देवदह । देवदहमा संचालित निरन्तर महिला बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार देवदह-७ ओम दर्शन पार्टी प्यालेसमा सहकारीको १६औं साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङले स्थानीयस्तरमा उत्पादनमा लगानी गरेर महिला सशक्तिकरणमा काम गरेको बताइन् । सबै सहकारीले उत्पादनमा लगानी गर्नुपर्ने उल्लेख गर्दै उपप्रमुख गुरुङले स्वरोजगार र आर्थिक रूपमा समृद्ध बन्न सहकारी अपरिहार्य भएकोमा जोड दिइन् । केही सहकारीले बदमासी गरेको कारण आज सहकारीमाथि नै प्रश्न उठिरहेको बेला थप सजग र संवेदनशील भएर काम गर्नुपर्ने उनको भनाइ छ ।
एक हजार ३५५५ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी ९० लाख ८१ हजार ५०० रुपैयाँ रहेको छ । बचत निक्षेप ८ करोड ५५ लाख १७ हजार २०१ रुपैयाँ रहेको निरन्तर महिला सहकारीले ७ करोड ८८ लाख ७४ हजार ६५२ रुपैयाँ लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
साधारण सभाले अध्यक्ष मिना पौडेलको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष रुपा कुमारी शर्मा (ढुंगाना) को आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रममा देवदह नगरपालिका वडा नं ६ का वडा अध्यक्ष खेमबहादुर थापा, वडा जनप्रतिनिधि देवी न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology