देवदह । निरन्तर महिला बचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार सम्पन्न साधारणसभाले अध्यक्ष शर्मिला पन्त, कोषाध्यक्ष दुर्गादेवी शर्मा र लेखा सुपरिवेक्षण समिति संयोजक राधिका कुमारी अर्यालको प्रतिवेदन सर्वसम्मत पारित गरेको जनाइएको छ ।
साधारणसभाले विगतका कार्यक्रमलाई निरन्तरता दिँदै शेयर सदस्य लक्षित कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको संस्थाकी व्यवस्थापक गीता बस्नेतले जानकारी दिइन् ।
साधारणसभामा संस्थाका पूर्व पदाधिकारी तथा सल्लाहकारहरूले सहकारीलाई सदस्यकेन्द्रित बनाउँदै लगानी र संस्थाको आर्थिक गतिविधिबारे शेयर सदस्यलाई जानकारी गराउनुपर्नेमा जोड दिएका थिए । संस्थाकी सल्लाहकार तथा देवदह–६ की जनप्रतिनिधि रुपाकुमारी ढुंगानाले सहकारीको गतिविधिलाई थप प्रभावकारी बनाउनुपर्ने बताइन् ।
पूर्व उपाध्यक्ष सावित्रा बश्यालले सहकारीलाई आगामी दिनमा कसरी अगाडि लैजाने भन्ने विषयमा ध्यान दिनुपर्ने बताइन् । संस्थाका पूर्व लेखा सदस्य पार्वती अधिकारी र सल्लाहकार मीनाकुमारी पोख्रेलले पनि सहकारीको व्यवस्थापन तथा सदस्यको भूमिकाबारे धारणा राखेका थिए । सल्लाहकार पोख्रेलले सहकारीका शेयर सदस्य नै संस्थाको मालिक भएकाले आफ्नो रकम कहाँ र कसरी लगानी भइरहेको छ भन्ने विषयमा सदस्यले जानकारी राख्नुपर्ने बताइन् ।
साधारणसभाको अवसरमा ६५ जना एकल महिला शेयर सदस्यलाई खादासहित नगदले सम्मान गरिएको छ । यस्तै, ७० वर्षभन्दा माथिका २१ जना ज्येष्ठ शेयर सदस्यलाई पनि खादासहित नगदले सम्मान गरिएको संस्थाले जनाएको छ ।
बाल सदस्यतर्फ एसईईमा ३.८९ र ३.७३ जीपीए प्राप्त गर्ने प्रतीज्ञा तिवारीलाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । यस्तै, व्यवसायी शान्ता जैसी, इन्दिरा रेग्मी क्षेत्री र मीनादेवी पाण्डे तिवारीलाई पनि सम्मान गरिएको जनाइएको छ ।
संस्थाको १८औं वार्षिक साधारणसभा शर्मिला पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो । सचिव सोना कुमारी पाण्डे तिवारीले सञ्चालन गरेको कार्यक्रममा ओविता ज्ञवाली गौतमले स्वागत गरेकी थिइन् । कार्यक्रममा प्राविधिक सहयोग इन्द्रबहादुर थापाले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology