । चैत्र-बैशाखमा छरेको मकै भित्राउने काम सकिएको हुन्छ । धान–कोदोमा झारपात निकाल्ने काम पनि भर्खरै समाप्त भएको हुन्छ । यसरी प्रमुख कृषि कार्य सम्पन्न भएर गाउँ–घरमा केही फुर्सद हुने बेला नै दसैँ आउने गर्दछ । त्यसैले मानिसहरूलाई यो उत्सवमा रमाउन, घर आँगन सरसफाइ गर्न, आफन्तसँग भेटघाट गर्न सहज हुन्छ ।
दसैं सैं सुरु हुनु अघि सोह्रश्राद्ध पर्छ । यस अवधिमा आफ्ना पितृहरूको स्मरण गरी श्राद्ध गरेर अन्न, फलफूल, दूध, दही अर्पण गरिन्छ । श्राद्धमार्फत पुर्खालाई सम्झनु, कृतज्ञता प्रकट गर्नु र आशीर्वाद माग्नु मुख्य उद्देश्य हो । पितृ तृप्त भएनन् भने देवता पनि प्रसन्न हुँदैनन् भन्ने मान्यता छ । त्यसैले सोह्रश्राद्ध पूरा भएपछि मात्र घटस्थापना गरिन्छ ।
दसैँको पहिलो दिन घटस्थापना हो । यस दिन घरमा वा मठमन्दिरमा देवी दुर्गाको आह्वान गरी जमरा राखिन्छ । जमरा पहेंलो भएर उम्रनु समृद्धि र विजयको प्रतीक मानिन्छ । कतिपयले प्रतिपदामा जमरा भिजाएर, दितियामा चन्द्रमा हेरेर राख्ने परम्परा पनि छ । जमरा केवल प्रसाद मात्र नभई विश्वास र आस्थाको प्रतीक हो । दशमीमा टीका लगाउँदा कानमा जमरा लगाइन्छ, जसले सुख शान्तीको कामना प्रकट गर्छ ।
दसैँ आउनासाथ गाउँ–घरमा चहलपहल सुरु हुन्छ । गाउँका बाटाहरु सफा गर्न नगरा बाजा बजाउदै बाटाहरु सफा गरिन्छ । चारै तिर बाजाको आवाजले गाउटोल रमाइलो हुन्छ । बाटो घाटो सरसफाइ को साथसाथै आ आफ्ना घरलाई पनि चिटिक्क पार्न विगतमा कमेरो (सेतो माटो) र गेरु (रातो माटो) आफै खनेर ल्याउने चलन थियो । कोमेरो र रातो माटो ल्याउन नसक्नेहरुले अन्नले माटो साटेर घर लिपपोत गर्ने गर्दथे । अहिले काठमा रङ्ग लगाउन बनिबनाउ रङ्ग इनामेल प्रयोग भए पनि पहिले रुखको बोक्रा काटेर ठूलो भाँडामा पकाएर कालो रङ बनाएर काठमा लगाउने प्रचलन थियो ।
दसैँ केवल धार्मिक अनुष्ठान मात्र होइन, यो नेपाली जीवन, संस्कृति र सामाजिक सम्बन्धहरूको प्रतिबिम्ब हो । दसैँले पुर्खाप्रतिको कृतज्ञता, देवीप्रतिको श्रद्धा, परिवारको एकता र समाजको सहकार्यलाई जोड्छ ।
यसरी दसैँले केवल धार्मिक मात्र नभई सरसफाइ, सजावट र घरव्यवस्थापनलाई पनि जोड्ने गर्छ । दुर्गा पूजा हुने कोतघरमा बस्ने पुजारीलाई खानको लागि गाउँ घरबाट दूध दही साथै तरकारी जम्मा गरेर पठाउने प्रचलन अहिले पनि कतिपय ठाउँमा कायम छ जसलाई ओलक भनिन्छ । यसले सामूहिक सहकार्य र दायित्व बाँड्ने संस्कारलाई बलियो बनाउँछ । दसैंको सातौं दिनलाई फुलपाती भनिन्छ । यस दिन निश्चित ठाउँबाट अमला, असोका, उखु लगाएतका पात र फुलहरु जम्मा गरी शुभ साईत हेरेर देवीको मन्दिरमा फुलपाती भित्राइन्छ । विगतमा फुलपाती भित्राएपछि ढिकी जाँतो नचलाउने चलन थियो, जसले त्यो दिनलाई पूर्ण रूपमा पूजाआजा र उत्सवमा समर्पित बनाउँथ्यो ।
दसैँको अष्टमीलाई कालरात्रि पूजा भनिन्छ । यो दिन देवी महाकालीको पूजा आराधना हुन्छ । कालारात्रीको दिन बलि दिँदा चन्द्रमा आधा डाँडापारी र आधा डाँडावारी भएको समय हेरिन्छ । यो चलन अत्यन्तै पुरानो र रहस्यमय मानिन्छ ।
महानवमी दसैकै महत्वपूर्ण दिन हो । यस दिन शक्ति पिठहरुमा बोका, राँगा, परेवा, कुखुराको बलि दिइन्छ । कसैले त्यस दिन पञ्चवली भाकल गरेका हुन्छन् । उनीहरुले बलि दिनको लागि ५ चिजहरु लैजान्छन् । बोका वा भेडा राँगो, परेवा, कुखुरा, कुविण्डो र मसुरी कटुसको लिङ्गो उचालेर पञ्चे बाजा बजाउँदै आफ्नो भाकल पुजाको लागि जान्छन् । यसरी बलि दिइएको मासुलाई प्रसाद मानिन्छ ।
दसैँ पारिवारिक सम्बन्धलाई मजबुत बनाउने पर्व पनि हो । दसैँमा नवविवाहित केटा पक्षले दुलहीको घरमा केरा–कुराउनी पाहुर लैजाने चलन छ भने कसैले बोका पनि लैजाने परम्परा छ । यो चलनले नयाँ नातालाई अझ बलियो बनाउँछ ।
विजया दशमी दसैँको मुख्य दिन हो । विजया दशमी।बिहान शुभसाइतमा देवीलाई टीका जमरा चढाइन्छ।त्यसपछि मान्यजनको हातबाट टीका ग्रहण गरी आशिष लिने परम्परा रहन्छ । पहिले सबैले सेतो टीका लगाउने चलन थियो भने अहिले रातो वा सेतो दुवै प्रयोग हुन्छ । आजभोलि आशिष भन्दा दक्षिणालाई बढी महत्व दिने प्रवृत्ति देखिन थालेको गुनासो पनि छ । विजया दशमीपछि एकादशीदेखि पूर्णिमासम्म ठाउँ अनुसार सराय नाच नाचिन्छ । सराए नाचमा युवादेखि वृद्धसम्म हातमा खुकुरी, तरवार, लाठी बोकेर बाजाको तालमा नाच्छन् । यो नृत्य साहस, वीरता र सामूहिक उत्साहको प्रतीक हो ।
दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा हो । यस दिन देवीको पूजा गरिन्छ र नवमीका दिन कुनै कारणवस बाँकि रहेका बलिलाई यो दिनमा दिने चलन पनि छ । यसरी सोह्रश्राद्ध सकिनासाथ सुरु भएको दसैँ कोजाग्रत पूर्णिमामा पुगेर सम्पन्न हुन्छ ।
आजको समयमा लाखौँ नेपाली श्रम, अध्ययन वा बसाइँसराइका कारण विदेशमा छन् । तर पनि दसैँले उनीहरूलाई आफ्नो माटो, घर परिवार र संस्कृतिसँग जोडिरहेको छ । विदेशमा रहेका नेपालीहरूले सकेसम्म दसैँ मनाउन विदा मिलाएर घर फर्कने गर्छन् । जसले गर्दा दसैँलाई घर फर्कने चाड पनि भनिन्छ । विदेशबाट घर आउन नसक्नेहरूले फोन, भिडियो कल वा सामाजिक सञ्जालमार्फत टिका आशीर्वाद ग्रहण गर्ने प्रचलन बढ्दो छ । कतिपय देशमा बस्ने नेपालीहरूले सामूहिक रूपमा विदेशमै दुर्गा पूजा र टीका कार्यक्रम आयोजना गर्ने गरेको पनि पाइन्छ । यसरी दसैँले केवल भौगोलिक सिमाभित्र मात्र नभई संसारभर छरिएका नेपालीहरूलाई पनि एक सूत्रमा बाँध्ने काम गरिरहेको छ ।
समयसँगै दसैंको स्वरूपमा पनि परिवर्तन आएको छ । घर लिपपोत गर्ने माटोगेरुको सट्टा इनामेल, रङ्ग, चुना र टायल प्रयोग हुन थालेका छन् । बलिप्रथा घट्दै गएको छ । बलिको सट्टा नरिवल वा फलफूल कुभिण्डो चढाउने चलन बढ्दै गएको छ । पूजापाठ भन्दा भोज भतेर र दक्षिणामा बढी ध्यान दिइन थालेको छ । विदेश गएका कारण परिवारका सबै सदस्य एकैसाथ नहुने समस्या पनि बढ्दै गएको छ । तर पनि दसैँ अझै पनि नेपालीहरूको साझा उत्सवकै रूपमा रहिआएको छ ।
अन्त्यमा, दसैँ केवल धार्मिक अनुष्ठान मात्र होइन, यो नेपाली जीवन, संस्कृति र सामाजिक सम्बन्धहरूको प्रतिबिम्ब हो । दसैँले पुर्खाप्रतिको कृतज्ञता, देवीप्रतिको श्रद्धा, परिवारको एकता र समाजको सहकार्यलाई जोड्छ ।
कृषि उत्पादनसँग मेल खाँदै आएको यस पर्वले प्रकृतिसँगको सम्बन्धलाई बलियो बनाउँछ । विदेशमा रहेका नेपालीलाई पनि आफ्नै माटो, भाषा र संस्कृतिसँग बाँध्ने शक्ति यही पर्वले प्रदान गर्दछ । समयले स्वरूप बदल्दै लगे पनि दसैँको आत्मा उही छ । सत्यको विजय, परिवारको मेलमिलाप, समाजको सहकार्य र समृद्धिको कामना गर्ने दसैँलाई केवल वडादसैँको रुपमा मात्र नभई, नेपाली जीवनको सांस्कृतिक आधारस्तम्भ मान्न सकिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology